मोबाइलबाटै देशभरको चिया खेतीको गणना लिंइदैं

यो समाचार 132 पटक पढिएको

काठमाडौं। सरकारले शुक्रबारदेखि पहिलो पटक राष्ट्रियस्तरमा चियाको गणना(तथ्याँक) लिने काम सुरु गरेको छ । केन्द्रिय तथ्याँक विभाग र उन्नती परियोजनाको सहकार्यमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चियाको गणना लिने काम सुरु गरेको हो ।

बोर्डकाअनुसार पहिलो पटक मोबाइलसहयोगमा चियाको तथ्याङ्क संकलन गर्ने काम सुरु भएको छ । चियाको हालसम्म गणना भएको थिएन् । देशभर सञ्चालनमा रहेका चिया बगान र चिया कारखानाहरुको गणना गरी ‘एमआईएस डाटावेस’ निर्माण गर्ने बोर्डले जनाएको छ ।

 

गणनामा एक रोपनीभन्दा बढी चिया रोपण गरेका सबै चिया कृषक, चिया बगान र चिया कारखाना सञ्चालकहरुको चिया उत्पादन, रोपण क्षेत्र, रोजगार संख्या तथा सो सम्बन्धीत तथ्याङ्कहरु घरदैलोमै गएर गणकहरुले मोबाइलमार्फत संकलन गर्ने काम सुरु गरेको छ ।

गणकहरुले चिया उत्पादक कृषकका घरदैलोमा मोबाइल बोकेर जाने र गणनालाई कागजरहित पेपरलेस बनाउन एण्ड्रोइड एपको सहायताले मोबाईलबाट तथ्यांक संकलन गर्ने व्यवस्था मिलाइएको छ ।

झापा, इलाम, पाँचथर, ताप्लेजुङ लगायत मुलुकका सबै चिया उत्पादनलाई गणनाले समेट्ने बोर्डका योजना अधिकृत गौरब लुइटेलले बताए । उनका अनुसार संकलित चिया विवरणहरु कानुन अनुसार गोप्य रहने र केवल सामूहिक तथ्याङ्कीय प्रयोजनका लागि मात्र उपयोग गरिनेछ ।

त्यस्तै यथार्थ तथ्याङ्क उपलब्ध गराईदिन विभागले सबै चिया कृषक, चिया बगान र कारखाना सञ्चालकहरूलाई बोर्डले अपिल गरेको छ ।
लगत लिनका लागि १३ जना बोर्डकै कर्मचारी र २६ जना करारमा लिएर परिचालन गरिएको छ । गणना आगामी फागुन महिनासम्म सञ्चालन गरिने योजना अधिकृत लुँईटेलले जानकारी दिए ।

नेपालको चियाको अन्तर्राष्ट्रिय बजारमा माग उच्च रहेकोले किसान चिया खेतीमा आकर्षित छन् । अहिले यहाँ उत्पादन भएको सिटिसी चिया ६० प्रतिशत र अर्थोडक्स चिया ९० प्रतिशत विदेशी बजारमा बिक्री हुन्छ ।

पूर्वी नेपालको संखुवासभा, ताप्लेजुङ, तेह्रथुम, पाँचचर, धनकुटा, इलाम, झापालगायत जिल्लामा चियाको व्यावसायिक खेती हुन्छ । अहिलेसम्म नेपाली चिया नपुगेका मुलुकबाट समेत यहाँको चिया माग हुन थालेपछि किसानले उत्पादन बढाउँदै लगेका छन् । सिटिसी चिया भारत हुँदै अन्तर्राष्ट्रिय बजार माग भएपनि अर्थोडक्स चिया नेपाली उद्योगीमार्फत विदेश निर्यात हुन्छ ।

सिटिसी चिया करिब २ लाखकिलो उत्पादन हुन्छ । सोमध्येको ४० प्रतिशत स्वदेशी बजारमा र ६० प्रतिशत विदेशी बजारमा बिक्री हुने गरेको छ । नेपालमा १९ हजार ७ सय ५० हेक्टरभन्दा बढी हेक्टरमा चिया खेती हुन्छ ।

नेपालमा चिया खेतीको इतिहास निकै लामो छ । विसं १९२० मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले चीन भ्रमणबाट फर्कँदा चिनिया जातको चियाको बीउ उपहार स्वरूप तत्कालीन चिनिया सम्राटबाट लिई नेपालमा भित्र्याएका थिए भनिन्छ। सो चियाको बीउ रोप्ने आदेश इलामका तत्कालीन बडाहाकिम तथा जङ्गबहादुरका ज्वाइँ गजराज सिंह थापालाई भएपछि विसं १९२० मा इलाम चिया कमान र त्यसको दुई वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चिया खेतीको शुरूवात भएको देखिन्छ ।त्यो त्यही दसक हो, जुन बेला दार्जिलिङमा पनि चिया खेती प्रारम्भ गरिएको थियो ।

तर जहानिया राणा शासनको अगाडि नेपालमा शुरूवाती अवस्थामा रहेको चिया उद्योग त्यति फस्टाउन सकेन । उता दार्जिलिङतिर भने चिया खेती तथा उद्योग विस्तार एवम् विकास हुँदै गयो ।

विसं २००७ सालको प्रजातन्त्र प्राप्तिपछि मात्र नेपालमा लगानीको वातावरण खुकुलो हुँदै गयो र यसको सकारात्मक प्रभाव चिया क्षेत्रमा पनि पर्यो। फलस्वरूप विसं २०१६ सालमा झापा जिल्लाको रड्गियाडाँडामा बुधकरण चिया बगानको नाममा निजी स्तरको पहिलो चिया बगान स्थापना भयो । त्यस्तै, सरकारी स्तरमा पनि विसं २०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना भयो ।शुरूवाती दिनहरूमा प्रशोधन कारखानाको अभावमा दार्जिलिङकै कारखानाहरूलाई हरियो पत्ती बेच्नु पर्ने अवस्था थियो ।यस कुरालाई ध्यानमा राखी विसं २०३५ मा इलाममा र त्यसको केही वर्षपछि झापाको सोक्तिममा पहिलो पटक प्रशोधन कारखाना स्थापना गरियो ।

विसं २०३५ देखि २०४५ को एक दसकमा नेपाल चिया विकास निगमले साना कृषकहरूलाई पनि चिया खेतीमा लाग्न धेरै प्रत्साहनका कार्यक्रमहरू गर्यो ।विस्तारै विस्तारै चिया उद्योगले गति लिँदै गयो र एउटा नाफामूलक व्यवसायको रूप लिन थाल्यो ।चिया उद्योगले राज्यको आर्थिक र सामाजिक विकासमा पुर्याएको योगदानलाई ह्रदयंगम गर्दै वि।सं। २०३९ सालमा तत्कालिन राजा वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालमा नेपाल सरकारले पूर्वाञ्चलका ५ वटा जिल्ला (झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलाम) लाई चियाक्षेत्र घोषणा गर्यो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :