घातक रोगको “भरिया” बन्दै प्रदुषित माटो

यो समाचार 320 पटक पढिएको

मानवदेखि जिवजन्तुसम्म जोखिममा

  • हानिकारक मानिएको बिषादीमध्ये १३ वटा बिषादी बेमौसमी तरकारीमा भेटिएका छन् ।
  • प्रदुषित माटो, हावा र पानीका कारण अहिले मानवदेखि जलचर, थलचर र आकाशमा बिचरण गर्ने जीवजन्तु र चराचुरुगीसम्मको जीवन संकटमा ।
  • शरीरभित्र र शरीरबाहिर विभिन्न प्रकारका क्यान्सर लाग्ने, किडनी बिग्रने, पक्षघात हुने, गर्भ तुहिने, विकलांग बालबालिका जन्मने, आन्द्राजन्य रोग, श्वास प्रश्वाससम्बन्धी रोग, कलेजो तथा फोक्सो बिग्रने र छालाजन्य रोगहरु लाग्ने प्रवल सम्भावना ।
  • किराहरुबाट जोगाउन फुराडन, फोरेट, हाइड्रोक्लोराइड, फिथ्रो टेन आईएलजस्ता घातक बिषादीहरु बिरुवाको जरामा हालिन्छ।
  •  भान्टा, परवर, आलु, मुला, काउली, करेला, गोलभेडा, काक्रो, फर्सि, प्याज, धान, गहुं, मकैलगायतका खाद्यान्न तथा बेमौसमी तरकारीमा बढ्दो प्रयोग ।
  • प्रदुषित माटोमा भएको बिषादीको अवशेष पकाइसकेर खानाको रुपमा ठिक्क पारिएको तयारी खानामा पनि भेटिएको छ ।
  • आयात हुने कुल विषादीको ८५ प्रतिशतभन्दा बढी सघन तरकारी बालीमा प्रयोग हुँदै आएको छ।

काठमाडौं, ११ चैत/ मानव सभ्यता जिवन्त राख्न वातावरणीय चक्र प्रणालीको भूमिका अहम हुन्छ । अनावश्यक मानवीय गतिविधिका कारण यही वातावरणीय चक्रीय प्रणाली पछिल्लो समयमा अस्तव्यवस्त बन्न पुगेको छ । वातावरणीय चक्रिय प्रणाली अस्तव्यस्त मात्रै होइन, वातावरणीय चक्रिय प्रणालीसंग सम्बन्ध राख्ने माटो, हावा र पानीसमेत बिषाक्त र प्रदुषित बन्न पुगको छ ।

 

Pestisideप्रदुषित माटो, हावा र पानीका कारण अहिले मानवदेखि जलचर, थलचर र आकाशमा बिचरण गर्ने जीवजन्तु र चराचुरुगीसम्मको जीवन संकटमा परेको छ । अनावश्यक मानवीय गतिविधि र हरेक बस्तुको असुरक्ष्ँित रुपमा बढ्दो प्रयोगका कारण पारिस्थिति प्रणालीका यस्ता सूचकहरु बिषाक्त र दूषित बनेको बिज्ञहरुको ठहर छ । बिज्ञहरुकाअनुसार अहिले संसारभर जे जति परिमाणमा घातक रोगहरु उत्पन्न भएका छन्, त्यसको हानिकारक तत्व यही प्रदुषित माटो, हावा र पानी मानिएको छ ।

 
यसमध्ये पनि प्रदुषित माटोका कारण सबैभन्दा बढी भयावह अवस्था सिर्जना हुंदै आएको बिज्ञहरुको कथन छ । बिषादी माटोको सम्पर्कबाट माटा आफै बिषाक्त बनेको छ । यस्ता माटोको सम्पर्कबाट पानीको श्रोत र हावा पनि बिषाक्त बनेर प्रदुुषित बनेको छ । बिषादीको अवशेष तथा बिषाक्त माटोमा रोपिएका बोट विरुवाबाट उत्पादित फल, फूल र झारपात र डांटमा निर्भर हुने मानव, चराचुरुंगी, किटपतंग र अन्य जनावरको जीवन संकटमा पर्न थालेको छ । माटो आफैमा प्रदुषित तत्व होइन, रोगमुक्त र प्रचुर परिमाणमा खाद्यान्न, तरकारी, दलहन र फलफूल फलाउन किसानले पछिल्लो समयमा आवश्यकताभन्दा बढी र असुरक्षित रुपमा प्रयोग गर्दैआएको घातक बिषादी नै प्रदुषित माटोको कारक तत्व हो ।

 
बढ्दो बिषादीको प्रयोगका कारण प्रदुषित बनेको माटोले उत्पादन गर्न सक्ने उर्वरा शक्ति नै गुमाएको बालि बिकास निर्देशनालयका प्रमुख डिल्लीराम शर्मा बताउंछन । “नेपाली किसानले आफुखुशी असुरक्षित रुपमा बिषादी प्रयोग गरेका कारण माटो प्रदुषित बनेको छ । माटो प्रदुषित मात्रै होइन, माटो आफै पनि मरेको छ । यही माटोको सहयोगमा उत्पादन भएका कृषि उपजका साथै माटोको सम्पर्कमा रहेका पानीका श्रोत र हावा पनि विषाक्त बन्न पुगेको छ,” शर्मा भन्छन,“यस्ता बिषाक्त पदार्थको सेवन, प्रयोग र श्वासको रुपमा उपभोग गरिएका कारण मानव स्वास्थ्य जोखिममा पर्दै गएको हो ।” उनका अनुसार पारिस्थिति प्रणालीलाई ठिकसंग सूचारु राख्न र वातावरणलाई शुद्ध राख्न माटो, हावा र पानीले साकारात्मक भूमिका खेलेपनि मानवको गलत गतिविधिका कारण पछिल्लो समयमा यसमध्ये माटो विभिन्न प्रकारका घातक रोग निम्त्याउने “भरिया” सावित भएको छ ।

 

 

Soil Polluted newsagrocom
नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको किट बिज्ञान महाशाखाका बरिष्ठ बैज्ञानिक अनिसुर रहमान अन्सारीकाअनुसार यस्ता बिषाक्त माटोको सम्पर्कबाट, कृषि उपजको उपभोग गर्दा, पानी र हावाको सम्पर्कबाट महिला तथा पुरुषको शरीरभित्र र शरीरबाहिर विभिन्न प्रकारका क्यान्सर लाग्ने, किडनी बिग्रने, पक्षघात हुने, गर्भ तुहिने, विकलांग बालबालिका जन्मने, आन्द्राजन्य रोग, श्वास प्रश्वाससम्बन्धी रोग, कलेजो तथा फोक्सो बिग्रने र छालाजन्य रोगहरु लाग्ने प्रवल सम्भावना हुन्छ ।

 

 

यस्ता बिषादी प्रयोग गर्ने किसान र कामदार अझ बढी जोखिममा परेका छन् । शर्मा भन्छन्,“पछिल्लो समयमा भयावह रुपमा फैलिदैं गएको क्यान्सरको प्रमुख कारक तत्वको रुपमा बिषादीका कारण प्रदुषित बनेको माटोबाट उत्पादित कृषि उपज देखिएको छ ।” पछिल्लो करिब १५ बर्षको अवधीमा काभ्रेको पाचखाल, धादिंग र तरकारीको व्यवसायिक पकेट क्षेत्रहरुमा ठूलो परिणमा देखापरेको विभिन्न प्रकारका घातक क्यान्सर, गर्भ तुहिने, पक्षाघात र किडनीजन्य रोगको प्रमुख कारक तत्वको रुपमा प्रदुषित माटो देखापरेको शर्माको ठहर छ । सरोकारवाला निकायकाअनुसार व्यवसायिक पकेट क्षेत्रमा प्रचुर मात्रामा बिषादीको प्रयोग हुने गरेको छ ।

 

 

माटोमूनि विरुवाको जरामा राखिएको र स्प्रेको माध्यमबाट बिषादी छडकिएको दुईहजार छसय फिट क्षेत्रभित्र बसोबास गर्ने गर्भवति महिला सबैभन्दा बढी प्रभावित हुन्छिन् । यस्ता महिलाहरुको गर्भ तुहिने, बालबालिका जन्मिदा बिकलांग हुने समस्या देखा पर्न सक्ने बाली विकास निर्देशनालयले जनाएको छ ।

 
बरिष्ठ बैज्ञानिक अन्सारीकाअनुसार प्रदुषित माटोबाट उत्पादित खाद्य बस्तुका पराल, पात, फल र फुल सेवन गरेका कारण गाईभैसीले बिकलांग बच्चा जन्माउने र गाईभैसीको दूध सेवन गर्दा पुनः मानिसमा अर्कोथरी रोग लाग्ने, फुलको रस चुस्ने माहुरी, चरा र पुतली नष्ट हुने, बिषादीयुक्त फुलको रस चुसेर मरेका माहुरी, चरा र पुतलीको सेवन गर्ने अन्य चराचुरुडी पनि मर्ने, बिषादीयुक्त पानी सेवन गरेका कारण माछा मर्ने, माछामा विभिन्न प्रकारका रोग लाग्ने र त्यही माछा चराचुरुडी र मानिसले सेवन गर्दा झाडा पखाला, टाइफाइडजस्ता रोग लाग्ने सम्भावना हुन्छ ।

soil 1

 
उनका अनुसार बिषादीयुक्त तरकारी उपभोगका लागि निर्धारण गरिएको टिप्ने समयलाई किसानले पालना नगर्दा यस्ता समस्याहरु उब्जिएका हुन् । बिषादी हालेको कम्तिमा साढे तीनसाता पछि मात्र तरकारी, फल वा खाद्यान्न उपभोगमा ल्याउनुपर्ने उनको सुझाव छ । “त्यसअघि टिपिएका खाद्यान्न र तरकारीमा बिषादीको पर्याप्तमात्रामा अवशेषहरु रहने भएकाले उपभोग गर्दा मानवस्वास्थ्यलाई हानि गर्न सक्छ,” अन्सारी भन्छन् ।

 

 
माटो व्यवस्थापन निर्देशनालयका प्रमुख दुर्गाप्रसाद दवाडीकाअनुसार बोटविरुवामा छडकिने र माटोमुनि बिरुबाको जरामा हालिने बिषादीको कूल परिमाणमध्ये पांच प्रतिशत मात्रै बोटविरुवामा पुग्ने र बांकी ९५ प्रतिशत माटोको माध्यमबाट पानीमा र हावामा मिसिएर माटो, हावा र पानी प्रदुषित बनेको हो । माटो व्यवस्थापन निर्देशनालयका प्रमुख दुर्गाप्रसाद दवाडीकाअनुसार भान्टा, परवर, आलु, मुला, काउली, करेला, गोलभेडा, काक्रो, फर्सि, प्याज, धान, गहुं, मकैलगायतका खाद्यान्न तथा बेमौसमी तरकारी बालीलाई विभिन्न प्रकारका रोगका सुक्षम किराहरुबाट जोगाउन फुराडन, फोरेट, हाइड्रोक्लोराइड, फिथ्रो टेन आईएलजस्ता घातक बिषादीहरु बिरुवाको जरामा हालिन्छ ।

 

 

कृषिजन्य बालीमा लाग्ने किट, ढुसी, ब्याटेरिया र जुकाजन्य रोगका किटाणुलाई मार्न यस्ता बिषादीहरुको माटो मुनी रहेका बिरुवाको जरामा प्रयोग हुन्छ । जरामा हालिएका यस्ता बिषादीलाई बिरुवाको जराले सोसेर विभिन्न हागां विंगा, पात, फल र फुलमा पुरयाउने काम गर्छ । हांगा विंगा, फल, पात र फुलको भित्रि भागमा रहेका रोगका किटाणु(शत्रु जिव) लाई सजिलै बिषादीले मार्ने काम गर्छ । शत्रुजीवलाई बिषादीले मारेपनि निर्धारित समयभन्दा पहिले उपभोगका लागि टिपिने त्यस्ता फल, फूल, हागांविगा र पातमा पर्याप्त मात्रामा बिषादीको अवशेषहरु यथावत रहिरहन्छ ।

 

 
यही अवशेषसहितको कृषि उपज उपभोग गर्दा मानव स्वास्थ्य जोखिममा परेको दबाडीको कथन छ । उनका अनुसार माटो मुनी बिरुवाको जरामा राखिएको बिषादी रसाएर जमिनमूनीको पानीको श्रोतमा मिसिने र त्यही श्रोतका पानी विभिन्न माध्यमबाट घरघरको धारा, इनार र नदीमा मिसिने हुन्छ । बिषादी प्रयोग भएको खेतमा बढी पानी भएर त्यही बिषादीयुक्त पानी बगेर अर्को खेतमा पुग्ने र यस्ता पानी विभिन्न चराचुरुगी र जनावरले सेवन गर्ने जोखिम पनि बढदै गएको छ । त्यसैगरी बिषादीको अवशेष उडेर हावामा मिसिने र यही हावा मानवदेखि चराचुरुगी र जनावरले श्वास प्रश्वासको माध्यमबाट उपभोगमा ल्याएका कारण पनि संकट निम्तिएको बिज्ञहरु बताउछन् । प्रदुषित माटोबाट उत्पन्न हुने मानवस्वास्थ्यसम्बन्धी नकारात्मक असरहरुलाई कम गर्न जैविक बिषादी प्रयोग गर्नुपर्ने दवाडीको सुझाव छ ।

 

 
प्रदुषित माटोको माध्यमबाट उत्पादन भएका खाद्यान्न तरकारी, खाद्यान्न र दलहन मात्रै बिषादीयुक्त भेटिएको छैन । प्रदुषित माटोमा भएको बिषादीको अवशेष पकाइसकेर खानाको रुपमा ठिक्क पारिएको तयारी खानामा पनि भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विश्व स्वास्थ्य संगठनको सहयोगमा गरेको एक अध्ययनअनुसार खानामा मानव स्वास्थ्यका लागि हानिकारक मानिएका बिषादीको अवशेष भेटिएको छ । विभागका प्रवक्ता प्रमोद कोइरालाकाअनुसार मानव स्वास्थ्यका लागि हानिकारक मानिएको बिषादीमध्ये १३ वटा बिषादी बेमौसमी तरकारीमा भेटिएका छन् । जनावर र मानव स्वास्थ्यका लागि अत्यन्त खतरनाक मानिएको तथा विश्व स्वास्थ्य संगठनले प्रयोगमा प्रतिवन्ध लगाएको बिषादी पनि तरकारीमा प्रयोग हुने गरेको प्रतिवेदनले देखाएको छ ।

 

pestiside 1
विभागले भान्सामा पकाएर ठिक्क पारिएको भात, दाल, तरकारी, पाउरोटी, चिउरा, गहुंको पिठो, राजमा, चनालगायतका नमुना संकलन गरेर अनुसन्धान गरेको थियो । अध्ययनअनुसार भातमा ६, कालो दालमा ७, रहर दालमा ७, मुंग दालमा ४, तरकारीमा १३ र पाउरोटीमा ४ प्रकारका हानिकारक बिषादी पाइएको छ । अध्ययनको क्रममा काठमाडौं, भक्तपुर, ललितपुर, इलाम, झापा, धनकुट्ट, मोरंग, सुनसरी, चितवन, धनुषा, धादिंग, गोरखा, कास्की, गुल्मी, जुम्ला, प्युठान, बांके, सुर्खेत, कंचनपुर र डोटीबाट नमूना संकलन गरिएको थियो ।

 

 
विश्व बैंकले केही अघि गरेको एक अध्ययनअनुसार विश्वभर बार्षिक तीनलाख ५५ हजार व्यक्तिको यस्ता खालका बिषादीका कारण मृत्यु हुने गरेको छ । प्रतिदिन ७ सयभन्दा बढीको मृत्यु हुने गरेको प्रतिवेदनले देखाएको छ । यसैगरी विश्व खाद्य संगठनकाअनुसार प्रति बर्ष ३० लाख घटना बिषादीसम्बन्धी घट्ने गरेको छ । यसका साथै आत्महत्याको घटनामा ३१ प्रतिशत बिषादी कारक तत्व मानिएको छ । गत बर्षमात्रै नेपालमा विभिन्न प्रकारका ३ सय ३४ मेट्रिक टन बिषादी भित्रिएको थियो । जसमध्ये किटनाशक ३३.२५ प्रतिशत, रोगनाशक ४८.३४ प्रतिशत, झारनाशक १५.५ प्रतिशत र अन्य बिषादीको हिस्सा २.८ प्रतिशत थियो ।

 

 

कृषि विकास मन्त्रालयका अनुसार कोदो र फापरमात्रै विषादी प्रयोग नगरिएका खाद्यान्न हुन्। बाली संरक्षण निर्देशनालयले चामल, गहुँ, मकै, दलहन, तेलहन, चिया, अदुवा, अलैंची, फलफूल, तरकारी, सागपातलगायत सबैप्रकारका खाद्य पदार्थमा विषादी प्रयोग हुँदै आएको जनाएको छ। शर्माले बाली उत्पादन गर्ने बेलामा विषादी प्रयोग गर्दै आएका किसानले उत्पादित कृषि उपज बजारमा लैजानुपूर्व पनि विषादीको झोलमा डुबाउने गरेको जानकारी दिए। निर्देशनालयका अनुसार नेपालमा प्रतिहेक्टर एक सय ४२ ग्राम विषादी प्रयोग भइरहेको छ। आयात हुने कुल विषादीको ८५ प्रतिशतभन्दा बढी सघन तरकारी बालीमा प्रयोग हुँदै आएको छ। किसानले प्रतिहेक्टरमा एक हजार चार सय ग्राम विषादी तरकारी बालीमा प्रयोग गर्दै आएको शर्माको ठहर छ।  सबैभन्दा बढी मध्यमाञ्चलका बारा, चितवन, धादिङ, काठमाडौं, काभ्रे, रूपन्देही, सर्लाही, नवलपरासीलगायतका जिल्लामा यस्तो विषादीको प्रयोग बढी हुने गरेको पाइएको छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :