टमाटर खेतीबाट मनग्य आम्दानी, २० जनालाई रोजगारी

यो समाचार 124 पटक पढिएको

सिन्धुली । सिन्धुलीको कमलमाई नगरपालिका ८ हर्दियामा एक किसानले तरकारी खेतीबाट मनग्य आम्दानी लिन सफल भएका छन्।

झापा शिवसतासी नगरपालिका ८ बाट आएका ४२ वर्षीय कमल भट्टराईले कमलामाई नगरपालिका ८ मा आधुनिक किसिमको बेमौसमी तरकारी खेती गरेर करोडौं आम्दानी लिन सफल भएका हुन्। झापामा रहदाँ कुखुरा पालन व्यवसाय गरेका भट्टराईले सिन्धुलीमा वितग २ वर्षदेखि गोलभेडा ,चिप्ली भेन्टी,करेला लगाएतका तरकारी खेती गर्दै आएका छन्।

भट्टराईले पहिलो पटक कमलामाई नगरपालिका ८ माइस्थानमा २ बिघा जग्गामा गोलभेडा खेती सुरु गरेका थिए। तीन लाख लगानीमा पहिलोपटक गरेको गोलभेडा बाट ७ लाख रुपैयाँ आम्दनी भएको भट्टराईले बताए। पहिलोपटक नै मनग्य आम्दानी भएपछि भट्टराई गोलभेडा खेतीमा झन् आकर्षित भए।

अहिले भट्टराईले माइस्थान, हर्दिया र करकरेमा गरी साढे ८ बिघामा खेती गर्दै आएका छन्। ८ बिघा खेतीमा एक सिजनमै १ करोड ५० लाख रुपैयाँ आम्दानी गरेका छन्। ‘पहिला २ बिघा जग्गामा गोलभेडा खेती सुरु गरेका थियौं। त्यसबाट ७ लाख आम्दानी भयो, त्यसपछि साढे ८ बिघामा खेतीमा डेढ करोडभन्दा बढी आम्दानी भएको छ,’ भट्टराईले सुनाए। खर्च कटाएर आधा मुनाफा हुने उनको भनाइ छ। भट्टराईले यी सवै खेत भाडामा लिएर तरकारी खेती गरेका हुन्।

खेती गर्न भट्टराईका दम्पती नै खट्ने गर्दछन्। भट्टराई दम्पतीको यो मिहिनेत देखेर स्थानीय पनि गोलभेडा खेतीतर्फ आकर्षित भएका छन। भट्टराईले उत्पादन गरेको गोलभेडा तथा तरकारी स्थानीय बजार र काठमाडौंमा समते निर्यात हुने गरेको छ । कुखुरा पालन छाडेर तरकारी खेतीमा लागेका भट्टराईले काठमाडौंमा ३६ महिना कोरियन तरकारी फर्ममा काम पनि गरे। त्यहा काम गर्दा सिकेको सीप सदुपयोग गर्न सिन्धुलीमा आएर तरकारी खेती सुरु गरेको भट्टराईको भनाइ छ।

भट्टराईले उत्दान गरेको गोलभेडा अर्गानिक भएको उनको दावी छ। आर्गानिक गोलभेडा खेतीका लागि १० लाखको गोबर मल त उनीहरूले भक्तपुरबाट मात्रै खरिद गरी ल्याएका थिए। तीनै ठाउँको खेतीका लागि खाना, खाजा सहित मासिक १५ हजारमा २० जना स्थानीय युवालाई भट्टराईले रोजगारी दिएका छन्। ‘तरकारीमा कीटनाशक औषधि प्रयोग कमै मात्रामा गर्ने गरेका छौं,अर्ग्यानिक तरिकाले नै रोग आए उपचारको पद्धति अपनाउने गरेको छु’ भट्टराईले बताए।

भट्टराईले गरेको खेती अहिले जिल्लाकै नमुना बन्दै गएको छ। भट्टराईको गोलभेडा खेतीलाई प्रोत्साहन गर्दै अन्य किसानलाई पनि तरकारी खेतीमा आकर्षित गर्न नगरपालिकाले भट्टराईलाई अनुदान समेत दिएको थियो। भट्टराईले जसरी तरकारी खेती गर्छु भनेर नगरपालिकामा आउनेलाई सक्ने सहयोग उपलब्ध गराउने कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले बताउने गरेका छन्।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :