यस्तो छ सघन धानखेतीको प्रविधि

यो समाचार 68 पटक पढिएको

काठमाडौं । नेपालका ६० प्रतिशत खेतीयोग्य जमीन अझै पनि आकाशे पानीको भरमा छ ।

यस कारण नेपाली कृषक कृषि उत्पादन कम भए पनि र बढी भए पनि भाग्यलाई जिम्मेवार ठान्छन् । यस्तो हुनुको प्रमुख कारण कम पानी, बीउ र मल प्रयोग गरेर पहिलेभन्दा बढी धान उब्जाउन सकिन्छ भन्ने ज्ञान सर्वत्र नपुग्नु हो । कम पानी, बीउ र मल प्रयोग गरेर धानखेती गरिने प्रविधिलाई सघन धानखेती प्रविधि भनिन्छ ।

सघन धानखेतीको शुरुआत र विकास
सघन धानखेती गर्ने तरीकाको विकास सन् १९६१ मा भएको हो । यो तरीकाको विकास फ्रेञ्च पादरी सर हेनरी दी लाउलानीले गरेका हुन् भने दक्षिण अफ्रिकाको मेडागास्करमा पहिलोपटक यो प्रविधिको प्रयोग भएको पाइन्छ ।

सघन धानखेतीका फाइदा
यो प्रविधिबाट धान रोप्दा सिँचाइ कम भए पुग्छ । धान पातलो अर्थात् २५ सेमीको दूरीमा रोपिने भएकाले बिरुवाले हावा र घाम प्रशस्त मात्रामा पाउँछ । बीउ पनि कम मात्र प्रयोग गरे पुग्ने र स्थानीय जातको बीउ प्रयोग गर्न मिल्ने भएकाले लाभदायी छ ।

सिँचाइ, हावा र घाम आदिको उचित व्यवस्थापन हुने भएकाले रोग र कीरा लाग्ने सम्भावना कम हुन्छ । रासायनिक मल र विषादीको प्रयोगमा कमी हुने भएकाले थोरै लगानीले पुग्छ । यो प्रविधिमा धान लड्ने सम्भावना पनि न्यून हुन्छ ।

धान रोप्ने तरीका
कलिलो बेर्ना रोप्ने : यो प्रविधिबाट धानखेती गर्दा कलिलो धानको बेर्ना रोप्नुपर्छ । सामान्यतया ८ देखि १२ दिनको अथवा २ पात, एक सुइरो हुँदा नै धानको बेर्ना सार्नु राम्रो हुन्छ । धानको बेर्नाले गाँज हाल्ने क्षमता ४ दिनदेखि विस्तारै बढेर ८ देखि १० दिनमा पूरा हुने भएकाले यस्तो गर्नुपरेको हो ।

एउटा मात्र बेर्ना रोप्ने : एक ठाउँमा एउटा मात्र बेर्ना रोप्दा जरा चारैतिर समान रूपले फैलन पाउँछ । यसले गर्दा बोटलाई जमीनमा राम्रोसँग अड्याउने सकिन्छ । यसो गर्दा प्रतिकूल परिस्थितिमा पनि धानबाली ढलेर नष्ट हुनबाट जोगिन्छ ।

२५ सेण्टिमिटरको दूरीमा रोप्ने : सघन प्रविधिमा बेर्नाको दुवैतर्फ कम्तीमा २५ सेण्टिमिटरको दूरी कायम गर्नुपर्छ । धानको जात, माटोको उर्वरा शक्ति, माटोमा रहेको चिस्यान र अन्य व्यवस्थापनका आधारमा यस्तो दूरी बढाउन पनि सकिन्छ ।

पानी जमाएर नराख्ने : धान रोपेदेखि पाक्ने बेलासम्म लगातार पानी जमाएर राख्नु हुँदैन । सघन तरीकाबाट खेती गर्दा धान रोपेदेखि फल्ने बेलासम्म माटोमा चिस्यान रहने तर पानी नजमाउने गरिन्छ । यसैगरी धानको गाँज आउने अवस्थामा दुई–तीन पटकसम्म माटो फुट्नेगरी पानी सुकाउनुपर्छ । यसो गर्दा धानका जराको विकास राम्ररी हुन्छ । धानको बोट बलियो भएर माटोको तल्लो भागबाट आफूलाई चाहिने खाद्यतत्त्व सोसेर लिन सक्छ । यसो हुँदा खडेरी वा पानीको कमी रहेको अवस्थामा पनि खडेरी सहँदै राम्रो उत्पादन हुन्छ ।

मलखाद
धानबालीका लागि १० खण्ड नाइट्रोजन, ३ खण्ड फोस्फोरस र ३ खण्ड पोटास प्रयोग गर्न सकिन्छ । सकेसम्म रासायनिक मलभन्दा कम्पोष्ट मल प्रयोग गर्दा राम्रो हुने विज्ञहरूको सुझाव रहँदै आएको छ । रासायनिक मल प्रयोग गर्दा फोस्फोरस र पोटास धान रोप्ने बेला पूरा मात्रा र नाइट्रोजन आधा मात्रा राख्नुपर्दछ । बाँकी आधामध्ये एक चौथाइ नाइट्रोजन धान रोपेको २५–३० दिनमा गोडमेल गर्दा र बाँकी धान पोटाउने बेलामा प्रयोग गर्नुपर्छ ।

गोडमेल
पानी कम लगाएर पातलो रोपाइँ गर्ने भएकाले सघन प्रविधिमा गोडमेलमा विशेष ध्यान पु¥याउनुपर्छ । झारपात बढी मात्रामा उम्रिने भएकाले तीन–चारपटक गोडमेल गर्नुपर्ने हुन्छ । यो प्रविधिमा धान रोपेको १० दिनपछि नै पहिलो गोडाइ गर्नुपर्छ । रोपाइँको २४–२५ दिनमा दोस्रो गोडाइ गर्नुपर्छ । डेढ महीनाभित्र तेस्रो र चौथो गोडाइ गर्नुपर्छ ।

(एजेन्सी र खुमलटारका कृषिविज्ञहरूको सहयोगमा)

रचनात्मक प्रतिक्रिया दिनुहोस् :