प्रदेश ७ मा सबैभन्दा ठूलो शीतभण्डार सञ्चालनमा

यो समाचार 100 पटक पढिएको

अमरगढी । डडेल्धुरामा प्रदेश ७ कै ठूलो शीतभण्डार (कोल्डस्टोर) सञ्चालनमा आएको छ । कृषिजन्य उत्पादनलाई लामो समयसम्म सुरक्षित राख्ने उद्देश्यले आधुनिक प्रविधिसहितको उग्रतारा शीतभण्डार उद्योग प्रालि सञ्चालनमा आएको हो ।


साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना (रिज्मएफपी) को पूरक अनुदान सहयोगमा निर्मित शीतभण्डारको क्षेत्रीय आयोजना निर्देशक गोकर्णराज अर्यालले उद्घाटन गर्नुभएको हो । नेपाल सरकारको साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको दुई करोड ९९ लाख र जिल्लाका उद्योगी व्यवसायीको दुई करोड ५७ लाख गरी पाँच करोड ५६ लाखको लगानीमा शीतभण्डार स्थापना भएको अध्यक्ष भोजराज भट्टले जानकारी दिनुभयो ।

शीतभण्डारको क्षमता एक हजार ४५० मेट्रिक टन अर्थात् १४ हजार ५० क्विन्टल रहेको अध्यक्ष भट्टले बताउनुभयो । पाँचतले शीतभण्डारमा नयाँ प्रविधिको ‘फ्रियोल’ मेसिन जडान गरेका छौँ, उहाँले भन्नुभयो, अहिले हामीले शीतभण्डारमा दुई हजार बोरा आलु भण्डार गरेका छौँ ।

यहाँका किसानले लामो समयदेखि आलु खेती गरिरहेकाले त्यसैलाई ध्यानमा राखेर आलुको बीउ राख्ने उद्देश्यले शीतभण्डार स्थापना गरिएको हो । यहाँका किसानले २०२५ सालदेखि आलु खेती गर्दै आइरहेका छन् तर शीतभण्डार अभावमा यस क्षेत्रका किसानले उत्पादन गर्ने आलुको उत्पादकत्व घटेर कम भइरहेको अवस्था थियो, अध्यक्ष भट्टले भन्नुभयो, हामीले यस क्षेत्रका किसानलाई ध्यानमा राखेर विशेष गरी बीउ राख्ने उद्देश्यले यो शीतभण्डारको स्थापना गरेका हौँ ।

शीतभण्डारमा किसानको गुणस्तरीय बीउ राख्ने आफूहरूको योजना रहेको उहाँले बताउनुभयो । उहाँले करिब छ महिना जति किसानको आलुको बीउ कोल्ड स्टोरमा सञ्चित गरेर राख्ने बताउनुभयो । किसानले कोल्ड स्टोरमा एक क्विन्टल बीउ राखेबापत पाँच सय रुपियाँ तिर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।

उहाँले यस कोल्ड स्टोरमा प्रदेश ७ का अन्य पहाडी जिल्लाका कृषकले पनि आलुको बीउ सञ्चित गरेर राख्न सक्ने बताइएको छ । किसानले कोल्ड स्टोरमार्फत आलुको बीउलाई मात्रै सुरक्षित राख्न सके आयस्तरमा ३० प्रतिशत वृद्धि हुने आयोजनाका क्षेत्रीय आयोजना निर्देशक गोकर्णराज अर्यालले बताउनुभयो ।

शीतभण्डार स्थापना भएपछि आफ्नो आयस्तरमा वृद्धि हुने गन्यापधुरा गाउँपालिका–१ का आलु कृषक कृष्णदत्त अवस्थीले बताउनुभयो । विगतका वर्षमा आलुको बीउमा विभिन्न किसिमका समस्या झेलेकोमा अब शीतभण्डारका कारण आलुको बीउ राख्न सजिलो हुने बताउनुभयो । शीतभण्डार स्थापना भएपछि आफ्नो बारीमा उत्पादित आलु सस्तो मूल्यमै तराई पठाउनुपर्ने बाध्यता हटेको कृषक पशुपति ऐर बताउनुभयो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :