अकबरेको नर्सरीबाट राधाले गर्छिन लाखौं आम्दानी

यो समाचार 182 पटक पढिएको

तेह्रथुम । कुनै समय अकबरे खेतीका लागि बिरुवा खोजीमा बजार हाट धाउनु बाध्यता थियो ।

गाउँमा विवाह, व्रतबन्धजस्ता सामाजिक कामका लागि अकबरे बजारबाट किनेर खानुको विकल्प थिएन छथर क्षेत्रका किसानहरूलाई । धेरै युवा पैसा कमाउन विदेशी भूमिमा पुग्ने गरेका छन । मेहनत र श्रम गरे थोरै जमिनमा धेरै आम्दानी लिन सकिन्छ भन्ने उदाहरण यहाँका कृषकले देखाएका छन् ।

बुद्धि भए बलबिनै राम्रो आम्दानी लिन सकिने यस क्षेत्रका किसानहरूले बताउँछन् । गाउँगाउँमा सडकको विस्तारसँगै बढ्दो सहरीकरणले यातायातको सुविधा बस्तीहरूमा पुग्न थालेसँगै तरकारी खेतीतर्फ आकर्षण बढ्दै गएको छ ।

ग्रामीण क्षेत्रका कृषकले विभिन्न तरकारीको नर्सरी उत्पादन गरी बर्सेनि लाखौं रुपैयाँ भित्र्याउँदै आएका छन् । छथर–२, आङदिमकी ६१ वर्षीया राधा बस्नेतले ६ वर्षदेखि अकबरेको नर्सरी गर्दै आएकी छन् । आफैंलाई रोप्नका लागि नर्सरी सुरु गरेकी उनले गत वर्ष मात्र १ लाखभन्दा बढीको बिरुवा बिक्रीबाट आम्दानी लिएकी थिइन् । अग्र्यानिक रूपमा उनले उत्पादन गरेको बिरुवा घरैबाट किसानहरूले खरिद गर्ने गरेका छन् । व्यवस्थित रूपमा ड्याङ बनाएर नर्सरी गर्दै आएकी बस्नेतले वर्ष ८० हजार बिरुवा निकाल्ने तयारी गरेको बताइन् । गत वर्षको तुलनामा बिरुवा बिक्री नभए पनि १ लाखभन्दा बढी आम्दानी गर्ने उनको लक्ष्य छ ।

अकबरे नर्सरी बिक्रीबाटै घरखर्च धानेर बचेको रकमले बस्नेतले तरहरामा ३ लाख बराबरको घडेरी किनेकी छिन् । अकबरेसँगै प्याज, गोलभेडा, भण्टालगायतका तरकारीको नर्सरी उत्पादन गर्दै आएकी छिन् ।

उनीजस्तै बिन्जु बस्नेतले पनि पाँच वर्षदेखि अकबरेको नर्सरीबाट राम्रो आम्दानी लिँदै आएकी छिन् । श्रीमान् विदेशमा भए पनि उनी घरको कामसँगै तरकारी खेतीमा तल्लीन रहँदै आएकी छिन । बिन्जुले गत वर्ष ५० हजारको अकबरेका बिरुवा बिक्री गरेकी थिइन् । यस वर्ष पनि ६० हजार बराबरको नर्सरी बिक्री गरेकी छिन् । यहाँका कृषक रासायनिक मल प्रयोग गर्दैनन्, प्राङ्गारिक मलको मात्र प्रयोग गरी अग्र्यानिक तरकारी खेती गर्छन् ।

मानव स्वास्थ्यका लागि स्वस्थकर हुनुका साथै अग्र्यानिक तरकारीको बजार राम्रो भएको कृषकहरू बताउँछन् । नर्सरी गरी उत्पादन गरेको अकबरेको बिरुवा जिल्लाको वसन्तपुर, छथर शुक्रबारे, ओख्रे तथा संसारे बजारका साथै धनकुटाको सिधुवा बजारमा पुर्याएर बिक्री हुने गरेको छ ।

गाउँमा राधा र बिन्जुजस्तै अन्य कृषकहरूले पनि अकबरेको नर्सरी उत्पादनबाट राम्रो आम्दानी गर्दै आएका छन् । बजारमा अहिले २ रुपैयाँका दरले बिरुवा बिक्री हुँदै आएको छ । जिल्लाको छथर क्षेत्रका कृषकले अकबरे खेतीबाट बर्सेनि लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् । अग्र्यानिक रूपमा उत्पादन हुँदै आएको यस क्षेत्रको अकबरे नेपाललगायत विभिन्न मुलुकमा निर्यात हुने गरेको छ । किसानहरूले १ रोपनीदेखि १० रोपनी जमिनमा खेती गर्दै आएका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :