आलु महोत्सवमा एक करोडको कारोबार

यो समाचार 49 पटक पढिएको

पोखरा । हेम्जाको आलु महोत्सवमा करिब १ करोड रुपैयाँ बराबर आलुको कारोबार भएको छ ।

एक सातासम्म चलेको नवौं राष्ट्रिय हेमजा आलु महोत्सवमा करिब ६२ हजार दर्शकले अवलोकन गरेका थिए । आयोजक विष्णुपादुका क्लब हेमजाका अध्यक्ष रमेश कार्कीका अनुसार मेलामा दर्शकको उत्साहजनक सहभागितासँगै सोचेभन्दा बढी कारोबार भएको हो ।

प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले मेला समापन गर्दै हेमजा शीतभण्डार निर्माणका लागि मन्त्रालायले पहल गर्ने बताए । उनले आलुका कारण हेमजालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाएको हँुदा आलुको उत्पादन वृद्धि गर्न पहल गर्नुपर्ने उल्लेख गरे ।

महोत्सवबीच रत्यौली प्रतियोगितामा इन्द्रेणी आमा समूह प्रथम, नमुना आमा समूह द्वितीय, गुप्त कालिका आमा समूह तृतीय भए भने दहरे देउराली आमा समूह र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान इकाइ हेमजाले सान्त्वना पुरस्कार पाए भए । उत्कृष्ट लुठोतर्फ सिर्जनशील आमा समूह भयो भने उत्कृष्ट कृषि स्टलतर्फ कामधेनु कृषक समूह भएको छ । हेमजामा भएको महोत्सवमा उत्कृष्ट नृत्य गर्ने लामा चौतारा खुट्टाको गौंडा आमा समूहले पुरस्कारबापत च्यांग्रा पायो । महोत्सवमा क्षेत्रीयस्तरको राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट पाँच जनालाई पुरस्कृति गरिएको थियो ।

पुरस्कृत हुनेमा गोर्खाका गाई फार्मका राजेन्द्रराज पन्त, स्याङजाका सुन्तला खेती किसान रामप्रसाद भण्डारी, अर्घाखाचीका किसान गणेशप्रसाद बन्जाडे, गुल्मीका किसान विनबहादुर कुँवर र लम्जुङका किसान कृष्णप्रसाद बजगार्इं रहेको प्रदेश ४ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रलायका उपसचिव माधवप्रसाद लम्सालले जानकारी दिए । महोत्सवमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसँगै विभिन्न प्रतियोगिता समेत गरिएको प्रचार संयोजक प्रकाशचन्द्र सापकोटाले बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :