यसरी गरौं मरिचको व्यवसायिक खेती

यो समाचार 195 पटक पढिएको

मसलाको राजा भनेर चिनिने मरिच एक बहुबर्षे, सदाबहार, लहरे झाड हुने वाली हो ।

मरिच प्राय सबै नेपालीको भान्सामा अनिवार्य रुपमा हुन्छ । हरेक मसलामा प्रयोग गरिने मरिच नेपालमै भने अझै आवश्यक मात्रामा उत्पादन गर्न सकिएको छैन । बार्षिक १ अर्ब रुपैयाँ भन्दा माथी बराबरको मरिच नेपाल आयात गर्ने गरिएको तथ्याङ्क छ । यसको बोट लहरे झाङ हुने भएकाले यसलाई सहाराको आवश्यकता पर्छ । यसको वानस्पतिक नाम पाइपर निग्रम (Piper nigrum) हो जुन पिपरेसी (piperaceae) परिवार अन्तर्गत वनस्पति जगतमा पर्छ । यो वालीमा मुख्य तत्व पाइपेरिन पाइन्छ जसले यसलाई पिरो बनाउँदछ । सामान्यतया हामीले प्रयोग गर्ने गरेको मरिच पाकेर सुकाइएको हुन्छ जसलाई peppercorn भनिन्छ ।

भियतनाम विश्वकै सबैभन्दा धेरै मरिच उत्पादन तथा निर्यात गर्ने देश हो । भियतनामामा उत्पादीत मरिचले विश्व बजारको ३४ प्रतिशत हिस्सा ओगट्छ । नेपालमा मोरङ, झापा , सूनसरी , रामेछाप र लमजुङका केही स्थानमा मरिच खेति गरेको पाइन्छ । वर्षेनि असार देखि साउनसम्म फूल फूल्ने र वैशाखमा पाक्ने हुँदा मरिचलाई एक पटक रोपेपछि साधारणतया २५-३० वर्ष सम्म फल्ने एवं फूल्ने पनि गर्दछ, कहीं कहीं त ६० वर्ष भन्दा पनि धेरै समय सम्म उत्पादन लिएको पाइएको छ ।

मरिचको उन्नत जातहरु

-वेलानकोट्टा
-कोट्टानादन
-कल्लुवली
-पन्नियूर
-चेरियाकानियाककाडन
-कोरिमुण्डा

खेति गर्ने तरिका

मौसम र हावापानी र माटो
मरिच न्यानो, आद्र्र हावापानी र बढी वर्षामा हुने, उष्ण प्रदेशिय बाली हो । पहाडी क्षेत्रको न्यानो तथा बढी आद्रता भएको ठाउँमा पनि यसको खेती गर्न सकिन्छ ।

समुद्री सतहदेखि १५०० मिटर सम्म खेती गर्न सनिे यो वालीलाई २००० देखि ३००० मिमि पानी चाहिन्छ भने सापेक्षित आद्र्रता ६०–९५ ५ उपयुक्त हुन्छ । मरिच बृद्धिको लागि २३–३५ डिग्री सेल्सियसको तापक्रम चाहिन्छ । यसले १० डिग्री सेल्सियस भन्दा कम तापक्रम सहन सक्दैन ।

मरिचलाई लामो वा छोटो दिनले फरक पार्दैन तर उपयुक्त प्रकाश पाएन भने ५० % सम्म उत्पादन घट्न सक्छ । पि एच मान ४.५–६ सम्म भएको पूर्वी मोहडा भएको जमिन चाहिन्छ । पानीको निकास सजिलै हुने भिरालो बलौटे माटो यो खेति को लागि राम्रो मानिन्छ ।

बिरुवा उत्पादन
पाकेको पोटिलो मरिचको गेडालाई २० देखि २४ घण्टासम्म पानीमा भिजाउने र गाईको गोबरसँग मिसाएर राम्रो सँग चलाएर सुरक्षित ठाउ मा राख्ने । २८ देखि ३२ दिन भित्रमा राम्रो सँग बिरुवा विकास हुन थाल्दछ र ४५ दिन भित्र रोप्नको लागि तयार हुन्छ ।

मरिचका बिरुवा रोप्दा विरुवा र लाइनबिचको दुरुी २.५ मि को हुनुपर्दछ । लहरमा फल्ने भएकोले यसलाई आडको जरुरत पर्ने हुदा फलामे तार काठको पोल पिल्लर तथा अन्य बिरुवाहरु पनि लगाउन सकिन्छ ।

मलखादको प्रयोग
मरिचलाई १०० ग्राम नाइट्रोजन, ४० ग्राम फस्फोरस, ४० ग्राम पोटास प्रतिबोट प्रतिबर्ष राख्न सिफरिस गरिएको छ । मलखाद प्रयोग गर्दा उपयुक्त मलको स्रोत, मात्रा, समय र ठाउँमा हाल्नुपर्छ । रोपेको पहिलो बर्ष एक तिहाइ, दूई बर्षे बिरुवाको लागि दूई तिहाई र तेस्रो बर्ष पुरै सिफारिसअनुसार मल हाल्नुपर्छ ।

मल हाल्दा फेदबाट ३० से मि टाढा, १५ से मि गहिरो कुलेसोमा हाल्नुपर्छ । कम्पोष्ट मल १० के जी प्रतिबोटको दरले हाल्नुपर्छ । चिस्यान युक्त जमिन छैन भने १५ दिन जतिमा सिचाई को व्यवस्था गर्नु पर्दछ ।

काँटछाँटर र उत्पादन

विरुवालाइ सही आकार दिन र रोगमुक्त राख्नुका साथै स्वस्थता र उत्पादकत्व कायम गर्न समय समयमा काँटछाँट गरिरहनुपर्छ। विरुवा १ मि लामो भएपछि फेदको पातहरु हटाउनु पर्दछ । मरिच रोपेको तेश्रो वर्ष पछि विरुवाहरुमा फल लाग्न थाल्छ ।

विरुवमा मरिचको दाना पहेंलिएर एउटा झुप्पामा १ वा २ दाना रातो भइसकेपछि टिपेर, सुकाएर दान छुट्याउनुपर्छ । सुरुमा मरिचको दानालाई सुख्खा ठाउँमा सुकाएपछि मात्रै घाममा सुकाउनुपर्छ ।

घामा सुकाईसकेपछि मरिचको दाना कालो भएपछि भण्डारण गर्न सकिन्छ । तराइमा मंसिरदेखि पौषसम्म र पहाडमा पौषदेखि फागुनसम्म टिपिसक्नु पर्दछ। एउटा मारिचको बोटबाट ४ देखि ६ किलोसम्म मरिच उत्पादन गर्न सकिन्छ । राम्रोसंग हेरविचार गरेमा प्रतिहेक्टर २ सय ७५ कीलो सम्म मरिच उत्पादन गर्न सकिन्छ । विभिन्न प्रजातीमा पाईन मरिचको बजार मूल्य औसत १ हजार रुपैया प्रति किलो रहेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :