सामूहिक च्याउखेतीबाट आत्मनिर्भर बन्दै महिला

यो समाचार 300 पटक पढिएको

दाङ, २ माघ । केही वर्षअगाडिसम्म सधै घरको काममा मात्र सीमित रहने गरेका तुलसीपुर नगरपालिका वडा नं ६ मोतिपुरका महिला पछिल्ला केही वर्षयता एकजुट भई सामूहिक च्याउखेती गरी आयआर्जन गर्न सफल भएका छन् ।Masroomउनीहरू गङ्गामाला समूह खोलेर च्याउखेती गरी आयआर्जन गर्न सफल भएका हुन् । सुुरुका वर्षमा स्थानीयवासीको एकतले कच्ची घर भाडामा लिएर सामूहिक च्याउखेती सुरु गरेको बताउनुहुन्छ, संस्थाका अध्यक्ष तुलसा बुढामगर । “त्यसको केही वर्षपछि भने संस्थामा आबद्ध १४ महिलाको सक्रियता र समूहमा सङ्कलन भएको केही रकमबाट एक कट्ठा जग्गा किन्न सफल भयौँ । अनि आफैँ लगानी र श्रमदान गरेर समूहका लागि पक्की घर बनायौँ र सोही घरमा अहिले च्याउखेती गरेका छौँ– अध्यक्ष बुढामगरले भन्नुभयो ।

च्याउ प्रतिकेजी रु १४० मा बिक्री गरिरहेको संस्थाकी सदस्य अनिता चौधरीले बताउनुभयो । संस्थामा आबद्ध महिलाले सामूहिक च्याउखेतीबाट आम्दानी लिनुका साथै आफ्नै घरमा छुट्टै खेती पनि गरेका छन् । छिट्टै आम्दानी लिन सकिने र मिहिनेत पनि त्यति नलाग्ने भएकाले सबैले आफ्ना घरमा च्याउखेती गरेको चौधरीले बताउनुभयो ।विसं २०६७ मा कृषि विकास कार्यालय दाङले महिलालाई आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले सञ्चालन गरेको च्याउखेतीसम्बन्धी तालिम पाएलगत्तै आफ्ना गाउँका दिदीबहिनी भेला भई पहिलो वर्ष रु पाँच हजारको लगानीबाट च्याउखेती सुरु गरेको उहाँले जानकारी दिनुभयो । अहिले समूहबाट वार्षिक रु १३ लाखको आम्दानी भइरहेको छ । त्यसैगरी यो व्यवसायलाई अझ बढाउन अहिले लघुउद्यम कार्यालय दाङले पनि च्याउखेतीका लागि आवश्यक पर्ने बीउ र कृषि औजार दिने गरेको उहाँले बताउनुभयो । अहिले त समूहमा दैनिक ५० देखि ६० केजी च्याउ उत्पादन हुने गरेको छ । त्यो च्याउ लिन समूहले उत्पादन गर्ने ठाउँमा नै ग्राहक आउने गर्छन् ।

घरमा गरिएको च्याउखेतीबाट मात्रै वार्षिक रु दुईदेखि रु तीन लाखसम्म आम्दानी लिन महिला सफल भएका छन् । कृषि विकास कार्यालय र लघुउद्यम कार्यालय दाङले यस आवको हालसम्ममा १२५ जना महिलालाई आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले च्याउखेतीसम्बन्धी निःशुल्क तालिम दिएको जनाइएको छ । महिला घरको चुल्होचौकोमा मात्र सीमित रहने परम्परालाई तोड्दै गाउँका यी महिलाले गरेको कामको सिको अरू महिलाले पनि गर्ने हो कि ?

रचनात्मक प्रतिक्रिया दिनुहोस् :