२०९ बिघा जग्गामा अर्गानिक तरकारी र फलफूल खेती

यो समाचार 98 पटक पढिएको

झापा । बैंकिङ क्षेत्र, धागो एवं टेक्सटाइल उद्योग र प्लास्टिकजन्य वस्तु उत्पादनमूलक उद्योगमा धेरै लगानी गरिसकेको व्यावसायिक घराना गोल्याण समूहले अहिले अर्गानिक तरकारी र फलफूल खेतीका लागि ठूलो लगानी गरेको छ ।

जसका लागि अहिले गोल्याण समूहले झापाका पाँचवटा नगरपालिकामा कुल २ सय ९ बिघा जग्गा खरिद गरेर अर्गानिक तरकारी र फलफूल खेतीमा लगानी गरेको हो ।

यसअघि बैंकिङ क्षेत्र, धागो एवं टेक्सटाइल उद्योग र प्लास्टिकजन्य वस्तु उत्पादनमूलक उद्योगमा राम्रो सफलता हासिल गरिसकेको गोल्याण समूहले अहिले पहिलोपटक व्यावसायिक अर्गानिक तरकारी र फलफूल खेतीमा अर्बौं रुपैयाँ लगानी गरेको जनाएको छ । उनले झापाको मदरगाछ, चकचके, घेराबारी, रंगपुर, झापा गाउँपालिकालगायत विभिन्न स्थानमा जग्गा खरिद गरेर परीक्षणका ९पाइलट प्रोजेक्ट० का रूपमा धमाधम अर्गानिक तरकारी र फलफूल खेती लगाउने काम भइरहेको जानकारी दिए ।

उनले यहाँका विभिन्न स्थानमा गरी कुल २ सय ९ बिघा जग्गा खरिद गर्ने क्रममा मात्र ६० करोड रुपैयाँभन्दा बढी लगानी गरिएको बताए । उनले अब अर्गानिक कृषिजन्य वस्तु उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउनुपर्छ भनेर यस समूहले एसबीआई बैंक र जनता बैंकको वित्तीय सहयोगमा यहाँका विभिन्न ठाउँमा अर्गानिक तरकारी र फलफूल खेतीको काम थालेको बताए । समूहले आफ्नो लगानीको कृषि फर्ममा मात्र नभएर यहाँका स्थानीयलाई पनि अर्गानिक कृषिजन्य उत्पादनमा आकर्षित गराउने काम गरिरहेको जानकारी गराउँदै अध्यक्ष गोल्याणले भने, ‘ यहाँका स्थानीय किसानलाई हामीले सहुलियत बैंकिङ कर्जा उपलब्ध गराएर अर्गानिक कृषिजन्य उत्पादनमा संलग्न गराइरहेका छौं ।’

उनले अहिले यहाँका स्थानीय किसानलाई अर्गानिक खेतीका लागि आवश्यक प्राविधिक जनशक्ति एवं प्रांगारिक मल बनाउने तरिकामा समेत यस समूहले सहकार्य गरिरहेको जानकारी गराए । विविध प्रकारका कीटनाशक औषधि र रासायनिक मल प्रयोगबाट उत्पादित कृषिजन्य उत्पादनको प्रयोगले आमउपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पारेको भन्दै उनले धेरै मानिसको आयु लम्ब्याउन अर्गानिक खेतीले महŒवपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताए ।

अर्गानिक कृषिजन्य वस्तुको प्रयोगले मानव स्वास्थ्यमा समेत निकै फाइदा गर्ने भएकाले अहिले आफ्नो यस समूहले अर्गानिक कृषिजन्य उत्पादनमा धमाधम लगानी गरिरहेको उनको भनाइ छ । गोल्याण समूहले खरिद गरेको झापाका विभिन्न स्थानका जग्गामा अहिले अर्गानिक मेवा, खर्बुजा, कागतीलगायत फलफूलका बिरुवा रोप्ने काम भइरहेको छ । यसैगरी, अन्य केही ठाउँमा अर्गानिक हरियो तरकारी खेती सुरु भइसकेको छ भने केही भागमा अदुवा, प्याज, काउली, बन्दागोभी, लहरेबालीलगायत विविध जातका तरकारीजन्य उत्पादन भइरहेको छ । अहिले आफूहरू प्रारम्भिक चरणमा नै रहेको जानकारी गराउँदै गोल्याणले भने, ‘आगामी दिनमा झापालाई अर्गानिक कृषि पकेट क्षेत्र बनाउने र बिस्तारै यस क्रमलाई मुलुकभर विस्तार गर्ने लक्ष्य समूहले लिएको छ ।’

उनले यो सफलतापछि १० वर्षभित्र मुलुकभर करिब १ हजार बिघा क्षेत्रफलमा अर्गानिक खेती गर्ने आफ्नो लक्ष्य रहेको बताए । उनले आफ्नो परियोजनामा गोल्याण समूहअन्तर्गतको जयन्त गोल्याण फाउन्डेसन र सेल्टर (आश्रय) नेपाल सहभागी रहेको समेत जानकारी गराए । गोल्याण समूहले विषादीयुक्त खाद्यवस्तुको आयात पछिल्लो समय निकै बढेको भन्दै यसलाई नियन्त्रण नगरी मुलुक कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताएको छ ।

अध्यक्ष पवन गोल्याणले भने, ‘विषादीयुक्त खाद्यवस्तुको प्रयोगले आममानिसको स्वास्थ्य बिग्रिएको छ । अब कीटनाशक एवं विषादीयुक्त खाद्यवस्तु आयात रोकेर हामी आत्मनिर्भर बन्नेतर्फ उन्मुख हुनैपर्छ ।’ उनले अर्गानिक खेतीलाई विस्तार गरी १ हजार बिघा जग्गामा खेती गर्ने र उत्पादित वस्तु मुलुकभर पु¥याउने लक्ष्यसाथ समूहले काम गरिरहेको बताए ।

उनले तत्काल कृषिजन्य वस्तुको आयात घटाउने र आगामी दिनमा यहाँ उत्पादन भएका अर्गानिक तरकारी र फलफूललाई विभिन्न मुलुकमा निर्यात गरी व्यापार घाटा घटाउने लक्ष्य समूहले लिएको दाबी गरे । ‘हामी किसानलाई बजार खोजिदिन सक्छौं । प्रोसेसिङ जोन बनाएर उनीहरूको उत्पादन खरिद गरिदिने र उचित मूल्य दिन सक्छौं । सबै कुरामा सरकार नै अघि बढ्नुपर्छ भन्ने पनि होइन, हामी आफैंले जे सक्छौं, त्यहीबाट थालौं भन्ने सोच हो,’उनले भने ।

कर्पोरेट हाउसले कृषिमा लगानी गरेनन् भने कहिल्यै पनि यस क्षेत्रको व्यावसायीकरण हुन सक्दैन भन्दै किसानको जीवनस्तर उठाउन लगानी गरेको बताए । उनले २ सय ९ बिघा क्षेत्रमा फैलिएको झापा राजगढको जमिनमा जडीबुटी र फलफूल लगाउने योजना रहेको बताए । जसका लागि अहिले यहाँ लोठसल्ला, अदुवा र बेसारबाट तेल निकाल्ने र सम्भावित मेडिकल हर्बबारे विज्ञको टोली अनुसन्धान गरिरहेका छन् । रिसर्च एन्ड डेभलपमेन्ट सेन्टर निर्माणका लागि यहाँको २५ बिघा जमिन समूहले छुट्याइसकेको छ ।

हरेक उत्पादनको अनुसन्धान र विकास गर्न वैज्ञानिक राखेर काम गराउने उनको योजनाअनुसार हाल भारतको पश्चिम बंगालस्थित कृषि विश्व विद्यालयका वैज्ञानिकको टोलीले माटोको परीक्षण र उत्पादनको विकासका लागि खेतमै आएर अनुसन्धान गरिरहेका छन् । यसैगरी, उनले १५ जना कृषि वैज्ञानिकले व्यावसायिक खेतीका लागि अध्ययन तथा अनुसन्धान गर्ने जानकारी दिए ।

झापाबाट सुरु भएको गोल्याण समूहको यो अर्गानिक खेती बिस्तारै पहाडी भेगमा पनि विस्तार हुनेछ । सुरुमा प्रदेश १ र २ मा काम थाल्ने र बिस्तारै पहाडी भेगमा काम सुरु गर्ने बताइएको छ । यो समूहले किसानका बालीलाई असर नपर्ने र किसानले उत्पादन नगर्ने किसिमका बाली मात्र लगाउने जानकारी गराएको छ ।

माटोको अनुसन्धानमा खटिएको पश्चिम बंगाल विश्व विद्यालयका विज्ञ टोलीको नेतृत्व गरिरहेका कृषि वैज्ञानिक रणधीर चक्रवर्तीले एक वर्षमै आत्मनिर्भर हुने गरी इन्टरक्रपिङ गर्न सकिने उत्पादनहरूको अध्ययन गरिरहेको बताए । उनले यो जमिन निकै उर्वर र प्रचुर सम्भावनायुक्त भएकाले फलफूलका साथै जडीबुटी उत्पादन गर्न सकिने परीक्षणबाट पत्ता लागेको जानकारी दिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :