कृष्णमानको बट्टाई पालन: जोखिमदेखि सफलतासम्म

यो समाचार 486 पटक पढिएको

काठमाडौं । बट्टाई चरीको मासु र अण्डा खाने हो रु असाध्यै मीठो हुन्छ । पाल्ने हो भने झन कति हो कति फाइदा छ । बट्टाई फार्म खोलेका छन् कृष्णमान श्रेष्ठले । उनले सानो लगानीमा खोलेका थिए, त्यो सानो लगानीले चमत्कार गरेको छ ।

काठमाण्डौँको बसुन्धरा चोकबाट करिब ६ सय मिटर भित्र जानु पर्छ । धापासी हाईटमा पुगिन्छ । टोखा नगरपालीका वडा नं। ५ मा पर्छ हाईट । हाईटमा सानो एउटा खोर छ । त्यो खोर हो, कृष्णमानले बनाएको । कृष्णमानले खोरमा बट्टाई पालेका छन् ।

कृष्णमानकोमा पुग्दा बट्टाई चिरबिराई रहेका थिए । कृष्णमान् र उनकी श्रीमती कल्पना गिरी (श्रेष्ठ) बट्टाईलाई चारोपानी दिइरहेका थिए । व्यावसायिक रुपमा बट्टाई पाल्छु भनेर कल्पना पनि गरेका थिएनन् कृष्णमान दम्पत्तिले । ‘बट्टाई’ कुुखुराको साना चल्ला जस्तै हुन्छ । बट्टाईलाई ‘बेटेरा’ पनि भनिन्छ । ‘बटेर’ पनि भनिन्छ । ‘जापानिज क्वाईल’ पनि भनिन्छ । कुखुराको जस्तै बट्टाईको पनि मासु र अण्डा बिक्री हुन्छ । सामान्यतया बट्टाई तीन रङगका हुन्छन् । कालो, रातो र सेतो ।

कृष्णमानले उनका दाजुको घरमा बट्टाई पालेको देखेका थिए । दाजुले व्यावसायिक रुपमा चाहिँ पालेका थिएनन्, शौखका लागि पालेका थिए । कृष्णमानलाई पनि सानो पिंजडा जस्तो खोरमा सानासाना बट्टाईको बथान खेलेको देखेर पाल्न रहर लाग्यो ।

सबै मर्यो

दाजुले बालाजु औधोगिक क्षेत्रमा बट्टाईका चल्ला उत्पादन गर्ने ठाउँ देखाइदिए । कृष्णमानले चल्ला ल्याए । एक सय ५० वटा चल्ला ल्याए । दुई बर्ष अघिको कुरा हो यो । एउटा चल्लाको ४० रुपैया परेको थियो । ६ हजार रुपैयाँबाट कृष्णमानको बट्टाई पालन सुरु भयो ।

चल्ला ल्याएको कार्टुन आफू सुत्ने कोठामा राखे । चारो पानि दिए । लोडसेडिङ् थियो । भोलिपल्ट बिहान उठेर चल्ला हेरे । चारो दिन थाले । चारवटा चल्ला मरेछन् । बारीमा लगेर गाडे । दिनहुँ चल्ला मर्न थाले । तीन हप्तामा बट्टाईका सबै चल्ला मरे । अब कोठामा कार्टुन र चारो मात्रै बाँकी रह्यो ।

हार खाएनन्

किन मर्यो बट्टाई रु पक्कै केही कारण हुनुपर्छ भन्ने लाग्यो । कृष्णमानलाई बट्टाई पाल्ने शौख मरेको थिएन, आशा पनि मरेको थिएन । कृष्णमानले सुरुमा चल्ला ल्याएको चल्ला उत्पादन गर्ने ठाउँमा गएर बट्टाई पालकहरुको फोन नम्बर मागे । बट्टाई पालकहरुकोमा गए ।

बट्टाई पाल्ने तरिका सिके, बँचाउने तरिका सिके, जोखिमहरु थाहा पाए । अनुभवका लागि पहिले हुर्किएका बट्टाई पाल्ने सल्लाह पाए । कृष्णमान घर आए । घर छेउमा सानो खोर बनाए । बट्टाईलाई उज्यालोका लागि विजुली जडान गरे । तापक्रमको लागि हिटर किने । लाल्टिन किने । तापक्रम नाप्ने थर्मोमिटर पनि किने । एक हप्तामा यी सब काम सके ।

साँझ बिहान यो काम गरे, अनि दिउँसो चाहिँ आफ्नो नियमित पेसा मिस्त्री र पलम्बिङको काममा गए । खोर बनाईसकेपछि तिनै बट्टाईपाल्ने तरिकाबारे ज्ञानदिने बट्टाईपालककहाँ पुगे । हुर्किएका बट्टाई छाने । एक सय १८ वटा बट्टाई छाने । एउटाको एक सय ५० रुपैयाँ तिरे । बट्टाई कार्टुनमा हालेर ल्याए । खोरमा हाले । चारवटा बाटैमा मरेछन् । बाँकी रहे एकसय १४ वटा ।

दानापानी दिँदै गए कृष्णमान र कल्पनाले । स्याहार्न खासै गाह्रो भएन । अब बट्टाई मरेनन् । हुर्किँदै गए । ल्याएको तीन हप्तामै अण्डा पार्न थाले बट्टाईले । आधा भन्दा धेरै पोथी थिए । केही दिन अण्डा आफैले खाए । धेरै अण्डा पार्न थालेपछि छिमेकीलाई बाँडे ।

दैनिक ७०/८० वटा अण्डा पार्न थाले । बाँडेर र खाएर नसकिने अण्डा हुन थाल्यो । कृष्णमान र कल्पना अण्डा बिक्री गर्न गए । पसल पसलमा अण्डा सोधे । तर, धेरैलाई बट्टाई के हो नै थाहा थिएन । बट्टाईको अण्डालाई कतिपयले त सर्पको अण्डा समेत भने ।

सुरुमा धापासिकै ‘चुङलेपुङले’ होटलमा अण्डा बेचे । एउटा अण्डाको सात रुपैयाँमा बेचे । अहिले पनि मासिक तीन सय वटा अण्डा लिन्छ चुङ्लेपुङ्ले होटलले । त्यसपछि ग्राण्डी अस्पताल छेउको एउटा किराना पसलमा पनि अण्डा दिन थाले । अहिले ग्राण्डी छेउको त्यो पसलले औसतमा मासिक पाँच हजार सम्म अण्डा लिने गरेको कृष्ण बताउँछन् ।

बटेराको मासु र अण्डाको फाईदाका बारेमा ईन्टरनेटबाट जानकारी लिए । धेरै फाईदाका बारेमा जानकारी भयो । ग्राण्डी छेउको त्यो पसलमा कृष्णमानले बट्टाईका अण्डाको फाईदाबारे एउटा बोर्डमा लेखेर राखिदिए । त्यसपछि बुसुन्धराको एउटा मासु पसलमा पनि दिन थाले । सुरुमा कहाँ बेच्ने भनेर रनभुल्लमा परेका थिए । अब अण्डाको माग बढ्न थाल्यो । कृष्णमानले बजारको माग अनुसार अण्डा दिन सकेका छैनन् । अहिले सात देखि दश रुपैयाँसम्ममा बिक्री हुन्छ अण्डा ।

उनले फेरि दुईसयवटा बट्टाई थपे । फूल पार्ने बट्टाई नै किनेर ल्याए । बजारमा विक्री नभएका अण्डा ह्याचरीमा लगेर चल्ला निकाल्नका लागि दिन थाले । एउटा अण्डाको चल्ला निकाल्न ६ रुपैयाँ तिर्नुपर्छ । अब कृष्णमानले बट्टाई किन्न छोडे । अण्डा लगेर चल्ला निकाल्न दिन्छन् र तिनै चल्ला ल्याएर हुर्काउँछन् । साना चल्ला हुर्काउन अलि कठिन छ । २५ देखि ३५ डिग्री सेल्सियसको तापक्रममा राख्नुपर्छ । तीन हप्तासम्म चल्लालाई तापक्रम दिनु पर्छ ।

जिउँदो बट्टाई पनि विक्री हुन्छ । एउटा बट्टाई पाँच हप्तामा खान योग्य हुन्छ भन्छन् कृष्णमान् । बट्टाईको तौल करिब तीन सय ग्राम हुन्छ । चार हप्ताबाट अण्डा पार्न थाल्छ । ५/६ महिनाको भएपछि मात्रै मासुकालागि बट्टाई बेच्छन् । ५/६ महिनासम्म अण्डा बेच्छन् । भाले बट्टाई भने अलि चाँडै बेच्छन् ।

६ महिना सम्म पाल्दा एउटा बट्टाईले औसतमा ६ सय ३० रुपैयाँको अण्डा दिन्छ । जिउँदो बट्टाई दुईसय रुपैयाँ सम्ममा विक्री गर्छन् । आफैं ह्याचरीमा अण्डा लगेर चल्ला उत्पादन गर्दा देखि ६ महिना सम्म पाल्दा जम्मा एक सय १० रुपैयाँ खर्च हुन्छ । बाँकी सबै आम्दानी हो ।

तीन महिनासम्ममा अण्डा बेचेर फाईदा भैसकेको हुन्छ । बाँकी झन फाईदा । बट्टाईले तीन सय सम्म अण्डा दिन्छ । दुई बर्षसम्म पनि बाँच्छ । अहिले सम्म बट्टाईलाई कुनै पनि रोग नलागेको बताउँछन् कृष्णमान् । उनले केही पनि औषधी खुवाएका छैनन् ।

बट्टाईलाई रोगप्रतिरोधात्मक क्षमता भएको पंछी मानिन्छ । यसको मासु र अण्डाखाँदा गर्मी गराउँछ । बिशेषगरी दम, बाथ, युरिक एसिड, निमोनिया, फ्याक्चर भएका बिरामीले मासु र अण्डा खाने उनी बताउँछन् ।

अहिले सात हजार

कृष्णमानको बट्टाई फार्ममा अहिले करिब सात हजार बट्टाई छन् । औसतमा दैनिक पाँच हजार अण्डा बेच्छन् । सानो ठाउँमा धेरै अट्छन् बट्टाई । कृष्णमानले जम्मा लम्बाई दश फिट, चौडाई ६ फिट र ३ फिटको उचाई भएको खोरमा बट्टाई पालेका छन् ।

सम्पूर्ण संरचनाको खर्च एकलाख रुपैयाँ मात्रै हो । एक बर्ष अगाडिबाट कृष्णमान मिस्त्री र प्लम्बरको काम छोडेर पूर्ण रुपमा बट्टाई पालनमा लागेका छन् । बट्टाईले छोटो समय र सानो लगानीमै राम्रो आम्दानी दिन थालेपछि कृष्णमान र कल्पना उत्साहीत छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :