खेतमै किन्न आएपछि बन्दामा डोजर लगाएका किसानको दिन फिर्यो

यो समाचार 264 पटक पढिएको

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका–६, तुलसीपुरका किसान पुरन महतोले केहीदिन अघि बन्दाले बजार नपाएको भन्दै खेतमै नष्ट गरे । एउटा किसानले बजार नपाएर खेतमै बन्दा नष्ट गर्नुपरेको खबर संचारमाध्यममा फैलिएपछि शनशनीपूर्ण बन्यो ।

त्यसपछि पुरनको मोबाईलमा लगातार घण्टी बज्न थाल्यो । सोमबार विहानै काठमाडौंबाट अनलाईन विक्रेता मेट्रो तरकारी डटकमबाट पुरनलाई खुशीको खबर आयो । बाँकी रहेको बन्दा तरकारी अनलाईन विक्रेताले उठाउने प्रतिवद्धता जनाएपछि पुरनमा केही हौसला बढ्यो । अन्ततः मंगलबार विहान खेतमै पुगेर मेट्रो तरकारीले २ टन बन्दा खरिद गर्‍यो । तरकारी पठाउनु भन्दा अगावै उनले प्रतिकिलो ५ रुपैयाँको दरले १० हजार रुपैयाँको चेक बुझे ।

अरु बेला खरिद गर्ने व्यापारीले तकारीको मूल्य तोक्थे । तर सोमबार भने उनी आफैले मूल्य तोकेर बन्दा विक्री गरे । “आज धेरै नै खुशी भएको छु, जिन्दगीमा पहिलो पटक आफैले मूल्य तोकेर तरकारी पठाउनु अगावै चेक बुझ्न पाए”–खुशी हुँदै पुरनले भने । बजार नपाएर खेर गईरहेको तरकारी विक्री हुँदा उनको मुहारमा छुट्टै चमक देखिन्थ्यो ।

पुरनको खेतमा अझै १५ टन भन्दा बढि बन्दा बाँकी नै रहेको छ । बाँकी बन्दा पनि अनलाईन व्यवसायीले खरिद गर्ने प्रतिवद्धता जनाएको उनले बताए । यसअघि उनले १६ कठ्ठामा लगाएको बन्दा डोजर लगाएर नष्ट गरेका थिए ।

सोमबार विहानै खेतमै पुगेको मेट्रो तरकारी अनलाईन टिमले सबै अवस्था हेरेपछि तरकारी खरिद गरेको थियो । पुरनबाट खरिद गरेको बन्दा काठमाडौंमा विक्री गरिने मेट्रो तरकारी डटकमले जनाएको छ । कम्पनीका सिईओ अनिल बस्नेतले बजार नपाएर तरकारी नै नष्ट गरेको खबर थाहा पाएपछि तुरुतै किसानको सम्पर्कमा आएको बताए । यहाँबाट लगिएको तरकारी अनलाईनबाटै विक्री गरिने भन्दै किसानलाई तरकारी फाल्न नपर्ने बनाउन आफूहरु लागि परिरहेको बताए । “बजारमा तरकारी नपाएर उपभोक्ता समस्यामा छन्, यहाँ तरकारी नष्ट गरेको खबर आएपछि हामी तुरुन्तै चितवन आएका हौं”–उनले भने ।

बस्नेतले पुरनको बाँकी तरकारी पनि आफूहरुले नै खरिद गर्ने प्रयत्न भईरहेको बताए । “हामी निरन्तरत उहाँसंग सहकार्य गर्ने प्रयत्नमा छौं, सोझै किसान र उपभोक्ता जोड्ने हाम्रो प्रयास जारी छ”–बस्नेतले भने । मेरोतरकारी डटकमले हाल काठमाडौंमा अनलाईन मार्फत तरकारी विक्री गरिरहेको छ ।

उपभोक्तालाई सहज रुपमा तरकारी उपलब्ध गराउने गरी यो अनलाईनको सुरुवात गरिएको कम्पनीले जनाएको छ । उपभोक्ताले अनलाईनमै हरेक तरकारीको मूल्य हेर्न पाउनेछन् । किसानबाट खरिद गरिएको मूल्य र अन्य खर्च जोडेर २० प्रतिशत नाफा मात्रै राखेर उपभोक्तालाई विक्री गर्ने गरिएको मेट्रो तरकारीका सिइओ बस्नेतले बताए ।

कृषि ज्ञान केन्द्र चितवनका अनुसार वार्षिक ६ हजार २ सय ८७ हेक्टरमा तरकारी खेती गर्ने गरिएकोमा वार्षिक ८६ हजार २ सय ३३ मेट्रिक टन तरकारी उत्पादन हुने गरेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :