बगरमा सुन फलाउँदै किसान

यो समाचार 1122 पटक पढिएको

उदयपुर । स्थानीय किसानले समूह बनाएर बगरमा सुन फलाउन थालेका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका–५, सिवाइका किसानले बेमौसमी बगर खेतीबाट मनग्य आम्दानी गरेका हुन् ।

किसानले समूह बनाएरै त्रियुगा नदीको बगरमा काँक्रा, फर्सी, तितेकरेला, लौका र तर्बुजा खेती गरेका छन् । बेमौसमी तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेको उनीहरूको भनाइ छ । खेत बाढीले पुरेपछि किसान चिन्तित थिए । नदी कटान र बलुवाले खेत भरिएपछि किसानहरूले त्यसैमा खेती गरी आम्दानी गरिरहेका हुन् ।

‘गर्दा हुँदो रहेछ त,’ यो वाक्यांशले ठूलो प्रेरणा मिलेको ५१ वर्षीय डिल्लीकुमार लम्साल बताउँछन् । ‘गरे हुन्छ, नगरी बसे भोकै मरिन्छ,’ उनले भने, ‘बगरमा सुन फल्छ भनेर सुनेको थिएँ तर अहिले आफैंले तरकारी खेती गरी त्यसैको आम्दानीबाट घर खर्च चलाएको छु । मौसमी तथा बेमौसमी तरकारी खेती गरी वार्षिक ७ लाख आम्दानी भएको उनले सुनाए । त्रियुगा बगरमा तरकारी खेतीबाटै तीन छोराछोरीलाई उच्च शिक्षा दिन सकेको उनको भनाइ छ ।

अहिले लम्सालले त्रियुगा बगरको डेढ बिघामा काँक्रो, फर्सी, लौका, तितेकरेला र तर्बुजा खेती गरिरहेका छन् । लम्साल मात्रै होइन, उनी जस्तै अन्य किसानले पनि बगरमा तरकारी खेती गरिरहेका छन् । डिल्लीकुमार संयोजक रहेको १७ सदस्यीय ‘त्रियुगा किसान समूह’ सिवाइ क्षेत्रमा मौसमी तथा बेमौसमी तरकारी खेती गरिरहेको चौदण्डीगढी नगरपालिका–५, सुन्दरपुरका वडाध्यक्ष देवनारायण चौधरीले बताए ।

चौधरीका अनुसार किसानका अन्य समूह पनि तरकारी खेतीमा सक्रिय छन् । तरकारी खेतीबाट आम्दानी राम्रो भएपछि अन्य खेती छाडेको अर्का किसान गोविन्द बस्नेत बताउँछन् ।

‘बगरमा तरकारी खेती गरी राम्रो आम्दानी हुँदो रहेछ,’ उनले भने, ‘थोरै लगानी गरी लाखौंको आम्दानी हुँदा किसान आर्थिक रूपमा सक्षम हुँदो रहेछ ।’ बगरमा खेती गर्न जमिनका लागि पैसा खर्च नहुने, मल र बीउ पनि सहयोग हुने भएकाले आम्दानी राम्रो भएको उनले बताए ।

सुरुमा विपन्न विद्यार्थीका अभिभावकको आयआर्जन वृद्धि भन्दै नवप्रभात नेपालले सहयोग गरेको लम्सालले बताए । ‘नवप्रभावतले सुरुमा बीउ बिजन, सिँचाइ, मलखादसँगै खेती प्रविधि सहयोग ग¥यो,’ उनले भने, ‘झन्डै ७ वर्षअघि पाएको सहयोग र ज्ञानले अहिले वार्षिक ७ लाख आम्दानी भइरहेको छ ।

छोराछोरीलाई विद्यालय पठाउन उत्प्रेरित गर्दै नवप्रभातले तरकारी खेती सिकाएको उनले बताए । ‘सुरुमा आर्थिक र प्राविधिक सहयोग गरियो, अहिले उनीहरू आफैं तरकारी खेती गर्न सक्षम भएका छन्,’ नवप्रभातका अध्यक्ष दुर्गानन्द चौधरीले भने ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :