सिन्धुलीमा डेढ करोडको बंगुर फार्म

यो समाचार 119 पटक पढिएको

सिन्धुली, १४ माघ । जिल्लाको मरिण गाउँपालिकामा एक करोड ६६ लाख रुपैयाँ लगानीमा व्यावसायिक बंगुरपालन सञ्चालन गरिएको छ । मरिण गाउँपालिका ३ मा सहकारी गठन गरी सहकारीका माध्यमबाट बंगुरपालनमा लगानी गरिएको हो । गाउँमा श्री जागरण कृषि सहकारी संस्थाको गठन गरी व्यावसायिक बंगुरपालनका लागि एक करोड ६६ लाख ४९ हजार दुई सय ८६ रुपैयाँ लगानी गरिएको सहकारीका अध्यक्ष गणेश बुढाथोकीले बताए ।

‘संस्थाको ८४ लाख २४ हजार ६ सय र अनुदान रकम ८२ लाख २४ हजार ६ सय ८६ सहित कुल एक करोड ६६ लाख ४९ हजार दुई सय ८६ लगानी भएको छ,’ उनले थपे ।

उक्त लगानीमा व्यावसायिक कृषि तथा व्यापार आयोजना तथा विश्व बैंकको पुरक सहयोगमा सञ्चालित बंगुरको शुद्ध मासु, पाठापाठी तथा दाना उत्पादन उपआयोजनासमेत सञ्चालन गर्ने बताइएको छ । उक्त फार्मलाई जिल्लाकै ठूलो र नमुना फार्मका रूपमा लिने गरिएको छ । यो लगानीमा बंगुरपालनका लागि तीनवटा आधुनिक भवन, एउटा कार्यालय र अन्य उपकरण खरिद हुने जानकारी गराइएको छ ।

‘आगामी वर्षदेखि बंगुरका लागि आवश्यक दाना फार्मबाटै उत्पादन गर्ने गरी भौतिक पूर्वाधारको काम सुरु गरिएको छ । मासु र बच्चाका लागि आवश्यक पर्ने बंगुरका पाठापाठी फार्ममा नै उत्पादन गरिनेछ’, उनले थपे । निर्दिष्ट कृषिउपज मूल्य शृंखलामा आबद्ध साना कृषक, कृषि व्यवसायी तथा उद्यमीको प्रतिस्पर्धात्मक क्षमता सुधार परियोजनाले बंगुरपालनका लागि सहयोग गरेको छ ।

यसैबीच व्यावसायिक कृषि तथा व्यापार आयोजनाअन्र्तगत पुरक अनुदान प्राप्त गरी कृषि व्यवसाय गर्ने संस्थाले आफूले सञ्चालन गरेका आयोजनाको पारदर्शिताका लागि आयोजनास्थलमै सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ । लाभग्राही तथा स्थानीय सरोकारवालालाई जानकारी दिन तथा सुझाव संकलन गर्न सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको अध्यक्ष बुढाथोकीले जनाए ।

सार्वजनिक कार्यक्रममा व्यावसायिक कृषि तथा व्यापार आयोजनाका वासुदेव शर्मा, जिल्ला पशु सेवा कार्यालय सिन्धुलीका प्रमुख डाक्टर रामकुमार कार्कीले सहकारी संस्थाले गरेको बंगुरपालन व्यवसाय जिल्लाकै उत्कृष्ठ रहेको जानकारी दिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :