केरा खेतीबाट वार्षिक ५ लाख आम्दानी

यो समाचार 123 पटक पढिएको

कपिलवस्तु । बाणगंगा नगरपालिका ५ झन्डाका चेतनारायण पाण्डेले केरा खेती गरेकोे तीन वर्षमै पर्याप्त आम्दानी गर्न सफल भएका छन् ।

२०७२ सालबाट सुरु गरेकोेकेरा खेतीबाट पाण्डेले राम्रो आम्दानी गर्न सफल भएका हुन् । सुरुमा ५ कट्ठामा ४ सय बोटबाट सुरु गरेको व्यवसाय अहिले फस्टाएर २५ कट्ठासम्म आइपुगेको छ । उमेरले ५० कटेका पाण्डेले केरा खेतीबाटै वार्षिक ५ लाखभन्दा बढीको आम्दानी हुने बताउँछन् ।

२०५८ सालमा वैदेशिक रोजगारीको सिलसिलामा कुबेत पुगेका पाण्डेले विदेशमा पनि दुई वर्ष कृषि फर्ममा काम गरेको अनुभव सुनाए । कुबेतबाट एक वर्षमा स्वदेश फिर्ता भई पुनः खाडी जान हिँडेका पाण्डे भिसा स्थगन गरेर आफ्नै घरमा फर्केर व्यवसाय सुरु गरेको बताउँछन् । ‘सुरुमा त विदेशमा नै जाने सोच थियो भिसा पनि लागिसकेको थियो तर पछि सोचे, स्वदेशमा नै केही गर्नुपर्छ,’ उनले भने ।

भिसा नै स्थगन गरेर सुरु गरेको व्यवसायले आफूलाई मालामाल भएको उनी बताउँछन् । आफूले गरेको केराखेतीबाट आफू पूर्णरूपमा सन्तुष्ट भएको पाण्डेको भनाइ छ । उनले केरा खेतीलाई अझै विस्तार गर्दै लैजाने बताएका छन् । उनको खेतमा अहिले झन्डै १ हजार ७५० भन्दा बढी केराका बोट छन् । पाण्डेले यस वर्षको सिजनमा ५ लाख आम्दानी भएको बताए । उनले हाल हरिछाल नामक केरा खेतमा लगाएका छन् ।

आफूले उत्पादन गरेको केरालाई जिल्लाका विभिन्न स्थानमा लगेर बिक्री गर्ने गरेको उनले बताए । यसका साथै व्यापारी स्वयं पनि उनको घरसम्म आएर केरा किन्ने गरेका छन् । पाण्डेले केराखेती सँगै मौरीपालनबाट पनि वार्षिक रूपमा ७० हजार रुपैयाँभन्दा बढीको आम्दानी गरेको बताउँछन् ।

केरा खेती सँगसँगै मौरी पालन पनि गरेका पाण्डेको घरमा १० वटा मौरीका घार रहेका छन् । पछिल्ला दिनमा मौरीको घारलाई पनि थप बढाउँदै र व्यवस्थित पार्दै लैजाने बताए । पाण्डेको व्यवसायमा उनको घर परिवारको पनि पूर्ण साथ र सहयोग रहेको छ ।

कामको खोजीमा विदेश पलायन हुने तथा कामको खोजीमा भौंतारिरहनुपर्ने बाध्यता भएका नेपाली युवाहरूमा पाण्डे एक उदाहरणीय व्यक्ति बनेका छन् । पाण्डेको घरमा श्रीमती, दुई छोरा, एक छोरी र आमा छन् । आफ्नो व्यवसायमा परिवारका सबै सदस्यको साथ पाएको बताउँछन् । उनले यस व्यवसायबाट दुई जनालाई रोजगारीसमेत दिएका छन् । साथै पाण्डेले गाउँका केही युवाहरूलाई केरा खेती गर्नेबारे सल्लाह सुझाव दिँदै आएको बताउँछन् ।

पछिल्लो समय बजारमा गुणस्तरहीन, विषादी प्रयोग भएका, राम्रा देखाउन विभिन्न प्रकारका केमिकल हालेका केरा आएका हुनाले गाउँघरमा उत्पादन भएका केरा बिक्री गर्न समस्या परेको कृषक पाण्डेको गुनासो छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :