सल्यानमा ३५ करोड मूल्य बरावरको आलु उत्पादन

यो समाचार 471 पटक पढिएको

सल्यान । जिल्लामा गत वर्षमा ३५ करोड ३९ लाख २५ हजार मूल्य बरावरको आलु उत्पादन भएको छ ।

जिल्ला कृषि विकास कार्यालय सल्यानले दिएको जानकारी अनुसार एक हजार सात सय ६५ हेक्टर क्षेत्रफलमा हिँउदे र चार सय तीन हेक्टर क्षेत्रफलमा बर्खे आलु खेती गरिएकोमा १६ हजार तीन सय १५ मेट्रिक टन हिउँदे र तीन हजार ६ सय ४० मेट्रिक टन बर्र्खे आलु उत्पादन भएको थियो ।

जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषि विकास अधिकृत अम्मर राज शर्माका अनुसार औषतमा हिउँदे आलु प्रतिकेजी १५ र वर्षे आलु प्रतिकेजी ३० रुपैँयाका दरले विक्रि गरिएको छ । सल्यानको वाफुखोला, कोटमौला, ढाकाडाम, कोटबारा लगायतका क्षेत्रका किसानहरुले आलु खेती गर्दै आएका छन् ।

वाफुखोलामा मात्रै ११ करोडको आलु
जिल्लाको बागचौर नगरपालिका १२ बाँफुखोलाका किसानहरुले आलु वेचेर ११ करोड बढी रकम आर्जन गरेका छन् । स्थानीय किसानले ८० हेक्टर क्षेत्रफलमा आलु खती गरेका थिए ।

व्यावसायिक आलु खेतीमा लागेपछि जीवनस्तर फेरिएको बताउँदै कृषक डिल्ली ओलीले भने यस वर्ष मैले ४० क्विन्टल आलु उत्पादन गरेर सात लाख रुपैँया कमाएँ । विगतको समयमा आलु उत्पादन भएपनि बजारको समस्या हुनेगरेको थियो तर अहिले व्यापारीहरु खेतवारीमै खरिदको लागि आउने गरेका उनले बताए । करिब एक हजार घरधुरी रहेको बाफुखोलामा ८० प्रतिशत किसान व्यावसायिक आलु खेतीमा लागेका छन् ।

आलु बजार लैजानु पर्दैन, बजार आफै खेतमा आइपुग्छ
खेत बारीमै आएर व्यापारीले आलु लिएर जाने गरेकाले बजारको समस्या नभएको वागचौर नगरपालिका १२ का स्थानिय दुर्गा वलीले बताए ।

पहिले वाटो नहुँदा धेरै आलु कुहिएर खेर जाने समस्या थियो अहिले त खरिदकर्ता गाउँमै आएर प्रतिकिलो २२ देखि २४ रुपैयाँ सम्ममा खरिद गरेका छन् । खुसि हुँदै उनले भने अहिले त आलु बजार लैजानु पर्दैन, बजार आफै खेतमा आइपुग्छ । केही समय अघिसम्म आलुसँग चामल साटेर गुजारा गर्ने गरेको उनले बताए ।

भण्डारणको व्यवस्था नहुँदा किसान सस्तोमै वेच्न वाध्य
आलुको राम्रो उत्पादन हुने भएपनि भण्डारणको उचित प्रवन्ध नहुँदा किसानहरुले मेहनत अनुसारको आम्दानी पाउँन सकेका छैनन् । आलु भण्डारणको व्यवस्थित भवन नहुँदा परम्परागत रूपमै भण्डारण गर्नुपरेको स्थानीय दुर्गा वलीले बताए । अहिले १५/२० रुपैयाँ प्रतिकेजी बेच्ने गरेको आलुपछि आफुले महँगो हालेर किन्ने गरेको उनले बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :