कागती खेतीले करोडपति बनाएको ढालुराम

यो समाचार 14513 पटक पढिएको

पौने आठ बिघा जमिनमा कागती वगैचा

बिराटनगर । राजनीतिमा लागेर आफ्नो सिरीखुरी सिद्धिएपछि बाबुको अढाई बिघा जमिनबाट एक्लैले थालेको व्यावसायिक कागती खेतीबाट आफैंले आर्जेको यो सफलता आज ढालुरामलाई सपनाजस्तै लाग्छ। डङ्ग्राहा–३, मोरङका ढालुराम माझी ९५६० एकताका कांग्रेसका सक्रिय कार्यकर्ता थिए। ०४९ सालमै गाविस अध्यक्षमा निर्वाचित भएका उनी पछि ०५४ सालमा कांग्रेसको क्षेत्रीय सभापतिमा चुनिए। र, राजनीतिक आन्दोलनमा थप सक्रिय बने। तर, उनले राजनीतिको लामो बाटो हिँड्न पाएनन्। कारण– राजनीति गर्न पैसा चाहिन्थ्यो, उनीसँग पैसा थिएन। न त पर्याप्त पुख्र्यौली जायजेथो नै थियो।

परिवारको एक्लो छोरो ढालुरामले बाबुबाट अंशस्वरूप डेढ बिघा जग्गा पाएका थिए। तर, पुख्र्यौली सम्पत्तिको रूपमा पाएको आफ्नो नामको जग्गाको लालपुर्जा उनले धेरै दिन आफूसँग राख्न सकेनन्। केही वर्षको राजनीतिक यात्रामा दुईटा चुनाव लड्दैमा उनी निख्रिए र लगभग ‘जोगी’जस्तै बने। तब भने उनलार्ई ‘राजनीति मेरा लागि हैन रहेछ’ भन्ने लाग्यो। ‘राजनीति गर्न पैसा चाहिन्थ्यो, जुन मसँग थिएन,’ उनले सुनाए, ‘अलि–अलि भएको जग्गाजमिन पनि राजनीति गर्दैमा सिद्धियो।’

ढालुरामले शिक्षाका नाममा जम्माजम्मी चार कक्षा छिचोलेका छन्। त्योभन्दा माथि उक्लिन उनलाई जाँगर चलेन। र, बाँकी पढाइ विद्यालयलाई जिम्मा लगाएर उनी हिँडे। समयक्रमसँगै ढालुराम पछि साथी–संगतले कांग्रेसी राजनीतिमा लागे। तर, उनका लागि राजनीति सोचेजस्तो सजिलो भएन। केही वर्षकै बीचमा उनी राजनीतिबाट थाके, आर्थिक रूपमा टाट पल्टिए। त्यही समय उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो। उनी मन नलागी–नलागी कागती खेतीमा लागे।

०६४ सालमा दुईटा बिरुवाबाट कागती खेती थालेका ढालुराम आज आफैंमा एउटा ब्रान्ड बनेका छन्। होला कि नहोला भनेर थालेको कागती खेतीले आज उनको निजी जीवनमा कायापलट मात्रै ल्याएको छैन, उनलाई देशमै एउटा उदाहरणीय किसानका रूपमा समेत चिनाएको छ। राजनीतिमा लागेर आफ्नो सिरीखुरी सिद्धिएपछि बाबुको अढाई बिघा जमिनबाट एक्लैले थालेको व्यावसायिक कागती खेतीबाट आफैंले आर्जेको यो सफलता आज ढालुरामलाई सपनाजस्तै लाग्छ। ‘यतिसम्म होला भनेर सोचेकै थिइनँ,’ उनी भन्छन्, ‘मेहनत गरे हुँदोरहेछ।’

ढालुरामले ०६८ सालमा आफैंले तयार पारेको एक हजार दुई सय कलमी बिरुवाबाट व्यावसायिक कागती खेती थालेका हुन्। त्यसयता उनले वर्षेनी खेती बढाउँदै आएका छन्। गतवर्ष मात्रै उनले एक करोड रुपैयाँमा पाँच बिघा जग्गा किनेर खेती विस्तार गरेका छन्। हाल पौने आठ बिघा जमिनमा फैलिएको कागती खेतीबाट उनी खर्च कटाएर औसतमा वार्षिक ३० लाख रुपैयाँ त नाफा मात्रै लिन्छन्। त्यसो त उक्त क्षेत्रफलमा उनले कागती मात्रै लगाएका छैनन्, अन्य सहायक नगदे बालीसमेत विस्तार गरेका छन्।

आफ्नो कागती खेतीमा ढालुरामले स्थानीय पाँच महिला र आठजना पुरुष गरी १३ जनालाई रोजगारीसमेत दिएका छन्। उनीहरूले बगानको स्याहारसुसारदेखि बजार व्यवस्थापनसम्मको काम गर्छन्। ढालुरामका अनुसार उनले हाल वार्षिक ९ लाख रुपैयाँ बराबरको दाना कागती, ५ लाख रुपैयाँ बराबरको अचार र अन्य सहायक बालीबाट २ लाख रुपैयाँसम्म आम्दानी गर्दै आइरहेका छन्। यसबाहेक उनी वर्षमा २५ लाख रुपैयाँ बराबरको त कलमी बिरुवा मात्रै बेच्छन्। गतवर्ष ११ लाख रुपैयाँको बिरुवा बेचेको उनले बताए।

अहिले ढालुरामले बगानमा कागतीबाहेक केरा, मेवा, आँप, भिन्डी, बेसार, सिमीलगायत तरकारी तथा फलफूल खेती सुरु गरेका छन्। त्यसरी उत्पादित तरकारी तथा फलफूल स्थानीय व्यापारीले बगानबाटै लैजान्छन्। यसबाहेक अहिले उनले बगानमा व्यावसायिक ढंगले उन्नत जातका रुख–बिरुवासमेत रोपेका छन्। हाल बगानमा कागतीसँगै टिक, सखुवा जातका बिरुवा हुर्किरहेका छन्। केही वर्षमा रुख–बिरुवाबाट मनग्ये आम्दानी लिन सकिनेमा उनी ढुक्क छन्।

एकताका राजनीतिमा सबै सम्पत्ति सिध्याएर कृषिमा लागेका ढालुराम आज करोडौंका मालिक बनेका छन्। मोटामोटी रूपमा हेर्दा आज उनीसँग १ करोड ६० लाख मूल्य बराबरको त जमिन मात्रै छ, कागती खेतीको आम्दानीले जोडेको जमिन। यसबाहेक यत्तिका वर्ष लगाएर यो अवस्थासम्म ल्याएको कागती बगान र त्यहाँ रहेका सबैखाले स्रोत–साधन तथा बालीनालीको मुष्ठ मूल्यांकन कम्तीमा पनि चार करोड हाराहारी हुन आउँछ। जीवनको ऊर्जाशील उमेर राजनीतिमा खर्चेर आराम गरेर बस्ने बेलामा थालेको कृषिकर्मबाट हाँसिल भएको यो आर्थिक उन्नतिका लागि ढालुरामले कति मेहनत गरे, त्यो उनैलाई थाहा छ।

पछिल्लो समय कागतीमा ‘ढालुराम ब्रान्ड’ले देशैभरि ख्याति कमाउँदै गइरहेको छ। अहिले उनको बगानमा टाढा–टाढाबाट किसान तथा व्यापारी बिरुवा किन्न आउँछन्। हाल देशका विभिन्न ३४ जिल्लाका किसान तथा व्यापारीले उनीबाट बिरुवा लैजाने गरेको उनी बताउँछन्। त्यसो त उनी आफैंले उत्पादन गरेको कागतीको अचारको पनि बजार फैलँदो छ। उनीकहाँ उत्पादित अचार अहिले काठमान्डू, पोखरादेखि छिमेकी देश भारतसम्म पुग्छ।

सामान्यतः कागतीको एउटा रुखले फागुनदेखि भदौ–असोजम्म गरी वर्षमा दुईपटक फल दिन्छ। बिरुवा रोपेको दुई वर्षदेखि कम्तीमा २० वर्षसमम फल लिन सकिने कागती किसान बताउँछन्। कागतीले धेरै फल दिने सिजन भनेको असार–साउन हो। मुख्यतः कागती खेतीबाट दाना, कलमी बिरुवा र अचारबाट आम्दानी लिन सकिने ढालुराम बताउँछन्। हाल आफूले बगानमा स्थानीय डल्लो तथा लाम्चो, धनकुटे पारीपात्ले, मद्रासीलगायत जातको कागती लगाएको उनले जनाए। भविष्यमा अन्य जातका कागती पनि लगाउने उनको योजना छ।

अब भने ढालुराम माझी कागती किसानका रूपमा मात्र सीमित छैनन्, उनी अरूका लागि ‘तालिम केन्द्र’जस्तै बनेका छन्। पछिल्लो समय उनको कागती बगानमा टाढा–टाढाबाट अन्य किसान भ्रमणनिम्ति आउने गरेका छन्। त्यसरी आएकालाई उनले कागती खेतीसम्बन्धी ‘टिप्स’ दिएर पठाउँछन्। त्यत्ति मात्र होइन, जिल्ला कृषि विकास कार्यालय मोरङले पनि जिल्लाका विभिन्न किसानलाई कागती खेतीमा प्रोत्साहित गर्ने उद्देश्यले बेला–बेला ढालुरामको कागती बगानमा भ्रमण गराउँदै आइरहेको। अन्य विभिन्न संघ–संस्था पनि बेला–बेला किसानलाई लिएर उनको बगानसम्म पुगिरहन्छन्।

यतिसम्म कि, कृषि विकास कार्यालयले त आफ्नो कार्यालय मातहत कागती खेतीमा लागेका किसान तथा नयाँ किसानलाई खेतीबारे जानकारी लिन र प्राविधिक कुरा सिक्न ढालुरामकहाँ पठाउने गरेको छ। कागतीका बिरुवा खोज्दै आफूकहाँ आइपुगेका कतिपय किसानलाई समेत कृषि कार्यालयले आफूकहाँ ‘रेफर’ गर्ने ढालुराम बताउँछन्। ‘त्यसरी मसम्म आएका किसानलाई आफूले जानेको कुरा सिकाएर पठाउँछु,’ उनी भन्छन्, ‘त्यस्ता थुप्रै किसानले अहिले आफ्नै खेती थालेका छन्।’

सुरुमा निजी लगानीमा खेती थालेका ढालुरामलाई अहिले जिल्ला कृषि विकास कार्यालयले प्राविधिक सहयोग गर्दै आइरहेको छ। कागती खेतीका लागि कार्यालयबाट आफूले विषादी, फल टिप्ने मेसिन, क्रेटदेखि अन्य प्राविधिक सल्लाह पाइरहेको ढालुरामले जानकारी दिए। यसबाहेक कार्यालयले एक हिसाबले ढालुरामको कागती खेतीको परोक्ष रूपमा ‘मार्केटिङ’ गरिरहेको छ। त्यसबाट उनको व्यवसाय बढेको छ भने खेती गर्न चाहने उनीजस्ता अन्य किसा लाभान्वित भएका छन्।

ढालुराम अहिले जिल्लामा मात्रै हैन, देशमै एउटा सफल किसानको रूपमा कहलिएका छन्। मूलतः उनको सफल व्यवासय नै यसको आधार हो। विभिन्न समयमा विभिन्न संघ–संस्थाबाट पुरस्कार तथा सम्मान पाउँदै आएका ढालुरामले अस्ति भर्खर ०७३ सालको उत्कृष्ट कृषक राष्ट्रपति पुरस्कार पाए, १० हजार रुपैयाँको थैलीसहित। यसरी निरन्तरको मेहनतले मिलेको आफ्नो सफलताबाट प्रेरित भएर अहिले गाउँमा अन्य किसानले पनि कागती खेती थालेको ढालुराम बताउँछन्। ‘भविष्यमा छिट्टै कागतीसम्बन्धी घरेलु उद्योग खोल्ने सोच छ,’ उनले योजना सुनाए।

राजनीतिबाट हात धोएर भर्खरै कागती खेतीमा लागेका ढालुराम ०६९ सालमा पारिवारिक वियोगमा परे। रोगले थलिएकी श्रीमतीको उपचार गराउन उनले ऋण काढेर विभिन्न अस्पताल चहारे। तर, पार लागेन। अन्ततः श्रीमती बितिन् भने उनी ऋणमा डुबे। पछि व्यवसाय बढ्दै गएपछि उनी आर्थिक रूपले तङ्ग्रिँदै गए। अहिले एक्लो छोरा जयराम माझीलाई ढालुरामले काठमान्डू राखेर कृषि इन्जिनियरिङ पढाइरहेका छन्। भविष्यमा छोराले आफ्नो व्यवसाय सम्हालोस् भन्ने उनको इच्छा छ।

पहिले गुजारा गर्ने सोचले कागती खेती थाले पनि पछिल्लो समय ढालुरामको कागती खेती उद्देश्यमूलक बनेको छ। ढालुरामका अनुसार उनी यतिबेला नेपाललाई कसरी कागतीमा आत्मनिर्भर बनाउन सकिन्छ भन्नेमा लागेका छन्। हाल नेपालमा छिमेकी देश भारतबाट ठूलो मात्रामा कागतीका दाना तथा बिरुवा आयात हुने गर्छ। त्यसबापत करोडौं रुपैयाँ बाहिरिन्छ। भविष्यमा त्यसलाई रोक्न आफ्नो व्यवसायले धेरथोर टेवा दिने ढालुराम बताउँछन्। ‘अब मलाई पैसा कमाउनु छैन,’ उनी भन्छन्, ‘अहिले म नेपाललाई कागतीमा आत्मनिर्भर बनाउने अभियानमा छु।’

एकताका सबथोक छाडेर राजनीतिमा लागेर निख्रिएका ढालुराम माझी यतिबेला कृषिकर्मले दिएको सफलताको चुलीमा छन्। अहिले उनका लागि राजनीतिक मुद्धा, पार्टी र घटनाक्रम कोरा चिजमात्र हुन्, तिनले उनलाई छुँदा पनि छुँदैनन्। बरु, अहिले उनलाई राजनीतिदेखि वितृष्णा जागेर आउँछ। ‘अहिले त राजनीति साहै्र फोहोरी भएको छ,’ कुनैबेलाका कट्टर कांग्रेसी नेता माझी भन्छन्, ‘राजनीतिले मलाई निराशा मात्रै दियो, कृषिले खुसी नै खुसी।’