९० प्रकारको पोषण तत्व र ४६ किसिमको एन्टी अक्सिडेन्टको धनी : तराई मधेशमा हुने मोरिङ्गा(मुनगा) को अद्भूत बिशेषता

यो समाचार 30473 पटक पढिएको

बालबालिकादेखि बृद्धबृद्धाको स्वास्थ्यका लागि सर्वौत्तम

• डा. श्रीभगवान ठाकुर

मोरिङ्गा(मुनगा) नेपालको तराई मधेश तथा मध्य पहाडमा छिटो तैयार हुने मानव शरिरलाई आवश्यक पर्ने ९० भन्दा बढी किसिमको पोषण तत्व र ४६ किसिमका एन्टी अक्सिडेन्ट पाइने , लिची र आँप हुने ठाउँमा सजिलै लगाउन सकिने रुख हो । जुन मानव खाद्य पदार्थ, औषधी, रंग, घाँस तथा पानी शुद्धिकरणमा प्रयोग हुने अपहेलित बाली हो । यसको उत्पति हिमालयको दक्षिणी भेकमा भएको मानिन्छ । यो विभिन्न देशमा विभिन्न नामले चिनिन्छ । यसलाई ड्रम पिट्ने लठी जस्तो भएकोले अंग्रेजीमा ड्रम स्टिक भनिन्छ भने जराको गन्ध मूलाको जस्तो भएकोले होर्स¥याडिस पनि भनिन्छ । दक्षिणी भारतमा मोरिङगा, नेपालको मधेश तराईमा सोहजन, सहजन, मुन्गा र पहाडमा शितलचिनी नामले चिनिन्छ । यसका विभिन्न प्रजातीमध्ये मोरिङगा ओलिफेरा बढी लाभदायक तथा चमत्कारी मानिन्छ ।

सोहजनको उत्पादन, प्रवर्धन, विकास तथा अनुसन्धानमा विशेष ध्यान दिएमा देशको स्वास्थ्य, सामाजिक, आर्थिक, वातावरणीय जस्ता समस्या समाधानमा उपयोगी सिद्ध हुने विश्वास लिइएको छ ।

पौष्टिक महत्व :
सोहजनको खेती पात, फल र जराबाट पाइने विभिन्न खाद्य पदार्थ तथा औषधीको लागि पनि गरिन्छ । यो संसारका धेरै पोषिलो बालीमध्ये एक हो । यसका पातमा पाइने गुणकारी शक्तिले गर्दा सोहजनलाई चमत्कारी रुख भन्ने गरिन्छ । यसको पातमा गाँजरमा पाइने भिटामीन ए (बीटाकेरोटीन) भन्दा १० गुणा बढी, सुन्तलामाभन्दा सात गुणा भिटामीन सी, दूधमा भन्दा १० गुणा बढी क्यालसीयम, पालुङोमा भन्दा २६ गुणा बढी फलाम, गहुँ भन्दा बढी १५ गुणा बढी फाइबर, अण्डाभन्दा ३ गुणा तथा गाईको दूध भन्दा २ गुणा बढी प्रोटीन, रायो भन्दा ३ गुणा बढी भिटामीन ई, र केरामा भन्दा १५ गुणा बढी पोटासियम पाईन्छ ।

खाद्य तथा पेय पदार्थमा प्रयोग :
कलिलो नरम तथा छिप्पिएको फल (कोसा) विभिन्न किसिमले विभिन्न परिकारहरु पकाइन्छ । यसको बीउबाट तेल निकालिन्छ, जुन खाना पकाउन तथा सिंगारमा प्रयोग हुन्छ । कलिलो बीउ हरियो केराउको परिकारका रुपमा प्रयोग गरिन्छ । पात तरकारीका रुपमा प्रयोग गरिन्छ । पात पकौडा, बाडा, साग, तरकारी तथा माछामा झोल बनाउन पनि प्रयोग गरिन्छ । पातको पाउडर तथा अचार बनाएर प्रयोग गर्न सकिन्छ । हरियो तथा सुकाएको पातबाट चिया तथा जरा मसालाका रुपमा प्रयोग गरिन्छ । ताजा अथवा सुकाएको फूल चिया बनाउन प्रयोग गरिन्छ ।

स्वास्थ्यमा प्रयोगः
सोहजन बच्चाहरुको कुपोषणको लागि सफलताका साथ प्रयोग गरिन्छ भने यसले हाम्रो शरीरको लागि प्रतिरक्षात्मक प्रणालीलाई मजबुत बनाउने क्षमता भएकोले छिटै निको नहुने संक्रमणित रोग जस्तैः एड्स वा एच.आइ.भी. को आधुनिक औषधी बनाउन प्रयोग गरिन्छ । यसको प्रयोग कलेजोको रोगी समेत विभिन्न अरु रोगहरु उपचार गर्ने परम्परागत औषधी बनाउन प्रयोग गरिन्छ । हालमा यसले एन्टीबायोटिक गतिविधिका रसायन उत्पादन गर्ने भएकोले औषधीहरुको लागि जैविक उत्प्रेरकको रुपमा पत्ता लागेको छ ।

अन्य प्रयोगः
यसको बीउ र वा बीउको पिना पानी शुद्धिकरणमा प्रयोग गर्न अनुसन्धान भईरहेको छ । यसको पात गाईवस्तु, बाख्रा, माछा, कुखुराको घाँस दाना, खेती पातीको लागि मल, जैविक विषादीकौ रुपमा र पिनाबाट मल बनाउन प्रयोग गर्न सकिन्छ ।

बृद्धि विकासः
यो विभिन्न किसिमका वातावरणीय अवस्था भएका क्षेत्रमा उत्पादन हुन सक्छ । यो छाँयामा धेरै उच्च तापक्रम सहन सक्छ र हल्का तुषारोमा पनि बाँच्न सक्छ । सुख्खा सहनसक्ने भएकोले वार्षिक २५०–१५०० मि.मीसम्मको वर्षामा पनि राम्ररी हुन सक्छ । यो राम्रो निकास भएको बलौटे दोमट वा दोमट माटो तर पांगोमाटो पनि सुहाउँछ । यो सिधै बीउ रोपण, बेर्ना सार्ने वा कडा डाँठको कटिङबाट प्रसारण गर्न सकिन्छ ।

उत्पादनः
यसको पात ३–६ महिनाको उमेरमा रुख १.५ देखि २ मीटर अग्लो अवस्थामा टिपिन्छ । यसको पात डाँठ हांगाबाट तानेर टिपिन्छ । पुराना पातहरुलाई कडा डाँठबाट नङ्गयाउनु पर्दछ । यस्ता सुकेका पातको धुलो अथवा पाउडर बनाउन प्रयोग गरिन्छ किनभने डाँठहरुलाई बोटवाट अर्को ठाउँमा सार्नु पर्ने हुन्छ । ताजा तरकारीको लागि कलिलो हरिया पातहरु विहानै टिपेर बजारमा उही दिन बिक्री गर्ने पर्ने हुन्छ । फूल र कोसा दोश्रो वर्षमा उत्पादन दिन्छ । कोसा कलिलो कोमल र हरियो नै टिप्नु पर्दछ । छिप्पिएको कोसाको कलिलो बीउ पाक्नुभन्दा अघिसम्म छोटो समयको लागि खान लायक हुन्छ । यो प्रतिकिलो एकसय रुपैयाँभन्दा बढीमा बिक्री गर्न सकिन्छ ।

डा. श्रीभगवान ठाकुर

नेपालमा सोहजनको विकास र समस्या :
पूर्वी तथा मध्य तराई मधेशमा घरको वरिपरि १, २ बोट लगाएको पाईन्छ । पछिल्लो समय प्रचार प्रसार, प्राविधिक सहयोग, बीउ सहजरुपमा पाउन थालेपछि सुनसरी, काठमाडौ, काभ्रे, ओखलढूंगा पर्वत, रुपन्देहीलगायतमा यसको व्यवसायिकरुपमा खेती गर्न थालिएको छ । चितवनमा भूसंरक्षण कार्यालयले भूक्षय रोक्न तथा हिफर इन्टरनेशनलले बाख्राको घाँसको कार्यक्रममा राखेको पाईन्छ । लुम्बिनी आयुर्बेदिक लि बुटबलले मारिङगा चिया र पाउडरको व्यवसायिक उत्पादन सुरु गरेको छ । सोहजनको प्रवर्धन तथा विकास एकदमै मन्द गतिमा हुनु समस्याको रुपमा मानिन्छ । कुनै पनि मन्त्रालय विभागले आफ्नो कार्यक्रम बजेटमा नराख्नु, प्राविधिक सहयोग उपलब्ध नहुनु, यसका बीउ नेपालमा सजिलै प्राप्त नहुनु, सरकारबाट कुनै किसिमको चासो नहुनु, उत्पादन, प्रशोधन तथा बजार सम्बन्धी तथ्याँक, अध्ययन अनुसंधान नहुनु, व्यवसायिक खेती तथा उद्योग विकास जस्ता समस्या मुख्य हुन् ।

ग्रामीण तथा सामाजिक–आर्थिक विकासमा योगदान :
यसको खेती उद्देश्य र चाहिएको परिमाणअनुसार सामुदायिक परियोजनामा वा परिवार तहमा सानो परिमाणमा गरिन्छ । यो वायू अवरोधक, भू–क्षय रोक्न, जीवित बार, सौन्दर्यता तथा अरु बालीको लागि छाँया प्रदान गर्न प्रयोग गरिन्छ । यसको अर्गानिक उत्पादन अफ्रिकन मुलुकहरुमा प्रशस्त माग रहेकोले आर्थिक उपार्जनको राम्रो संभावना रहेको छ । यस्को उत्पादन र उपभोगबीच संतुलन नभएमा जैविक प्रणाली समेतमा नकरात्मक प्रभाव परी अनुवांशिक श्रोत पनि लोप हुने खतरा उत्पन्न हुनसक्छ । वास्तवमा सोहजनको प्रभावकारी विकास र व्यवस्थापनमबाट विकसित मुलुकहरुमा दीगो विकास ताथ गरिवी न्यूनीकरणमा योगदान पु–याएको छ ।

निश्कर्ष :
सोहजनको तराई मधेश लगायत मध्य पहाडमा अति उपयोगी तथा सामाजिक आर्थिक हिसावले महत्व रहेता पनि सरकार, समाज, दातृनिकाय, अनुसन्धान संस्था, कृषक, संचारकर्मी, व्यापारी, उद्योगीहरुले समुचित ध्यान नदिनाले चमत्कारी क्षमताको सदुपयोग गर्न सकिएको छैन । सोहजन खेत बारी, पोखरीको डिल, आली, नदीको बगर, पहिरो जाने भिरालोमा, खेर गएको कमअसल जग्गा, आदिमा खेती गर्न प्रोत्साहन गर्न सकिन्छ । अतः सोहजनको उत्पादन, प्रवर्धन, विकास तथा अनुसन्धानमा विशेष ध्यान दिएमा देशको स्वास्थ्य, सामाजिक, आर्थिक, वातावरणीय जस्ता समस्या समाधानमा उपयोगी सिद्ध हुने विश्वास लिइएको छ ।