नेपालमा डेरीका समस्या र योगदान

यो समाचार 147 पटक पढिएको

नेपालको डेरी (दुग्ध) क्षेत्रले बिस्तारै फड्को मार्दै अघि बढेको छ । दूध र दूधजन्य पदार्थबाट बनेका परिकार स्वास्थ्यका लागि अति लाभदायक हुने र मानिस शाकाहारी बन्ने प्रवृत्ति बढ्दै गर्दा डेरी क्षेत्रको विकासलाई थप बल पुगेको छ । नेपाल डेरी एसोसिएसनका निवर्तमान अध्यक्ष सुमित केडियाले यस क्षेत्रको समस्या र राष्ट्रलाई गर्न सक्ने योगदानबारे यसरी वर्णन गरे :

सुमित केडिया

डेरीको योगदान

कृषि क्षेत्रमा धानपछि डेरी क्षेत्रले कुल गार्हस्थ उत्पादनमा (जिडिपी) सबैभन्दा बढी योगदान पुर्‍याएको छ । डेरीले जिडिपीमा ९ प्रतिशत योगदान गरेको छ । रोजगारी क्षेत्रमा ४ लाख २० हजार कृषक परिवारको आम्दानीको स्रोत बनेको छ । २० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । ३ करोड रुपैयाँभन्दा बढी रकम दैनिक रूपमा सहरबाट गाउँतर्फ जाने गरेको छ । यो तथ्यांकले डेरी क्षेत्रको आर्थिक क्षेत्रमा कति योगदान छ भन्ने प्रस्ट हुन्छ । भोलिका दिनमा डेरी क्षेत्र नै आर्थिक रूपान्तरणका लागि महत्वपूर्ण मानिन सक्ने अवस्था पनि छ । डेरी क्षेत्र आजको दिनमा यहाँसम्म आउनुमा मूलतः निजी क्षेत्रको योगदान नै बढी छ, सरकारले यो क्षेत्रलाई आवश्यकताअनुसार सहयोग गर्न सकेको छैन ।

मूल्य निर्धारणमा समस्या
डेरी क्षेत्रका लागि सबैभन्दा महत्वपूर्ण पक्ष भनेको मूल्य निर्धारण नीति हो । गत भदौदेखि तीन वर्षअघिसम्म दूधको मूल्य वृद्धि गरिएन । तीन वर्षमा रोजगारी लिने कर्मचारीको तलब वृद्धि भयो, नाकाबन्दी भयो, दूध प्रशोधनको लागत बढ्यो, किसानको लागत बढ्यो । तर, मूल्य समायोजन भएन । हामीले लामो समयसम्म गुनासो राख्न थालेपछि भदौमा मूल्य वृद्धि गरिएको हो । त्यतिखेर ६ रुपैयाँ प्रतिलिटर मूल्य बढाइयो र त्यो सबै दूध उद्योगले पाए भन्ने भ्रम रह्यो । यथार्थ के हो भने, ६ रुपैयाँको ६९ प्रतिशत हुन आउने रकम ४ रुपैयाँ १४ पैसा र ३१ प्रतिशत हुन आउने रकम १ रुपैयाँ ८६ पैसा उद्योगले लिने गर्छन् । दुर्भाग्य के भइदियो भने सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले मूल्य वृद्धि हुन केहीअघि मात्रै किसानलाई थप २ रुपैयाँ प्रतिलिटर थपिदियो ।

डिडिसीले किसानले पाउने रकम थपिदिएपछि हामीले पनि स्वाभाविक रूपमा थपिनदिनुपर्ने बाध्यता रहन्छ जसकारण हामीले खाने नाफा घट्यो नै, उल्टै दूध बिक्रीमा १ भदौ ०७४ देखि उद्योगीले प्रतिलिटर २ रुपैयाँ १४ पैसा नोक्सान खाइरहेको स्थिति छ । यसरी नोक्सानी खेपिरहेर कति दिनसम्म उद्योगले काम गर्न सक्छन् रु अहिले स्वदेशमै वस्तु तथा सेवा उत्पादन गर्नुपर्छ भन्ने आवाज सबैले उठाउनुभएको छ । तर, सरकारको एउटा गलत नीतिले करिब १५ रुपैयाँ लगानी रहेको डेरी क्षेत्र बिस्तारै धराशयी हुने स्थितिमा छ भन्ने कुरा सबैले बुझ्नु आवश्यक छ ।

कच्चा दूधको गुणस्तर
दूधको गुणस्तर सुधार गर्नुपर्छ भन्नेमा सरकारी निकाय, किसान र उद्योगी सबै सहमत भएकै अवस्था हो । दूधको गुणस्तर सुधार गर्न किसानको गोठबाटै सुरु गर्नुपर्छ । गोठमा सरसफाइमा व्यापक परिवर्तन ल्याउनु आवश्यक छ । गोठमा सुधार नगरेसम्म प्रशोधित दूधको गुणस्तरमा सुधार ल्याउन सम्भव छैन । त्यस्तै डेरी क्षेत्रको समयक्रमअनुसार विकास गर्न रिसर्च सेन्टर आवश्यक भइसकेको छ । यति ठूलो क्षेत्रका लागि अध्ययन गर्ने रिसर्च सेन्टर नहुनु ज्यादै दुःखद विषय हो ।

अहिले दूध उत्पादन बढेको छ, त्यसैले खपत पनि वृद्धि गर्दै लैजानुपर्छ । यसका लागि प्रहरी, सशस्त्र र सेनाको मेसमा दूध उपयोगलाई अनिवार्य बनाइदिनुपर्छ । विश्व खाद्य संगठनको तथ्यांकअनुसार पनि एउटा व्यक्तिले प्रतिदिन २ सय ५० मिलिलिटर दूध कम्तीमा सेवन गरे स्वास्थ्य रहन सक्ने उल्लेख छ । सुरक्षा निकायको मेसमा मासु र अन्डा अनिवार्य गरिएकाले अबका दिनमा दूध वा दूधबाट बनेका परिकारलाई पनि अनिवार्य गर्न सकियो भने दूधको बजार पनि बढ्छ । डेरी एसोसिएसनले सातामा २ दिन पनिर अनिवार्य गर्‍यो भने सुरक्षा निकायको स्वास्थ्य पनि बलियो हुन्छ भनेर प्रस्ताव गरेको छ ।

अब समृद्धिको बाटोमा
हामी उद्योगी व्यववसायीले यतिवेला नयाँ र समृद्ध नेपालको परिकल्पना गरिरहेका छौँ । संविधान निर्माण गरेपछि संविधानले निर्दिष्ट गरेको प्रादेशिक संरचनामा गइरहेका छौँ । यसलाई कार्यान्वयन गर्न केही अप्ठ्यारा र चुनौती थपिएको देखिन्छ । देशको व्यापार घाटा बर्सेनि बढिरहेको छ । हामीकहाँ उत्पादन नहुने, तर उपभोग गर्ने साधनको मात्रा आयात गरेर बढाउँदै लैजाँदा घाटा चुलिएको हो । गतवर्ष ९ अर्बभन्दा बढी व्यापार घटेको थियो । चालू आर्थिक वर्ष ०७४-७५ को १० महिनामा मात्र ३ खर्ब १० अर्बको व्यापार घाटा पुगिसकेको छ । देशका लागि यो सूचकांक पक्कै पनि राम्रो होइन ।

रेमिट्यान्स भित्रने दर पनि घट्दोक्रममा रहेको छ । रेमिट्यान्समा कुनै पनि देश आत्मनिर्भर हुन खोज्यो भने भविष्यमा दुर्घटना हुन सक्छ भन्नेतर्फ सचेत हुनु आवश्यक छ । यस्तो चिन्ताजनक सूचकांकका बीचमा अबका दिनमा के गर्ने भन्ने प्रश्न स्वाभाविक रूपमा आउँछ । सधैँ नकारात्मक सूचकांक मात्र अगाडि राखेर नकारात्मक कुरा मात्र गर्नुहुँदैन । एउटा प्रसिद्ध भनाइ छ, राष्ट्रले तपाईंका लागि के दियो भन्दा पनि तपार्इंले राष्ट्रका लागि के दिनुभयो भनेर सोच्नुपर्छ’ भन्ने भनाइलाई पछ्याउनुपर्छ । किनभने यो वेला राष्ट्र अप्ठ्यारोमा परेको छ र अब हामी सबै मिलेर राष्ट्र निर्माणमा अघि बढ्नुपर्छ ।

हामीले भोगेका नकारात्मक सूचकांकलाई सकारात्मक बनाउने गरी काम गर्न अबका दिनमा निजी क्षेत्रलाई खुला भएर काम गर्न दिनुपर्छ, राष्ट्र र जनताले निजी क्षेत्रलाई विश्वास गर्नुपर्छ । उद्योग व्यवसायको प्रवद्र्धन गर्नैपर्छ । एउटा नयाँ उद्योग स्थापित गर्न सकियो भने रोजगारी प्रदान गर्छ, व्यापार घाटा कम गर्न सघाउ पुर्‍याउँछ । तसर्थ अबका दिनमा निजी क्षेत्रलाई विश्वास नगरी अगाडि बढ्न गाह्रो छ भन्ने लाग्छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :