एउटै वडाको ४० बिघा जग्गामा आलुखेती

यो समाचार 64 पटक पढिएको

झापा । कमल गाउँपालिकाका किसान आलुखेतीमा व्यस्त छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गाउँपालिकाको २ नम्बर वडालाई आलु उत्पादन पकेट क्षेत्र घोषणा गरेसँगै यहाँका किसान आलुखेतीमा जुटेका हुन् ।

२०७१ मा स्थापना भएको आइपिएम कृषि सहकारी संस्थाको अगुवाइमा आलु उत्पादन पकेट कार्यक्रम सुरु गरिएको हो । आलु उत्पादन पकेट क्षेत्र बनाउन किसानले कम्तीमा १५ बिघा क्षेत्रफलमा आलुखेती गर्नुपर्ने परियोजनाले सर्त राखेको थियो । किसानले गत वर्ष नै १८ बिघा क्षेत्रफलमा आलुखेती गरे । अहिले तीनवटा कृषक समूहका ६५ जना किसान मिलेर ४० बिघा क्षेत्रफलमा आलुखेती गर्दै छन् ।

आइपिएम कृषि सहकारीले यान्त्रिकीकरणका लागि प्रधानमन्त्री कृषि आनुनिकीकरण कार्यक्रमको आलु विकास केन्द्रसँग समन्वय गरेर आलु रोप्ने र खन्ने मेसिन जोडेको छ । कमल गाउँपालिकाले प्रांगारिक मल उत्पादन गर्न आर्थिक सहयोग गरेको छ । गत वर्ष १५ हजार किलोग्राम मल उत्पादन गरेर किसानलाई वितरण गरिएको स्थानीय अगुवा किसान टंक कट्टेलले बताए । यस वर्ष ७५ हजार किलोग्राम प्रांगारिक मल उत्पादन गर्ने उनीहरूको लक्ष्य छ ।

सुपरजोनमा जाने ध्येय
जिल्लामा हरेक वर्ष भारतबाट आलुको बिउ ल्याएर रोप्ने गरेको देखेपछि आफूहरू आलुखेतीमा लागिपरेको आइपिएम कृषि सहकारीका अध्यक्ष यामबहादुर राईले बताए । ‘हामीले नेपालमै प्रवद्र्धन गरिएको बिउहरू खुमलटारबाट ल्यायौँ,’ राईले भने, ‘डेजिरे, खुमल रातो, कार्डिनललगायत जातका आलु रोपेका छौँ ।’ आलु पकेट क्षेत्रबाट ब्लगमा लैजाने उनीहरूको योजना छ । ब्लगबाट जोन हुँदै सुपरजोनमा जाने ध्येयले आलुखेतीमा आफूहरू जुटेको अध्यक्ष राईले बताए । किसानको यस अभियानमा कमल गाउँपालिका तथा कारितास नेपाललगायत केही संस्थाले पनि सहयोग गर्दै आएका छन् ।

झापामा २७ वर्षदेखि कार्यरत कारितासले २००९ देखि आइपिएम कार्यक्रम सुरु गरेको हो । विभिन्न स्थानीय तहमा कृषक समूह गठन गर्दै अघि बढेको कारितासले कमल गाउँपालिकामा पनि कृषिका लागि महत्वपूर्ण सहयोग गर्दै आएको कारितास नेपाल दमकका कार्यक्रम अधिकृत देवेन्द्र पोखरेलले बताए । ‘यहाँका कृषक उत्साही छन्, सुरुमा हामीले सिर्जना आइपिएम कृषक समूह गठन गरेका थियौँ, १६ हप्तासम्म कृषक पाठशाला सञ्चालन ग(यौँ,’ पोखरेलले भने, ‘किसानको उत्साह देखेर थप कार्यक्रम ल्याइरह्यौँ ।’

कृषिलाई आधुनिकीकरण गर्न लागेका छौँ : अध्यक्ष काफ्ले
कमल गाउँपालिकामा आलुको ब्लग नै बनाउन खोजिएको गाउँपालिकाकी अध्यक्ष मेनका काफ्लेले बताइन् । ‘कमललाई आलुमा आत्मनिर्भर बनाएर बाहिरसम्म पठाउने हाम्रो योजना हो,’ उनले भनिन्, ‘यहाँका किसानले मंसिर १५ सम्ममा आलु रोपिसक्नुहुन्छ, आगामी दिनमा आलुको बिउ पनि भारतबाट खरिद गर्नु नपर्ने गरी हामी अघि बढेका हौँ ।’

गाउँपालिकाले गत वर्ष कृषिका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको थियो । यसपटक पनि सोही हाराहारीमा रकम छुट्याइएको छ । गाउँपालिकाले किसानलाई कृषिका स–साना औजारहरू वितरण गर्दै आएको छ । कृषिलाई आधुनिकीकरण गर्न गाउँपालिका जुटेको अध्यक्ष काफ्ले बताउँछिन् ।

आइपिएम कृषि सहकारीकै पहलमा प्रांगारिक मल उत्पादन गर्ने भण्डारण केन्द्र बनाइएको छ । जसमा गाउँपालिकाले सहयोग गरेको छ । विषादीमुक्त कमल गाउँपालिका बनाउन छलफल सुरु गरिएको अध्यक्ष काफ्लेले जानकारी दिइन् । कमल गाउँपालिकाका अधिकांश बासिन्दा कृषिमै आत्मनिर्भर छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :