अब, कौशीमै फलाउन सकिन्छ तरकारी !

यो समाचार 11210 पटक पढिएको

Chhat ma tarkari

उपत्यकाबासीहरु विषादि मिसिएको तरकारी खानुभन्दा आफ्नै घरको छतमा सब्जी खेतीतिर लागेका छन् । उपत्यकामा भइरहेको कौशी र छतको तरकारी खेतीबारे पत्रकार पुष्पा थपलियाले एक रिपोर्ट तयार पारेकी छिन् । घरबाट निस्कने फोहोरको उचित व्यवस्थापन गरेर घरको फोहरबाट घरमै मल बनाउन सकिन्छ । र, सोही मल प्रयोग गरेर घरमै तरकारी उमार्न सकिन्छ । यसो गर्दा नगरबासी एवं काठमाडौं महानगरपालिकालाई समेत फाइदा हुने देखिन्छ ।

कौशी वा बरान्डामा गरिने खेतीलाई अहिले शहरी खेतीको नाम दिन थालिएको छ । शहर बजारमा हिजोआज खेतीयोग्य जमिनको कमी हुँदै गइरहेको अवस्थामा यसलाई नयाँ विकल्पका रुपमा हेरिएको छ ।

सँगै शहरी जनजीवन निक्कै नैराश्यताले भरिने मानिसहरुको कार्यव्यस्तताका कारण प्रकृतिबाट टाढिँदै गइरहेको अहिलेको अवस्थामा कौशीको खेत वा बारीले एक त घरमा हरियाली थप्ने काम गरेको छ भने यसले गर्मीको बेलामा घरको तापक्रमलाई कम अनि जाडोका बेलामा न्यानो बनाइराख्ने विश्वास गरिएको छ । यस सम्बन्धी भएका अध्ययनहरुले कौशी खेतीले जलवायु परिवर्तनबाट पार्ने नकारात्मक असरसँग जुझ्न समेत मद्दत गर्ने देखाएको छ ।

फोहोर व्यवस्थापनको राम्रो उपाय

भान्छाबाट दिनहुँ धेरै किसिमका फोहोर निस्कन्छ । यो फोहोरको व्यवस्थापनको जिम्मा अहिले काठमाडौं महानगरपालिकामाथि छ । तर, काठमाडौंवासीले आफ्नो घरको फोहोर कुहाएर त्यसको मल बनाउने हो भने फोहोरको राम्रो व्यवस्थापन हुन्छ । अर्कोतर्फ घरबाहिर छताछुल्ल रुपमा फोहर फाल्नु नपर्ने भएपछि रोगब्याध फैलने डरबाट पनि मुक्त हुन सकिन्छ ।

राजधानीमा कौशी खेती गरिरहेका केही जागरुक नागरिकसँगको कुराकानी अनि यी नागरिकलाई कौशी खेतीमा सघाउने फिल्ड टेक्निसियनको सहयोग कौशी खेतीका बेला सम्झन सकिने बुँदा हुन्ः

कौशी खेतीका सकारात्मक पक्षः

१. घरमा उपलब्ध सानोभन्दा सानो खाली ठाउँको पनि सिर्जनात्मक उपयोग
२. एउटै ठाउँ वा भाँडोमा धेरै प्रजातिका विरुवा रोप्न सकिने
३. फुर्सदको समयको उत्पादनशील काममा उपयोग
४. कम खर्चिलो
५. घरमा हुने पुराना टुटेफुटेका भाँडा र पुराना टायर, हेल्मेट जस्ता बस्तुको पुनःप्रयोग
६. शारीरिक र मानसिक तन्दुरुष्टिका लागि उपयुक्त

vegetable (2)

कौसी खेतीको तैयारी

कौसीमा गरिने खेती जमिनमा, प्राकृतिक रुपमै भएको माटोमा गर्ने खेती भन्दा थोरै फरक छ । जमिनमा हुने माटोमा धेरै जैविक गतिविधिहरु भइरहेका हुन्छन्, जसले माटोलाई उर्बर बनाउन आवश्यक तत्वहरु प्राकृतिक रुपमै उपलब्ध हुन्छ । तर, गमला वा अरु कुनै भाँडोमा राखिएको मलमा भने आवश्यक मल र अरु तत्वहरु बाहिरबाट राख्नुपर्ने हुन्छ । यसैले पनि कौशीमा गरिने खेतीका लागि अलि बढी स्याहार र लगनको आवश्यकता रहन्छ ।

यसका लागि सबैभन्दा पहिले कौशीमा खेती गर्नका लागि प्रयोग गरिने भाँडो, अनि त्यसमा राखिने माटो, रोपिने विरुवा पहिले, विरुवाको हेरविचार, पानी राख्ने तरिका, माटोको स्याहार जस्ता हरेक कुरामा फरक अनि विशेष तरिका अपनाउनुपर्छ ।

कौशी खेतीमा प्रयोग हुने भाँडा

कौशी खेतीका लागि यही नै भाँडा प्रयोग गरिनुपर्छ भन्ने छैन । अहिलेसम्म कौशी खेती गरेकाको छत, बरान्डा अनि कौशी हेर्ने हो भने, ठूलोमा बाथ टबदेखि सानोमा अन्डाको बोक्रासम्ममा विरुवा राखेको देख्न सकिन्छ । पछिल्लो समयमा थर्मोकोल (माछा राख्ने भाँडा) को बढी प्रयोग भएको देखिन्छ ।

तर, कौशी खेती गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएपछि, पहिले सित्तैमा अनि पछि पाँचदेखि दश रुपैयाँमा पाइने यो भाँडो अहिले सय रुपैयाँ तिर्दा समेत किन्न नपाउने अवस्था छ । तर, कौशी खेती कम खर्चमै, सकेसम्म बढी लाभ उठाउन सकिने गरी गरिने काम हो । यसैले कौशी खेती गर्नलाई कुनै निश्चित भाँडो वा निश्चित रकम खर्च गर्नु पर्छ भन्ने छैन ।

Puspa thapaliyaपुष्पा थपलिया

हिजो आज थर्मोकोलको भाँडोसँगसँगै, सिमेन्टको बोरा, टुटेफुटेका प्लास्टिकका बाल्टिन, बाटा, माटोको गमला, तेलका प्लास्टिक, पुराना हेल्मेटलगायतका भाँडोमा समेत तरकारी रोपेको देख्न पाइन्छ । यसमध्ये सिमेन्टको बोरा सबैभन्दा सुलभ र उपयुक्त मानिएको छ ।

त्यसमा पनि बोराको माथिल्लो भागमा ढलान गर्ने तारको गोलो चक्का बनाई त्यसमा बोरा विस्तारै बेर्दै आफूलाई चाहिएको उचाइको बनाएर प्रयोग गर्दा आकर्षक पनि देखिने अनि लामो समयसम्म नबिग्रिने अनुभवीहरु बताउँछन् ।

कौशी खेती गर्नेहरुको अनुभव छ । थर्मोकोलको भाँडो बढी उपयुक्त देखिए पनि काग, बकुल्ला र अरु चरा आउने ठाउँमा भने ती पंक्षीले यसलाई नाश गरिदिने सम्भावना हुन्छ ।

केही घरहरुमा त कागजको बाकस (कार्टून) को पनि प्रयोग भएको देखिन्छ । कागजको बाकसलाई प्लास्टिकले पानी नछिर्ने गरी बेरेर, कौशी खेतीका लागि प्रयोग गर्न सकिन्छ । यसरी प्रयोग गरिएको बाकस वर्ष दिनभन्दा बढी टिक्ने गरेको अनुभव कौशी खेती गर्नेहरुको छ । कागजको बाकस एउटाको पाँच, छ रुपैंयाँ मात्रै पर्ने र काम नलाग्ने प्लास्टिकले बेरेर बनाइने हुनाले कौशी खेतीका लागि यो भाँडो विस्तारै मनपराइन थालिएको छ ।

२. कौशी खेतीमा माटो

कुनै पनि विरुवाका लागि हुर्कन, माटोभन्दा पनि सो माटोमा हुने पोषक तत्व (खनिज) को बढी महत्व हुन्छ । यसैले माटोमा जैविक गतिविधिहरु प्राकृतिकरुपमै बढाउन सके त राम्रै हो । माटोमा हुने जीव जनावरले माटोलाई मलिलो, खुकुलो अनि उर्बर बनाउँछ । तर, धेरै अवसरमा सानो भाँडोमा यस्ता गतिविधिहरु सम्भव हुँदैनन् । यसैले कौशी खेतीका लागि सकेसम्म बढी मल मिसाएर माटोलाई हलुका बनाउँदा विरुवा राम्ररी फस्टाउँछन् ।

माटो हलुका बनाउने हो भने त्यसले विरुवालाई जरा फिजाउन पनि सजिलो हुन्छ र सँगै यसले कौशी वा छतमा माटोको भार पनि कम मात्र पर्छ । साथै पानी पनि माटोले राम्ररी सोस्न सक्छ । तर, सम्झनुपर्ने एउटा कुरा के छ भने माटो त विरुवालाई समात्न र अडिने बनाउनकै लागि हो । यसैले कौशी खेतीमा प्रयोग हुने माटोमा सकेसम्म बढी पोषक तत्वहरु राख्न आवश्यक छ । अनि मल धेरै राखेर माटो हलुका बनायौं भने यसले घरलाई कम मात्रै भार दिन्छ र विरुवा पनि राम्ररी फस्टाउन सक्छ ।


बजारमा किनिने रासायनिक मलको प्रयोग गरेर सागसब्जी उब्जाउने हो भने, कौशी खेती गर्नुको औचित्य नै मर्छ


३. माटो हलुका बनाउने तरिका

कौशी खेतीका लागि प्रयोग गरिने माटो सकेसम्म बढी हलुका बनाउनुपर्छ । यसले विरुवाको जरा फैलन सजिलो बनाउँछ र माटोमा प्रचुर मात्रामा मल भएमा विरुवा बढी सप्रिन्छ पनि । वास्तवमा भन्ने हो भने, कौशीको खेतीका लागि प्रयोग हुने माटोको मिश्रणमा चार भागको एक भाग मात्रै माटो राखिन्छ । बाँकी तीन भागको, एक भाग बालुवा र बाँकी दुई भाग मल राखी तैयार पारिन्छ ।

माटोमा बालुवाको मात्रा, माटोको प्रकृति हेरेर पनि मिलाउन सकिन्छ । आज भोलि त नरिवलको जटाका टुक्रालाई सानो सानो टुक्रा बनाएर, एक दिनजति भिजाएपछि त्यो जटाका टुक्रा र माटो मिसाएर पनि माटो हलुका बनाइन्छ । मधुमति पनि भनिने नरिवलको जट्टाको इँटा आकारको यो सामान विभिन्न नर्सरीहरुमा पनि किन्न पाइन्छ । नरिवलको जराको निक्कै मसिनो टुक्रालाई इँटाको आकारमा दिएर मधुमति बनाइएको हुन्छ ।

मधुमति किन्न नपाएको खण्डमा बजारबाट किनिएको नरिवलको जट्टालाई निक्कै मसिनो गरी काटेर, लामो समय भिजाएर पनि माटोमा प्रयोग गर्न सकिन्छ । यसले पनि माटोलाई हलुका अनि उर्बर बनाउन सघाउँछ ।

हलुका बनाइसकिएको माटोलाई भाँडोमा ६ इन्च वा भाँडो हेरेर भर्न सकिन्छ । माटो राख्दा भने माथिबाट कम्तिमा पनि ४ औंला जति कम मात्रै भरिने गरी राख्दा, पानी वा अरु केही कुरा थप्दा पोखिने र बाहिर निस्किने समस्याबाट बच्न सकिन्छ । यसैगरी, समय समयमा मल वा अरु केही कुरा थप्न पर्‍यो भने पनि भाँडोमा सजिलैसँग अटाउन सकिन्छ ।

४. मल

कौशी खेतीका लागि माटोमा मल मिसाउन निकै जरुरी हुन्छ, त्यो पनि प्रचुर मात्रामा । तर, यसका लागि बजारबाट महँगोमा किनिने मल नै चाहिन्छ भन्ने होइन । बजारमा किनिने रासायनिक मलको प्रयोग गरेर सागसब्जी उब्जाउने हो भने, कौशी खेती गर्नुको औचित्य नै मर्छ ।

घरमै तरकारी, सागसब्जी, फलफूल उमार्नु पछाडिको एउटा मुख्य कारण भनेकै, सफा, जैविक अनि मिसावटमुक्त खाद्यवस्तु सेवन गर्न पाओस् भन्ने हो । यसैले, कौशीमा विरुवा रोप्नका लागि आवश्यक मल बनाउन घरकै फोहोर प्रयोग गर्नु सबैभन्दा राम्रो उपाय हो । विरुवालाई चाहिने मल भर्मि कम्पोस्टिङबाट पनि पाउन सकिन्छ । कुखुराको सुली र अरु जीवजन्तुका विस्टा पनि मलका रुपमा प्रयोग हुँदै आएका छन् । तर, माटोमा प्रयोग गरिने मल भने काँचो हुनुहुँदैन ।

vegetable on the roof-3

पाकेको मल प्रयोग गर्दा विरुवाले पोषक तत्व पाउँछ । तर, मल काँचो भएमा, माटोमा किरा पर्न सक्छ । फोहोर कुहाएर मल बनाउनका लागि विशेष किसिमको कम्पोस्ट बिन पाइन्छ ।

घरमै निस्किने फोहर, विशेषगरी भान्छाको फोहरलाई साना-साना टुक्रामा काटेर, कम्पोस्ट बिनमा राखिन्छ । बिनको फोहर विस्तारै कुहिँदै माटो जस्तै बन्छ । केही महिनापछि माटो जस्तै बनेको फोहरलाई मलका रुपमा बिनको तल्लो भागबाट निकाल्न सकिन्छ । बिनमा तल्लो भागबाट मल निकाल्ने अनि माथिल्लो भागबाट साना टुक्रा पारिएका फोहोरलाई राख्ने गरिन्छ ।

कम्पोस्ट बिन शुरुका दिनमा नगरपालिकाहरुबाट सहुलियतमा वितरण गरिँदै आए पनि हिजोआज बजारमा सजिलै किन्न पाइन्छ । कम्पोस्ट बिनको प्रयोगबाट मल निकालिनुका साथै अरु तरिकाबाट पनि घरमै बनिने फोहोरबाट मल बनाउन सकिन्छ ।

गड्यौला पालन

भर्मी कम्पोस्टिङ मल बनाउने अर्को यस्तै लोकप्रिय विधि हो । गड्यौलाबाट निस्कने मललाई भर्मी कम्पोस्टिङ भनिन्छ । गड्यौला पाल्नका लागि धेरै घाम नलाग्ने अनि पानी पनि जम्मा नहुने कुनै स्थानलाई रोज्न सकिन्छ । कौशीमै धेरै घाम नलाग्ने कुनातिर गड्यौला पालेका उदाहरणहरु थुप्रै छन् । गड्यौलाको खानाका लागि घरको भान्छाबाट निस्कने जैविक फोहोरको प्रयोग गर्न सकिन्छ । गड्यौलाको बिस्टाबाट नै भर्मी कम्पोस्ट बन्ने हो ।

घरको फोहरलाई कुहाएर मल बनाउने विभिन्न तरिकामा सजिलो मानिएको अर्को तरिका, बट्टा कम्पोस्टिङ हो । कागजको बाकसमा काठको धुलो र खरानी राखेर, साना-साना टुक्रामा काटिएका फोहोर मिसाएर मल बनाउने तरिकालाई बट्टा कम्पोस्टिङ भनिन्छ । यो तरिकाबाट मल बनाउँदा बढीमा तीन महिनासम्म लाग्छ ।  तर, निक्कै कम पैसामा नै मल बनाउन सकिने हुनाले, फोहोरबाट मल बनाउने तरिकामा यो निक्कै सजिलो र सुलभ मानिन्छ ।

जुनसुकै तरिकाबाट मल बनाइएको भए पनि, माटोमा काँचो मल मिसाउन चाहिँ हुँदैन । कतिपय अवस्थामा पाकेको मल प्याकेट बनाएर बेच्न पनि सकिन्छ । ठूलो परिमाणमा माटोलाई हलुका बनाउने हो भने, बोकासी भनिने विशेष खालको मल तैयार गर्न सकिन्छ । अरु मल बन्न कम्तिमा पनि ३ महिना लाग्छ । तर, यो जापानी मल बनाउन एक हप्ताको समय नै पर्याप्त हुन्छ । ठूलो परिमाणमा एकैचोटि बनाउन सकिने भएकाले पनि धेरै बोट विरुवा रोप्नु छ भने बोकासी मल बनाउनु नै उपयुक्त हुन्छ ।


घरमा उमार्ने तरकारी सकेसम्म जैविक तरिकाले, कुनै रसायन नमिसाइकन गरिन्छ । यसका लागि घरमै जैविक विषादि बनाउन सकिन्छ, जसले जैविक मलको काम समेत गर्छ


बोकासी मल बनाउने तरिका

६० केजी वा ३ डोको माटो, २५ केजी कम्पोस्ट मल, १५ केजी काठको ढुलो, १५ केजी भुस, १० केजी झारपात, ५ केजी ढुटो, ५ केजी पिना अनि ५ केजी खरानीलाई मिसाउने । यसपछि पानी छम्कँदै पल्टाउने । बनाएको दिनमा कम्तिमा ५ पटकसम्म पल्टाउने । यसपछि, यो मिश्रणलाई गुन्द्री वा सुकुल वा जुटको बोरा वा त्यो पनि नभए कालो प्लास्टिकले हावा नछिर्ने गरी छोप्ने । त्यसपछि ६ दिनसम्म, दिनमा एकपटक यो मिश्रणलाई पल्टाउने र छोप्ने गरेपछि ७ दिनमा बोकासी तैयार हुन्छ ।

निक्कै कम खर्चमा सजिलै पाइने सामानहरुबाट ठूलो परिमाणमा बोकासी मल बनाउन सकिनु नै यसको विशेषता हो । यो पुरै प्रकृयामा यदि कम्पोस्ट मल जम्मा गर्न सकिएन भने, कुखुरा वा अरु जीवको सुली वा बिस्टा पनि प्रयोग गर्न सकिन्छ ।

तरकारी रोप्ने तरिका

माटो तैयार भइसकेपछि, त्यसलाई भाँडोमा सारेर विरुवा रोप्न सकिन्छ । विरुवा रोप्दा विशेष ध्यान दिनुपर्ने हुन्छ । फूलको विरुवा र तरकारीको विरुवा अलि फरक हुन्छ । फूलको विरुवा तुलनात्मक रुपमा अलि कडा हुन्छ । यसैले फूलको विरुवा रोप्दा डाँठसम्मै पुर्‍दा पनि विरुवालाई असर हुँदैन । तर, तरकारीको बोटको डाँठसम्मै माटोमा गाड्यो भने विरुवा कुहिने डर हुन्छ ।

हुन त, जरा मात्र रोप्दा, विरुवा ढल्ने हुनाले डाँठसम्मै गाड्ने अभ्यास छ ।तर, डाँठ समेत पुरिने गरी विरुवा रोप्दा डाँठ कुहिएर विरुवा मर्ने सम्भावना रहन्छ । जरा मात्रै रोप्दा भने यदि विरुवा ढल्छ भने पनि पीर मान्नु पर्दैन, किनभने पानी र मल पाएपछि विरुवा विस्तारै उठ्न थाल्छ ।

पानी हाल्ने तरिका

तरकारीको बोटमा पानी राख्दा, माटो नै बग्ने गरी राख्न हुँदैन । पानी बग्दासँगै माटो र मलपनि बग्ने ठूलो सम्भावना हुन्छ । अनि विरुवा नै नुहाएजस्तो गरी पानी छर्न पनि हुँदैन । विरुवाको वरिपरि विस्तारै पानी हाल्यौं भने विरुवालाई हानी पुग्दैन ।

मौसम अनुसार विरुवामा कति पानी हाल्ने भन्ने कुरा पनि भर पर्छ । गर्मी महिनामा जाडो महिनाको तुलनामा अलि बढी नै पानी हाल्नुपर्ने हुन्छ । माटो अलि बढी नै सुख्खा देखियो भने पनि अलि बढी वा दिनको दुई पटकसम्म पानी हाल्नु पर्ने हुन्छ ।

vegetable (1)

किरा फट्याङ्ग्राबाट हुने चुनौती र समस्या

कौशीमा रोपिएका विरुवामा सबैभन्दा ठूलो समस्या, किरा फट्याङ्ग्राकै हुन्छ । तर, यी किरा फट्याङ्ग्रालाई मार्न रसायन वा बजारी औषधी मिसाउने हो भने त बाहिर किनेर ल्याउने र घरमै उमार्ने तरकारीमा के नै फरक रहन्छ र ?

त्यसैले घरमा उमार्ने तरकारी सकेसम्म जैविक तरिकाले, कुनै रसायन नमिसाइकन गरिन्छ । यसका लागि घरमै जैविक विषादि बनाउन सकिन्छ, जसले जैविक मलको काम समेत गर्छ । बिर्सन नहुने कुरा के हो भने, हाम्रो कौशी खेतीमा लाग्ने किरा फट्याङ्ग्रालाई मार्ने भन्दा पनि उनीहरुलाई धपाउने हाम्रो उद्देश्य हो । यसैले पहिले खेतीमा लाग्ने किरामा कुन शत्रु किरा र कुन मित्र किरा हो भनेर छुट्याउनुपर्छ ।

शत्रु किरा विशेष गरी साकाहारी हुन्छन् अनि मित्र किरा मांसाहारी हुन्छन् । यसैले शत्रु किराले, बोट विरुवा अनि फल खान्छ भने मित्र किराले यी नै शत्रु किरालाई खाएर बोट विरुवा अनि फलको रक्षा गर्छ । लाइ किरा, पतेरो किरा (विरुवाको रस चुसेर सुख्खा बनाई मार्छ), औंसा किरा (विशेष गरी, लहरे बालीलाई नोक्सानी गर्छ ), खुम्रे किरा (कौशी खेतीमा सबैभन्दा बढी समस्या ल्याउने किरा) लगायतका किरालाई शत्रु किराका रुपमा लिइन्छ ।

सात थोप्ले किरा  लाइ किरालाई खाएर मार्छ । तर सात थोप्ले किराले लाइ किरा ल्याउँछ भनेर यसलाई मार्ने गरिन्छ । माहुरी, घामकिरा, गड्यौंला, माकुरा (माकुराको जालोमा फसेर धेरै शत्रु किराहरु मर्छन, सँगै शत्रु किराका बच्चा र अण्डा पनि यसले मार्छ), बारुला पनि मित्र किरा हुन् ।

शत्रु किरा र मित्र किराको पहिचान भएपछि, शत्रु किरालाई धपाउनतिर लाग्न सकिन्छ । शत्रु किरा धपाउनका लागि विषादि प्रयोग गर्दा यसले मित्र किरालाई पनि मार्ने सम्भावना हुन्छ । यसैले बोटविरुवामा रासायनिक विषादि प्रयोग गर्नुको सट्टा जैविक विषादिको प्रयोग गर्न सकिन्छ । जैविक विषादिको प्रयोगले शत्रु किरा भाग्ने मात्रै होइन, यसले माटोलाई पोषण पनि दिन्छ । यसैले घरमै अनि घर वरपर सजिलै पाइने वस्तुहरुबाट जैविक विषादि बनाएर प्रयोग गर्न सकिन्छ ।

जैविक विषादि बनाउने तरिका

मानिसको पिसाबमा अरु स्थानीय वनस्पति वा जडीबुटि प्रयोग गरेर जैविक विषादि बनाउन सकिन्छ । गहुँत वा मानिसको पिसाबलाई मुख बन्द गर्न मिल्ने भाँडोमा जम्मा गर्ने । यसका लागि प्लास्टिकको, मुख बन्द गर्न मिल्ने भाँडो वा ड्रमको प्रयोग गर्न सकिन्छ । यसमा सिस्नुका पात, बकाइनोको पात, वनमारा, तीतेपाती, टिम्मुर, बोझो, आकासबेलीको पात, राजबेलीको पात, नीमको पात वा असुरोलाई सानो सानो टुक्रा पारेर राख्ने ।

गहुँत वा पिसाबमा यी सबै वनस्पतिलाई राखेर चलाउने । अनि बेस्सरी बिर्को बन्द गर्ने । यो मिश्रणलाई दिनको एकपटक चलाउने गर्नुपर्छ । तीन हप्तासम्म यो मिश्रणलाई हरेक दिन चलाउनुपर्छ । तीन हप्तापछि यो मिश्रणलाई जैविक विषादि वा झोल मलका रुपमा विरुवामा प्रयोग गर्न सकिन्छ ।

यो जैविक विषादि वा झोल मललाई विरुवामा प्रत्यक्ष वा माटोमा प्रयोग गर्न सकिन्छ । माटोमा प्रयोग गर्दा यसले उर्बरा शक्ति बढाउँछ । विरुवामा प्रयोग गर्दा भने यसको गन्धले शत्रु किरा भाग्छ, बोटमा बस्दैन । यसले गर्दा विरुवालाई कुनै किराले दुःख दिन पाउँदैन ।

कौशी खेतीका लागि सिजन अनुसारको उपयुक्त विरुवा

कौशी खेती गर्नका लागि सिजन अनुसारका विरुवा चयन गर्न सकिन्छ । विशेष गरी, हिउँदे र बर्षा गरी दुई सिजनमा खेतीलाई छुट्याउन सकिन्छ । हिउँदे सिजनमा विरुवा उमार्न तुलनात्मक रुपमा सजिलो हुन्छ । यो समयमा धेरै प्रकारका बाली उमार्न सकिन्छ । बर्षा सिजनमा उमार्ने विरुवाहरु छुट्टै प्रकारका हुन्छन् । अमिलो जातका विरुवाहरु वर्षा सिजनमा उमार्न सकिन्छ ।

हिउँदका बेलामा विशेष गरेर लहरे बाली लगाउन सकिन्छ । वर्षायाममा लौका, घिरौंला, काँक्रो, करेला, फर्सी ठाउँ अनुसार रोप्न सकिन्छ । यसैगरी, गोलभेंडा, मटरकोसा, खुर्सानी, रायोको साग, चम्सुर, पालुँगो, लसुनजस्ता सागसब्जी लगाउन सकिन्छ ।


कौशी खेती गर्दा, पानी चुहिने, घर चर्कने समस्या हुन सक्छ । यसको सजिलो समाधान भन्नु नै कौशी खेती गर्नु अघि प्राविधिकसँग राम्रोसँग सरसल्लाह गर्नु हो


फलफूलमा आलुबखडा, आरु, नास्पाती, जापनिज हलुवाबेद र अरु नयाँ हाइबि्रड प्रजातिका विरुवाहरु रोप्न सकिन्छ । वर्षे बालीः बर्षा याममा अमिलो विरुवाहरु रोप्न सकिन्छ । सुन्तला, कागती, मुन्तला, अम्बा जस्ता विरुवाहरु वर्रषा सिजनमा निक्कै फस्टाउँछन् । तरकारीमा विभिन्न किसिमका सागसब्जीका साथै मुला, सलगम रोप्न सकिन्छ । खेतबारीमा जस्तै गरी, सिजनल तरकारी सबै कौशीमा रोप्न सकिन्छ । विशेषगरी हाइब्रिड जातीहरु कौशीको खेतीका लागि उपयुक्त मानिन्छ ।

केही थप समस्या र समाधान हुन त पानीको निक्कै धेरै समस्या भएको राजधानीमा कौशी खेतीका लागि पानी जुटाउनु अर्को समस्या हो । खानका लागि त पानी जोहो गर्न गाह्रो भइरहेको अवस्थामा कौशीमा भएका बोटविरुवाका लागि पानी जुटाउनु सजिलो कुरा त होइन । तर, समस्याको समाधानका रुपमा पानीको पुनः प्रयोगलाई लिन सकिन्छ । कौशीका बोटविरुवाले घरमा पानीको व्यवस्थापन सही किसिमले गर्न प्रेरित गर्छ, सिकाउँछ ।

कौशी खेतीका लागि घरमा विभिन्न क्रियाकलाप गर्दा निस्कने फोहोर पानी प्रयोग गर्न सकिन्छ । भान्छाबाट निस्कने फोहर पानी, लुगा धुँदा निस्कने पानी (साबुन धेरै भएको पानी भने प्रयोग नगर्नु राम्रो ), नुहाउँदा निस्कने पानी, अनि मनले मान्छ भने जूठो पानी समेत कौशी खेतीका लागि प्रयोग गर्न सकिन्छ ।

सबै घरको कौशीमा खेती गर्न सकिन्छ भन्ने पनि होइन । प्राविधिक वा इन्जिनियरसँग सल्लाह गरेर मात्रै घरमा कौशी खेती गर्नु उपयुक्त हुन्छ । त्यतिकै कौशी खेती गर्दा, पानी चुहिने, घर चर्कने समस्या हुन सक्छ । यसको सजिलो समाधान भन्नु नै कौशी खेती गर्नु अघि प्राविधिकसँग राम्रोसँग सरसल्लाह गर्नु हो ।

कौशीको खेतीलाई नोक्सान पुर्‍याउने अर्को ठूलो तत्वका रुपमा चराचुरुङगीलाई पनि लिन सकिन्छ । चराचुरुङ्गीले बोटविरुवालाई ठुंगेर क्षति पुर्‍याउँछन् । यसका लागि जालीको प्रयोग गर्न सकिन्छ भने, विरुवामाथि धागोको जाली बनाएर समेत बोट विरुवाको रक्षा गर्न सकिन्छ । थोरै जाँगर चलाउने हो भने, घरकै कुनै खाली कुनामा थोरै मात्रामा भए पनि तरकारी साग सब्जी उमार्न सकिन्छ । यसले रसायन नमिसाइएको, घरमै उत्पादित सागसब्जी अनि फलफूल सेवन गर्न सकिन्छ ।

साथै एक घरको उत्पादन छिमेकीसँग बाँडेर खाँदा, यसले दुई घरवीचको सम्बन्ध बढाउने मात्रै होइन, समाजमा प्रतिष्ठा समेत दिलाउनमा मद्दत गर्छ । कौशी खेती अरुका लागि गर्ने होइन, यो त आफ्नो व्यक्तिगत, पारिवारिक अनि सामाजिक हितका लागि गर्ने क्रियाकलाप हो । काठमाडौंमा खपत हुने अधिकांश तरकारी नजिकका जिल्ला र कहिलेकाहीं छिमेकी मुलुकबाट समेत भित्रिने गरेका छन् । काठमाडौंभित्र वा बाहिरका जिल्लाहरुमा हुने कुनै पनि सामाजिक, राजनैतिक वा आर्थिक अस्थिरताको सिधै असर यहाँको तरकारी आपूर्तिमा पर्ने गरेको छ । जसले गर्दा तरकारीको अभाव अनि मूल्यमा हुने उतार-चढावले राजधानीबासीलाई निक्कै अप्ठ्यारो पार्दै आएको छ ।


कौशी खेतीबाट तरकारी खेतीमार्फत आर्थिक लाभ खोज्ने हो भने शुरुवाती अवस्थामा वा  थोरै मात्रामा गरिने कौशी खेतीले एकदमै धेरै पैसा जोगाउन सकिन्छ भनेर सोच्न अलि मिल्दैन


तर, घरमै बनेको मल प्रयोग गरेर  गरिने कौशी खेतीले घरका सदस्यहरुको फुर्सदको सदुपयोग हुन्छ । यसले छिमेकी-छिमेकी बीच अझ उत्पादनशील तरिकाले सहकार्य बढाउने गरेका उदाहरणहरु पनि राजधानीमा भेटिन थालेका छन् । कतिपयको बिग्रेको सम्बन्धसमेत कौशी खेतीका कारण सुध्रेको अनुभव गरिएको छ ।

एकाघरमा नयाँ र पुरानो पुस्तावीचको सम्बन्धलाई पनि यसले जोड्छ । पुराना पुस्ताले आफूसँग भएको परम्परागत ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्नु अनि नयाँ पुस्ताले पनि पुरानाबाट सिकेको ज्ञानलाई नयाँ प्रविधिसँग मिलाएर काम गर्न सक्नुले कौशी खेतीको महत्वलाई अझ धेरै बढाएको छ । पछिल्लो समयमा बढ्दै गइरहेको पुस्तान्तर र यसबाट सिर्जित समस्यालाई पनि अप्रत्यक्षरुपमा कौशी खेतीले सम्बोधन गरेको पाइन्छ ।

कौशी खेतीबाट तरकारी खेतीमार्फत आर्थिक लाभ खोज्ने हो भने शुरुवाती अवस्थामा वा  थोरै मात्रामा गरिने कौशी खेतीले एकदमै धेरै पैसा जोगाउन सकिन्छ भनेर सोच्न अलि मिल्दैन । तर, घरका सबै सदस्य मिलेर काम गरेर तरकारी फलाउनुको आनन्द भने वयान गर्न नसकिने खालको हुन्छ । आफ्नै कौशीमा उम्रेको तरकारी टिपेर खाँदाजतिको आत्मसन्तुष्टि किनेको तरकारीले दिँदैन ।

साभार :अनलाइन खवर

रचनात्मक प्रतिक्रिया दिनुहोस् :