सवलाङ्गलाई चुनौती दिदैं शशिराज, बार्षिक ४ लाख आम्दानी

यो समाचार 110 पटक पढिएको

पाल्पा, १४ माघ । रामपुरका युवा शशिराज डोटेल अपाङ्ग भए पनि छ जनाको परिवार उनकै भरमा चलेको छ । उनी सुन्न र बोल्न सक्दैनन् तर पनि उनले गरेको तरकारी व्यवसाय सवलाङ्ग व्यक्तिभन्दा कुनै कम छैन ।

शशिराजको कृषि कार्य देख्ने जो कोही पनि दंग छन् । उनले विगत १० वर्षदेखि चार रोपनी जग्गामा तरकारी गर्दै आएका छन् । उनी तरकारी व्यवसायबाट जिल्लामै अगुवा कृषकका रुपमा चिनिएका छन् । डोटेलको कृषि पेशाप्रतिको मेहनत, लगाव र लगनशीलता आश्चर्यचकित पार्नेखालको छ ।

डोटेलले तरकारी लगाएर छोराछोरीको पढाइ खर्च र घरायसी खर्च चलाउने गरेका छन् । तरकारी खेतीका अलवा अहिले उनले तीनवटा दुहुना भैँसी, ५०० कुखुरा र नौवटा बाख्रा पाल्दै आएका छन् । डोटेलले अहिले दैनिक २० लिटर दूध बिक्री गर्छन्। उनले वार्षिक रु चार लाखसम्म आम्दानी गर्छन् ।

साढे दुई वर्षको उमेरमा मेनेन्जाइटिस रोगबाट ग्रसित डोटेलले विभिन्न ठाउँमा उपचार गरे पनि निको नहुँदा जीवनभर सुन्ने र बोल्ने क्षमता गुमाएका हुन् । छोराको व्यवसायबाट आमा भगवती निकै खुशी छिन् ।

‘छ जना सन्तानमध्ये एउटा छोरो मानसिक रुपमा अशक्त भए पनि उसको व्यवसायले मनमा हौसला बढ्दै गएको छ’, भगवतीले भनिन् ‘सानोमा मज्जाले बोल्ने सुन्ने छोरो रोग लागेर जीवनभर सुन्न र बोल्न नसक्ने भए पनि काम, मेहनत र लगनशीलता देख्दा निकै खुशी लागेको छ ।’

शशिराज तरकारीको बिरुवा उमार्न, बेर्ना लगाउन, गोडमेल, रेखदेख, उत्पादनदेखि बिक्री गर्नका लागि आफैँ मोटरसाइकल चलाएर बजार पुग्छन् । कक्षा ८ सम्मको शिक्षा लिएका उनलाई श्रीमती दुर्गाले साथ दिँदै आएकी छिन् । बैंकिङ कारोबारदेखि घरायसी व्यवहार उनी आफैँले गर्दै आएकी छिन् ।

‘सुन्न र बोल्न नसक्ने भए पनि काम र लगनशीलता सवलाङ्ग व्यक्तिको भन्दा कम छैन,’ उनले भनिन्। शशिराजले सामुदायिक कृषि सहायक तीन महिने तालीम पूरा गरेका छन् । यसले व्यवसाय गर्न सजिलो भएको छ । उनको व्यवसाय प्रशंसायोग्य मात्र नभई सबैका माझ नमूना बनेको छ । मान्छेले भित्री मनदेखि नै इच्छा शक्ति देखाएर काम गर्यो भने व्यवसायमा सफल भइन्छ भन्ने उदाहरणीय पात्र शशिराज बनेका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :