यस्तो छ चार प्रकारका दूधसम्बन्धी नयाँ मापदण्ड

यो समाचार 128 पटक पढिएको

काठमाडौं । सरकारले चार प्रकारको दूधको मापदण्ड तयार पारी स्वीकृत गराएको छ । खाद्य ऐन २०२३ अनुसार खाद्य बस्तुको गुणस्तर निर्धारणअन्तर्गत दूधको मापदण्ड तयार पारी कार्यान्वयनमा ल्याइएको छ । तयार भएको मापदण्ड मन्त्रीपरिषदबाट स्वीकृत भएपछि कार्यान्वयनमा आएको हो ।

कृषि विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले दूधलाई चार भागमा बाँडेर छुट्टाछुट्टै मापदण्ड तयार पारेको हो । हालसम्म नेपालले पाश्चाराइज्ड दूधको मात्रै मापदण्ड तयार पारी कार्यान्वयनमा ल्याएको थियो । विभागले प्रशोधित पूर्ण घृताँशयुक्त दूध (प्रोसेस्ड फुल क्रिम मिल्क), प्रशोधित घृताँशरहित दूध(प्रोसेस्ड स्किम्ड मिल्क), प्रशोधित कम घृताँशयुक्त दूध (प्रोसेस्ड लो फ्याट मिल्क) र प्रशोधित सुगन्धित दूध(प्रोसेस्ड फ्लेवर मिल्क) गरी चार प्रकारको दूधको मापदण्ड कार्यान्वयनमा ल्याएको हो । उक्त मापदण्ड गत् सोमबारको राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।

‘अहिलेसम्म हामीसँग पाश्चाराइज्ड दूधबाहेक अन्य प्रकारको दूधको हकमा मापदण्ड थिएन्, सबै प्रकारका बिरामीलाई एकै प्रकारको दूध खुवाउनु हुँदैन् । यसले पनि हानी गर्छ । बिरामीको रोगअनुसार फरक फरक खालको दूध खुवाउनुपर्छ,’ विभागका महानिर्देशक संजिवकुमार कर्णले भने, ‘प्रत्येक मुलुकमा विभिन्न प्रकारको गुण समावेश भएको दूध उत्पादन गर्ने र बजारीकरण गर्ने प्राक्टिस छ, तर हाम्रो मुलुकमा मापदण्ड नै नभएकाले उत्पादन, बजारीकरण र आयात प्रक्रियामा समस्या आइरहेको थियो । यस्ता समस्यालाई दीर्घकालिन रुपमा हटाउन चार प्रकारको दूधको मापदण्ड तयार पारी कार्यान्वयनमा ल्याइएको हो ।’

विभागकाअनुसार यो मापदण्डको आधारमा अब स्वदेशी डेरी उद्योगले पनि चार प्रकारको दूध उत्पादन गर्न र बजारीकरण गर्न पाउने बाटो खुलेको छ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डीडीसी) ले केही समय यतादेखि प्रशोधित सुगन्धित, प्रशोधित कम घृताँशयुक्त दूधलगायतका दूध उत्पादन गरेपनि मापदण्डको अभावमा बजारीकरण गर्न ठूलो समस्या व्यहोर्नुपरेको थियो । ‘तर अब नेपालका स्वदेशी उद्योग र आयातकर्ताका लागि पनि बाटो खुलेको छ,’ महानिर्देशक कर्णले भने,‘मापदण्डलाई पालना गरी सरकारीसहित नीजि क्षेत्रका डेरी उद्योगले चार प्रकारका र पहिलेको पाश्चाराइज्ड गरी अब पाँच प्रकारको दूध उत्पादन गर्न सक्नेछ भने आयातकर्ताले पनि मापदण्ड पुरा गरी भित्र्याउन पाउने छन् ।’

विभागकाअनुसार यसरी तयार पारिएको मापदण्डभित्र अब दूध उत्पादन गर्न, आयात गर्न र बिक्री बितरण गर्न पाइने व्यवस्था गरिएको छ । विभागले मंगलबार नै पाँच क्षेत्रीय खाद्य कार्यालय, चार खाद्य क्वारेन्टाइन कार्यालय र त्रिभुवन विमानस्थलसहित सबै खाद्य ईकाईलाई पत्राचार गर्दै मापदण्डअनुसार दूध तथा दुग्धजन्य पदार्थ तथा खेलौंनासहितको बालबालिकाको खाजाको प्याकेट नियमन गर्न निर्देशन जारी गरिसकेको छ ।

प्रशोधित पूर्ण घृताँशयुक्त दूध
विभागले प्रशोधित पूर्ण घृताँशयुक्त दूध (अधिक चिल्लोपना भएको दूध) को हकमा दूधमा चिल्लोपना (फ्याट) कम्तिमा ५ प्रतिशत र दूधको चिल्लो वाहेक दुग्ध ठोस पदार्थ(एसएनएफ) को मात्रा घटीमा ८ प्रतिशत हुनुपर्ने मापदण्डको रुपमा राखेको छ । यस्तो दूधको प्रति मिलिलिटरमा कोलिफर्मको उपस्थिति शुन्य हुनुपर्ने र जिवाणु रहित हुनुपर्ने व्यवस्था गरिएको छ । यस्तो दूधको प्याकेट वा बट्टामा पनि उपभोक्ताले बुझने भाषामा सन्देश सामग्री प्रकाशित गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रशोधित कम घृताँशयुक्त दूध
यस्तै प्रशोधित कम घृताँशयुक्त दूध(प्रोसेस्ड लो फ्याट मिल्क) को हकमा आँशिक रुपमा दूधको चिल्लो झिकेर पाश्चाराइज्ड गरिएको दूधलाई यो समूहभित्र राखिएको छ । यस्तो दूधमा दूधको चिल्लोपना घटीमा १.५ प्रतिशत र चिल्लोपना वाहेक ठोस दुग्ध पदार्थको उपस्थिति ८ प्रतिशत हुनुपर्ने व्यवस्था गरिएको छ । कोलिफर्म शुन्य र जिवाणुरहित भएको दूध हुनुपर्ने मापदण्ड तयार गरिएको छ ।

प्रशोधित घृताँशरहित दूध
प्रशोधित घृताँशरहित दूध(प्रसोस्ड स्किम्ड मिल्क) को हकमा पनि कोलिफर्मको उपस्थिति शुन्य हुनुपर्ने र जिवाणु नभएको व्यवस्था गरिएको छ । दूधको चिल्लोपना बढीमा ०.५ प्रतिशत र चिल्लोपना वाहेक ठोस दुग्ध पदार्थको उपस्थिति ८ प्रतिशत हुनुपर्ने मापदण्ड तयार गरिएको छ ।

प्रशोधित सुगन्धित दूध
विभागले प्रशोधित सुगन्धित दूधको हकमा दूध वा दुग्धजन्य पदार्थ वा दुवैको मिश्रणमा चिनी मिसाएर तयार पारिएको पेय पदार्थलाई समावेश गरेको छ । दुग्धजन्य पदार्थ र चिनी वाहेक नट्सको टुक्रा र धुलो, कोका, चकलेट, कफी, फलफूल तथा तरकारी र त्यसबाट बनेका जुस, च्यूरी, पल्प, प्रिजर्भ, अन्न, मह, मसला, नुन वा अन्य स्वीकृत उपभोगयोग्य कृत्रिम वा प्राकृतिक सुगन्धित खाद्य पदार्थ मिश्रण गरी तयार पारेको पेय पदार्थलाई यस समूहभित्र राखिएको छ ।

खाजा प्याकेटमा खेलौंना प्रतिवन्ध
सरकारले प्याकेजिंग गरिएका तयारी खाजाजन्य खाद्य पदार्थसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्ध राख्ने गरी सिटी, बेलुन, प्यास्टिक तथा अन्य पदार्थबाट निर्माण गरिएका खेलौंना र अखाद्य पदार्थहरु राख्ने नपाइने व्यवस्था पनि स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । प्याकेट बाहिर राखिएको अवस्थामा तीन बर्ष मुनिका बालबालिकाले प्रयोग गर्न बन्धेज भनेर सन्देश राख्नुपर्ने मापदण्ड सरकारले बनाएको छ । खाजाको प्याकेटमा खेलौंना भेटिए तत्काल जफत गरी कारवाही प्रक्रिया अघि बढाउन बिभागले निर्देशनसमेत दिएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :