तरकारीको श्रोत विउ उत्पादनमा अग्रणी रुकुम फार्म

यो समाचार 150 पटक पढिएको

रुकुम । रुकुमको चापास्थित सम शितोष्ण तरकारी विउ उत्पादन केन्द्र तरकारीको श्रोत वीउ उत्पादनमा अग्रणी स्थान ओगट्दै आएको छ ।

२०३५ सालमा स्थापना भएको यो उत्पादन केन्द्रको अहिले १ सय १७ रोपनी जग्गामा विभिन्न प्रकारको तरकारी बालीहरुको मूल तथा उन्नत विउ उत्पादन गर्दै आएको छ । सिंचाई र घामको पर्याप्त सुविधा भएकाले यहाँ उतपादन भएको बीउ गुणस्तरयुक्त मानिन्छ ।

यो केन्द्रले मुख्य गरी प्याज (रेड क्रियोल), काउली (काठमाण्डौ स्थानीय), मूला (मिनो अर्ली), रायो (खुमल चौडापात), केराउ (आर्केल, सिंगापुरे र सिक्किमे), सिमी (चौमासे, त्रिशुली र केण्टुकी वण्डर), सलगम (पर्पल टप), स्वीसचार्ड (फोर्ड हुक जाइन्ट), चम्सुर (स्थानीय), गोलभेडा हाइब्रिड (श्रृजना) लगायत विभिन्न तरकारी बालीहरुको श्रोत विउ उत्पादन गर्दैआएको छ । बार्षिक २ मेट्रिक टन भन्दा बढी बीउ उत्पादन गर्दै आएको कुरा फार्मका प्रमुख वरिष्ठ बागवानी विकास अधिकृत डा रवीन्द्रनाथ चौबेले जानकारी दिए ।

फार्ममा उत्पादित तरकारी विउ मुख्य गरी रुकुम, सल्यान, प्युठान, रोल्पा, दाङ, गुल्मी, अर्घाखाँची, ललितपुरलगायत विभिन्न जिल्लाका विउ उत्पादक कृषक, कृषक समूह तथा सहकारीहरुलाई बिक्री बितरण गर्दै आएको छ । यस वाहेक फार्ममा अलैंची (रामसाई) का गुणस्तरीय बेर्नाहरु पनि उत्पादन तथा बिक्री बितरण भई रहेको छ ।

विउ तथा बेर्नाहरुको बिक्री बितरणबाट बार्षिक करीब १६ लाख भन्दा बढी रकम राजश्व संकलन गर्दै आएको कुरा फार्मले जनाएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :