प्रदेशकै नमुना फार्म बनाउने प्रकाशको सपना

यो समाचार 153 पटक पढिएको

बुटवल । शुद्धोधन गाउँपालिका– ३ रूपन्देहीका प्रकाश खनाल १० वर्ष मलेसिया बसे।

मलेसियाबाट बिदामा घर आउँदा उनलाई गाउँलेले नै चिन्दैनथे। मलेसिया फर्किएपछि घर फर्किन पाए हुन्थ्यो भन्ने चाहना बलियो बन्दै गयो। अन्ततः उनी स्वदेश फर्किए। स्वदेश फर्किए पनि दुई वर्षसम्म उनी बेरोजगार भए। गाउँमै केही गरेर भविष्यमा पनि आफ्नै बलबुताले जिन्दगी चलाउन पाए हुन्थ्यो भन्ने तर्कना मनमा खेलिरहेका बेला उनले जुक्ति निकाले– धान खेतीको ठाउँमा तरकारी खेती गर्ने।

‘धान खेतीबाट भनेजस्तो उत्पादन र मूल्य पनि थिएन’, उनी भन्छन्, ‘गाउँमा केही खेती त भइरहेको थियो तर पूर्ण व्यावसायिक बनाएर बजारमा पुग्नेगरी उत्पादन हुन सकेको थिएन, त्यसपछि तरकारी खेतीमै हात हालेँ।’ उनले तीन विगाह खेतमा करेला लगाए। करेलाबाट राम्रो आम्दानी भएपछि उनी तरकारी खेतीलाई नै निरन्तरता दिइरहेका छन्। भन्छन्, ‘करेला खेतीबाट नाफा धेरै त भएन तर यसले उत्साह थपेको छ।’

वर्सेनि अर्बौं रुपैयाँको तरकारी आयात भइरहेको अवस्थामा मिहिनेत गर्‍यो भने स्वदेशमै गज्जबले तरकारी फलाउन र मनग्ये आम्दानी गर्न सकिन्छ भन्नेमा विश्वस्त छन् उनी। तालिमबिनै मोले जोखिम, करेला बेचेर १४ लाख विदेशबाट फर्किएका उनी तरकारी खेतीमा पोख्त थिएनन्। परंपरागत खेतीकिसानीको सामान्य अनुभव बटुलेका उनले एकै पटक सुरु गरे करेला खेती। करेला खेती सुरु गर्दा उनले करिब ५५ लाख रुपैयाँ लगानी गरे। ५५ लाख रुपैयाँ करेला खेतीका लागि हाउजिङ, मल, झिक्रा, पाइपलगायतको निर्माणमा खर्च भयो।

‘म त विदेशबाट भर्खर फर्किएर आएको मान्छे, मसँग तरकारी खेतीको खास अनुभव थिएन, तालिम पनि कहाँ लिने भन्ने भयो’, उनी सुनाउँछन्, ‘तर पनि हरेश खाइन, सुरु गरेँ।’ उनको हिम्मतले पनि हरेश खाएन। उनले धान खेतीबाट भन्दा धेरै आम्दानी गरे करेला खेतीबाट। ‘धान खेतीबाट २५–३० मुरी धान हुन्थ्यो, त्यसको आम्दानी र करेलाबाट भएको आम्दानी तुलना गर्दा करेलाकै आम्दानी राम्रो भयो’, उनले भने।

गएको सिजनमा उनले १४ लाख रुपैयाँको करेला बेचे। ‘पहिलो पटक भएकाले लगानी एकै पटकमा उठ्ने कुरा त भएन, त्यसका लागि बनाएका संरचनाहरू फेरि पनि काम लागिरहेका छन्’, उनी भन्छन्, ‘करेलाबाट ममा ऊर्जा थपिएको छ।’ उनका अनुसार सामान्यतया एक विगाह खेतमा करेला खेती गर्न सरदर पाँच–सात लाख रुपैयाँ खर्च हुन्छ। करेला लगाएको दुई महिनामा उत्पादन सुरु हुन्छ र तीन महिनासम्म लगातार उत्पादन भइरहन्छ।

एक विगाह खेतबाट कम्तीमा १५ लाख रुपैयाँको करेला बेच्न सकिने खनाल बताउँछन्। करेलासँगै काँक्रा र सिमीसमेत लगाउन सकिने भएकाले त्यसबाट अतिरिक्त आम्दानी लिन सकिने उनले बताए। ‘जाडो महिनाबाहेक अरू महिना जुनसुकै मौसममा करेला खेती गर्न सकिँदोरहेछ। तीन महिनामा एक विगाहमा ३०० क्विन्टलसम्म फलाउन र पाँचदेखि सात लाख रुपैयाँ कमाउन सकिँदोरहेछ’, उनले भने, ‘वर्षमा एक विगाह करेला खेतीबाट कम्तीमा १० लाख रुपैयाँ कमाइ हुन्छ।’

हाल नेपालमा खपत हुने ९० प्रतिशत बढी तीते करेला विदेशबाट आयात हुने गरेकाले बजारको खासै समस्या नभए पनि बिचौलियाका कारण समस्या भइरहेको उनको भनाइ छ। प्रदेशकै नमुना किसान बन्ने सपना नेपालमा तरकारी खेती व्यावसायिक हुन नसक्दा भारतको भर पर्नुपरेको उनलाई राम्रोसँग थाहा छ। भन्छन्, ‘हामीले उत्पादन गरेर बजार धान्न सक्ने हो भने भारतीय तरकारी आयात गर्नै पर्दैन।’ त्यही सोचलाई विस्तार गर्दै उनले अरू तरकारी पनि लगाएका छन्।

काँक्रा, टमाटर, खुर्सानी, लौका, सिमी, फर्सी जस्ता मौसमी र बेमौसमी तरकारी उनको खेतमा फलिरहेका छन्। ‘सरकारले नयाँनयाँ योजना ल्यायौँ भनेको त सुनिन्छ तर किसानलाई के चाहिएको छ र कसरी विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्ने भन्नेतर्फ सोचविचार गरेर किसानको पक्षमा योजना ल्याएजस्तो लाग्दैन’ ‘एकै खालको खेती गर्छु भनेर मात्रै नहुँदोरहेछ, बाह्रैमास केही न केही लगाइरहने र त्यसलाई निरन्तरता दिने सोचमा छु’, उनी भन्छन्, ‘यसो भयो भने राम्रो उत्पादन हुन्छ र नाफा पनि निरन्तर आउँछ।’

जिन्दगीको ऊर्जाशील उमेरको अधिकांश समय विदेशमा बिताएर स्वदेश फर्किएका उनको तरकारी उत्पादनमा प्रदेश ५ कै नमुना बन्ने सपना छ। ‘विदेशमा गएर त्यहीँको समृद्धिका लागि दिलोज्यान दिएर लागियो, सकेको मिहिनेत गरियो’, उनले भोगाइ सुनाए, ‘तर त्यो समय आफ्नै मुलुकका लागि खर्चिन सकिएन। अब म तरकारीमै आफ्नो पूरा समय दिन्छु, तरकारी खेतीमा प्रदेश ५ लाई नमुना बनाउँछु।’ तरकारीमै भविष्य बनाउने सोच लिएका उनले १० जनालाई रोजगारी पनि दिएका छन्।

बिचौलिया र विदेशी उत्पादनको मार उनका अनुसार नेपालको बजार सहज छ तर वास्तविक किसान बजारसम्म पुग्न सकिरहेका छैनन्। भन्छन्, ‘किसानले मरिमेटेर उत्पादन गर्छ, त्यसको नाफा घरै बसीबसी बिचौलियाले कमाउँछन्।’ किसानसम्म नाफा पुग्नका लागि बिचौलिया अवरोध भएको उनको ठम्याइ छ। ‘किसानले आफ्ना उत्पादन सिधै बजारमा लगेर बेच्न पाए भने अहिलेको तुलनामा किसानको आयस्तर पनि उकासिन्छ र उत्पादन वृद्धि हुन्छ’, उनी भन्छन्।

सरकारले दिएन साथ बजारभरि भारतीय उत्पादन छ। भारतमा किसानलाई दिने अनुदान र नेपालमा किसानलाई दिने अनुदानमा कैयौँ गुणा फरक छ। खनाल भन्छन्, ‘जसरी भारतीय उत्पादन हामीकहाँँ आइरहेको छ, त्यससँग प्रतिस्पर्धा गर्न त अनुदानमा सरकारले प्रतिस्पर्धा गर्नुपर्‍यो अनि किसानले उत्पादनमा प्रतिस्पर्धा गर्छन्।’ सरकारले नारा र भाषणमा किसानका लागि काम गरेको बताइरहे पनि नेपाली किसानका लागि आवश्यक परेअनुसारको साथ नपाएको उनको गुनासो छ।

‘सरकारले नयाँनयाँ योजना ल्यायौँ भनेको त सुनिन्छ तर किसानलाई के चाहिएको छ र कसरी विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्ने भन्नेतर्फ सोचविचार गरेर किसानको पक्षमा योजना ल्याएजस्तो लाग्दैन’, उनी भन्छन्, ‘केही छिटफुट, सानातिना अनुदान र ऋण दिए पनि व्यावहारिक हिसाबले झन्झटिला छन्। खास किसानले त्यहाँ पुगेर आफ्नो आवश्यकता पूरा गर्नै सक्दैनन्।’ उनलाई लाग्छ, नेपाली बजारमा आउने विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न र आत्मनिर्भर बनाउन त्यो मुलुकका किसान र नेपाली किसानले पाएको सुविधामा प्रतिस्पर्धा गर्नुपर्छ अनि मात्रै उत्पादनले प्रतिस्पर्धा गर्नसक्नेछ।

सरकारले तरकारी र अन्य कृषि उत्पादन बढाउन भारतले जस्तै मलखाद, बिउबीजन, सिँचाइ, ट्र्याक्टर खरिद आदिमा भारी मात्रामा अनुदान दिनुपर्ने खनालको माग छ। ‘त्यसो नगर्दासम्म नेपाली किसानले जति प्रयास गरे पनि प्रतिस्पर्धा गर्न कठिन हुन्छ र कृषि पेसा दीर्घकालीन हुन सक्दैन’, उनले भने।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :