सर्वाधिक नगद राशिको कृषि पुरस्कार गहुँ बैज्ञानिक मदनराज भट्टलाई प्रदान

यो समाचार 5125 पटक पढिएको

भद्रपुर । कालो सिन्दुरे रोग अवरोधी बिजय नामक गहुँको जात विकास गरी दक्षिण एशियामै प्रख्यात भएका नेपाल कृषि अनुसन्धान परिषद(नार्क) का गहुँ बैज्ञानिक मदनराज भट्टलाई सर्वाधिक नगद राशिको पुरस्कार प्रदान गरिएको छ ।

भद्रपुरको रुद्र गौरी अम्बिका ओली प्रतिष्ठानको तर्फबाट मंगलबार आयोजित एक कार्यक्रम पूर्व प्रधानमन्त्री झलनाथ खनालले गहुँ बैज्ञानिक भट्टलाई नगद एक लाख एक हजार एक सय एघार रुपैयाँ र सम्मानपत्रसहित रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार प्रदान गरेका हुन् । कृषि क्षेत्रमा यो पुरस्कार सबैभन्दा ठूलो नगद राशीको मानिन्छ ।

सन् २०१० मा २९ मुलुकका ३५ जना बैज्ञानिकसँग प्रतिस्र्पधा गरी बैज्ञानिक भट्टले कालो सिन्दुरे रोग अवरोधी बिजय नामको गहुँको जात विकास गरेका थिए । भट्टले गहुँको यो जात विकास गरेर दक्षिण एशियामा ख्याती कमाएका थिए । कालो सिन्दुरे रोग अवरोधी बिजय जातको गहुँको जात विकास गरेर अन्तर्राष्ट्रिय जगतमा मुलुकको नाम चिनाउन सहयोग गरेको भन्दै उनलाई यो पुरस्कार प्रदान गरिएको हो ।

भट्टको नेतृत्वमा नार्कले बीएल ११३५, भृकुटी, अन्नपूर्ण ४, अच्युत, रोहिणी, कान्ति, बीएल १४७३, गौतम, आदित्य, एनएल ९७१, बिजय, नेपाल २९७, बीएल १०२२, धौलागिरी, गौरा र डाँफे गरी १६ प्रकारका गहुँको जातहरु बिकास भइसकेका छन् ।

बिकास भएका यस्ता गहुँका जातहरु अधिकाँश नेपालका किसानहरुले प्रयोग गरी उत्पादन गर्दैआएका छन् । नेपालमा खेति गरिने सम्पूर्ण गहुँवालीको क्षेत्रमध्ये ६० प्रतिशतभन्दा बढी जमिनमा नेपाल २९७, भृकुटी, बीएल १४७३ र गौतम नामक गहुँको जातले ढाकेको छ । राष्ट्रिय गहुँवाली अनुसन्धान कार्यक्रमको मुख्य प्रजनन्कर्ता तथा संयोजकको रुपमा कार्यरत रही भट्टले गहूंबालीको बिभिन्न जातहरुको बिकास गरी कृषि अनुसन्धान तथा प्रविधि प्रशारण कार्यमा उत्कृष्ट योगदान पु¥याएका छन् ।

विश्वमै हरित क्रान्तिका पिताको नामले चिनिएका डाक्टर नर्मन बोर्लागको नाममा स्थापित बोरलगको रिप्लिका र प्रमाणपत्रसहित सन् २०१२ सेप्टेम्बर २ मा चिनको बेइजिंगमा पनि बैज्ञानिक भट्टले सम्मान पाइसकेका छन् । यसका साथै गहुँको विकासमा उल्लेखनीय योगदान पु¥याएवापत सरकारले पनि दुई लाख नगदसहित सम्मान गरेको थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :