अर्बौंका पूर्वाधार जीर्ण, बिरुवा उत्पादन र अनुसन्धानमा बाधा

यो समाचार 113 पटक पढिएको

काठमाडौं । संघीय सरकारको वेवास्ताका सर्लाहीको उष्ण प्रदेशीय बागवानी केन्द्र ओझेलमा परेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगत पर्ने उक्त केन्द्रमा विभिन्न फलफूल, तरकारी, बीउबीजन र गुणस्तरीय बेर्ना उत्पादन, विकास र अनुसन्धान गर्ने उद्देश्यले २०२९ सालमा स्थापना गरिएको थियो ।अहिले केन्द्रमा भएका पुराना संरचना तथा पूर्वाधारहरु जीर्ण हुँदा बीउबीजन उत्पादन र अनुसन्धान प्रभावित हुँदै आएको छ ।

गत वर्ष ७५ लाख रुपैयाँमा बनेको ‘हाइटेक नर्सरी’को संरक्षण र बिरुवा उत्पादनका लागि आवश्यक बजेट नभएकै कारण नर्सरीमा गरिएको लगानी खेर जाने स्थितिमा छ । उच्च गुणस्तरीय बिरुवा उत्पादन गर्न बनाइएको नर्सरीको संरक्षण, बिरुवा उत्पादन र आवश्यक सामग्रीका लागि झन्डै १० लाख रुपैयाँ आवश्यक छ । तर, केन्द्र सरकारको त्यसतर्फ ध्यान जान नसकेको उष्ण प्रदेशीय बागवानी केन्द्रका प्रमुख श्यामप्रसाद घिमिरेले जानकारी दिए ।

संरचनागत आरोहअवरोह, कर्मचारी सरुवाबढुवा र नियमित बजेट नहुँदा केन्द्रमा तरकारी, फलफूल तथा बीउबीजन उत्पादन र अनुसन्धान हुन नसकेको घिमिरेले बताए । उनले अहिले विभिन्न कारणले फलफूल तथा तरकारीका बिरुवा उत्पादन, अनुसन्धान र प्रविधि भित्र्याउन २० करोड रुपैयाँ आवश्यक परेको बताए । ‘सरकारले एकै पटक ठूलो बजेट दिनुपर्छ भन्ने छैन । क्रमागत रुपमा उचित बजेटको व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘विगतमा सरकार फेरिँदा र कर्मचारी सरुवा÷बढुवाका कारण बजेट नियमित भएन । अहिले केन्द्र सुधारका लागि २० करोड रुपैयाँ आवश्यक छ ।’

नेतृत्व परिवर्तनसँगै बजेट कहिले धेरै त कहिले निकै कम विनियोजन हुँदा केन्द्रका काम प्रभावित हुँदै गएको घिमिरेको तर्क छ ।

बागवानी केन्द्र समस्यै समस्यामा

उक्त बागवानी केन्द्रमा अहिले डेढ अर्बभन्दा बढी रुपैयाँ लगानीका तरकारी तथा फलफूल उत्पादन र बीजबीजन प्रशोधन र अनुसन्धान गर्न बनाइएको भौतिक संरचना जीर्ण भई काम नलाग्ने स्थितिमा छन् ।

नयाँ पूर्वाधार तयार गर्ने कर्मचारी पनि केन्द्रमा जान मान्दैनन् । यदि गइहाले पनि धेरै समय बस्न मान्दैनन् । उष्ण प्रदेशीय हावापानीमा हुने तरकारी तथा फलफूलको उत्पादन, बीउबीजन, बेर्ना उत्पादनसँगै अनुसन्धान गर्ने थलो भए पनि अझैसम्म परम्परागत प्रविधि छ । कुनै आधुनिक प्रविधि र यान्त्रीकरण भित्र्याउन सकिएको छैन ।

बागवानी केन्द्रमा प्राविधिक जनशक्ति तथा कर्मचारी अभाव छ । २६ जनाको दरबन्दी रहे पनि अहिले जेनतेन १८ जना कार्यरत छन् । ७५ जना ज्यालादारी कर्मचारी कार्यरत छन् । केन्द्रलाई अनुसन्धान, विकास र स्रोत केन्द्रका रुपमा अघि बढाउन सकिएको छैन ।

झन्डै सय बिघा जमिन उपयोगहीन

३०० बिघा क्षेत्रफलमा फैलिएको बागवानी केन्द्रको अधिकांश जग्गा उपयोगविहीन छ । केन्द्रप्रमुख घिमिरेले दिएको जानकारी अनुसार, झन्डै १०० बिघा जमिन उपयोगविहीन तथा बाँझो छ । ३५/३५ बिघा जमिनमा क्रमशः वन क्षेत्र र तरकारी उत्पादन गरिएको छ । तर, यस वर्ष तरकारी उत्पादन कार्यक्रम नभएकाले त्यो जमिन पनि उपयोगविहीन छ । तरकारी उत्पादन कार्यक्रम नभएकाले त्यत्तिकै बाँझो राख्नुभन्दा जोताएर छाडिएको घिमिरेले बताए । जमिनको केही क्षेत्रफलमा भौतिक पूर्वाधार, आवास, निर्माण सामग्री र झाडीका कारण पनि उपयोगमा आउन नसकेको घिमिरेले बताए ।

राजस्व सङ्कलनमा गिरावट

बागवानी केन्द्रले विगत २/३ वर्षदेखि एक÷डेढ करोड रुपैयाँ राजस्व योगदान गर्ने गरेको छ । केन्द्र स्थापना भएपछिका वर्षहरुमा बागवानी केन्द्र मुलुककै नमुना केन्द्रका रुपमा रह्यो । त्यसअनुसार तरकारी, फलफूल तथा बिरुवा उत्पादन, बेर्ना वितरणलगायतबाट मनग्गे राजस्व उठ्ने गथ्र्यो । तर, पछिल्लो समय भने केन्द्रका गतिविधि खुम्चिँदै जान थालेकाले राजस्वमा कमी हुँदै गएको घिमिरेले बताए ।

बागवानी केन्द्रमा अहिले मुख्यरुपमा आँप, लिची, केरा, आलुलगायतका विभिन्न तरकारी तथा फलफूलहरुको बीउबीजन उत्पादन र अनुसन्धान हुने गरेको छ । केन्द्रमा ३७ प्रजातिका आँप उत्पादन हुन्छन् । ७० जातका गुलाफ र विभिन्न जातका तरकारीका बिरुवाहरु किसानलाई वितरण हुँदै आएका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :