सुख्खाग्रस्त क्षेत्रमै सिँचाइका लागि शून्य बजेट

यो समाचार 63 पटक पढिएको

सिराहा । सिँचाइको अभावले आकासे पानीको भरपर्दा सुख्खाको समस्या भोगिरहेको सिराहा र सप्तरीमै चालू आर्थिक वर्षमा सिँचाइका लागि शून्य बजेट विनियोजन गरिएको छ ।

भूमिगत सिँचाइको भरपर्दो साधन मानिएको डिप ट्युबवेल जडान गर्नका लागि चालू आर्थिक वर्षदेखि दुवै जिल्लामा तराई मधेस सिँचाइ विशेष कार्यक्रम अन्तर्गत ४३ वटा डिप ट्युबवेल स्वीकृत गरिएको छ तर विशेष कार्यक्रम भनेर स्वीकृत गरिएका ती सबै ट्युबवेल जडान गर्न लहानस्थित भूमिगत जलसिँचाइ विकास डिभिजन कार्यालयलाई बजेट शून्य छ ।

एउटा डिप ट्युबवेल जडान गर्न साधारणतया ६० लाख रुपियाँभन्दा बढी रकम आवश्यक पर्दछ । जसमध्ये बोरिङ गर्न मात्र २० लाख रुपियाँ खर्च हुन्छ भने डिप ट्युबवेल प्रणाली निर्माण गर्न ४० लाख रुपियाँभन्दा बढी खर्च लाग्दछ । डिप ट्युबवेल प्रणालीमा विद्युतीकरण, पम्प मोटर, उपकरण घर, ओभरट्याङ्क र वितरण प्रणालीका लागि कुलो निर्माण पर्दछ ।

एकैपटक ४० हेक्टर जग्गामा सिँचाइ पु¥याउने डिप ट्युबवेलको सम्पूर्ण निर्माण कार्य उपभोक्ता समिति वा ठेक्का जुनमार्फत भए पनि तीन वर्षभित्र सम्पन्न हुने प्रचलन रहिआएको छ । एउटा डिप ट्युबवेल निर्माण गर्न ६० लाख रुपियाँभन्दा बढी रकम आवश्यक पर्ने भए पनि भूमिगत जलसिँचाइ विकास डिभिजन कार्यालयलाई तीन लाख ८० हजारदेखि नौ लाख ५० हजार रुपियाँ मात्रै पठाइएको छ ।

यो हिसाबले सबैभन्दा बढी नौ लाख ५० हजार रुपियाँ बजेट छुट्याइएको सप्तरी जिल्लाको लालापट्टीको दुईवटा डिप ट्युबवेलको निर्माण सम्पन्न हुन करिब साढे छ वर्ष तथा तीन लाख ८० हजार बजेटको डिप ट्युबवेल निर्माण सम्पन्न गर्न झण्डै २० वर्ष लाग्ने डिभिजन कार्यालयले जनाएको छ ।

भूमिगत जल सिँचाइ विकास डिभिजन कार्यालय लहानका हाइड्रोजियोलोजिस्ट अमरसिंह राईले जिरो बजेटको कारणले समृद्ध तराई मधेस विशेष कार्यक्रम अन्तर्गतका योजना अगाडि बढाउन कठिनाई भइरहेको बताउनुभयो । सानो अढाई हेक्टरको भू–भागमा भूमिगत सिँचाइ उपलब्ध गराउने स्यालो ट्युबवेलको निर्माण गर्न त करिब पाँच लाख बजेट आवश्यक पर्छ, हाइड्रोजियोलोजिस्ट राईले भन्नुभयो, डिप ट्युबवेलको नाममा आएको यो बजेटले केही गर्ने अवस्था नै नभएकोले संशोधनको लागि पुनः विभागमा पठाएका छौँ ।

बजेट त समृद्ध तराई मधेसको नाममा आएको छ तर यस्तो बजेटले तराई मधेसलाई उल्टै विपन्न नै बनाउने गर्छ, राष्ट्रिय कृषक समूह महासङ्घ नेपालका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष मुक्तिनारायण यादवले भन्नुभयो, यो कार्यक्रममा आएको बजेट वास्तविक रूपमा डिप ट्युबवेल निर्माण गर्नका लागि होइन सिँचाइ उपभोक्ताको नाममा कार्यकर्ताको भरणपोषणका लागि आएको जस्तो देखिन्छ ।

उहाँले समृद्ध तराई मधेस विशेष कार्यक्रमको नाममा डिप ट्युबवेल जडान गर्न आएको यो कार्यक्रम राष्ट्रिय सूचकमा देखिने भएकोले सिँचाइसँग सम्बन्धित अन्य कार्यक्रम यहाँबाट स्वतः बाहिरिने खतरा सिर्जना भएको सम्भावना व्यक्त गर्नुभयो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :