प्रधानमन्त्री कृषि सुपरजोनमा धमाधम तरकारीको संरचना बन्दै

यो समाचार 213 पटक पढिएको

साँकेतिक तस्विर

पोखरा । पोखरामा सञ्चालन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (तरकारी) को संरचना धमाधम निर्माण भइरहेको छ । आत्मनिर्भर बन्दै निर्यात गर्ने उद्देश्यले सञ्चालिन परियोजनाबाट छिटै प्रतिफल दिने गरी संरचना तयार भइरहेका छन् ।

सुपरजोन एकाइ पोखराका प्रमुख महेन्द्रराज कौडालले गत आर्थिक वर्षमा निर्माण भएका संरचनामा उत्पादन सुरु भइसकेको र नयाँ संरचना निर्माणले तीव्रता पाएको बताए । कौडालका अनुसार २०७३ फागुनबाट कार्यालय सञ्चालनमा आएको हो ।

निर्माण सम्पन्न भएका संरचना
अहिलेसम्म पाँचवटा नेचुरली भेन्ट्रिलेटर ग्रिनहाउस, एक पोस्ट हार्बेस्ट सेन्टर, एक कस्टम हायरिङ सेन्टर, भरतपोखरीमा साना सिँचाइ आयोजना निर्माण सम्पन्न भएका छन् । यसबाट प्रतिफल प्राप्त हुन सुरु भइसकेको उनले बताए । गत आर्थिक वर्षका लागि ११ करोड ६१ लाख रुपैयाँ बजेट रहेकोमा त्यसको झन्डै ६० प्रतिशत अर्थात् ५ करोड ८७ लाख रुपैयाँ खर्च भएको थियो । चालू आर्थिक वर्षका लागि कम बजेट बिनियोजन भएको सुपरजोन एकाइ पोखराका प्रमुख महेन्द्रराज कौडालले बताए । चालू आर्थिक वर्षका लागि ४ करोड ३९ लाख विनियोजन भएको छ ।

उत्पादन नै सुरु भइसक्यो
‘आत्मनिर्भर अर्थतन्त्रका लागि कृषिको आधुनिकीकरण, व्यावसायीकरण र औद्योगिकीकरण’ भन्ने मूल नाराका साथ सरकारले परियोजना सुरु गरेको छ । सो परियोजनाबाट अनुदान लिएर कृषकले पहिलोपटक हेम्जा, गगनगौडा, सुन्दरीबजार, चाउथे र मझेरीपाटनमा हरितगृह निर्माण सम्पन्न गरेका छन् । काँक्रो, गोलभेँडा सिमीलगायत तरकारी उत्पादन भइरहेका छन् । काँक्रोले राम्रो बजार लिएको विषयविज्ञ वीरेन्द्र हमालले बताए । उनले आगामी दसैंसम्ममा परियोजनाको उत्पादनले निश्चित आकार लिने बताए ।

नयाँ संरचनाले केही अलमल
एक हजार हेक्टर जमिनमा यो परियोजना सुरु भएको छ । परियोजना सञ्चालनकै क्रममा राज्यका पुराना संरचना भत्केर नयाँ संरचना बन्दै गर्दा सञ्चालनमा केही अप्ठ्यारो देखिएको परियोजना कार्यालयले जनाएको छ । सुपरजोन केन्द्रका प्रमुख कौडालका अनुसार गत आर्थिक वर्षमा जिल्ला विकास समितिअन्तर्गतका संरचनासँग समन्वय गरेर काम भएका थिए ।

अहिले स्थानीय तहमा परिणत भएको र कतिपय कृषिसँग सम्बन्धित निकायले पूर्णता नपाउँदा समस्या भएको उनको गुनासो छ । पहिले पोखरा उपमहानगर र लेखनाथ नगरपालिका क्षेत्र र वरपर छुट्टाछुट्टै ढंगले सहकार्य भएको थियो । अहिले लेखनाथ र वरपरका गाउँ समेटेर पोखरा लेखनाथ महानगर बन्दा वडाको संरचना पनि फरक भएको छ । यसले केही समय अलमल बनाएको छ । अहिले महानगरका ३३ वटै वडामा कृषक सञ्जाल बन्ने क्रममा छन् ।

ओगटेको क्षेत्र र समूह
तरकारी सुपरजोनमा एक हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती गर्ने परियोजनाको कार्यक्रम छ । महानगर क्षेत्रको ९ सय २७ हेक्टर जमिन सूचीकृत छ । यसमा तरकारी उत्पादक कृषक समूह, सहकारी र व्यावसायिक कृषक गरी ६ सय ७० समूहको सहभागिता छ । प्रमुख कौडालका अनुसार ‘कस्टम हायरिङ सेन्टर’का लागि ५० प्रतिशत र ‘पोस्ट हार्वेस्ट’का लागि ८५ प्रतिशत अनुदानको व्यवस्था छ ।

जिल्लामा सहभागितात्मक वैज्ञानिक उत्पादन, प्रशोधन प्रविधि तथा स्थलगत तालिम सञ्चालन, कृषि प्रविधि केन्द्र स्थापना, जैविक विषादी कारखाना स्थापना तथा सहयोग, प्रांगारिक मल कारखाना तथा सहयोगलगायत कार्यक्रमलाई परियोजनाले समेटेको छ । आधुनिक कृषि प्रणाली, बेमौसमी तरकारी उत्पादन, जैविक खेतीको सम्भाव्यता, उत्पादनमा वृद्धि, असिना, हावाहुरी, रोग–किराबाट सुरक्षा र श्रमको सदुपयोग हुने हुँदा हरितगृह प्रविधिबाट कृषकले धेरै फाइदा लिन सक्ने विज्ञ वीरेन्द्र हमालले बताए ।

यस्तो छ, पोखरामा तरकारी आपूर्तिको अवस्था
जिल्ला कृषि विकास कार्यालय कास्कीका अनुसार पोखराका लागि वार्षिक ५६ हजार ८ सय ५४ मेट्रिकटन तरकारी आवश्यक पर्छ । तर, २८ हजार ६ सय १९ मेट्रिकटन मात्र उत्पादन हुन्छ । छिमेकी जिल्लाहरूबाट आपूर्ति हुँदा पनि वर्षिक ५ हजार ६ सय १४ मेट्रिकटन अझै अपुग रहेको कृषिविज्ञ बेनीबहादुर बस्नेतले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आयात प्रतिस्थापन गरेर आत्मनिर्भर बन्दै निर्यात गर्ने लक्ष्य राखेको छ । त्यसका लागि उत्पादकत्वमा वृद्धि गरी सहज आपूर्तिका लागि परियोजनाले कृषकमा जागरण ल्याउने उनको भनाइ छ ।

यो वर्ष के–के बन्दै छन् ?
चालू आर्थिक वर्षमा १० हाइटेक ग्रिनहाउस, ६३ संरचनासहितको हेललेट (असिना छेक्ने जालीसहितको संरचना), नौ आधुनिक नर्सरी निर्माण हुँदै छन् । यस्तो प्रविधि अपनाउँदा सीधै घाम, पानी, किरा प्रवेश गर्न नसक्ने र बिरुवालाई आवश्यकताअनुसार लगभग ५ डिग्रीसम्म तापक्रम तल वा माथि गर्न सकिन्छ । अत्याधुनिक प्रविधियुक्त हरितगृहमा उत्पादित गुणस्तरीय बिरुवाले तरकारी खेती विस्तारमा महत्वपूर्ण भूमिका खेलेको कृषिविज्ञ बेनीबहादुर बस्नेतले बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :