पुष्प परागसेचनः कृषिको मेरुदण्ड

यो समाचार 52 पटक पढिएको

सन् २०१७ साल अमेरिकाले इतिहासमै पहिलोपल्ट भमरा (बम्बल बी) लाई लोपोन्मुख जीवको सूचिमा राख्यो । यो भमरा वैज्ञानिकहरूका माझ बोम्बस एफिनिस नामले परिचित छ ।

रोग, विषादी, जलवायु परिवर्तन, वासस्थानको कमीका कारण यिनीहरूको सँख्यामा निकै कमी आएको कारण देखाई यो किरालाई लोपोन्मुख किराको सूचीमा राखिएको हो । यो वातावरणीय दृष्टिकोणले महत्त्वपूर्ण किरा हो । यो किराले विभिन्न जङ्गली फुलहरू, बेरी, टमाटर लगायतमा परागसेचन गर्दछ ।

सामान्य रूपमा सम्पूर्ण किरालाई शत्रुजीवकै नजरबाट हेर्ने गरिन्छ । तर वातावरणीय रूपमा फाइदा पुर्‍याउने धेरै किसिमका किराहरू छन् । परजीवी, सिकारी र परागसेची किराहरू यसका उदाहरणहरू हुन् । यी मध्ये पनि मौरी उत्पादक र वातावरणीय रूपमा एकदमै महत्त्वपूर्ण किरा हो । विभिन्न जर्नलहरूका अनुसार अहिले सम्म २१,००० जातका मौरीहरू पाइन्छन् । सबै मौरीहरू उत्तिकै महत्त्वपूर्ण छन् । तर मौरीको हकमा भने यो लागु हुँदैन । पूर्वीय दर्शनमा मौरीलाई एकदमै गुणी प्राणी भनिन्छ ।

मधु वाताऽऋतायते मधु क्षरन्ति सिन्धवः । माध्वीर्नः सन्त्वोषधीः ।।

वेदमा मौरीलाई मह उत्पादन गर्ने, परागसेचन गर्ने र मानवता र सम्पूर्ण जीवजन्तुलाई कल्याण गर्ने जीवका रूपमा अर्थ्याइएको छ । तर किराहरू हानिकारक र फाइदाजनक दुवै हुन्छन् । परागसेची किरा फाइदाजनक किरा हुन् । यिनीहरूले बाली बिरुवामा परागसेचन गर्दछन् ।

वंश विस्तार र निरन्तरताको लागि प्राणी या वनस्पति सबैमा भाले पोथी तत्त्वको समागम हुनु पर्दछ । यो प्रकृतिको नियम हो । भाले तत्त्व पराग बाहेक वनस्पतिमा सम्पूर्ण अङ्गहरू स्थिर (अचल) हुन्छन् । पराग यानिकि भाले तत्त्वलाई कुनै माध्यमबाट एक फुलबाट अर्कोमा पुर्‍याइनु पर्दछ । यो पुर्‍याउने काम कुनै माध्यमबाट हुनु पर्दछ । यी मध्यलाई परागसेचक भनिन्छ । यसरी भाले तत्त्व पोथी अङ्गमा पुगी सेचन हुन्छ जसलाई परागसेचन भनिन्छ । यही प्रक्रियाले नै बाली तथा वनस्पति सबैको उत्पादन, वंश विस्तार र निरन्तरतालाई कायम राख्दछ । यसबाट परागसेचनको महत्त्व बुझ्न सकिन्छ र परागसेचन गराउने माध्यम यानिकि परागसेचककोे आवश्यकता र महत्त्व सजिलै अट्कल गर्न सकिन्छ ।

परागसेचनमा किरा मात्रैको भूमिका रहन्छ भन्ने चाही होइन । हावा, पानी र अन्य जीवले पनि यो काम गर्दछन् तर करिब ८० ५ भन्दा बढी परागसेचन किराबाटै हुने गर्दछ । जीवबाट हुने परागसेचनमा सबै भन्दा बढी हिस्सा मौरीले ओगट्दछ । मौरीले मात्रै कुल जीवबाट हुने परागसेचनको ८०५ हिस्सा ओगट्दछ ।

तर कुल परागसेचनको ८०५ हिस्सा ओगट्ने परागसेचकको सँख्या भने विश्वभर नै घट्दै गइरहेका छन् । मलेसियाबाट सार्वजनिक पहिलो विश्वव्यापी पोलिनेटर (परागसेचक) मूल्याङ्कन प्रतिवेदनले अन्तर्राष्ट्रिय कदम बिना विश्वको परागसेची किरा तथा जीवहरूलाई बचाउन असम्भव रहेको बताएको छ । करिब ७५ ५ बाली बिरुवा र वनस्पतिहरूमा किराबाट परागसेचन हुनै पर्दछ । आर्थिक हिसाबमा परागसेचनको मूल्य वार्षिक रूपमा ५७७ अर्ब रुपैयाँ अमेरिकी डलर बराबर हुन्छ । चरा, चमेरा लगायतका १६५ परागसेची जीवहरू लोपोन्मुख रहेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । उच्च खतराको स्थितिमा भने मौरी र पुतलीहरू रहेको प्रतिवेदनमा उल्लेख छ । ९५ मौरी र पुतली भने लोप हुने सँघारमा रहेको पनि प्रतिवेदनले भन्छ ।

परागसेचन भएन भने खेती बाली वा वनस्पति सबै बाँझो रहन्छन् । बीउ, फल लाग्दैनन् वा कम लाग्दछन् । वनस्पतिमा पराग बाहेक अन्य अङ्गहरू अचल हुन्छन् । पोथी भाग वा बिरुवामा पराग ओसारपसार भए मात्रै परागसेचन हुन्छ । बीजाणुसँगको मिलन पछि बीउ र फलको विकास हुन्छ । वनस्पतिहरूमा धेरै वीजकोषहरु हुन्छन् । सबै वीजकोषहरुमा परागसेचन भए मात्रै पूर्ण परागसेचन हुन्छ र राम्रा फल लाग्दछ । यसो हुन सकेन भने वीजाशय सुकेर फल लाग्दैन । अपूर्ण परागसेचनबाट विकृत फल निस्कन्छ । पूर्ण परागसेचन भए मात्रै पोटिला, स्वस्थ, स्वादिला फल लाग्दछन् । वनस्पति जगतमा आफैँ परागसेचन हुने वनस्पति (स्वजनित) भन्दा परजनित वनस्पति बढी पोषिला र गुणवान् हुन्छन् । यसरी परागसेचन नभै नहुने प्राकृतिक पारिस्थितिक प्रक्रिया हो ।

किन घटिरहेका छन् त परागसेचक ?
रोग, परजीवी, विषादीको अन्धाधुन्ध प्रयोग, चरन क्षेत्रको अभाव, वासस्थानको नाश, डढेलो, लगायतका कारणहरूबाट परागसेची किराहरू र मौरीहरू मासिँदैछन् । साथै विभिन्न आयातित किरा र वनस्पतिहरूको कारणले गर्दा पनि रैथाने जातका किरा र मौरीहरूको सङ्ख्यामा कमी भइरहेको छ । नेपालमा पनि आयातित जातको मौरीको कारले स्थानीय सेरेना मौरीको सङ्ख्यामा नकारात्मक असर पाइएको छ । स्थानीय मौरीभन्दा आयातित मौरीलाई प्राथमिकताका कारण पनि नेपालमा सेराना मौरीपालिमा कमी आइरहेको छ ।

परागसेचनका हिसाबमा मेलिफेरा भन्दा सेराना मौरी अब्बल रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । एकल खेती प्रणालीको व्यापकताले पनि जैविक विविधततामा ह्रास आइरहेको छ । चरन क्षेत्रको अभाव, पर्याप्त कुट, पुष्प रसको अभाव, वासस्थानको अभाव मौरी लगायतका परागसेची किरा मासिने प्रमुख कारणहरू हुन् । कुनै परागसेचकलाई विशिष्ट आहारा चाहिन्छ जस्तै मोनार्क नामक पुतलीको लार्भालाई मिल्क वीड भन्ने बिरुवा चाहिन्छ । यो बिरुवा नहुने कुनै पनि कारणबाट यो पुतलीको सङ्ख्यामा कमी आउँछ ।

विषादीको उच्च र अव्यवस्थित प्रयोगका कारण पनि परागसेचक घट्दछ । विषादीको प्रत्यक्ष सम्पर्क वा अप्रत्यक्ष सम्पर्कका कारण मौरीलाई हानी पुग्दछ । बीउ उपचार गरिएको विषादीले पनि अत्यधिक रूपमा मौरीको स्वास्थ्यमा असर गरिराखेको तथ्यहरू सार्वजनिक भइरहेका छन् । यस्ता विषादीहरू अवशेषका रूपमा कुट र पुष्प रसमा रहन्छन् र मौरी चरनमा जाँदा असर गर्दछन् ।

बढ्दो सिसिडि रोगको क्रस
अहिले विश्वभर नै सि।सि।डी यानिकि कोलोनी कोल्याप्स डिसअडर भन्ने समस्याले मौरीलाई चुनौती दिइरहेको छ । मौरीको गोलाबाट एक्कासि वयस्क मौरीहरू हराउने तर बच्चा र मह भने घारमै हुने । वयस्क कर्मी मौरीहरू घारमा नफर्कने यो अनौठो प्रक्रियालाई सि।सि।डि भनिएको छ । कारण अहिले सम्म पत्ता लागिसकेको छैन ।

सुलसुलेको आक्रमण
मौरीको विश्वव्यापी विनाशको सन्दर्भमा त झन् भेरोवा सुलसुलेको नाम सबैभन्दा अग्रपङ्क्तिमा आउँछ । भेरोवा डिष्ट्रक्टरको फैलावट र अहिले विश्वव्यापी भैसकेको छ । यही सुलसुलेले गर्दा मौरीका गोलाको नाश भएको वैज्ञानिकहरूको दाबी छ । यो सुलसुलेसँगै डिर्फम्बड विङ्ग भाइरस भन्ने भाइरस पनि भित्रियो । यो सुलसुले जहाँ पुग्छ त्यहाँ यो भाइरस पनि पुग्यो । यो सुलसुलेले मौरीलाई आक्रमण गर्दा यो भाइरस रगतमा छिर्छ अनि यो रगतमा एकदमै छिटो प्रजनन गर्छ । यसरी कमजोर भएकमो गोलालाई विषादीले अझ कमजोर बनाइउँछ । सुलसुलेको कुरा गर्दा अहिले आएर ट्रोपिलइल्याप्सलाई पनि उत्तिकै खतरनाक मानिँदै आएको छ ।

 

जीव परागसेचनको विकल्प

परागसेचन गर्न ड्रोनको प्रयोग
जापानका अनुसन्धानकर्ताहरूले परागसेचनका लागि सानो ड्रोनको सफलतापूर्वक प्रयोग गरेका छन् । अनुसन्धाकर्ताले लिलि फुलको परागसेचन गरेका थिए । यस उपकरणमा घोडाको कपाल र विशेष प्रकारको जेल प्रयोग गरिएको थियो जसलाई रिमोटले चलाइएको थियो । यो नै कृत्रिम रूपमा रोबोटको प्रयोगबाट परागसेचन गरिएको पहिलो प्रदर्शन हो ।

परागसेचन प्रकृतिको आधारभूत पारिस्थितिक प्रणाली हो जुन वंश विस्तारको आधार हो । विश्वका मौरी र पुतली लगायतका परागसेची किरा लोप हुने त्रमलाई मध्यनजर गर्दै यो प्रविधिको विकास गरिएको अनुसन्धानकर्ताले बताएका छन् । विभिन्न परागसेची किराको परागसेचन गर्ने विभिन्न आचरण हुन्छन् । तर यो उपकरणमा यस्ता विशिष्ट आचारणहरु भने प्रयोग भैसकेको छैन ।

हाते परागसेचन
मौरी लगायतका किराको विनाशमा चीनमा पनि व्याप्त छ । सघन कृषि खेती बढेसँगै कृषि उत्पादनमा परागसेचनको कमीका कारण नकारात्मक प्रभाव परिरहेको छ । यस्तो एकल जातीय सघन कृषिमा विषादीको उच्च प्रयोग हुन्छ जुन परागसेचक अनुकूल हुँदैन । यसरी चीनका स्याउ र नस्पाती फार्महरूमा मौरी नआएपछि किसान हातैले परागसेचन गर्दै गइरहेका छन् । तर यति धेरै बाली र फुलमा हातले मात्रै परागसेचन गरेर सम्भव भने छैन । हाते परागसेचन विश्वका विकसित र विकासोन्मुख धेरै देशका किसानहरूले सुरु गरिसकेका छन् । यसका लागि जसरी नी हामीले मौरी लगायतका किरा बचाउनु पर्ने हुन्छ ।

नेपालमा परागसेचन र परागसेचक सम्बन्धी नीतिगत व्यवस्था
मौरी प्रवर्द्धन नीति–२०७३ः हाम्रै रैथाने मौरीहरूको संरक्षण एवम् संवर्द्धन गर्ने, परसेचित बालीहरूको जैविक विविधता वृद्धि गर्ने, वृक्षारोपण कायृक्रमहरुमा कम्तीमा २५ प्रतिशत मौरी मैत्री वनस्पति लगाउन प्रोत्साहन गर्ने, मौरीको रोग व्यवस्थापनमा आवश्यक अनुसन्धान गर्न सहयोग गर्ने लगातयका नीति मौरी प्रवर्द्धन नीतिमा उल्लेख छ । किसानहरूलाई परागसेचनको महत्त्व बुझाउने कार्यक्रम अगाडी बढाउने, फुल फुलेको बेला कीटनाशक विषादीको प्रयोग नगर्न प्रोत्साहन गर्ने, मौरीको संरक्षण गर्न कृषकहरूलाई जागरुक गराउने, परागसेचनको अध्ययन र अनुसन्धान अगाडी बढाउने लगायतका नीति मौरी प्रवर्द्धन नीतिमा उल्लेख छ ।

कृषि जैविक विविधता नीति–२०६३स् यस नीतिमा कृषि पर्यावरणीय सेवाहरूको दिगो परिचालनको लागि परागसेचक तथा अन्य पर्यावरणीय सेवा प्रदान गर्ने जीवहरू सम्बन्धी अध्ययन, अनुसन्धान, अनुगमन गरी संरक्षण कार्यक्रमहरू सञ्चालन गर्ने कुरा उल्लेख छ ।

निष्कर्ष
विश्व नै परागसेचक सङ्कटको स्थितिमा छ । खास गरी विकसित देशहरूमा यो समस्यालाई बढी महत्त्व दिइएको छ । हाम्रो परिवेशमा मौरीसँग सम्बन्धित कमै अध्ययन, अनुसन्धान भएका छन् । जैविक विविधता र मौरी विविधतामा हामी धनी हौँ । अहिले केही मात्रामा नेपालमै गरिएको अनुसन्धानबाट पनि मौरीमा रोगको सङ्क्रमण बढिरहेको र हाम्रो देशमा पनि परागसेचकको सङ्ख्यामा घट्दै गएको देखिएको छ । हामीसँग परागसेचक संरक्षण सम्बन्धी नीतिगत व्यवस्था पनि भइसकेकाले अब हामीले कार्यान्वयनमा जान ढिला गर्न हुँदैन । परागसेचन कृषिको एक आधारभूत आवश्यकता हो । जसरी माटो, पानी र बीउको महत्त्व अगाडी आउँछ त्यसरी नै परागसेचनको महत्त्व पनि उत्तिकै छ । हाम्रो कृषि उत्पादनलाई गुणात्मक र सँख्यात्मक हिसाबमा बढाउने हो भने सबैले भुलेको कृषिको यो पाटोलाई सँगै लिएर जान आवश्यक छ ।

महत महालक्ष्मी नगरपालिकाका कृषि अधिकृत हुन् ।

प्रशासन डट कमबाट

रचनात्मक प्रतिक्रिया दिनुहोस् :