अर्घाखाँची दूध, तरकारी, अन्डा र मासुमा आत्मनिर्भर

यो समाचार 1596 पटक पढिएको

अर्घाखाँची । विकासको पहिलो आधार हो, सडक। यसले नै जनजनमा आर्थिक विकास ल्याउँछ भन्ने गतिलो उदाहरण हो, अर्घाखाँची। प्रदेश ५ का १२ जिल्लामध्ये सबै वडामा सडक पुगेको एक मात्रै जिल्ला हो यो।

तीन गाउँपालिका र तीन नगरपालिका रहेको अर्घाखाँचीमा ६१ वडामा मात्र होइन, अधिकांश गाउँमै मोटरबाटो पुगेको छ। जब गाउँमा मोटरबाटो पुग्यो, निर्वाहमुखी खेती गरिरहेका किसान व्यावसायिक उत्पादनमा होमिए। एक दशक नपुग्दै अर्घाखाँची दूध, तरकारी, अन्डा र मासुमा आत्मनिर्भर बन्यो। अहिले बाहिरी जिल्लाको केही हिस्सासमेत यही जिल्लाले ओगटेको छ।

आफूले उत्पादन गरेका वस्तु बिक्री गर्न डोकोमा बोक्नु नपरेपछि किसान हौसिएका छन्। गोरुसिंगे, सन्धिखर्क सडक ६८ किलोमिटर पिच भएको छ। राष्ट्रिय योजनाका रूपमा रहेको सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडकको कुल एक सय ८५ किलोमिटर पिच छ। यसमा सबैभन्दा बढी अर्घाखाँचीमा ७० किलोमिटर क्षेत्र यो सडकले ओगटेको छ। रिडी, सुर्खेत सडक, सन्धिखर्क–घुम्ती–पाल्पा सडक, सन्धिखर्क–बल्कोट–रिडी, बल्कोट–तम्घास, सन्धिखर्क–नुवाकोट–प्युठान–चुँजाठाटी सडक, गच्छे–भालुवाङ सडकले बाहिरी जिल्लालाई नजिक्यायो। यिनै मूल सडक हुँदै गाउँगाउँसम्म डाँडै रातम्मे हुने गरी सडक बने। केही समय विपत्ति आए पनि अन्ततः किसानलाई आत्मनिर्भर बनाउने मार्ग नै सडक बने।

‘सडक बनेपछि स्थानीय व्यावसायिक रूपमा तरकारी खेती, कुखुरापालन र पशुपालनमा जुटे, छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेसराज पन्थ भन्छन्, ‘अहिले विदेश जानेहरू धमाधम घर फर्किन थालेका छन्।’सन्धिखर्क, शीतगंगा र पाणिनि गाउँपालिकामा पनि खेतबारीमा मोटरबाटो पुगेपछि खेती मौलाएको छ। बीउबिजन, मलदेखि उत्पादन भएको उपज सहजै खेती मौलाएको छ। बीउबिजन, मलदेखि उत्पादन भएको उपज सहजै सहर पुग्छ।

कृषकले उत्पादन गरेको तरकारी, दूध, अन्डा, सुन्तला, कुखुरालगायत वस्तु यिनै सडकबाट बुटबल र कृष्णनगर मात्र होइन, भारतका केही सहरमा समेत पुगेका छन्। गाउँमा सडक थिएन। युवाहरू रोजगारीका लागि वैदेशिक रोजगारीमा गएका थिए। अहिले घरघरमा सडक पुगेपछि विदेशबाट फर्किएर तिनै जग्गामा गाईभैंसीपालन, कुखुरापालन र तरकारी खेती गरिरहेका छन्।

बाहिर जान्छ दूध
केही वर्षअघि दूधमा परनिर्भर रहेको अर्घाखाँची निर्यात गर्न सफल भएको छ।। युवाहरू व्यावसायिक रूपमा गाई तथा भैंसीपालनमा लागेपछि जिल्ला दूध उत्पादन बढेको हो। जिल्लामा एक वर्षमा ३२ हजार मेट्रिक लिटर दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यलयका पशु चिकित्सक विष्णु पौडेल बताउँछन्। एक लिटरको ६० रूपैयाँले हिसाब गर्दा पनि १ अर्ब ६ करोड रुपैयाँबराबरको दूध उत्पादन हुन्छ।

जिल्लामा सयभन्दा धेरै दूग्ध उत्पादक समूह गठन भएका छन्। ५० को हाराहारीमा पशु फार्म पनि छन्। व्यावसायिक रूपमा गाई, भैंसी पाल्नेमा अधिकांश युवा पुस्ता छन्। जिल्लाको सन्धिखर्क, अर्घा, ढिकुरा, किमडाँडा, मेरङ अर्घातोष, पटौटी, पणेना, पोखराथोक, ढाडमैदान, डिभर्ना, चिदिकालगायत क्षेत्रमा दूध संकलन गरी बिक्री हुन्छ । अर्घाखाँचीबाट दैनिक २ हजार पाँच सय लिटर दूध बाहिरी जिल्लामा निर्यात हुने गरेको छ। सन्धिखर्कबाट एक दिन बिराएर १५ सय लिटर दूध पोखरा दुग्ध सहकारी संस्थामा पठाउने गरिएको अर्घाखाँची दुग्ध सहकारी संस्थाका अध्यक्ष चन्द्रप्रसाद बन्जाडे बताउँछन्।

मोरेङ अर्घातोष, चिदीका र बलकोटबाट दैनिक चार सय लिटर गुल्मीको तम्घासमा बिक्री हुने गरेको छ। पटौटीमा दैनिक ११ सय लिटर दूध तथा त्यसबाट बनेका छुर्पी पाल्पा, बुटबल, नारायणगढ र बागलुङमा बिक्री हुने गरेको छ। ठाडा र सिमलपानीको दूध कपिलवस्तुका विभिन्न बजारमा निर्यात गरेको छ।

दलका नेता अन्डा उत्पादक
‘परिवर्तन आफैंबाट गर्नुपर्छ’ भन्ने मान्यताका साथ पणेनाका अगुवाहरूले कुखुरापालन गरेर मनग्गे आम्दानी गर्न सफल भएका छन्। उनीहरूले संयुक्त रूपमा पणेनाको डुम्रीकोटमा डुम्रीकोट बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर व्यावसायिक कुखुरापालन मात्र होइन, राजनीति, समाजसेवा र आफ्नो पेसालाई पनि निरन्तरता दिएका छन्।

डुम्रीकोट अर्घाखाँची र पाल्पाको सिमाना हो। सडक नहुँदा बाँझै राख्नुपरेको फाँटमा मोटरबाटो लगेपछि उनीहरू अन्डा दिने कुखुरापालनमा लागेका हुन्। मोटरबाटो नपुगेको भए अन्डा उत्पादन सम्भव नभएको पूर्व जनमुक्ति सेनाका कमान्डरसमेत रहेका पीताम्बर पोख्रेलले बताउँछन्।

पणेना निवासी कांग्रेस अर्घाखाँचीका पूर्वसभापति तथा जिल्ला विकास समितिका पूर्वसभापति खगेन्द्रराज पोख्रेल, तत्कालीन नेकपा ९माओवादी० अर्घाखाँचीका प्रमुख पीताम्बर पोख्रेल, स्थानीय नेपाल राष्ट्रिय उच्च माविका प्राचार्य पुष्करराज पोख्रेल, कर्मचारी कृष्ण पोख्रेल, स्वास्थ्यकर्मी पीताम्बर पोख्रेललगायत आठ जनाले सुरु गरेको कुखुरापालन अहिले त्यस क्षेत्रकै नमुना बनेका छन्।

२०७० सालको वैशाख १ देखि सञ्चालन गरेको फार्ममा अहिले ६ हजार लेयर्स कुखुरा छन्। कुखुराले अहिले दैनिक तीन हजार अन्डा दिने र त्यो तानसेन र बुटबलमा बिक्री भइरहेको फार्मका अध्यक्ष पीताम्बर पोख्रेलले बताउँछन्। जनमुक्ति सेनाबाट स्वैच्छिक अवकाश लिएर उनी कृषिमा लागेका हुन्।

सडकले विनाश गरेका धेरै उदाहरण होलान्। तर जनजनमा समृद्धि भित्र्याएको एउटै गतिले उदाहरण हो, अर्घाखाँची।

विदेस पलायन र जागिर मात्र गर्नुपर्छ भन्ने युवाको धारणालाई परिवर्तन गर्न र आफूले गरे पछि अरू पनि कृषि पेसामा लाग्न सक्छन् भन्ने सोचका साथ कृषिमा लागेको जिविसका पूर्वसभापति तथा नेकाका पूर्वसभापति खगेन्द्रराज पोख्रेलको भनाइ छ। अन्डा मात्रै होइन, अर्घाखाँचीले मासिक १० टन कुखुराको मासु बाहिरी जिल्लामा पठाउँछ। वैदेशिक रोजगारीबाट पर्किएर युवाहरू कुखुरापालनमा लागेपछि ब्रोइलर कुखुरापालनमा अर्घाखाँची आत्मनिर्भर छ।

जिल्लाका सबै स्थानीय तहका अधिकांश वडाहरूमा कुखुरापलनमा कृषक लागिपरेका छन्। उत्पालिदत मासु स्थानीय स्तर, सन्धिखर्क बजारमा बिक्री गरेर बढी भएको कुखुरा बुटबलमा बिक्री गर्ने गरिएको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक विष्णु पौडेलले बताए।

बोटबाटै बिक्री हुन्छ सुन्तला
पणेनाका किसानलेसुन्तला पनि बिक्री हुन्छ र भन्ने अवस्थामै धेरै वर्ष गुजारे। डोजरले पाखा भत्काउँदै पुगेको सडकले सुन्तलालाई बुटवल पुर्‍यायो। त्यसपछि भने रुखमै सुन्तला बिक्री भएपछि दंग छन् उनीहरू। तीन वर्षअघिसम्म डोकोमा बोकेर सुन्तला बिक्री गर्ने कृषक अहिले गाउँगाउँमा मोटरबाटो खुलेपछि बुटबलका व्यापारी आएर सुन्तला खरिद गर्दा हर्षित छन्।

पाणिनि गाउँपालिका–१ पणेनामा दुई सय कृषकलेसुन्तला खेतीबाट वार्षिक घटीमा ५० हजारदेखि बढीमा १२ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन्। पाणिनि–१ सिम्लेमा वैदेशिक रोजगारीमा गएका युवा पनि रोजगारीबाट फर्किएर व्यावसायिक सुन्तला खेतीमा लागेका छन्। व्यावसायिक सुन्तला खेतीमा लागेका सिम्लेका हरिप्रसाद पौडेलको बगैंचामा झन्डै तीन सय ५० सुन्तलाका रुख छन्। तिनबाट वार्षिक तीनदेखि पाँच लाख रूपैयाँ आम्दानी हुने गरेको उनको भनाइ छ।

सुन्तला बिक्रीका लागि पनि सिम्लेका सुन्तला उत्पादक कृषकलाई कुनै समस्या छैन। गत वर्ष पाणिनि गाउँपालिका–१ पणेनामा मात्रै करिब ३ करोडको सुन्तला उत्पादन भएको थियो। जिल्लामा झन्डै एक हजार हेक्टरमा सुन्तला खेती भइरहेको र यस वर्ष ५ हजार ५ सय मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यलयले बताएको छ।

जिल्लामा उत्पादन भएको सुन्तलाले राम्रो बजार पाएको र उत्पादन भएको सुन्तला सन्धिखर्क, तम्घास, तानसेन र बुटबलमा बिक्री भइरहेको जिल्ला कृषि विकास कार्यालयका अधिकृत थिरलाल गैरेले बताए।

भित्रियो प्रविधि
गोरुमार्फत खेत जोत्दै आएका कृषक अहिले ट्र्याक्टर प्रयोग गरेर खेतबारी जोतिरहेका छन्। सडकमा ट्र्याक्टर आउन थालेपछि साता दिन लाग्ने काम एकै दिनमा सकिन्छ। लागत कम भएपछि नाफा बढी हुने भइहाल्यो।कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गर्न पहिला जिल्ला कृषि विकास कार्यलयले हाते ट्र्याक्टर बाँडेको थियो। गत आवमा शीतगंगा नगरपालिकाले कृषकहरूको मागअनुसार ५० प्रतिशत अनुदानमा १० वटा हाते ट्र्याक्टर वितरण गर्‍यो।

गत आवमै सन्धिखर्क नगरपालिकाले १२, पाणिनि गाउँपालिकाले २५ वटा हाते ट्र्याक्टर वितरण गरे। जिल्लामा खेत जोत्ने ठूला ट्र्याक्टर करिब १५ तथा हाते ट्र्याक्टर तीन सयको हाराहारीमा रहेको जिल्ला कृषि विकास ज्ञान केन्द्रका नारायण भुसालले जानकारी दिए। घरघरमा सडक पुगेपछि कृषिमा सुधार आउन थालेको छ।

वैदेशिक रोजगारीमा जाने युवालाई स्वदेशमै स्वरोजगार बनाउने खालका कार्यक्रम स्थानीय, प्रदेश तथा सरकारले सञ्चालन गर्न जरुरी छ। बाँझो बारी फुटाउने अभियानमा सरकार सहयोगी बन्नुपर्ने किसानको माग छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :