यसरी बनाउन सकिन्छ निर्वाहमुखी कृषिलाई व्यवसायमुखी

यो समाचार 351 पटक पढिएको

निर्वाहमुखी कृषिलाई व्यावसायीकरण गर्न हामीकहाँ एकातिर समस्या त छन्, तर समस्याको पहिचान नै वास्तवमा समाधान पनि हो । जटिल भौगोलिक क्षेत्र, सीमित कृषियोग्य भूमि भएकाले हाम्रो देशमा निर्वाहमुखी कृषिलाई व्यावसायीकरण गर्न गाह्रो छ । सिँचाइको समस्या सबैभन्दा विकराल छ । तर, कतिपय ठाउँमा सिँचाइ नगरेर पनि मूल्यवान उपज उत्पादन गर्न सकिन्छ; जडीबुटी तथा बालीनाली उत्पादन गर्न सकिन्छ । यसका लागि सम्भाव्यता पहिचान गर्नु आवश्यक छ । कुन ठाउँमा कुन बाली तथा वनस्पतीको सम्भावना छ, सर्वप्रथम त्यो पहिल्याउनु जरुरी छ । त्यसको पहिचान गरी उपयुक्त ठाउँमा उपयुक्त बाली लगाउन सक्यो भने हाम्रो कृषिमा प्रचुर सम्भावना छ ।

तराईमा समेत सिँचाइ अभाव चुनौती बनेको छ । सिँचाइको अभावले उत्पादन बढ्न सकेको छैन । अनि किसान पलायन नभएर के गरोस् त ?

हाम्रा लागि कृषिमा मझौला प्रविधि (Intermediate Technology) आवश्यक छ । किनभने धेरै जटिल प्रविधि हाम्रो देशमा उपयुक्त हुँदैन । हाम्रो अधिकांश जमिन ७०/७५ प्रतिशतभन्दा बढी भिरालो भूमि छ, जहाँ कृषिको ठूलो यन्त्र तथा उपकरण प्रयोग गर्न गाह्रो हुन्छ । तर, अहिले धेरै विकल्प छन् । आधुनिक प्रविधि छ । साना तथा मझौला प्रकारका यन्त्र तथा उपकरण भित्र्याउन सके यसबाट राम्रो प्रगति गर्न सकिन्छ । ती उपकरण आयात गरी राज्यले त्यसको समुचित उपलब्धता बढाउन सक्यो भने कृषिबाट फड्को मार्ने निश्चित छ । त्यसका लागि राज्यले यी कुराहरूमा चासो दिनु आवश्यक छ ।

पहिलो, बिमाको व्यवस्था । हाम्रो देशको कृषि भौगोलिक तथा प्राकृतिक अवस्थामा मात्रै नभइ मौसममा पनि भर पर्छ । धान खेतीका बेला खडेरी पर्न सक्छ । असिना, हिमपात तथा बाढी आउन सक्छ । त्यो अवस्थामा बालीनाली सबै ठाउँमा एकै पटक नष्ट नहोला, तर कतिपय ठाउँमा हुन सक्छ । त्यो अवस्थामा क्षतिपूर्ति दिने व्यवस्था या बिमाको व्यवस्था पनि अत्यन्त महत्वपूर्ण देखिन आएको छ । सम्भवतः हाम्रो देशमा त्यो लागू हुन सकेको छैन ।

दोस्रो, सहुलियतपूर्ण ऋण उपलब्धता । अनुदान नै नभए पनि कम्तिमा सहुलियतपूर्ण ऋण समयमा दिने व्यवस्था हुनुपर्छ ।

तेस्रो, बजार उपलब्धता । बजार भएको खण्डमा किसानले उत्पादन गरेका कृषि उपज जोगाएर बिक्री गर्न सक्छ । एक किलो मात्रै किन नहोस् । एक—एक किलो मात्रै संकलन गर्ने हो भने पनि धेरै टन संकलन गर्न सकिन्छ । निर्यात गर्न सकिन्छ । विभिन्न देशमा बिक्रीवितरण गर्न सकिन्छ । जसले गर्दा साधारण किसानको पनि आयआर्जन हुन्छ । फेरि त्यहाँ उनीहरू जे जति जोगाउँछन् त्यो बचत राख्ने पनि एउटा वित्तीय प्रबन्ध उपलब्ध हुनुपर्छ । उदाहरणका लागि कुनै वित्तीय संस्था या बैक, जसले सुरक्षितरूपमा निक्षेप संकलन गर्न सकोस् र जसबाट कृषकलाई प्रोत्साहन होस् । आम्दानी गर्नुपर्दो रहेछ । त्यसलाई राख्नुपर्दो रहेछ भनेर चेतना पनि चाहियो । चेतना मात्रै भएर भएन उपयुक्त प्रकारको संस्थागत व्यवस्था वा संरचना पनि स्थापना गरिदिनुप¥यो । हामीकहाँ त्यसको अत्यधिक अभाव छ, विकराल समस्या छ । जसले गर्दा यी विभिन्न समस्या छन् ।

चौथौ, प्रशोधन । राम्रोसँग प्रशोधन गर्ने व्यवस्था भएको खण्डमा किसान प्रोत्साहित हुन सक्छन् । बजार नपाएर किसानले सडकमा बाली खन्याएको, दूध पोखेको घटना त हामीले सुनेकै छौ नि ।

ऋण लिएर गरेको कृषि उत्पादन बिक्री नहुँदा किसानलाई कस्तो पीडा होला ? किसानको पीडा हटाउन बजार व्यवस्था सुनिश्चित हुनुपर्छ । कुनै पनि कृषि उपजको उचित न्यूनतम मूल्य सुनिश्चित गरिनुपर्छ । त्यसको टड्कारो अभाव छ । यदि राज्य साच्चै नै जिम्मेवार छ भने उपयुक्त उल्लेखित सम्पूर्ण प्रबन्ध मिलाउनु आवश्यक छ ।

  • प्रशासन डट कम

रचनात्मक प्रतिक्रिया दिनुहोस् :