मदनपोखराका किसान मौरीपालनतर्फ

यो समाचार 332 पटक पढिएको

पाल्पा, माघ २०/ पाल्पा मदनपोखराका किसान व्यावसायिक कृषिसँगै मौरीपालनतर्फ पनि आकर्षित हुन थालेका छन्। मौरीपालनसम्बन्धी तालिम पाएपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन्। तरकारी व्यवसाय गर्दै आएका यस क्षेत्रका किसान मह उत्पादनलाई व्यावसायिक बनाउने सोचका साथै क्रियाशील भएका छन्।

Honey beeNewsagro

 

उनीहरू गाउँमै बसेर रोजगारी सिर्जना गर्ने सोचमा छन्। मदनपोखरा ३ का २५ भन्दा बढी किसान आधुनिक मौरीपालनतर्फ लागेका छन्। मदनपोखरा ३ का प्रेमबहादुर सारूका अनुसार एक साताको तालिमपछि उनीहरू मौरीपालनतर्फ लागेका हुन्। मदनपोखरा ३ पिपलडाँडाका २० किसानले ५० लाख रुपैयाँभन्दा बढी लगानी गरी जिल्लामै नमुना मौरीपालन व्यवसाय सञ्चालन गर्ने योजना बनाएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका अधिकृत बालकृष्ण गैरेले जानकारी दिए।

 

 

तालिममा किसानले घार व्यवस्थापन, मौरी गोला विभाजन, मौरीको चरन क्षेत्र, मह काढ्दा ध्यान दिनुपनर्ने पक्ष, सिजनमा मौरीका लागि आवश्यक खानाको व्यवस्थापन, मुढे घार र आधुनिक घारबीचका फरकलगायतका विषयमा जानकारी लिएको गैरेले जानकारी दिए।

 

उनले बेरोजगार युवालाई गाउँघरमै रोजगारी प्रदान गर्ने उद्देश्यले समुदायको मागमा आधारित भएर आयमूलक तालिम प्रदानगर्दै आएको बताए। स्वस्थ रहन मानिसले दिनहुँ कम्तीमा पनि एक चम्चा मह अनिवार्य खाँदा राम्रो हुने र मौरी नभए वातावरण संरक्षण पनि नहुने भएकाले मानिसको जीवनमा मौरीपालन अनिवार्य भएको स्थानीय किसान सारूले बताए। उनले भने, ‘मौरीपालनमा अगाडि बढेका छौं, सम्बन्धित निकायबाट आवश्यक सीप र क्षमता विकासमा सहयोग गर्नुपर्छ।’

रचनात्मक प्रतिक्रिया दिनुहोस् :