बोयर ‘हब’ बन्दै डिभर्ना

यो समाचार 106 पटक पढिएको

अर्घाखाँची, १७ माघ ।अर्घाखाँचीको डिभर्ना बोयर जातका बाख्रा उत्पादनस्थल बन्दैछ। मासुजन्य उत्पादकत्व सुधार तथा बोयर वर्णशंकर उत्पादन कार्यक्रमअन्तर्गत जालकाँडा बाख्रापालन समूह सन्धिखर्क नगरपालिका डिभर्नाका किसानले शुद्ध बोयर जातको बोकाको प्रयोग गरी उत्पादनमा तेब्बर वृद्धि गरेका छन्।

अस्ट्रेलियाबाट प्रतिबोका तीन लाखका दरले १५ वटा बोयर बोका ल्याएपछि बोयर जातको बाख्रा उत्पादनमा वृद्धि भएको हो। परम्परागत रूपमा पालिँदै आएका खरी जातका बाख्रामा उन्नत बोयर बोका क्रस गराएर ६ महिनामै ४० केजी सम्मको मासु उत्पादन हुन थालेपछि अहिले बाख्रापालन व्यवासाय झनै फस्टाउँदै गएको छ। डिभर्नाका कृषक बोयर जातका बोकाको बिक्रीबाट मनग्गे आम्दानी गर्न सफल भएका छन्। सन्धिखर्क नगरपालिका वाड नम्वर ११ डिभर्नामा कृषक बोयर जातका बोकाको क्रस गरेर जन्माएका वटा बोका बिक्रीबाट मात्र १४ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।

यहाँ उत्पादित बोका तीन महिनामा नै ३० किलो र वर्षमा एक क्विन्टलभन्दा बढी मासु हुने बोयर बोका बिक्रीका लागि जिल्ला बाहिर पठाइएको थियो। एक सय ५३ घरधुरी संलग्न रहेको जालकाँडा बाख्रापालन समूहका कृषकले शुद्ध बोयर बोकाबाट उत्पादित बोका बिक्रीबाट पाउने १४ लाख रकम हस्तान्तरण गरिएको जिल्ला पशु सेवा कार्यलयका डाक्टर लोकनाथ पौडेलले बताए।

डिभर्नामा रहेको जालकाँडा बाख्रापालन समूहमा हाल एक हजार दुई सयको हाराहारीमा बाख्रा छन्। एक वर्ष अघि ल्याएका बोयर जातिका बोका अहिले तीन सय ९५ बाख्रामा लागेको छ। यहाँ उत्पादन भएका ४१ वटा बोका सल्यान, रुकुम र प्युठानमा ज्यूँदो एक केजीको एक हजारको दरले पठाएको र त्यहि रकम कृषकलाई हस्तान्तरण गरिएको हो। फेरि आजको समयमा ३० बोका तयारी अवस्थामा रहेको किसानका लागि उन्नत बिउबिजन परियोजनाका प्राविधिक राधा नेपालीले बताइन्।

किसानका लागि उन्नत बीउबिजन कार्यक्रम अन्र्तगत डिभर्नामा गएको वर्ष १३ वटा र यो वर्ष तीन वटा बोयर बोका वितरण गरिएको हो। जालकाँडा बाख्रापालन समूहका अध्यक्ष गोपाल बस्यालले भने, ‘गएको वर्षको मंसिरबाट बोका पाएका थियौं, गाउँका एक सय ५३ घरधुरी संलग्न रहेको समूहले अहिले १२ सय वाख्रापालन गर्दै आएका छन्। बोयर जातको बोका बाख्रालाई लगाई उत्पादनमा तेब्बर वृद्धि भएको छ। बाधेर राखिएको उनको भनाइ छ।

बोयर जातको बोका वितरण गरेसँगै सोही वडाका बासिन्दा बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन्। सुरुवातको समय भए पनि सदस्यसँग कम्तीमा तीनदेखि ३५ वटासम्म बाख्रा छन्। अध्यक्ष बस्यालसँग मात्रै २५ वटा बाख्रा छन्।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :