बाढीको डुवानमा परेको क्षेत्रमा यसरी गरौं वैकल्पिक खेती !

यो समाचार 5402 पटक पढिएको

क्षति न्युनिकरण गर्ने महत्वपूर्ण उपायहरु

काठमाडौं । हालै आएको बाढीका कारण तराई मधेशका ८० प्रतिशत धानवाली डुवानमा परेको छ । लामो दिनसम्मको डुवानका कारण उक्त धानवाली नष्ट हुने खतरा पनि त्यतिकै छ । तर डुवान क्षेत्रमा पनि पुनः खेतीपाती गरी जीवन स्तरमा सुधार ल्याउन सकिन्छ । कृषि विकास मन्त्रालयले डुवान क्षेत्रमा वैकल्पिक खेती गर्न सकिने भनेर केही महत्वपूर्ण प्रविधि सुझाएको छ । यो प्रविधिको प्रयोग गरी बाढीका कारण क्षति व्यहोरेको किसानले घाटा पूर्ती गर्न सकिने मन्त्रालयको भनाई छ ।

यस्तो छ प्रविधिहरु
१. कृषिवाली क्षति हुन नदिन डुवान क्षेत्रका जिल्लाहरुमा बर्षा, बाढी कम भए पश्चात तत्काल जमेको पानी निकासका लागि सम्भव भएसम्मको उपाय अबलम्बन गर्ने ।

२. तराईमा धानवाली लगाइएका क्षेत्रहरुमा डुवान सहन सक्ने जातहरु स्वर्ण सब १, साम्बा मनसुली सब १, सेहरांग सब १ जातको धान रोपिएको भए दुई सातासम्म डुवान भएपनि कुनै क्षति नहुने, नविग्रने भएकाले सो बारेमा आश्वास्त हुने ।

३. डुबानमा परी धान नष्ट भएको ठाउंमा पुनः धान लगाउन सकिने क्षेत्रहरुमा खरुहन(खाउर) विधिमार्फत धानको रोपाई गर्न सकिने भएकाले सुरक्षित रहेको धानवालीका खेतहरुबाट धानको बिरुवा लिए खरुहन गर्न सकिन्छ ।

४. डुवानमा परी धानवाली क्षति वा नष्ट भएर बिग्रीएको क्षेत्रहरुमा १२५ दिनभन्दा छोटो वाली अवधि भएका हर्दिनाथ १ वा ३, राधा ४, सुख्खा १,२,३,५,६ जातहरुको छरुवा खेती गर्न सकिन्छ । यस्ता धानहरुको बीउ नेपाल कृषि अनुसन्धान परिषद(नार्कं), राष्ट्रिय बीउ विजन कम्पनी र निजी क्षेत्रका बिउ कम्पनीहरुसँग रहेको स्टकबाट किसानले प्राप्त गर्न सक्नेछन् । यस्ता धानको बिहरु ३६ देखि ४८ घण्टासम्म पानीमा भिजाएर टुसाएको बिउ हिल्याएको खेतमा सिधै छर्ने ।

५. छरुवा धानमा झारले दुःख दिन सक्ने भएकाले यसका लागि बिउ छरेको २ देखि ४ दिनभित्र पेन्डिमिथलिन झार नासक बिषादी ५० मिलिलिटर १५ लिटर पानीमा मिसाई प्रति कट्हा प्रयोग गर्न सकिन्छ ।

६. धान खेती गर्न नसकिने क्षेत्रमा भदौं मसान्तसम्म आई.सी.पी. ७०३५ र धनुषा लोकल जातको रहर, कालोमास(उरिद), गहत(कुर्थी) वा मुंगको खेती लगाउन सकिन्छ ।

७. बाढी प्रभावित क्षेत्रमा तत्काल खाद्यान्नवाली लगाउन नसकिने अवस्थामा दलहन, तेलहन, आलु तथा अन्य तरकारी, हिउदे मकै, गहुँवाली लगाउन आवश्यक सामग्री व्यवस्थापन गरी राख्न सकिन्छ ।

८. तरकारी लगाएको डुवान क्षेत्रमा पानीको निकास गरी पुनः तरकारी लगाउन अन्य क्षेत्रमा भएको तरकारीको बेर्ना सार्न सकिने र कतिपय तरकारीको बिउ सिधै रोप्न सकिन्छ । जस्तै मुला, गाजर, चम्सुर र पालुंगो साग ।

९. पानीले भिजी बिग्रेका, कुहिएको, ढुसी लागेका खाद्य पदार्थ सकेसम्म प्रयोग नगर्ने । यस्ता खाद्य पदार्थले स्वास्थ्यमा हानी नोक्सानी गर्छ ।

१०. अन्य प्राविधिक जानकारी लिन स्थानीय तहमा खटिएका तथा जिल्ला कृषि विकास कार्यालयमा सम्पर्क राख्ने ।

नोट : धानको सुख्खा ३ को बिउ चार टन, सुख्खा ५ को बिउ ६ टन नेपाल कृषि अनुसन्धान परिषदको वेलाचापी कार्यालयमा मौज्दात छ । यस्तै राधा ४ को बिउ २३५ मेट्रिक टन राष्ट्रिय बिउ बिजन कम्पनीमा मौज्दात छ ।

 

रचनात्मक प्रतिक्रिया दिनुहोस् :