कृषि पर्यटकीय गन्तव्य बन्दै आरुपाटा

यो समाचार 174 पटक पढिएको

स्याङ्जा । स्याङ्जा पर्यटकीय क्षेत्रका रूपमा चिनिएको जिल्ला हो । होमस्टेदेखि लिएर मनोरम क्षेत्रको अवलोकन गर्न पाइने जिल्ला पनि हो स्याङ्जा । होमस्टेको नेपालमै पहिलो अवधारणा ल्याएको स्याङ्जामा विभिन्न होमस्टे सञ्चालन हँुदै आएका छन् । मनोरम दृश्य मात्रै देख्न पाइने गरी होमस्टे सञ्चालनमा आएको छ आरुपाटा पित्लेक गाउँमा ।

जिल्लाकै कृषि क्षेत्रमा फड्को मारेको गाउँ हो आरुपाटा, पित्लेक । स्याङ्जाको वालिङ नगरपालिका–५ मा अवस्थित आरुपाटा र पित्लेक गाउँ कृषिसँगै पर्यटकीय गन्तव्यका रूपमा परिचित हुन थालेको छ । कृषि विविधता हेर्न पाइने यो गाँउमा रमाइला मनोरम डाँडापाखासँगै अर्गानिक उत्पादनशील कृषि अध्ययन अवलोकन गर्न पाइन्छ ।

कृषिमा चासो राख्ने पर्यटकहरूको गन्तव्य स्थल पनि हो आरुपाटा र पित्लेक गाउँ । गुरुङ र ब्राह्मणको संयुक्त बस्ती रहेको गाउँमा कृषि क्षेत्रको अवलोकन गर्न आउने पर्यटकलाई स्वागत सत्कारमा भ्याइनभ्याइ हुन थालेको छ । वालिङ बजारबाट ७ किलोमिटर दूरीमा रहेको आरुपाटा पित्लेक सवारीसाधनमा करिब ४५ मिनेटमा पुग्न सकिन्छ ।

निजी क्षेत्रले मुहार फेरिदिएको सिंगो गाउँमा अधिकांश विभिन्न जिल्लाका उद्योग वाणिज्य संघको टोली घुम्न र कृषि क्षेत्रको अवलोकन गर्न आउने गर्छन् । यहाँ आउने पाहुनाले सबै अर्गानिक र स्थानीय उत्पादनको अवलोकन गर्न पाउँछन् । कफी खेतीबाट चिनाउँदै आएको गाउँ पछिल्लो समय कृषि उपजसँगै पशुपालनमा निर्भर रहँदै आएको छ ् ।

मुख्य गरी पर्यटकहरु यहाँ अर्गानिक ताजा तरकारी, मौरी, बाख्रा, लोकल कुखुरा, सुन्तला, कफीलगायतका कृषि उपजको अध्यन अवलोकनका लागि यहाँ आउने गरेको स्थानीयहरू बताउँछन् । एकै ठाउँमा सबै कृषि उपजको अध्ययन अवलोकनसँगै होमस्टेमा बसेर रमाएर जान पाइने जिल्लाको यो गाउँ पहिलो र एउटै मात्र हो । मौरी पालनबाट राम्रो आम्दानी भएको र आउने पाहुनाले मौरी आफंै निकालेर खाने व्यवस्था समेत होमस्टेमा मिलाइएको स्थानीयहरू बताउँछन् ।

अध्ययन अवलोकन गर्न आउने पाहुनालाई आरुपाटास्थित सामुदायिक भवनमा राखेर स्वागत सत्कार गरेपछि खानपानको व्यवस्था पनि सोही भवनमा मिलाउने गर्छन् ।

सामूहिक खानपानपछि पाहुनालाई सांस्कृतिक माहोलमा भुलाएर आआफ्ना घरमा सुताउने व्यवस्था गर्छन् । भोलिपल्ट ट्रेकिङको माध्यमबाट सबै गाउँ घुमाउने र कृषि अध्ययन अवलोकन गर्दै अन्तिममा पित्लेक गाउँबाट बिदाइ गर्ने गर्दछन् ।

एक गाउँ एक उत्पादनको अवधारणाअनुसार कफी खेतीबाट गाउँलाई चिनाउन सफल भएको वालिङ उद्योग वाणिज्य संघले केही सहयोग गरे पनि यसको विस्तारमा भने गाउँ आफंै लागेको हो । खानेपानी, सडकको निकै अभाव खेपेको आरुपाटा पित्लेक गाउँले यस्तो असुविधाका बाबजुद पनि यहाँका किसानको उत्साहमा संघ निकै खुसी भएको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल बताउँछन् । अनुदान लिने काम नगर्ने अधिकांश किसानलाई बिनाअनुदान काम गरेर देखाएका पौडेल बताउँछन् ।

विभिन्न जिल्लाका व्यवसायी यहाँ आउने जाने क्रमसँगै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले पनि यो गाउँ घुमेर अध्ययन अवलोकन गरी फर्केको छ । स्याङ्जा र सिन्धुपाल्चोक जिल्लाको हावापानी एकैनासको भएकाले यहाँ उत्पादन गरिएको कृषि उपजलाई सिन्धुपाल्चोकमा कसरी गर्न सकिन्छ भन्ने पाठ टोलीले लिएर गएको छ ।

होमस्टेले चिनिएको स्याङ्जाबाट सिन्धुपाल्चोकका जनताले पनि सिकून् भन्ने उद्देश्य बोकेर स्याङ्जालाई अध्ययन अवलोकनमा राखेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठले बताए । कृषि पर्यटकीय गाउँ भएर पनि यहाँका किसानले देखाएको सत्कार र मिहिनेत सबैले सिक्नुपर्ने श्रेष्ठले बताए ।

आयआर्जनसहित पाहुनाको स्वागत सत्कार गर्न पाउँदा अत्यन्तै खुसी मान्ने यहाँका स्थानीय सबै समय पाहुनाका लागि मात्रै खर्चिने गरेका छन् । अभावै अभावले खट्किएको गाउँमा गरिएको माटोको माया प्रतिभाको खोजी हो भन्ने देखिन्छ । सहर बसाइँ सरेका मान्छे अब गाउँघरतिर फर्कनुपर्छ भन्ने सन्देश यस गाउँले दिन खोजेको छ ।

करिब १ सय ४२ कृषक रहेको यो गाउँमा ४२ घरमा होमस्टेको व्यवस्था मिलाइएको स्थानीय तिलक गुरुङ बताउँछन् । ८० जनासम्म राख्न सकिने क्षमता रहेको आरुपाटा, पित्लेक होमस्टेमा कृषि पर्यटकलाई प्रथामिकता दिइएको छ । कृषिसँगै पर्यटकलाई तान्ने जुन लक्ष्य र

मिहिनेत गाउँलेले गरेका छन्, सरकारले पनि होस्टेमा हैसे गरिदिन सकेमा अझै यो गाउँ देशभरि मात्रै होइन, विदेशमा पनि चर्चित हुन्थ्यो । सरकारले पनि यस्ता पर्यटकीय गाउँलाई सहयोग गरी यहाँका किसानको आर्यआर्जनमा टेवा मिलाउने वातावरण सिर्जना गरोस् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :