निर्वाहमुखीबाट ‘व्यावसायिक’ बन्दै कृषि

यो समाचार 1555 पटक पढिएको

भिम चापागाई
इलाम । सूर्योदय नगरपालिका–१२, आठघरेका मदन राई ५–७ वर्षअघिसम्म अर्कैको मेलापात गरेर घरको गर्जो टार्थे । घर वरिपरिको थोरै बारीमा मकै, कोदो, आलु, तरकारी, तोरी, सिमी, भटमास, गहुँलगायत सिजन अनुसारका धेरैभन्दा धेरै बाली अटाउँथे । करिब डेढ दर्जन खाले बालीनाली लगाउँदा पनि घरमा वर्षभर खान–लाउन पुग–नपुग नै हुन्थ्यो । बिहान–बेलुका हातमुख जोर्न सधैं उस्तै धौ–धौ ।

‘यो तालले घर–परिवार नचल्ने’ सोचेर मदनले वैदेशिक रोजगारीमा जानेदेखि गाउँमै उन्नत पशुपालन गर्नेसम्मका योजना बुने । तर, उनलाई लगानी जुटाउन समस्या थियो । थोरै लगानीमा धेरै आम्दानी हुने व्यवसाय रोज्नु थियो उनलाई । एक्कासि दिमागमा आयो– बालीनालीको संख्या घटाउने, मौसमी र बेमौसमी तरकारी उत्पादन गरेर नजिकै तराईका बजार लगेर बेच्ने । नभन्दै, उनले गरे पनि त्यसै । भएभरका बाली मासेर काँक्रा, गोलभेंडा, अकबरे, अदुवा, फूलगोपी र धनियाँ लगाए ।

करिब १० रोपनीमा गरेको तरकारी खेतीले ४–५ वर्षभित्रै उनको आम्दानी ‘कायापलट’ गरिदियो । धमाधम तरकारी उत्पादन गरेर उनी फिक्कल, झापाको चारआली, बिर्तामोडसम्मका बजार लगेर बेच्छन् । ‘वर्षमा ८ देखि १२ लाख रूपैयाँसम्म कमाइरहेको छु,’ गर्वसाथ भन्छन्, ‘पसिना त निकै बगाएँ । तर, तरकारी खेती गर्नुअघि चाहिँ यो बुद्धि कहाँ गएको थियो जस्तो पनि लाग्छ कहिलेकाहीँ ।’

मदनको मेहनतलाई सरकारी र गैरसरकारी संघ–संस्थाले पनि साथ दिए । अहिले उनकै सिको गरेर गाउँभरि मौसमी र बेमौसमी तरकारी खेती गर्ने युवाको संख्या निकै छ । जिल्लामा आठघरे नै यस्तो गाउँ भएको छ, जहाँको करिब सय घरका युवाले तरकारीको व्यावसायिक खेतीमै रमाएर वैदेशिक रोजगारी बिर्सिएका छन् । विदेश गएका युवा पनि घर फर्किएर तरकारी खेतीमै आत्मनिर्भर बनिरहेका छन् ।

सूर्योदय नगरपालिकाकै अर्का युवक अशोक राई केही वर्षअघिसम्म नेपाल प्रहरीका जागिरे थिए । उनले ‘जागिरले मात्रै घर थाम्न नसक्ने’ सोचेर २०४८ सालदेखिको स्थायी जागिर २०६० वैशाखमा छोडे । घर फर्किएर गाईपालनमा लागेका उनी अहिले यसैबाट महिनाको ५० हजार रूपैयाँ कमाउँछन् ।

‘पहिला घरमा दूध खानका लागि १–२ गाई पाल्ने चलन थियो, अहिले गाईपालन नै मुख्य व्यवसाय भएको छ,’ उनी भन्छन्, ‘गाईकै आम्दनीले सबै खर्च धानिरहेको छु ।’ उनले आफ्नो फार्ममा होलिस्टिन जातका गाई पालेका छन् । उनले दूधमात्र होइन, उन्नत मानिने होलिस्टिन जातको एउटै गाई गत कात्तिकमा १ लाख ४२ हजार रूपैयाँसम्ममा बेचे । ‘तीन लाख रूपैयाँ लगानीमा व्यवसाय थालेको थिएँ,’ उनले सुनाए, ‘आम्दानी बढेपछि जाँगर पनि बढ्दोरहेछ ।’

भारतको पूर्णिया र गाजियावादमा पालिने होलिस्टिन र साइवाल जातका गाईबाट उनी व्यावसायिक बनेका हुन् । यो जातको एउटा गाईले दिनको २६ लिटरसम्म दूध दिने गरेको उनले सुनाए । ‘यो गाईले चौथों पुस्ताको हुँदा दिनको १८ लिटर दूध दिएको थियो, अहिले आठौं पुस्तामा २६ लिटर दिँदैछ,’ उनले भने, ‘गाईलाई स्याहार गर्नसके अरू आम्दानीको स्रोत खोजिरहन नपर्नेरहेछ ।’

पुष्प अधिकारी, केशव चापागाईं, नवराज अधिकारीलगायत किसान पशुपालन गरेर व्यावसायिक बन्ने किसानका उदाहरण मात्रै हुन् ।

घर–बारीमा जताततै उत्पादन हुने इस्कुस केही वर्षअघिसम्म तरकारीका रूपमा प्रयोग हुन्थ्यो । परिवारले खाइनसकेको इस्कुस वस्तुभाउलाई दिएर पनि सकिँदैनथ्यो । तर, अहिले सवारी साधन गाउँमै पुगेपछि जिल्लाका किसान इस्कुसको व्यावसायिक खेती गरेर लाखौं रूपैयाँ कमाउँदैछन् । इस्कुसकै आम्दानीबाट किसानले घरखर्च मात्र चलाएका छैनन्, छोराछोरी पढाएका छन्, सवारी साधन र जग्गा–जमिन नै किन्नसमेत सक्षम भएका छन् । जिल्लाका कन्याम, पशुपतिनगर, गोदक, फिक्कल, पञ्चकन्यालगायत गाउँका किसान इस्कुसको व्यावसायिक खेती गर्छन् । पशुपतिनगरका शेरबहादुर तामाङले इस्कुसले उल्लेख्य आम्दानी दिएको बताए । पशुपतिनगरका किसानले भने यहाँ उत्पादन भएको इस्कुस भारतको दार्जिलिङ, मिरिक, सिलिगुडीतिरका बजारमा बेच्दै छन् । तामाङले भने, ‘बेच्न उतै पुर्याउनुपर्ने बाध्यता पनि छैन । व्यापारीले यतै आएर लैजान्छन् ।’

माघे गाउँका किसान जय भट्टराईले इस्कुस बेचेर आफूले वर्षको तीन लाख रूपैयाँसम्म आम्दानी गरेको बताए । ‘चार रोपनी जमिनमा गरिएको इस्कुस खेतीबाट यो आम्दानी भएको हो,’ उनले भने, ‘पहिला एक झ्याङ लगाउँदा खान पुग्थ्यो, उब्रिएर बस्तुभाउलाई समेत दिइन्थ्यो, अहिले गाडीले घरबाटै उठाउने भएपछि खेती थपेर यसैलाई पो आम्दानीको मेलो बनाइयो ।’ इस्कुस खेतीका लागि बढी मेहनत पनि गर्नु नपर्ने, जरा, मुन्टा र फलबाट नै आम्दानी लिन सकिने भएपछि किसानमा इस्कुस खेतीप्रति आकर्षण बढेको हो । २५ वर्षदेखि इस्कुसको खेती गरिरहेकी स्थानीय खेमकुमारी भट्टराईले पनि दुई लाख रूपैयाँसम्मको इस्कुस बिक्री गर्ने गरेको बताइन् । दुई रोपनी क्षेत्रफलमा इस्कुसको खेती गरेकी उनले वार्षिक एक हजार मन इस्कुस बिक्री गर्दैछिन् ।

निर्वाहमुखी कृषि कर्मले गर्जो टारिरहेका जिल्लाका किसान अहिले हरेकजसो बालीनालीको व्यावसायिक खेतीमा जुटेका छन् । कृषि उत्पादनले छोटो समयमा राम्रो आम्दानी हुन थालेपछि किसान तरकारी र पशुपालनमा बढी आकर्षित भएका हुन् । यातायातको सुगमता, बजार पहुँच र आधुनिकउन्मुख खेती प्रणालीले किसानको आम्दानी सुध्रिँदैछ । आम्दानी बढेपछि किसानले व्यावसायिक खेतीमा लगानी बढाएका हुन् । ‘पहिला यो नाथे इस्कुस कहिल्यै बिक्ला भन्ने सोचिँदैनथ्यो,’ शेरबहादुर भन्छन्, ‘अहिले त घरमै आएर गाडीले त्यहीँ इस्कुस खोजी–खोजी ओसार्न थालेपछि अरू खेतीसमेत मासेर लगाइयो ।’

लेकाली क्षेत्रमा उत्पादन हुने जडीबुटी पनि किसानका लागि आम्दानीको प्रमुख स्रोत भएको छ । केही वर्षअघिसम्म धामी–झाँक्रीले घर–गाउँमा बिरामी परेका मान्छेलाई खुवाउने चिराइतो, बूढोओखतीजस्ता जडीबुटीको अहिले किसानले व्यावसायिक खेती गरेर लाखौं रूपैयाँ कमाउँदैछन् । जिल्लाका उत्तरी लेकाली भेगका घरलौरी किसानको आम्दानीको स्रोत अहिले जडीबुटी नै भएको छ । यो वर्ष चिराइतो बिक्री कम भए पनि गत वर्षसम्म यसकै आम्दानीले किसान हौसिएका हुन् ।

जमुनाका ग्याल्बु शेर्पा ज्वरो आउँदा, टाउको र भुँडी दुख्दा यहीँ चिराइतो ल्याएर खान्थे, अरूलाई पनि खुवाउथे । पाँच वर्षयता शेर्पाले त्यहीँ चिराइतो बेचेर वर्षको चार लाख रूपैयाँसम्म कमाए । ‘जंगलमा हुने चिराइतो कति त्यत्तिकै खेर जान्थ्यो, कति ल्याएर औषधिका रूपमा खाइन्थ्यो,’ उनले सुनाए, ‘अलैंची मासिएपछि त त्यही चिराइतो पो खाने–लाउने आम्दानीको स्रोत बन्यो ।’ इलामका किसानले मात्रै यो वर्ष जडीबुटी बेचेर ५ करोड १ लाख २३ हजार रूपैयाँ आम्दानी गरे ।

किसानले चिराइतो, ओखेआलु, लौठसल्ला, लोक्ता, सुगन्धवाल, चमेली, सेतो बिखमा, कुरिलो, सतुवा र चिराइतोको बीउ उत्पादन गर्छन् । यीमध्ये सबैभन्दा बढी ९करिब ८५ प्रतिशत० उत्पादन र बिक्री हुने चिराइतो नै हो । किसानले १७ देखि २० मन ९प्रतिमन ४० किलो०सम्म चिराइतो उत्पादन गरिरहेका छन् । जिल्लाका १६ गाउँमा जडीबुटीको व्यावसायिक खेती गर्ने ५ हजार ५ सय ३७ किसान छन् । इलाम, पाँचथर र ताप्लेजुङको लेकाली क्षेत्रका सयौं किसान व्यावसायिक रूपमा अर्गानिक जडीबुटी खेती गर्छन् ।

पहाडी जिल्लाको प्रमुख नगदेबालीका रूपमा लिइन्थ्यो अलैंचीलाई । अलैंचीको आम्दानीले किसानलाई सामान्य घरखर्च चलाउन पुगेको थियो । केही वर्षअघि विभिन्न रोगले अलैंची बगान सखापै भयो । देशको करिब ८० प्रतिशत अलैंची मासिएपछि किसानले भारतबाट ल्याएर नयाँ जातको अलैंची लगाउन थाले । अहिले त्यही अलैंची विस्तार गर्दै किसानले फेरि आम्दानी लिन थालेका छन् । अलैंचीको आम्दानी बर्सेनि बढिरहेको छ ।

जति उत्पादन घट्छ, उत्ति यसको मूल्य बढेपछि किसान अलैंची खेतीमा फर्किएका छन् । किसानले मकै, कोदो, धानलगायत बाली मासेर अलैंचीलाई नै व्यावसायिक बनाएका छन् । जिर्मले–२, का रुद्र राईले प्राथमिक तह शिक्षकको जागिरबाट अवकाश लिएपछि अलैंची खेती थालेका थिए । व्यावसायिक खेती गरेको दशक नपुग्दै उनले काठमाडौं र झापाको व्यापारिक केन्द्र बिर्तामोडमा करिब ५० लाख खर्चेर तीन घडेरी किने ।

उनका छोराछोरी काठमाडौंको कलेजमा बिबिएस पहिलो र चौथो वर्ष पढ्दै छन् । ‘मैले जागिर खाए पनि, रोजगारीका लागि विदेश गएर आए पनि आम्दानीको मुख्य स्रोत भने अलैंची नै हो,’ उनले भने, ‘पहिला अलि–अलि औषधिका लागि रोपिन्थ्यो, अहिले यहीँ व्यवसायी भएको छ ।’ जिर्मलेकै समशेर राई, जंग राई, शान्ति राई र टीकाराम वाइबा पनि अलैंचीबाट राम्रो आम्दानी गरिरहेका छन् । उनीहरूले अन्य खेती मासेर अलैंची लगाएका छन् ।

निर्वाहमुखी खेतीबाट व्यावसायिकमा उक्लिएका किसान एकपछि अर्को समृद्धि हात पारिरहेका छन् । तरकारी, पशुपालन, नगदे बालीलगायतको खेती अहिले क्रमशः निर्वाहमुखीबाट व्यावसायिक बनिरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । विभिन्न सरकारी र गैरसरकारी संघ–संस्थाले पनि आर्थिक र प्राविधिक सहयोग गरेपछि किसान कृषि कर्ममा व्यावसायिक बनिरहेका हुन् । ‘खेतीमा जाँगर र मेहनत गर्नेका लागि अचेल लगानीको समस्या धेरै हुँदैन,’ फिक्कलका रविन तामाङ भन्छन्, ‘आर्थिक र प्राविधिक सहायता गर्न सरकारी–गैरसरकारी संघ–संस्था घरमै आइपुग्छन् ।’

किसानलाई मल, बीउ, बीउ पूँजी, रोग कीराको विषादी र औषधिलगायत सरकारी र गैरसरकारी संस्थामा सरकारी र गैरसरकारी संघ–संस्थाले सघाउने गरेका छन् । ‘व्यावसायिक रूपमा सामूहिक तरिकाले गरेको खेतीमा सघाउने गरेका छौं,’ जिल्ला कृषि विकास कार्यालयका प्रकाश काफ्लेले भने, ‘अहिले किसान पनि विभिन्न निकायबाट सहायता लिन सचेत बन्दैछन् ।’ उनले खेती प्रणाली अहिले निर्वाहमुखी भन्दा व्यावसायिकतातिर लम्किएको बताए । खेती–किसानीबाट आर्थिक समृद्धिको फड्को मार्ने किसान जिल्लामा बढिरहेको कार्यालयले जनाएको छ ।