बेमौसमी तरकारीले किसानलाई घाटा

यो समाचार 159 पटक पढिएको

बाँके । बाँकेका बेमौसमी व्यावसायिक तरकारी उत्पादक किसान जलवायु परिवर्तनका कारण बर्सेनि घाटा बेर्होन वाध्य भएका छन्।

उनीहरू गर्मी र जाडो दुवै सिजनका बेमौसमी तरकारी उत्पादनमा समस्या झेलिरहेका छन्। जलवायु परिवर्तनका कारण तरकारीको बीउ राख्ने, रोप्ने र उत्पादन भित्र्याउने चक्र नै फेरिएको छ। यो चक्र एकदेखि डेढ महिना सरेको किसान बताउँछन्।

‘असार तेस्रो साता टमाटरको बीउ राखेर साउन तेस्रो साता रोपेर दसैंतिहारमा बिक्री गथ्र्यौ’, खजुरा गाउँपालिकाको बिगाउँका किसान पदमबहादुर राना भन्छन्, ‘अहिले तापक्रम बढेर साउन तेस्रो साता बीउ राखेर भदौ तेस्रो साता रोपेर दसैंतिहारपछि मात्र टमाटर उत्पादन हुन्छ। हाम्रो उत्पादन हुन्छ। खपत नै हुँदैन्।’

टमाटरमा मात्र होइन, यो सिजनमा लगाइने काउली, बन्दागोभी, खुर्सानी, मुलालगायत तरकारीको अवस्था पनि त्यही हो। ‘३२ डिग्री तापक्रमभन्दा माथि हुँदा टमाटर नै फल्दैन। पात पहँलिन्छन्। किरा लाग्छन्। टमाटर नै फल्दैन’, किसान रानाले प्रस्ट पारे। बाँकेमा अधिकतम् तापक्रम ४६ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ।

गर्मी सिजनको बेमौसमी तरकारीमात्र होइन, जलवायु परिवर्तनले जाडो यामको बेमौसमी तरकारीखेतीलाई पनि उत्तिकै असर गरेको छ। किसानले कातिक–मंसिरमा लगाउने कांक्रा, लौका, फर्सी, करेलालगायत तरकारी पुस–माघमा बिक्री गरिन्थ्यो। उनले भने, ‘यो मौसममा टनेलमा लगाइने तरकारीले पनि चिसो थेग्न सकेको छैन। यसका कारण उत्पादन ढिलो भइरहेको छ।’

रानाले डेढ बिघा जग्गामा बेमौसमी तरकारीखेती गरिरहेका छन्। २०५३ सालदेखि तरकारीखेतीमा लागेका उनी २०७३ सालमा जिल्ला कृषि विकास कार्यालयबाट उत्कृष्ट किसानका रूपमा पुरस्कृत भएका थिए।

खजुरा–२ केगाउँका अर्का किसान गेहेन्द्रप्रसाद धिताल पनि राना जस्तै जलवायु परिवर्तनको असरले मर्काको परेको बताउँछन्। उनी जलवायु परिवर्तनको असरका कारण ‘खेतीचक्र’ बदलिएको अनुभव सुनाउँछन्। डेढ दशकअघि तीन कठ्ठा जग्गाबाट तरकारीखेती सुरु गरेका धितालले अहिले डेढ बिघा जग्गामा तरकारी र फलपूmखेती गरिरहेका छन्। उनी बर्सेनि बेमौसमी खेतीबाट घाटा हुँदै गएको बताउँछन्। १५ वर्षदेखि तरकारी र फलपूmल खेती गरिरहेका धिताल भन्छन्, ‘माघमा बोडी लगाइन्थ्यो। फागुनमा लगाउनुपर्ने भयो। पहिलेकै समयमा लगाउँदा उम्रँदैन। उम्रे राम्रो फल लाग्दैन।’

जलवायु परिवर्तनका कारण तरकारीको बीउ राख्ने, रोप्ने र उत्पादन भित्र्याउने चक्र नै फेरिएको छ।

उनको बारीमा तरकारीका अलावा आँप, कागती, केरालगायत फलपूmल पनि छन्। फलपूmलको बोट मुनी उनले तरकारीखेती गरेर दोहोरो बालीबाट फाइदा पनि लिइरहेका छन्। सोही गाउँका अर्का किसान मधुसुधन शर्मा पनि जलवायु परिवर्तनकै कारण पानी पर्ने बेला नपर्ने, कहिले अतिबृष्टि भइदिने त बेमौसममै असिना पानी परेर तरकारीखेतीमा क्षति पुगेको बताउँछन्। उनले पनि डेढ बिघा क्षेत्रफलमा तरकारीखेती गरिरहेका छन्।

‘कहिले बढी गर्मी हुने, कहिले बढी जाडोले तरकारी उत्पादन नै हुँदैन। किराले पनि उत्तिकै सत्यानास गर्छन्’, शर्माले भने, ‘समयमा वर्षा नहुँदा भूमिगत पानीको स्रोत पनि सुक्न थालेको छ। पहिले ३० फिट गहिराइमा पानी आउने ठाउँमा अहिले घटीमा ६० फिटमा पनि पानी आउन छोडेको छ।’ देश लोडसेडिङ मुक्त भइसक्दा पनि यहाँका किसान विद्युत् अनियमितता र लोभोल्टेजका कारण मारमा परिरहेका छन्।

खजुरा र जानकी गाउँपालिकाका २५ जना तरकारी उत्पादक कृषकको साझा संस्था लालीगुराँस तरकारीखेती कृषक समूहका अध्यक्षसमेत रहेका शर्माले एक सिजनमा एक जना किसानले कम्तीमा २५ हजारदेखि डेढ लाख रुपैयाँसम्म घाटा बेहोरेको बताए।

आयोजना राष्ट्रिय निर्देशक शिवनन्दन झा वातावरणमा आएको परिवर्तनको बारेमा जानकारी दिनका गरेको बताउँछन्। उनले भने, ‘किसान सिम र हाम्रो कृषि एप’ मार्फत किसानलाई तापक्रमको जानकारी गराएर कुन समयमा कुन बाली लगाउनुपर्छ भनेर सघाइरहेका छौं।’

रचनात्मक प्रतिक्रिया दिनुहोस् :