अब एउटै ट्रेडमार्कमा संसारभर चिया निर्यात

यो समाचार 130 पटक पढिएको

काठमाडौं, २६ पुस । सरकारले स्वदेशी अर्थोडक्स चियासम्बन्धी सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका स्वीकृत गरेको छ । अर्थोडक्स चियासम्बन्धी निर्देशिका नहुँदा उत्पादकले निर्यात गर्न ठूलै समस्या व्यहोर्दै आइरहेका छन् ।

कृषि विकास मन्त्री रामकृष्ण यादवले पुस २ गते मन्त्रिस्तरीय निर्णयबाट निर्देशिका स्वीकृत गरेका हुन् । निर्देशिका कार्यान्वयनमा आइसकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमका अनुसार अर्थोडक्स चियासम्बन्धी निर्देशिका नहुँदा उत्पादनकर्ताले आफूखुसी चियाको गुणस्तर निर्धारण गरी लोगो राखेर विभिन्न मुलुकमा निर्यात गर्दै आएका थिए ।

भारतीय उद्योगीले नेपालबाट अर्थोडक्स चिया आयात गरी आफ्नै ब्रान्डमा तेस्रो मुलुकमा निर्यात गरेका कारण नेपाली उत्पादक र उद्योगी ठूलो मारमा परेका थिए । निर्देशिका आएपछि यस्ता समस्या समाधान हुने उद्योगीको भनाइ छ ।

‘तर अब त्यसो गर्न पाइँदैन, निर्देशिका आइसकेपछि निर्देशिकाले तोकेको मापदण्ड पूरा गर्ने उत्पादनकर्ताको चियाले मात्रै सरकारी लोगो (टेडमार्क) प्राप्त गर्न सक्षम हुनेछन्,’ बोर्डका कार्यकारी निर्देशक गौतमले भने,‘सोही लोगोका आधारमा उत्पादनकर्ताले चिया निर्यात गर्न पाउनेछन् ।’

बोर्डले दुई वर्षअघि नै उद्योग विभागमा ‘नेपाल टी : क्वालिटी फ्रम दी हिमालयज’, भन्ने नारासहितको ब्रान्डिङ लोगो दर्ता गराइसकेको छ । तर, यो लोगो कस्तो चियामा प्रयोग गर्ने विषयमा निर्देशिका नहुँदा लोगो प्रयोगमा झण्झटिलो प्रक्रिया उत्पादनकर्ताले व्यहोर्दै आएका थिए । अर्थोडक्स चिया उत्पादन गर्ने उत्पादनकर्ताले अबदेखि अनिवार्य रूपमा निर्देशिकाले तोकेको मापदण्ड पालना गरेपछि मात्रै लोगो प्राप्त गर्ने र यही लोगो हालेर आन्तरिक बजारदेखि अन्तर्राष्ट्रिय बजारसम्म बजारीकरण गर्न पाउने व्यवस्था गरिएको छ ।

निर्देशिका अनुसार वातावरणलाई नोक्सानी नहुने गरी हरियोपत्ती उत्पादक, संकलन केन्द्र र ढुवानीकर्ता, चिया प्रशोधनकर्ता, चिया प्याकेजिङकर्ता, चिया वितरकले विभिन्न तहमा अर्थोडक्स चियासम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याउनुपर्नेछ । यो मापदण्ड पूरा गरेको उद्योगीले आवेदन दिएपछि बोर्डको अनुगमन व्यवस्थापन समितिले चियाखेती प्रणाली, टिपाई, प्रशोधन, प्याकेजिङ, असल कृषि अभ्यास (जीएपी), असल प्रशोधन अभ्या (जीएमपी) लगायतआधारमा नेपालको गुणस्तरको रूपमा रहेको लोगो प्रदान गर्नेछ ।

बोर्डले निर्देशिकामार्फत दुई पात एक सुइरो मात्र टिप्नुपर्ने मापदण्ड बनाएको छ । यस्तै नेपालसहित अन्य अन्तर्राष्ट्रिय मुलुकमा प्रतिबन्ध लगाइएको कुनै पनि प्रकारको विषादी प्रयोग गर्न नपाइने, हरियो पत्ती राख्ने सामग्री रासायनिक मल र अन्य प्रकारका रासायनिक पदार्थका लागि प्रयोग गर्न नपाइने, टिपाइका लागि प्रयोग गरिने सामग्री फोहोर र प्रदूषणमुक्त हुनुपर्ने, हरियो पत्ती वा तयारी चियालाई कुनै पनि प्रकारको अखाद्य वस्तुसँगै मि श्रण र दूषित पदार्थसँगै राख्न नहुने जस्ता मापदण्ड तयार पारिएको छ ।

यस्तै प्याकेजिङ गरिएको चियाको लेबलमा उत्पादन, प्याकेजिङ मिति, उपभोग गर्ने अन्तिम मिति, चियाको प्रकार, ग्रेड, बगानस्थल, कारखाना स्थल, तौल र अधिकतम मूल्य प्रस्टसँग उल्लेख गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । यसैगरी प्याकेजिङ गरिएका चियामा आवश्यक छाप र लोगो प्रयोग गर्नुपूर्व गुणस्तर मापन गर्ने अधिकारीबाट निरीक्षण गराउनुपर्ने व्यवस्था गरिएको छ । खुद्रा व्यवसायीदेखि थोक व्यवसायीसम्मले चियाको गुणस्तर कायम राख्नुपर्ने व्यवस्था पनि निर्देशिकामार्फत गरिएको छ ।

बोर्डका अनुसार नेपालमा २७ हजार ६ सय ८८ हेक्टरमा चियाखेती हुन्छ । यसअनुसार दुई करोड ४२ लाख किलो चिया उत्पादन हुन्छ । यसमध्ये एक करोड ८४ लाख किलो सिटीसी र ५८ लाख किलो अर्थोडक्स चिया उत्पादन हुन्छ । नेपालबाट वार्षिक दुई अर्ब ४० करोड मूल्यबराबरको १३ हजार टन चिया निर्यात हुन्छ । तराईमा २७ वटा सिटीसी चिया प्रशोधन केन्द्र, पहाडी क्षेत्रमा २८ वटा मझौला तथा ठूलो अर्थोडक्स चिया प्रशोधन केन्द्र र ६५ वटा लघु प्रशोधन केन्द्र सञ्चालनमा छन् ।

चिया उद्योगमा ६० हजारले रोजगारी पाएका छन् । झापा, इलाम, पाँचथर, धनुकुटा, तेह्थुम, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर, कास्की, लमजुङलगायत जिल्लामा चियाखेती गरिन्छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :