खण्डहरमा परिणत हुँदै कृषि उर्वर भूमि

यो समाचार 57 पटक पढिएको

बुटवल । प्रदेश ५ को कृषि भूमि खण्डहर हुन थालेको छ। अव्यस्थित जग्गा प्लटिङले कृषिभूमि नास हुँदा उत्पादनमा पनि ह्रास आएको छ।

प्रदेश सरकारले सार्वजनिक गरेको स्थितिपत्रले पहाडको कृषिभूमि बाँझिएको र तराईको भूमिमा घर निर्माणले तीव्रता पाएको देखाएको छ। कृषि भूमिको नाजुक अवस्थाले सरकारलाई नीति कार्यक्रम पूरा गर्न चुनौती छ।

मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार संसद्मा स्थितिपत्र सार्वजनिक गर्दै कृषि भूमि मासिँदै गएकाले चुनौती थेग्नुपर्ने बताए। ‘तराईमा तीव्र खण्डीकरण भइरहेको छ, पहाडको जमिन बाँझिँदै गएको छ’, उनले भने, ‘नयाँ पुस्तामा कृषि प्रतिको मोह हराउँदै गएकाले कृषिबाट समृद्ध बन्ने अभियान चुनौतीपूर्ण छ।’

प्रदेशको ३८ लाख २० हजार जनसंख्या कृषिमा आबद्ध भए पनि वैज्ञानिक र व्यावसायिक नभएको मुख्यमन्त्री पोखरेलले बताए। कुल उत्पादनमा साढे ४५ प्रतिशत योगदान कृषिले दिएको उनको भनाइ छ। प्रदेशको झण्डै २६ प्रतिशत गरिबी घटाउन जटिल भएको स्थितिपत्रले देखाएको छ। पर्यटनको गार्हस्थमा ठूलो योगदान नहुनु र कृषिभूमि मासिनुले आर्थिक सबलताका लागि प्रदेश सरकारलाई कठिन हुने देखिएको हो। कृषिभूमि मासेर गरिएको रियलस्टेट व्यापारले उत्पादनमा जम्मा ८ प्रतिशत योगदान दिएको छ भने पर्यटनको योगदान पनि निकै कम छ।

अन्न उत्पादनमा सबैभन्दा धेरै योगदान गर्ने रूपन्देहीको जमिन करिब पाँच वर्षमा १६ हजार हेक्टर मासिएको छ। जहाँ घर निर्माण नभए पनि खेती गरिएको छैन। रूपन्देहीपछि बढी उत्पादन हुने दाङमा पनि पछिल्ला वर्षमा खण्डीकरण बढ्दै गएको छ। स्थितिपत्रका अनुसार प्रदेशको झण्डै २१ दशमलव ६ प्रतिशत उत्पादन रूपन्देही जिल्लाबाट हुने गरेको छ।

दाङबाट १३.७, कपिलवस्तुबाट १२.५, बाँकेबाट १२.१, बर्दियाबाट १०.२, नवलपरासीबाट ८.२ र पाल्पाबाट ५.६ प्रतिशत उत्पादन हुने गरेको छ। बाँकी ५ जिल्लाबाट कुल उत्पादनमा ५ प्रतिशतभन्दा कम योगदान हुने गरेको छ। गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम जिल्ला उत्पादनमा निकै कमजोर छ। यी जिल्लाबाट बसाइँसराइसमेत अत्यधिक हुँदा जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ।

प्रदेशमा उद्योग र निर्माण क्षेत्रले पु¥याउने योगदान पनि कमजोर छ। निर्माण क्षेत्रले ५.८ र उद्योगले ५.२ प्रतिशतमात्रै योगदान पुराएको छ। ४४ लाख ५८ हजार जनसंख्या रहेको प्रदेश ५ धान र तेलहन उत्पादन एवं गाई भैंसीको संख्यामा पहिलो, मकै र आलु उत्पादनमा दोस्रो, गाईपालन, दूध मासु, माछा उत्पादनमा तेस्रो स्थानमा छ।

प्रदेशको खाद्यान्न बचत भए पनि प्युठान, बाके र रोल्पा खाद्यन्न अपुग हुने जिल्ला हुन्। चार लाख चार हजार ५ सय ५१ हेक्टर खेतीयोग्य जमिन रहेको प्रदेशका १० लाख ३८ हजार मानिस कृषि पेसाबाहिर छन्। यो प्रदेश कृषिमा बढी सहभागी हुने भए पनि यहाँ ४९ प्रतिशत खेतीमा मात्रै सिँचाइ सुविधा छ। प्रदेशमा रहेका करिब नौ सय वित्तीय संस्थाले कृषिमा कुल कर्जाको ५ प्रतिशतको हाराहारीमा लगानी गरेका छन्।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :