नाफामूलक कृषि व्यवसाय कसरी गर्ने ?

यो समाचार 238 पटक पढिएको

• डा ध्रुवराज भट्टराई

कृषि उत्पादनमा मुनाफा बजारको तह र बाली कटानीपछि उत्पादित उपज उपभोक्तासम्म पुग्दा गरिने सम्पूर्ण क्रियाकलाप जस्तै ग्रेडिङ, प्याकेजिङ, ढुवानी, भण्डारण, बिक्री आदिमा लाग्ने लागत र प्राप्त मूल्यमा भर पर्छ।

उपजको कटानीपछि बिक्री गर्नुअगाडि त्यसलाई बिक्रीयोग्य बनाउन सफाइ, ग्रेडिङ र प्याकेजिङ गरिन्छ। उपजलाई बेचबिखन गर्ने सिलसिलामा विभिन्न स्थानमा चढाउने, उतार्ने, स्टोरमा राख्ने, निकाल्ने आदि गरिराख्नुपर्ने हुन्छ। यस्ता कार्यले पनि बजार लागत बढ्न जान्छ। बजार लागत बढाउनमा ढुवानी पनि एउटा प्रमुख कारण हो। त्यसैगरी उत्पादनको पोस्टहार्भेस्ट क्षति जस्तै– सुकेर, किच्चिएर, कुहिएर गुणस्तर र परिमाणमा ह्रास आउन सक्छ। उत्पादन र बजारस्थलको दूरी बढी भएमा पनि क्षति बढ्न सक्छ। बजारमा बेच्न लगिएका उपजहरू क्षति भएमा बजार लागत बढ्न जान्छ।

कुनै उपजको बजार कारोबारमा लगानीको आवश्यकता हुन्छ। कारोबारमा लगानी गरेको पुँजी लामो समयसम्म नउठ्न सक्छ वा त्यो पुँजी बैंकबाट ऋणस्वरूप लिएको भए ब्याज तिरिराख्नुपर्छ। यसरी कृषि बजारमा लगानी गरेको पुँजीको प्राप्त हुनसक्ने ब्याज पनि बजार लागतमा जोडिन्छ। नेपालको सन्दर्भमा चुंगीकर, गाउँपालिका, नगरपालिकाले उठाउने कर, सामग्री बेचिदिएवापत कतिपय व्यापारीले कृषकबाट लिने कमिसन, उपज राखेको भाडा, भण्डारण र प्रशोधन आदि यस्तो खर्च पनि बजार लागतमा जोडिन्छ।

त्यसैगरी नेपालमा कृषि व्यवसायमा मध्यस्थकर्ताको मनोमानी देख्न सकिन्छ। कुनै निकायबाट मध्यस्थकर्तालाई नियन्त्रण गर्ने कार्य भएको पाइँदैन। उत्पादनले अत्यन्त कम मूल्य पाउने र मध्यस्थकर्ताले मनमानी रूपमा ठूलो रकम कमाउने प्रथाले जरो गाडिसकेको छ। अर्कोतर्फ आधुनिक बजार प्रणालीले नेपाली कृषि बजारमा प्रवेश नै नपाउनु ठूलो समस्या हो।

कृषक तथा व्यापारी दुवै पक्ष कृषि उपजको बिक्रीबाट बढी मुनाफा कमाउन चाहन्छन्। त्यसका लागि व्यवसाय प्रबन्ध, उपजको बजार लागत कम गर्ने, उद्यम अभिलेख राख्ने विषयमा ध्यान दिए मुनाफा गर्न सकिन्छ।

व्यवसाय प्रबन्ध

व्यवसाय प्रबन्धको मुख्य सम्बन्ध तिनै निर्णयमा निहित हुन्छ। एकजना उद्यमीले ती सबै निर्णय एकैपटक व्यवसाय सुरु गर्नुपहिला लिनुपर्ने हुन्छ। उत्पादन, व्यवस्थापन र खरिदबिक्रीसम्बन्धी निर्णय समयमा लिन सक्नुपर्ने हुन्छ। उत्पादनसम्बन्धी नीतिगत निर्णय र कार्यशील निर्णय लिनुपर्छ। नीतिगत निर्णयमा व्यवसायको आकार कत्रो बनाउने, पशुधनको आवश्यकता, कृषियन्त्र, सिँचाइ आदि पर्छन् भने कार्यशील निर्णयमा के, कति, कसरी र कहिले उत्पादन गर्ने आदि पक्ष पर्छन्। त्यसैगरी कृषि उद्यमीले व्यवस्थापनसम्बन्धी विभिन्न निर्णय लिनुपर्ने हुन्छ।

जस्तै– व्यवसायका लागि चाहिने वित्त व्यवस्था कसरी गर्ने, सस्तो ब्याज कहाँबाट लिने भन्ने रकमको समुचित प्रयोग गर्नुपर्ने हुन्छ। मल, बीउ, ज्यामी आदिका लागि सबै कुरामा ध्यान दिएर उपलब्ध वित्तको समुचित प्रयोग गर्नुपर्ने हुन्छ। त्यसैगरी व्यवसायको हरहिसाब र लेखा अर्को महत्वपूर्ण कुरा हो। सरकारी कार्यक्रम र नीतिसँग आफ्नो व्यवसाय समायोजन गर्न सक्नुपर्ने हुन्छ। उद्यमीले कुनै सहयोग अन्य कार्यक्रमबाट पाउँछ भने त्यसले उसको उत्पादन लागत घट्न जान्छ, जसले गर्दा मुनाफा बढ्छ। व्यवसायका लागि उत्पादन सामग्री बीउ, मल, विषादी, कृषियन्त्र खरिद गर्नुपर्ने हुन्छ। कहिले, कहाँ, कसरी खरिद गर्ने भन्ने निर्णय उद्यमीले समयमै गर्नुपर्ने हुन्छ। त्यसैले कहिले, कहाँ र कोद्वारा बिक्री गर्दा धेरै मुनाफा कमाउन सकिन्छ भन्ने निर्णय पनि कृषकले समयमै गर्न सक्नुपर्ने हुन्छ।

बजार लागत कम गर्ने

बिक्री गरिने उपजबारे धेरै कुरा ख्याल गर्नुपर्छ। कृषि उत्पादन टिप्दा वा काट्दा चोटपटक लाग्न गएमा त्यसको बजार गुणस्तर घट्न जान्छ। यसले गर्दा उक्त उपज बिक्री हुन नसक्ने वा बिक्री भए कम मूल्यमा हुन्छ। तरकारी वा फलफूल टिप्दा बजारको दूरी वा बिक्री गर्न लाग्ने समयको ख्याल गरी पूर्णरूपमा पाक्नुअघि कति दिनमा टिप्ने र केकसरी र कस्तो भाँडोमा राख्ने भन्नेबारे जान्नुपर्ने हुन्छ।

उत्पादनलाई बिनाग्रेडिङ र प्याकेजिङ बजारमा लैजाँदा गुणस्तरमा ह्रास आउनुका साथै आर्कषक नदेखिने भएकाले मूल्य कम हुन सक्छ। त्यसैले उपजको गुणस्तर कायम गर्न र आकर्षक बनाउन भरसक स्थानीय, सजिलै उपलब्ध हुने प्याकेजिङ, सामग्री प्रयोग गरी लागत कम गर्न सकिन्छ। समूहगत रूपमा समूहको प्रतिनिधिमार्फत कृषि उत्पादन बेच्दा प्रतिकिलो बजार लागत तुलनात्मक रूपले कम पर्छ। ससाना उत्पादन मिलेर आपसी सहयोगका आधारमा आफ्नो उत्पादन बेच्न सकिन्छ। गाउँ–सहरलाई जोड्ने राम्रो सड्क नहुनु र यातायात सुविधा भएको ठाउँमा ढुवानी खर्च धेरै हुनुले लागत बढ्छ।

उत्पादनस्थलदेखि बजारसम्म पुग्न धेरै समय लाग्दा कम मुनाफा हुने भएमा उत्पादक तथा वितरकले उत्पादनलाई छिटो पुग्ने व्यवस्था मिलाउनुपर्छ। बिजुलीको महसुल धेरै भएकाले भण्डारण शुल्क वृद्धि हुन जान्छ। त्यसकारण सरकारले विद्युत् शुल्कमा विशेष छुट दिई शीतभण्डारण स्थापना गर्ने र भण्डारण शुल्क कम गराई बजार लागत कम गर्न सकिन्छ। भण्डारण, प्याकिङ, प्रशोधन उद्योग स्थापना तथा सञ्चालन कार्यका लागि बैंक ऋण ब्याजदर कम भयो भने पनि लागत कम हुन्छ।

उद्यम अभिलेख

व्यावसायिक कृषकका लागि अभिलेख (रेकर्ड) तथा खाता (एकाउन्ट) को ठूलो महत्व हुन्छ। आफू कुन अवस्थामा छु भन्ने थाहा पाउन व्यवसाय एकाउन्टिङको ठूलो महत्व हुन्छ। सामान्यतया एकजना कृषि उद्यमीले तीन प्रकारका रेकर्ड राख्न सक्नुपर्छ– नाफा—नोक्सान खाता, ब्यालेन्स सिट र आय विवरण। त्यसका लागि नाफा–नोक्सान खाता तयार गरिन्छ। नाफा–नोक्सान खाता तयार भएपछि ब्यालेन्स सिट तयार गरिन्छ। यसको मुख्य उद्देश्य फार्म व्यवसायको वर्षको अन्त्यमा वित्तीय दशाको बारेमा जानकारी गर्नु हो।

त्यसैगरी एउटा फार्म व्यवसायको वास्तविक कार्य स्थिति प्रस्तुत गर्न आय तथा व्ययलाई संक्षिप्त रूपमा प्रदर्शित गरिन्छ। यसमा एकातर्फ व्यवसायको पूरै खर्च र अर्कोतर्फ पूरै आम्दानी लेखिन्छ। कुल आम्दानीमा कुल खर्च घटाएर व्यवसायको एक वर्षको नेट आम्दानी निकाल्न सकिन्छ। व्यवसायको हिसाब नराख्नेलाई सफल कृषि व्यवसायी बन्न गाह्रो हुन्छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :