लसुन पनि चीनबाटै ४४ करोडको आयात

यो समाचार 346 पटक पढिएको

काठमाडौं, १७ कात्तिक / भान्सालाई स्वादिष्ट बनाउने मसलामध्येको मुख्य एक हो– लसुन।

Garlic लसुन

शाकाहारी होस या मांसाहारी लसुनले भान्सा स्वादिलो बनाउँछ। लसुनको बास्ना भएन भने तरकारी मीठै नमान्नेको संख्या ठूलो छ। त्यसैले होला मूल्य उच्च हुँदा पनि यसको मागमा कमी आउँदैन। स्थानीय बजारमा अचार र तरकारीमा मसलाको रुपमा प्रयोग हुने लसुनको मूल्य सधैं उच्च हुनुमा दुई कारण छन्। पहिलो– घरेलु माग धान्ने गरी स्वदेशमा उत्पादन नहुनु, र दोस्रो– आयात गर्दा पर्न जाने उच्च लागत। लसुनको मूल्य पनि विदेशी बजारमा हुने घटबढमा भर पर्छ।

धेरै कृषि वस्तु जस्तै लसुनमा पनि हामी विदेशी बजारमै निर्भर छौं। अचार–तरकारीमा प्रयोग हुने मसला लगायत अन्य धेरै सामानको स्रोत भारत हुने गरे पनि लसुन भने उत्तरको छिमेकी चीनबाट धेरै आयात हुन्छ। प्याजको स्रोत बजार भने दक्षिणको छिमेकी भारत नै हो।

सरकारी तथ्यांक अनुसार आर्थिक वर्ष २०७१/०७२ मा चीन र भारतबाट गरी ४४ करोड ५६ लाख १० हजार रुपैयाँको लसुन आयात भएको छ। यसमध्ये अधिकांश चीनबाट ल्याइएको अभिलेख छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको अभिलेख अनुसार चीनबाट सो वर्ष ४२ करोड ८६ लाख ६२ हजार रुपैयाँको लसुन आयात भएको छ। लसुन आयात हुने अर्को देश दक्षिणको छिमेकी भारत हो। तथ्यांक अनुसार भारतबाट १ करोड ६९ लाख रुपैयाँको लसुन ल्याइएको छ। ‘लसुन आयात सबैभन्दा धेरै चीनबाट हुने गरेको छ,’ कृषिविज्ञ कृष्ण पौडेल भन्छन्, ‘यसमा अहिले हामी चीनमा निर्भर छौं।’

उनको भनाइमा नेपाली भूमि लसुनखेतीको लागि उपयुक्त नभएकोले विदेशबाट आयात गर्नुपरेको भने होइन। कृषिविज्ञका अनुसार नेपालको पहाड र तराईका सबै भूभागमा मज्जाले लसुन फलाउन सकिन्छ। स्वदेशी उर्वर भूमिमा पछिल्लो समय थोरबहुत लसुन खेती हुने गरे पनि घरेलु माग धान्ने गरी उत्पादन हुँदैन।

विदेशबाट आयात गर्नुपरेकै कारण लसुनको मूल्य उच्च हुने गरेको व्यवसायी बताउँछन्। भूकम्पपछि उत्तरका नाका अबरुद्ध भएर चीनबाट आयात घटेको र नाकाबन्दीले भारतको आयात प्रभावित भएकाले यसपालि चाडवाडको बेला उपभोक्ताले लसुनका लागि बढी मूल्य तिर्नु पर्यो ।

नेपालमा सुकेको लसुनमात्र होइन हरियो पात पनि विदेशबाट आयात हुन्छ। भारतबाट ‘लिक एन्ड अदर एल्लियकुयस भेजिटेबल’ शीर्षकमा लसुन लगायतका हरियो पात आयात भएको सरकारी अभिलेख छ। भारतबाट गत आर्थिक वर्षमा १८ हजार ३ सय ८० केजी हरियो पात आयात भएको थियो। यसका लागि ३ लाख ५६ हजार रुपैयाँ तिरिएको छ।

मसलाजन्य खेतीलाई प्राथमिकतामा नदिँदा विदेशको भर पर्नुपरेको कृषिविज्ञ पौडेल बताउँछन्। उनका अनुसार नेपालको भौगोलिक र जैविक विविधता ४० देखि ५० किसिमका औषधीजन्य मसला उत्पादनका लागि उपयुक्त छ। चिसो हावापानीमा यस्ता बाली फस्टाउँछन्। औषधीजन्य मसला समूहमा धनियाँ, मेथी, ज्वानो, चम्सुर, तिल, सर्स्युं लगायत पर्छन्।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :