अगार्निक आलुबाट मालामाल, बार्षिक १० लाख आम्दानी

यो समाचार 81 पटक पढिएको

डडेल्धुरा । डडेल्धुराका उच्च पहाडी भेगका स्थानीयले अगार्निक आलु उत्पादन गरी मनग्य आम्दानी गर्दै आएका छन् ।

डडेल्धुरा सदरमुकाम आसपास अमरगढी नगरपालिका–१ तडिवाटा, मालम, मडुवा, मौरडा, वडा–२ भेल, मतरगाउँ, कारी गाउँ वडा–३ घटाल, साउनगाउँ, चमसाल, चिरकिट्ट वडा–७ सल्लागाउँ, अनानरखोली, भालुमारे, वडा–८ टाटार गन्यापधुरा गाउँपालिकाको भत्काडा, साहुँखर्क र आलिताल गाउँपालिकाको गंखेत, हगुलटे, गैरालगायतका गाउँका स्थानीयले सयौं रोपनीमा अर्गानिक आलु लगाएर मनग्य आम्दानी गरेका छन् ।

विगतमा परम्परागत रूपमा धान र मकै लगाउने कृषकहरू अहिले आलुलाई मुख्य बालीका रूपमा लगाउन थालेपछि उनीहरूले वार्षिक १ लाखदेखि १० लाखसम्म आम्दानी गर्न सफल भएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ । परम्परागत रूपमा मकैलगायतका अन्य खेती जंगली जनावरले नोक्सान गर्न थालेपछि व्यावसायिक रूपमा अर्गानिक आलु खेती गर्न थालेको स्थानीय बताउँछन् । सिँचाइको सुविधा नहुँदा बाँझो रहने यहाँका खेत अहिले आलु खेतीले हरियाली नै भएका छन् ।

आलु खेतीका लागि थोरैै सिँचाइका साथै जंगली जनावरले पनि कम क्षति पु¥याउने भएपछि आलु खेती थालेका किसानहरूले एक सिजनमा मात्रै २ लाखभन्दा बढी रुपैयाँ आम्दानी गर्न थालेका छन् । १२ वर्षभन्दा पहिलेदेखि जर्माना लेकमा आलु खेती गर्दै आएका कृषक पदमबहादुर बोहराले पहिले दुई क्विन्टलबाट सुरुवात गरेको बताउँदै उनले भने, ‘अहिले १५ क्विन्टल बीउ लगाएको छु ।’ पहिला आफैंले बीउ किनेर लगाउँदा २ देखि ५ क्विन्टलसम्म लगाउने गरेको थिएँ ।’

उनी अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाले अनुदानमा बीउ दिन थालेपछि १५ क्विन्टल बीउ लगाएकाले आम्दानी पनि राम्रै हुनेमा ढुक्क छन् ।

‘पहिले पाँच–सात क्विन्टल लगाउँदा मात्र वार्षिक रूपमा खर्च कटाएर १ लाखसम्म आम्दानी हुने गथ्र्यो,’ उनले भने, ‘यस वर्ष त १५ क्विन्टल जति आलु लगाएको छु, ८ देखि १० लाखसम्म होला ।’ पहिला मकै रोपेर ५–६ क्विन्टल फले पनि भालु र बँदेलले खाइदिने पिरलो र बचेको मकै आफूलाई खान मात्र ठिक्क हुने भएपछि अहिले आलु खेती गर्दै आएको अर्का किसान भोजराज महताले बताए ।

उनले आलुखेती गर्न थालेको चार वर्ष मात्रै भयो । यस वर्ष उनले २० क्विन्टल को हाराहारीमा आलु लगाएको बताए । यहाँ उत्पादित आलुले प्रतिक्विन्टल ३ हजार रुपैयाँभन्दा बढी नै मूल्य पाउने गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत डडेल्धुरालाई आलु उत्पादनका लागि सुपर जोन क्षेत्र घोषणा गरेपछि यहाँका किसान आलु खेतीतर्फ आकर्षित भएका छन् ।

सुपर जोन कार्यक्रमअन्तर्गत आलु उत्पादनका लागि किसानहरूले आर्थिक तथा प्राविधिक सहयोग पाउन थालेका छन् । उक्त आयोजनाले कृषकहरूलाई उत्पादित आलुबाट अन्य परिकार बनाउन प्रशोधन गर्नेलाई समेत प्राविधित तथा आर्थिक सहयोग गर्ने भएको छ । यस्तो कार्यक्रम लागू हुने भएपछि अमरगढी आलिताल, अन्यापधुराका कृषहरूले आलुलाई नै आफ्नो मुख्य बालीका रूपमा अगाडि बढाएका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :