नीजि क्षेत्रका डेरी धरासायी बन्दै : केडिया

यो समाचार 143 पटक पढिएको

काठमाडौं, २६ पुस । नेपाल डेरी एसोसिएसनले दुधमा गरिएको त्रुटीपूर्ण मूल्य समायोजनका कारण डेरी उद्योगले घाटा व्यहोर्नुपरिरहेको गुनासो गरेको छ । दुग्ध विकास संस्थानले भित्रभित्रै किसानलाई बढी मूल्य दिएर दुध खरिद गरेका कारण निजी डेरी मर्कामा परेको एसोसिएसनको गुनासो छ ।

एसोसिएसनका अध्यक्ष सुमित केडियाका अनुसार संस्थानको वदमासीका कारण डेरी उद्योगले प्रतिलिटर २ रुपैयाँ १४ घाटा व्यहोर्नुपरिरहेको छ छन् । मूल्य समायोजन गर्दा किसानले ६९ प्रतिशत र डेरी उद्योगहरुले ३१ प्रतिशत मूल्य पाउने गरेका छन् । सरकारले विगत तीन वर्षयता दूधमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बृद्धि गरेको छ ।

तर संस्थानले भने भित्रभित्रै किसानबाट निर्धारित मूल्यभन्दा बढीमा दूध खरिद गर्ने गरेकोले निजी डेरी उद्योग मर्कामा परेको केडियाले बताएका छन् । जसका कारण निजी डेरीले दूधको अभावसमेत व्यहोर्नु परिरहेको उनको भनाई छ । एसोसिएसनको शुक्रबार आयोजना हुन गइरहेको १९ औ वार्षिक साधारणसभा एबम् ७ औं राष्ट्रिय महाधिवेसनका बारेमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष केडीयाले दुग्ध क्षेत्रको प्रवद्र्धनका लागि समयसापेक्ष मूल्य समायोजनका साथै नीतिगत सुधारमा जोड दिए ।

डेरी उद्योगको लागत खर्च र कच्चा दूधको गुणस्तरमा थप सुधार, कुशल उत्पादन प्रणाली, प्रसोधन प्रणालीलगायतको प्रविधिलाई किसान तह र उद्योग तहसम्म व्यापकता दिनुपर्ने, डेरी रिसर्च इन्ष्टिच्युटको स्थापना र प्रविधि प्राविधिक सुधार गर्नुपर्ने उनले बताए । सरकारले डेरी उपकरण आयातमा सहुलियत दिँदै आएकोमा डेरी मेसिनरीहरुमा पनि सहुलियत दिनुपर्ने उनको माग रहेको छ ।

एसोसिएसनका अनुसार कृषि क्षेत्रको कुल गार्हस्थ उत्पादनमा दूग्ध क्षेत्रको ९ प्रतिशत योगदान रहेको छ भने ४ लाख ५० हजार कृषक परिवार आवद्ध रहेका छन् । त्यस्तै २० हजारभन्दा बढीले डेरी उद्योग क्षेत्रमा प्रत्यक्ष रोजगारी पाइरहेका छन् भने दैनिक ३ करोडभन्दा बढी रकम शहरबाट गाउँतर्फ प्रवाह भइरहेको छ । डेरी उद्योगमा मात्रै १५ अर्बभन्दा बढीको लगानी रहेको छ । कुल ४८ लाख ५० हजार लिटर उत्पादित दुधमध्ये १५ प्रतिशतमात्रै डेरी उद्योगसम्म आपूर्ति हुने गरेको छ भने ३५ प्रतिशत अनौपारिचक रुपमा खपत हुने गरेको छ । कृषक स्वयमले भने ५० प्रतिशत खपत गर्ने गरेका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :