यसरी गरौं बडउड सर्टिफिकेसन प्रविधिबाट सुन्तलाजातका फलफूल बिरुवाको उत्पादन

यो समाचार 2820 पटक पढिएको

नेपाल लगायत विश्वका अधिकांश देशहरुमा सुन्तलाजात फलफूलमा ग्रिनिङ्ग रोग प्रकोपको रुपमा देखापरेको छ । Candidatus Liberibacter spp. जातको ब्याक्टेरियाका कारणले लाग्ने यो रोगले गर्दा नेपालका विभिन्न जिल्लाहरुका व्यवसायिक बगैंचाहरु दिनानुदिन विनाश भईरहेका छन् ।

•शान्ता कार्की / पवन सिंह भण्डारी
राष्ट्रिय सुन्तलाजात बाली विकास कार्यक्रम

यो रोग संक्रमित बिरुवाबाट स्वस्थ बिरुवामा फैलाउन सिट्रस सिल्ला (Diaphorina citri) नामको किराले संवाहकको भूमिका खेल्दछ । यो रोग लागे पश्चात तुरुन्त बोट नमर्ने, केही वर्ष घट्दो क्रममा फल दिने भएकाले पनि कृषकहरुले संक्रमित बिरुवाहरु तत्काल नष्ट गर्न चाहदैनन्, जसले गर्दा यो रोगको प्रकोप अझ बढी फैलन सघाउ पुगेको देखिन्छ । यो रोगको पूर्ण निदान हालसम्म पत्ता लागेको छैन । तर कृषकहरुले केही पक्षहरुमा विशेष ध्यान पुर्र्याएमा यो रोग लाग्नबाट रोकथाम गर्न सकिन्छ भने रोगबाट संक्रमित बिरुवा वा बगैंचाबाट अर्को बिरुवा वा बगैंचामा सर्न नदिन समेत मद्दत पुर्र्याउन सकिन्छ ।

यसका लागि प्रमुख उपायहरु मध्ये आधिकारीक श्रोतबाट स्वस्थता प्रमाणीत भएको बिरुवा मात्र लगाउने, रोगबाट संक्रमित बिरुवाहरु तुरुन्त नष्ट गर्ने, समुन्द्र सतहबाट १००० मिटर उचाई भन्दा तल पर्ने क्षेत्रहरुमा रोग सार्ने सिट्रस सिल्ला बढी पाइने भएकाले सो उचाई भन्दा माथि मात्र नर्सरी स्थापना गर्ने, रोग सार्ने सिट्रस सिल्ला किराको नियन्त्रण गर्ने आदि प्रमुख रहेका छन् ।

स्वस्थ बगैंचा स्थापना गर्न रोग मुक्त स्वस्थ बिरुवाको आवश्यकता पर्दछ। स्वस्थ बिरुवा उत्पादन गरी उपलब्ध गराउन प्रमुख उपायहरु मध्ये बडउड सर्टिफिकेसन प्रविधि नेपालमा नविनतम र प्रभावकारी उपाय हो । यस प्रविधिमा स्वस्थ बिरुवा उत्पादन गर्न आवश्यक पर्ने माउ बोट (साइनस्टिक), रुटस्टक बिरुवा र कलमी गरिएको बिरुवा सबैको उत्पादन जालीघरभित्र गरिन्छ ।

यसरी सुरक्षित तवरबाट जालीघरमा उत्पादन गरिएको बिरुवामा रोग किराको संक्रमण हुने सम्भावना अन्यन्तै न्यून हुने भएकाले उत्पादन गरिएको बिरुवा स्वस्थ हुने कुरामा विश्वस्त हुन सकिन्छ । तथापी स्वस्थ बिरुवा उत्पादन गर्न नर्सरी स्थापनाको शुरुवात देखिनै अन्य विभिन्न चरणहरुमा समेत सावधानीका उपायहरु अपनाउनु पर्ने हुन्छ । यसका लागि निम्नानुसारका विषयहरुमा विशेष ख्याल राख्नु पर्दछ ।

  • बिरुवा उत्पादनको लागी जालीघरमा माउ बोट लगाउँदा आधिकारीक श्रोतबाट जातीय शुद्धता भएको र रोग नलागेको प्रमाणित गरिएको बिरुवा छनौट गरि लगाउनुपर्दछ ।
  • माउ बोटबाट सायन लिनु अघि वर्षेनी पि.सि.आर. परिक्षण वा इन्डेक्सिङ गर्नुपर्दछ । यसरी परिक्षण गर्दा माउ बोट स्वस्थ भएको नतिजा प्राप्त भएमा मात्र सायन लिने गर्नुपर्दछ । अन्यथा उक्त माउ बोटलाई नष्ट गर्नुपर्दछ । नेपालमा हाल यस्तो परिक्षण गर्ने सुविधा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा मात्र उपलब्ध छ ।
  • माउबोटका साथसाथै ग्राफ्टिङ्ग गर्नका लागि प्रयोग गरिने रुटस्टक बिरुवा समेत स्वस्थ हुनुपर्दछ । यसका लागि रुटस्टक बिरुवा समेत जाली घर भित्रै सुरक्षित तवरले उमार्नु र हुर्काउनु पर्दछ ।
  • जालीघरमा उत्पादित रोगमुक्त रुटस्टक र सायनको प्रयोग गरि कलमी गरेको बिरुवा समेत जालीघर भित्रै हुर्काउनुपर्दछ ।
  • जालीघर भित्र बिरुवा लगाउँदा बिरुवा लगाउने माटो समेत निर्मलीकरण (sterilized) गरेको हुनुपर्दछ । बिरुवा उर्मादा विशेषगरी प्लाष्टिकका थैला (Poly bag) मा उत्पादन गर्न सके अझ सुरक्षित र प्रभावकारी हुन्छ किनभने प्लाष्टिकका थैलामा उत्पादित बिरुवाहरु नर्सरीबाट बगैंचामा सार्दा जमिनमा रोपेको बिरुवाको तुलनामा जरा हल्लने, उखेल्दा र रोप्दा बिरुवा तथा जरामा चोट लाग्ने समस्या नआउने हुँदा मर्ने सम्भावना ज्यादै न्युन हुन्छ र लगाएका अधिकांश बिरुवाहरु सजिलैसंग सर्दछन ।

जालीघरमा सुन्तलाजात फलफूल बिरुवा उत्पादन गर्ने नर्सरी धनीहरुले अनिवार्य रुपमा तोकिएका सरकारी निकायमा आफ्नो नर्सरी दर्ता गराउनुपर्दछ । साथै यसरी सुरक्षित तवरले उत्पादन गरिएको बिरुवाहरु विशेषज्ञ प्राविधिकबाट परिक्षण गराई स्वस्थ भएको प्रमाणित भए पश्चात मात्र विक्रि वितरण गर्नुपर्दछ । बिरुवा विक्रि गर्दा खरिदकर्ता कृषकहरुलाई बिरुवाको जात, उमेर, कलमी गरिएको मिति, बिरुवा उत्पादन गरिएको नर्सरीको नाम, ठेगाना र सम्पर्क नम्बर एवं बिरुवा लगाउने सम्बन्धी जानकारीहरु समेत अलग्गै पर्चामा संलग्न गरि बिरुवासंगै उपलब्ध गराउनु पर्दछ ।

नेपालमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका विभिन्न निकायहरु तथा आयोजनाहरु (फलफूल विकास निर्देशनालय, राष्ट्रिय सुन्तलाजात बाली विकास कार्यक्रम, व्यवसायिक कृषि तथा व्यापार आयोजना, जिल्ला कृषि विकास कार्यालयहरु) को प्राविधिक तथा आर्थिक अनुदान सहयोगमा र कृषकको स्वयं लगानीबाट समेत देशका विभिन्न जिल्लाहरुमा जालीघरहरुको निर्माण भईरहेको छ । हालसम्म यकिन तथ्यांक संकलन नभएता पनि नेपालमा करिब १०० वटा जति यस्ता जालीघरहरुको निर्माण भई सकेको छ ।

तथापी विभिन्न प्राविधिक, आर्थिक, भौगोलिक लगायतका समस्याहरुका कारण यो प्रविधिको विकास र विस्तार अपेक्षाकृत रुपमा हुन सकेको छैन । साथै यी समस्याहरुका कारण यस प्रविधिको प्रयोगबाट स्वस्थ बिरुवाको उत्पादन भई सुन्तलाजात फलफूलको उत्पादन तथा उत्पादकत्वमा वृद्धि तथा क्षेत्र विस्तारमा समेत आशातित सफलता प्राप्त हुन सकेको छैन । नेपालमा बडउड सर्टिफिकेसन प्रविधिबाट सुन्तलाजात फलफूल बिरुवा उत्पादनमा देखिएका प्रमुख समस्याहरु यस प्रकार रहेका छन् ।

  • हाल बडउड सर्टिफिकेसन प्रविधि अन्तर्गत निर्माण भईरहेका जालीघर निर्माणमा स्थानीयस्तरमा उपलब्ध श्रोत, साधन र सीप प्रयोग हुन सकेको छैन ।
  • जालीघरको निर्माण सामग्री तथा निर्माण गर्ने दक्ष कामदार स्थानीयस्तरमा सुलभ रुपमा उपलब्ध हुन सकेको छैन ।
  • औसत नेपाली कृषकले सरकारी अनुदान बीना सहजै जालीघर निर्माण गर्न सक्ने अवस्था छैन ।
  • सरकारी फार्म केन्द्र तथा नीजि नर्सरीहरुमा फलफूल बिरुवाहरुको गुणस्तरीय बिरुवा उत्पादन प्रविधि सम्बन्धी स्पष्ट मापदण्ड नभएकाले उत्पादित बिरुवाहरुको गुणस्तरमा समस्या देखिएको गुनासो आइरहेका छन् ।
  • नेपालमा खेती गरिदैं आएका सुन्तलाजात फलफूलको जातिय गुणहरु सम्बन्धी विवरण नभएकोले कृषकहरुले आफुले चाहेजस्तो गुण भएको शुद्ध माउबोट छनौट गर्न पाएका छैनन्।
  • बडउड सर्टिफिकेसन प्रविधि अन्तर्गत जालीघरमा उत्पादित बिरुवाको उत्पादन लागत तथा विक्रि मुल्य सम्बन्धी तथ्यांकहरु संकलनको अभावमा नर्सरी धनीहरुलाई लाभ लागतको हिसाब राख्न समस्या परेको छ। जालीघरमा उत्पादित बिरुवाको मूल्य खुल्ला जमिनमा रहेको नर्सरी (Open Field Nursery) मा उत्पादित बिरुवाको भन्दा पाँच गुणा बढी भएकोले माग पनि कम भएको पाइएको छ ।
  • नेपालमा हाल निर्माण भईरहेको जालीघरहरु उच्च लागत पर्ने देखिएको र पूर्वाधार निर्माणमा पनि एकरुपता नभएको पाइएको छ ।
  • बडउड सर्टिफिकेसन प्रविधि अन्तर्गत जालीघर निर्माण गरी बिरुवा उत्पादन गर्न ठूलो लगानी गर्नुपर्ने हुन्छ तर विभिन्न प्राकृतिक प्रकोपको कारण जालीघर तथा बिरुवामा क्षति हुन सक्ने सम्भावना भएता पनि हालसम्म कृषि बिमा कार्यक्रमले सुन्तलाजात फलफूल नर्सरीहरुलाई समेट्न नसकेकोले कृषकहरु लगानी गर्न हतोत्साहित भएको अवस्था छ ।
  • व्यवसायिक कृषक तथा नीजि नर्सरी धनीहरुबाट भू-संरक्षण विभाग मातहतका कार्यालयहरुबाट निशुल्क उपलब्ध गराईने फलफूल बिरुवाका कारण नर्सरी धनीहरुको व्यवसायमा असर पुगेको र त्यस्ता बिरुवाको गुणस्तर समेत यकिन गर्न नसकिने भएकाले रोग किराको संक्रमण भई सुन्तलाजात फलफूल खेती व्यवसायमा असर पुगिरहेको गुनासो रहेको छ ।
  • स्थानीयस्तरमा दक्ष तथा युवा जनशक्तिको अभावले बिरुवाको उत्पादन तथा बजारीकरणमा समस्या रहेको छ ।
  • गुणस्तरीय बिरुवाको उत्पादनमा मलखाद व्यवस्थापनको ठुलो भूमिका हुने भएतापनि कृषकस्तरमा मलको उपलब्धता, ढुवानी तथा प्रयोगमा समस्या रहेको पाइन्छ ।
  • जालीघरमा हुर्काइएका माउबोट र रुटस्टक बिरुवाहरु कलमीका लागी प्रयोग गर्नु अघि पि.सि.आर. परिक्षण गरि रोग मुक्त भएको यकिन गर्नुपर्नेमा पि.सि.आर.परिक्षण गर्ने कार्य झन्झटिलो, महंगो तथा सुलभ रुपमा उपलब्ध हुन नसकेकाले कृषकहरुले परीक्षण बिनानै बिरुवाहरु उत्पादन गर्ने गरेको पाइन्छ ।
  • जालीघरमा उत्पादित बिरुवाहरु विक्रि गर्नु अघि दक्ष प्राविधिकबाट निरिक्षण गराई प्रमाणित बिरुवा मात्र विक्रि गर्नुपर्नेमा कृषकहरुबाट यसो गर्ने गरिएको पाइदैन ।
  • जालीघरलाई जनावर वा अन्य मानिसहरुबाट हुने क्षतिबाट जोगाउन छेकवारको राम्रो व्यवस्था गर्नुपर्नेमा अधिकांश स्थानहरुमा हुन नसकि जाली च्यातिने तथा पूर्वाधारमा क्षति भई गरेको लगानी खेर जाने र त्यस्ता जालीघरमा उत्पादित बिरुवाहरु स्वस्थ रहेको प्रमाणित गर्न नसकिने अवस्था रहेको छ ।
  • हावाहुरी, ठुलो असिना पानी जस्ता प्राकृतिक प्रकोपहरुका कारण जालीघरको छानामा रहेको प्लाष्टिक, जाली तथा अन्य पूर्वाधारमा क्षति हुने तर समयमै गुणस्तरीय निर्माण सामग्री तथा मर्मत गर्ने जनशक्ति उपलब्ध नहुनाले कृषकहरुले गरेको लगानी खेर जाने अवस्था रहेको छ ।

माथि उल्लेखित समस्याहरु र यससंग अन्तरसम्बन्धित अन्य विषयहरुको समाधानका लागि निम्नानुसारका उपायहरु अपनाउन सकिन्छ ।

  • जाली घर निर्माणको लागि स्थानीयस्तरमा उपलब्ध श्रोत, साधन र सीपको प्रयोग गरी कम लागतमा समेत निर्माण गर्न सकिने प्रविधिको विकास गर्नुपर्दछ । उपलब्ध जनशक्तिलाई तालिमको व्यवस्था हुनुपर्ने देखिन्छ।
  • सरकारी फार्म केन्द्रहरुमा उत्पादित सुन्तलाजात फलफूलका विरुवाहरु कृषकहरुलाई वितरण गर्दा कुन जातको बिरुवा वितरण गरिएको हो, सो जातको जातीय गुण तथा विशेषता एवं खेती प्रविधि सम्बन्धमा जानकारीमुलक ब्रोसर, हाते पुस्तिका तयार गरी बिरुवासंगसंगै वितरण गर्नुपर्ने देखिन्छ। सो कार्य क्रमशः व्यवसायिक नीजि नर्सरीहरुमा समेत विस्तार गर्दै लैजानुपर्ने देखिन्छ।
  • सरकारी फार्म केन्द्र तथा नीजि नर्सरीहरुमा गुणस्तरीय बिरुवा उत्पादन प्रविधि सम्बन्धी मापदण्ड सहितको प्राविधिक म्यानुअल (Guidelines for Citrus Nursery Establishment and Management) तयार गरि वितरण गर्नुपर्ने देखिन्छ।
  • सरकारी फार्म केन्द्रमा फलफूल नर्सरीमा कार्यरत प्राविधिक तथा कामदारलाई समेत समयानुकुल प्राविधिक तथा सिप विकासका तालिम उपलब्ध गराउनुपर्ने देखिन्छ ।
  • सुन्तलाजात फलफूलको बिरुवा उत्पादन गर्ने सबै सरकारी फार्म केन्द्रहरुमा र नीजि नर्सरीहरुमा बडउड सर्टिफिकेसन प्रविधि अन्तर्गत जालीघर भित्र मात्र बिरुवा उत्पादन गर्ने व्यवस्था मिलाउनुपर्ने देखिन्छ ।
  • नेपालमा खेती गरिदैं आएका सुन्तलाजात फलफूलको जातिय गुणहरु अनुसन्धान गरि सम्बन्धीत जानकारीमुलक (Citrus Fruits Varietal Characterization) विवरण संकलन गरि प्रकाशित गर्नुपर्ने देखिन्छ।
  • बडउड सर्टिफिकेसन प्रविधि अन्तर्गत जालीघर निर्माण कार्य देश भरि वृद्धि हुँदै गईरहेको सन्दर्भमा त्यस्ता नर्सरीहरुमा उत्पादित बिरुवाको उत्पादन लागत तथा विक्रि मुल्य सम्बन्धी तथ्यांकहरु र खेती खर्च अनुमान सम्बन्धी विवरण संकलनका लागि जानकारीमुलक तथ्यांक संकलन पुस्तिका बनाई वितरण गर्नुपर्ने र रेकर्ड राख्ने प्रविधिको विकास गर्नुपर्ने देखिन्छ।
  • यस प्रविधिबाट गुणस्तरीय बिरुवा उत्पादन गर्न प्रोत्साहन गर्न सम्भावित स्थानहरुमा स्थानीय सरकारहरुबाट समेत अनुदानको व्यवस्था मिलाउनुपर्ने देखिन्छ।
  • आगामी दिनहरुमा बडउड सर्टिफिकेसन प्रविधिबाट बिरुवा उत्पादन गर्ने कार्य विस्तार हुने देखिएकाले स्थानीय निकायमा खटिएका प्राविधिकहरुलाई बडउड सर्टिफिकेसन प्रविधि सम्बन्धमा जानकारी दिन तालिम तथा प्राविधिक प्रकाशनहरु, भिडियो डकुमेन्ट्री तयार गरी वितरण गर्नुपर्ने देखिन्छ ।
  • स्थानीय श्रोत, साधन, सीप र न्यूनतम लागतमा निर्माण गर्न सकिने खालको जालीघरको लागी नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको कृषि इन्जिनियरिङ्ग महाशाखा तथा कृषि विभाग अन्तर्गतको कृषि इञ्जिनियरिङ्ग निर्देशनालयबाट संयुक्त रुपमा निर्माण सामग्रीको गुणस्तर तथा अन्य प्राविधिक स्पेसिफिकेसन सहितको जालीघर निर्माण सम्बन्धी डिजाइनिङ्ग म्यानुअल तयार गर्नुपर्ने देखिन्छ।
  • जालीघर नर्सरी भित्र नियमित रुपमा गर्नुपर्ने क्रियाकलापहरुलाई (Standard Package of Practices) समेटी म्यानुअल विकास गरी लागू गर्नुपर्ने देखिन्छ ।

नर्सरी धनीहरुलाई जालीघरको दोहोरो ढोका (Double Door System) एक पटकमा एक वटा मात्रै खोल्र्ने गरी वैज्ञानिक तवरले प्रयोग गर्न सिकाउनु पर्ने, जालीघर भित्र पस्दा बगैंचामा जाँदा लगाएका लुगा, जुत्ता नलगाउने र बाहिर लगाएको जुत्ता डिटरजेण्टले निर्मलीकरण गरेर मात्र जालीघर भित्र प्रवेश गर्ने बन्दोबस्त मिलाउनु पर्दछ ।

  • बाहिरी वातावरणबाट जालीघर भित्र रोग, किराहरु प्रवेश गर्न नसक्ने वातावरण तयार पार्न जालीघरको जाली वा छाना च्यातिन लागेमा तुरुन्त मर्मत गर्ने वा परिवर्तन गर्नुपर्ने देखिन्छ ।
  • धेरै संख्यामा साना–साना नर्सरीहरु स्थापना गर्नुभन्दा केही जिल्लाहरुलाई बडउड सर्टिफिकेसन प्रविधि अपनाई उत्पादन गरिएको स्वस्थ बिरुवा उपलब्ध गराउन सक्ने क्षमताका ठुला एकिकृत नर्सरीहरुको विकास गर्नुपर्ने देखिन्छ ।
  • देश भित्रै पनि बिरुवाहरुको ओसारपसारबाट रोग किराको संक्रमण फैलन नदिन आन्तरिक क्वारेण्टिन प्रणालीको विकास गरी कडाईका साथ पालना गर्नुपर्ने देखिन्छ (जस्तैः १००० मिटर भन्दा कम उचाईमा रहेका नर्सरीमा उत्पादित बिरुवाहरु पहाडी जिल्लाहरुमा नलगाउने) ।
  • कृषि बिमा कार्यक्रमले सुन्तलाजात फलफूलका नर्सरीहरुलाई समेट्ने गरी विस्तार गर्नुपर्ने देखिन्छ ।
  • विभिन्न सरकारी, गैरसरकारी तथा नीजि क्षेत्रबाट सुन्तलाजात फलफूल बिरुवाको वितरण तथा खेती विस्तार सम्बन्धी कार्यक्रम सञ्चालन गर्दा उपलब्ध भए सम्म बडउड सर्टिफिकेसन प्रविधि अन्तर्गत जालीघर भित्र उत्पादन गरिएको गुणस्तरीय बिरुवालाई पहिलो प्राथमिकता दिनुपर्ने देखिन्छ ।
  • सरकारी फार्म केन्द्रहरुमा उत्पादन हुने ट्राईफोलियटको बीउले (रुटस्टक) आगामी दिनहरुमा सुन्तलाजात फलफूल नर्सरीहरुको मागलाई धान्न कठिन हुने देखिएकाले कृषकस्तरमै ट्राईफोलियटको तथा अन्य उपयुक्त जातको गुणस्तरीय बीउ उत्पादन गर्न प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।
  • सुन्तलाजात फलफूल नर्सरीमा जनश्रम तथा उत्पादन लागत घटाउने खालका यान्त्रीकरण प्रविधिको विकासलाई प्राथमिकता दिनुपर्ने देखिन्छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :