नेपालमा वार्षिक पाँच अर्बको हाइब्रिड बीउ आयात

यो समाचार 75 पटक पढिएको

काठमाडौं। पछिल्लो समयमा कृषि व्यवसाय खेती बढ्नुका साथै हाइब्रिड बीउ बिजनको आयात बढ्दै गएको छ ।

पाँच वर्षमा अन्तर्राष्ट्रिय बजारबाट नेपालमा ५ अर्ब रुपैयाँ बराबरको हाइब्रिड बीउबिजन आयात भएको छ । यो चार वटा बालीको मात्र हो । नेपालमा अन्तर्राष्ट्रिय बजारबाट धान, मकै, तरकारी र तेल बालीको हाइब्रिड बीउ आयात हुने गरेको छ ।

पछिल्लो समयमा किसान स्थानीय बीउबिजन छोडेर वैज्ञानिक प्रविधिबाट बनेका हाइब्रिड बीउ विजनमा आक्रर्षित हुन थालेपछि बीउबिजनमा मात्र बर्सेनि १ अर्ब रुपैयाँ बाहिरिँदै गएको छ । स्थानीय बीउबिजनभन्दा वैज्ञानिक प्रविधिबाट बनेका हाइब्रिड बीउ प्रयोगले धेरै उत्पादन हुन्छ ।

एकपटक धेरै उत्पादन गर्ने लोभमा कृषकले स्थानीय बीउलाई छोडेर हाइब्रिड बीउ प्रयोग गर्न थालेका हुन् । कृषि विज्ञ सुशीलराज सुवेदीको भनाइअनुसार हाइब्रिड बीउबाट स्थानीय बीउभन्दा कम्तीमा पनि १५ देखि २५ प्रतिशत उत्पादन वृद्धि हुन्छ । स्थानीय बीउभन्दा हाइब्रिड बीउले धेरै उत्पादन हुने हुँदा व्यावसायिक कृषकको हाइब्रिड बीउ नै रोजाइमा पर्छ । कृषकहरूले स्थानीय बीउभन्दा हाइब्रिड बीउलाई रोज्न थालेपछि बर्सेनि हाइब्रिड बीउ आयात बढ्दो छ ।

हाइब्रिड खेती तत्कालका लागि राम्रो भए पनि दीर्घकालीन समयका लागि भने राम्रो नहुने कृषि विशेषज्ञ डा। मणिरत्न अर्याल बताउँछन् । हाइब्रिड खेती पहिलोपटक राम्रो उत्पादन भए पनि विस्तारै त्यसको उत्पादकत्व घटेर जाने उनको भनाइ छ । हाइब्रिड खेतीले नेपालमा भएको स्थानीय उन्नत जातका बीउबिजन लोप हुँदै जान्छन् । नेपालमा हाइब्रिड बीउको विकास नभएको हुँदा हामीले अन्तर्राष्ट्रसँग निर्भर रहनुपरेको छ । यसैले हाइब्रिड बीउका लागि नेपाली कृषकले अन्तर्राष्ट्रिय कम्पनीसँग निर्भर पर्दा भविष्यमा उन्नत बीउमा समेत संटक आउने सम्भावना भएको बताए ।

अन्तर्राष्ट्रिय बजारबाट नेपालमा सन् १९९५ मा तरकारी बालीको हाइब्रिड बीउ भित्रिए पनि हालसम्म नेपालमा गोलभेंडा र मकैको बीउमा मात्र हाइब्रिड बीउको विकास गर्न सकेको विशषेज्ञ अर्यालले बताए । गोलभेंडामा सिर्जना नामक हाइब्रिड बीउको विकास भएको र मकैमा गौरव नामक हाइब्रिड बीउको विकास भएको छ । गोलभेंडाको हाइब्रिड बीउको उत्पादन राम्रो भए पनि मकैको हाइब्रिड बीउले भने राम्रो उत्पादन नभएको बताए । नेपालमा विकास भएको हाइब्रिड गोलभेंडा देशभरि नै राम्रो उत्पादन भए पनि मकैमा भने तराई क्षेत्रमा मात्र उत्पादन भएको तर सोचे जस्तो उत्पादन नभएको बताए ।

नेपालमा हाइब्रिड खेतीको विकास गर्नुभन्दा उन्नत बीउबिजन संरक्षण गरेर उत्पादन बढाउनतर्फ सरकारले ध्यान दिनुपर्ने बताए । बाहिर देशबाट आएको हाइब्रिड बीउसँग विभिन्न जातका कीरा आएका छन् । स्थानीय जातको बालीभन्दा हाइब्रिड जातको बालीमा कीरासँग लड्ने क्षमता पनि कम हुने पाएको बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख बीउ विकास अधिकृति मदन थापाले बताए ।

अन्तर्राष्ट्रिय बजारबाट सन् १९९५ मा तरकारीका हाइब्रिड बीउ भित्रिए पनि नेपालमा भने गोलभेंडा र मकैको हाइब्रिड बीउ मात्र विकास

स्थानीय बीउको प्रयोग गरेको बालीमा एक छेउमा रोग लाग्दा पनि अरूमा आलीमा नफैलने हुन्छ भने हाइब्रिड बीउ प्रयोग गरेको बालीमा एक ठाउँमा कीरा लाग्यो भने पुरै खेतको बालीमा कीरा फैलने जानकारी उनले दिए ।

उनले भने, ‘हाइब्रिड बाली केही हकमा फाइदा भए पनि तर लामो समयका लागि भने फाइदाजनक छैन । हाइब्रिड बालीमा धेरै कीरा लाग्ने समस्या हुन्छ । धेरै कीरा लाग्ने हुँदा विभिन्न प्रकारका विषादीको प्रयोग पनि धेरै पर्ने हुन्छ ।’

स्थानीय जातको बाली हाइब्रिड जातको बाली जस्तो उत्पादन नभए पनि कीरा लाग्ने सम्भावना कमै हुने बताए । साथै खाँदा पनि हाइब्रिड भन्दा स्थानीय जातको बाली फाइदाजनक हुने बताए ।

थापाको अनुसार बाहिर देशबाट आयात हुने बीउबिजनमा ९० प्रतिशत हाइब्रिड बीउ आयात गर्छ । नेपाल करिब १० वर्षयता देखि नेपाली कृषकले हाइब्रिड बीउको प्रयोग गर्ने गरेको बताए । धेरै जस्तो हाइब्रिइ बीउको प्रयोग व्यावसायिक कृषकले प्रयोग गर्नेका छन् । यस्तै, धानमा ५ प्रतिशत र मकैमा ९ प्रतिशत किसानले हाइब्रिडको बीउ प्रयोग गर्ने गरेको बताए । यस्तै, १७ प्रतिशत परिक्षण गरेका बीउको प्रयोग भएको बताए । ८५ प्रतिशत किसान आफंैले लगाएको बीउ प्रयोग गर्ने गरेका छन । बीउ गुणस्तर नियन्त्रण केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१/०७२ देखि २०७४/०७५ सम्ममा ४ अर्ब ८७ करोड १० लाख रुपैयाँ बराबरको हाइब्रिड बीउको आयात छ ।

सो मूल्यमा पाँच वर्षमा विभिन्न देशबाट ११ हजार ६ सय ८४ मेट्रिक टन बीउ आयात भएको छ । आर्थिक वर्ष २०७१/०७२ मा १ अर्ब २ करोड ५४ लाख मूल्य बराबरको २ हजार ७ सय ४३.२४ मेट्रिक टन बीउ आयात भएको छ । यसैगरी, आर्थिक वर्ष २०७२/०७३ मा १ अर्ब ३३ करोड ७३ लाख मूल्य बराबरको २ हजार ७ सय १८.९ मेट्रिक टन बीउ आयात भएको छ भने २०७३/०७४ मा १ अर्ब ४१ करोड ७६ लाख मूल्यबराबरको ३ हजार २ सय ६६.२ मेट्रिक टन बीउ आयात भएको छ । यसैगरी, २०७४/०७५ मा १ अर्ब ९ करोड ९ लाख रुपैयाँको २ हजार ९ सय ५५.६६ मेट्रिक टन बीउ आयात भएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :