‘कमिशन खाने जालो तोडेर सोझै किसानसम्म अनुदान पुरयाउँछु’ : कृषिमन्त्री

यो समाचार 69 पटक पढिएको

काठमाडौं । नेपाल फ्लोरिकल्चर एशोसिएसन नेपाल(फ्यान) ले नयाँ बर्ष २०७५ को सुखद अवसरमा राजधानीबासीलाई सुन्दर उपहार प्रदान गरेको छ ।

फ्यानले शुक्रबारदेखि चार दिने २१ फ्लोरा एक्स पोको आयोजना गरी नयाँ बर्षमा राजधानीबासिलाई विभन्न प्रकारको मनमोहक पुष्पको प्रदर्शनी गरेर उपहार प्रदान गरेको हो । भृकुटी मण्डपमा यो पुष्पसम्बन्धी महोत्सवमा राजधानीबासीले स्वदेशमा फल्ने पुष्पमात्रै होइन् ।

चलचित्रमा देखिने र प्रख्यात मुलुकहरुमा पाइने निक्कै महँगा, सजावट गर्न मिल्ने, अर्नामेन्टलजातका सयौं जातका पुष्प र बोटविरुवाको पनि सजिलै अवलोकन गर्न पाउने र खरिद गर्न पाउने अवसर फ्यानले प्रदान गरेको छ ।

यति मात्रै होइन, सम्पूर्ण पुष्पको खेती प्रविधि, बीउ, मल, प्राविधिक उपकरणसम्म खरिद गर्न पाउने व्यवस्था गरिएको छ । उक्त महोत्सवको उदघाट्न कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले शुक्रबार गरेका छन् । पुष्पको सुन्दरता अवलोकन गर्दै मन्त्री खनालले नेपालको पुष्प खेतीको र विस्तारका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

मन्त्री खनालले पुष्प व्यवसायीलाई पुष्पमा आत्मनिर्भर भएर निर्यात योग्य बनाउन आग्रह गरेका छन् । आत्मनिर्भरका लागि आवश्यक पर्ने सम्पूर्ण आर्थिक, प्राविधिक र नीतिगत रुपमा आफु सहयोग गर्न प्रतिवद्धता जनाएका छन् ।

मन्त्री खनालले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट किसानको लागि बितरण हुने अनुदान बास्तविक किसानसम्म पुग्न नसकेको पनि औल्याएका छन् । उनकाअनुसार राज्यबाट किसानका लागि छुट्टयाइने यस्तो कमिशनको कूल रकममध्ये झण्डै ५० प्रतिशत रकम सम्बन्धीत कर्मचारी र पहुँचवाला सहरिया ठुला किसानले बाँडिचुडी खाने गरेको दावी गरे । त्यसपछि बाँकी रहेको ५० रकम जिल्लामै गएर विभिन्न कागजात मिलाएर खाने गरेको पाइएको मन्त्री खनालले बताए ।

बास्तविक किसानसम्म अनुदान वापतको रकम र सेवा सुविधा नपुगेको मन्त्री खनालको भनाई थियो । मन्त्री खनालले सरकारी रकम सिमित कर्मचारी र राजनीतिक पहुँच भएका व्यक्तिहरुले कागत मिलाएर मिलोमतो गरी खाने गरेको प्रस्ट पारे ।

मन्त्री खनालले अनुदानमा कमिशन खाने जालो तोडेर आगामी आर्थिक बर्षदेखि किसानको घरदैलोसम्म पुग्ने गरी विभिन्न प्रकारका अनुदान कार्यक्रम समावेश भएको राष्ट्रिय गौरवको आयोजना सञ्चालनमा ल्याउन लागिएको बताए । मन्त्री खनालले उपत्यकाबासीप्रति कडा टिप्पणीसमेत गरेका छन् ।

उनले उपत्यकामा बशोबास गर्ने सर्वसाधारणको घरमा भएको थोरवहुत खाली जग्गामा करेशाबारी नलगाएका कारण हरियो खुर्सानी, लहसुन, प्याज, तरकारीको नाममा बर्षेनी अर्बौ मूल्यबराबरको आयात गर्नुपरेको गुनासो पनि व्यक्त गरेका छन् । उनले सर्वसाधारण अल्छि भएका कारण अर्बौ मूल्यबराबरको खाद्यान्न, मासु, दुग्धजन्य पदार्थ, तरकारी, दाललगायतका बस्तु आयात गर्नुपरेको जानकारी दिए ।

 

फ्यानका अध्यक्ष कुमारकसजु श्रेष्ठकाअनुसार फ्लोरा महोत्सवमा ड्राईफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बिउबीजन, ग्रीन हाउस, कृषि औजार, उपकरण, प्याकेजिंग, थोपा सिंचाई प्रविधि, मौसमी फूल, आलंकारिक बोट बिरुवा, कट फलावरलगायत गरी ८२ वटा स्टाँल राख्ने व्यवस्था गरिएको छ । यसमध्ये १० वटा अफिसियल, एक प्रतियोगितात्मक, चार वटा ल्याण्डस्केपिग, ६५ वटा व्यवसायिक र दुई वटा फुड स्टाँलको व्यवस्था छ ।

एक्स पोको ६५ हजारले अबलोकन गर्ने र करिब ६५ लाख मूल्यबराबरको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ । नेपालमा हाल ४१ जिल्लामा करिब ६ सय ७८ पुष्प व्यवसायी रहेका छन् । देशभर गरी करिब एक सय ५३ हेक्टर क्षेत्रफलमा पुष्प खेती हुँदै आएको छ । यो क्षेत्रले करिब ४३ हजारभन्दा बढिलाई रोजगारी दिन सफल भएको छ ।

नेपालमा बिस २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय काठमाडौंमा मात्र केन्द्रिकृत नभएर धनगढी, पोखरा, नारायणघाट, हेटौँडा, बुटवल, विराटनगर, धरान, झापालगायतका सहरहरुमा फैलदो स्थितिमा रहेको उनले जानकारी दिए । उनले भने ‘नेपाली पुष्प व्यवसाय आब २०७३/७४ सम्म आई पुग्दा हाल ४१ जिल्लामा लगभग ६ सय ७८ पुष्प व्यवसाय बिस्तार भईसकेको छ, भने लगभग १ सय ५३ हेक्टर क्षेत्रफलमा पुष्प खेती भईरहेको छ ।’

करिव ४३ हजार भन्दा बढिलाई रोजगारी दिन सफल भएको पुष्प व्यवसाय क्षेत्रले आब २०७३/७४ मा जम्मा १ अर्व भन्दा करोड भन्दा बढिको कारोबार गर्न सफल भएको जानकारि दिइएको छ । फ्यानकाअनुसार आब २०७३/७४ मा १० करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएकोे छ । त्यस्तै, पुष्प व्यवसायमार्फत बार्षिक १० देखि १५ प्रतिशत हाराहारीमा बार्षिक बृद्धिदर रहेको बताइएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :