कृषिको बजेट सबारी साधन खरिदमा खर्च

यो समाचार 266 पटक पढिएको

ललितपुर, १ फागुन । नगरपालिका र गाउँपालिकाले कृषि विकासका लागि छुट्याएको करोडौं बजेट गाडी किन्न र बाटो बनाउन खर्च गरेको पाइएको छ।

जिल्ला कृषि विकास कार्यालय ललितपुरका प्रमुख भरतप्रसाद देवकोटाले महालक्ष्मी नगरपालिका र बागमती गाउँपालिकाबाहेक अन्य नगरपालिका र गाउँपालिकाले कृषि बजेट अरु नै काममा खर्च गरेको बताए।

देवकोटाका अनुसार कृषि कार्यालय ललितपुरले आव २०७४।०७५ मा ६ करोड ७ लाख ४७ हजार रुपैयाँ कृषिमा छुट्याइएको छ। उनले कृषिको रकम दुरुपयोग भएको आरोप लगाउँदै भने, ‘कोन्ज्योसोम गाउँपालिकाले कृषिको बजेटले गाडी किनेको छ।’ कोन्ज्योसोम गाउँपालिकाका प्रमुख गोपीलाल स्याङतानले देवकोटाको आरोप खन्डन गर्दै भने, ‘कृषि विकासका हाकिमले आफू जोगिन यस्तो आरोप लगाएका हुन्। हामीले करीब २० लाख रुपैयाँ कृषिमा छुट्याएका छौं।’ कोन्ज्योसोम गाउँपालिकाले कृषि विकासका लागि १ करोड १५ लाख रुपैयाँ बजेट पाएको थियो।

स्याङतानका अनुसार गाउँसभाले गरेको निर्णयबमोजिम कृषि विकासको बाँकी रकम भवन निर्माण तथा सवारी खरिदमा खर्च गरेको बताए। ‘लिजमा लिएर पाँच वर्षमा डेढ करोड तिर्नुभन्दा आफ्नै गाडी किन्नु राम्रो हो’, उनले भने। कर्मचारीहरूले संघीय व्यवस्था असफल बनाउन यस्तो आरोप लगाएको प्रत्यारोप गर्दै उनले भने, ‘हामीहरू सिकाइका क्रममा छौं।’

महालक्ष्मी नगरपालिका र बागमती गाउँपालिकाबाहेक अन्य स्थानीय तहले कृषि बजेट अरु नै काममा खर्च गरेको आरोप।

महांकाल गाउँपालिकामा भने कृषिका लागि कुनै बजेट नआएको गाउँपालिका प्रमुख रामचन्द्र दाहालले बताए। तर जिल्ला कृषि विकास कार्यालयले गाउँपालिकाका लागि १ करोड ३४ लाख रुपैयाँ कृषि बजेट छुट्याएको कार्यालय प्रमुख देवकोटाले बताए। कुन गाउँपालिकालाई कति रकम छुट्याएको हो प्रश्न गर्दै दाहालले मुखले बोलेर मात्रै नहुने बताए। कागजी प्रमाण देखाउन देवकोटालाई चुनौति दिँदै उनले भने, ‘हामीले आफ्नो ठाउँको विकास गर्न आफ्नै ढंगले असारमै बजेट छुट्याइसकेका थियौं तर जिल्ला कृषि विकास कार्यालयले कात्तिकमा चिठी लेखेर कृषिमा बजेट छुट्याउ भनेर हुन्छ ? ’

बागमती गाउँपालिकामा भने कृषिका लागि आएको रकम सोही कार्यमा लगाइएको अध्यक्ष वीरबहादुर लोप्साङले बताए। उनका अनुसार गाउँपालिकाले पाएको १ करोड २६ लाख रुपैयाँमध्ये करिब पूरै बजेट कृषिमा नै खर्च गर्न छुट्याइएको छ। महालक्ष्मी नगरपालिकाबाहेक ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले कृषिमा आएको रकम कृषिसम्बन्धी काममा खासै केही नगरेको देखिएको छ। महानगरपालिकाले ९६ लाख ६६ हजार रुपैयाँ बजेट पाएको थियो तर अहिलेसम्म कृषिसम्बन्धी काम खासै नभएको महानगरपालिकाका प्रवत राजु महर्जनले बताए।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले नगरपालिकामा कृषिमा कति रकम विनियोजन भयो आफूलाई जानकारी नभएको बताए। उनले केकति रकम खर्च भयो बताएनन्। जिल्ला कृषि विकास कार्यालयले नगरपालिकामा ८२ लाख रुपैयाँ पठाएको छ।

महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले आफ्नो नगरपालिकाकाले पाएको ५२ लाख रुपैयाँ विषयगत क्षेत्रमा छुट्याइएको बताए। नगरपालिकाका कृषि प्रसार तालिम अधिकृत राजन गिरीका अनुसार कौसी खेती, तरकारी खेती, बमौसमी तरकारी, सिँचाइ मर्मत, फूलखेती, प्लास्टिक टनेल, च्याउखेती, कृषिसम्बन्धी तालीमलगायत काम धमाधम भइरहेको छ।

जिल्ला कृषि विकास कार्यालय ललितपुरद्वारा विनियोजित

कृषि बजेट ६ करोड ७ लाख ४७ हजार रुपैयाँ विनियोजन

महानगर/नगरपालिका/गाउँपालिका                                रकम

ललितपुर महानगरपालिका                                            ९६ लाख ६६ हजार

गोदावरी नगरपालिका                                                   ८२ लाख ४० हजार

महालक्ष्मी नगरपालिका                                                ५२ लाख ३३ हजार

कोन्ज्योसोम गाउँपालिका                                              १ करोड १५ लाख

बाग्मती गाउँपालिका                                                    १ करोड २६ लाख

महांकाल गाउँपालिका                                                   १ करोड ३४ लाख

रचनात्मक प्रतिक्रिया दिनुहोस् :