यसरी गरौं, अङ्गुरको व्यवसायिक र बैज्ञानिक खेती

यो समाचार 5249 पटक पढिएको

शनिबार विशेष : आफु बुझौ र अरुलाई पनि सिकाऔं

• शान्ता सिंखडा

सरकारले गत् आर्थिक बर्ष २०७०।७१ को बजेटदेखि कृषितर्फ ठूलो बजेट बिनियोजन गर्दैआएको छ । यसको अर्थ हो, सरकारले कृषि क्षेत्रलाई बिस्तारै गम्भिर पेशाको रुपमा बुझ्नु । पछिल्लो समयमा कृषिबाटै करोडपति हुने कर्मशिल व्यक्तित्वहरु बढ्दै गइरहेका छन् । भविष्यमा यो क्रम अझ बढ्ने छ । स्वास्थ्यका लागि मात्रै होइन, सम्वृद्धिका लागि पनि फलफूलको उत्तिकै महत्व छ । फरक यति हो, स्वास्थ्यका लागि फलफूल खाइन्छ, समृद्धिका लागि यसको खेती । सफल फलफूल खेती कृषिमै रमाउनेहरुका लागि केन्द्रित गरी तयार पारिएको उपयोगि पुस्तक हो । यसले फलफूल खेती सफलतापूर्वक गर्नका लागि सुत्र दिएको छ ।

फलफूल खेतीका लागि जानकारहरुका लागि यो लेख उपभोगी त छँदैछ, फलफूल खेती गर्नेबारे सोचिरहेका, खेतीको तयारीमा लागेकाहरुका लागि पनि यो लेख उत्तिकै आवश्यक  छ । सानोतिनो लगानीबाट गर्न सकिने फलफूल खेतीदेखि ठूलो लगानी गर्न उत्साहित फलफूल कृषकहरुका लागि चाहिने सबै किसिमका जानकारीहरु यस पुस्तकले समेटेको छ । पुस्तकले ती फलफूलका बारेमा मात्र चर्चा गरेको छ, जुन नेपालमा खेती गर्न उपयुक्त छन् । पुस्तकमा कमी कमजोरीहरु हुन सक्छन् । तसर्थ औल्याउने जिम्मा तपाईहरुलाई ।


अङ्गुर विश्वभरि लोकप्रिय गुलियो खालको फल हो । अङ्गुर ताजा फलका साथै मुनक्का दाख, डिब्बाबन्द रस, भिनेगर, जाम, रक्सीजस्ता वस्तुहरुको लागि पनि प्रयोग हुन्छ । केही समय पहिलासम्म यसको खासै खेती गरेको पाइँदैन थियो । अङ्गुर लगाईो भने सर्प आउँछ भन्ने जन–विश्वास थियो । तर अहिले भने मानिसहरुले यसको खेती गर्ने गरेका छन् । यसमा ८० देखि ९० प्रतिशत रस, १५ देखि २५ प्रतिशत कार्बोहाइड्रेट र १ प्रतिशत अमिलो पाइन्छ । त्यस्तै भिटामिन ए, बी र सी, खनिज पदार्थ, पेक्टिन, इन्जाइम आदि प्रशस्त मात्रामा पाइन्छ ।
यसको उत्पत्ति मध्य–एशियामा भएको हो भन्ने वैज्ञानिकहरुको भनाइ छ । नेपालमा २०४४/४५ मा केन्द्रीय वागवानी केन्द्र कीर्तिपुरमा जापानी सहयोगमा जापानीज अङ्गुर जात अनुसन्धानका लागि रोपियो । पछि कुन जात कुन हावापानीमा हुन्छ भन्ने सम्बन्धमा उक्त केन्द्रबाट सिफारिस गरिएको जात मात्र जिल्ला–जिल्लामा वितरण भएपछि आजभोलि यसको खेती बढ्दै गइरहेको पाइन्छ ।

हावापानी तथा समय
अङ्गुर खेती जातअनुसार विभिन्न क्षेत्रमा गर्न सकिन्छ । तर यसले तुसारो र सुख्खा सहन सक्दैन । यसको खेतीका लागि लामो समयसम्म गर्मी हुने स्थान राम्रो हुन्छ । २० देखि ४० डि.से. तापक्रमसम्म यसको खेती गर्न सकिन्छ । समुन्द्र सतहदेखि करिब १५०० मिटरसम्म यसको खेती भएको छ । अङ्गुर बढ्ने समयमा पानी पर्नु राम्रो हुन्छ । तर फूल फुल्ने समयमा वर्षा भएमा फल कम लाग्दछ । फल पाक्ने बेलामा वर्षा भयो भने फल फुट्ने समस्या हुन्छ । अङ्गुरको बिरुवा पुस–माघमा लगाईन्छ । पोलीब्यागमा उत्पादन भएको बिरुवा भने पुस–माघबाहेक अन्य समयमा पनि लगाउन सकिन्छ ।

माटो
प्रायः सबै किसिमको माटोमा अङ्गुर खेती गर्न सकिन्छ । तर चिम्ट्याइलो माटोमा राम्रो हुँदैन । पानी नजम्ने खालको दोमट माटोमा यसको खेती सफलतापूर्वक गर्न सकिन्छ । माटोको पि.एच. ५.५ देखि ६.५ सम्म हुनुपर्दछ ।

जग्गा तयारी
पारिलो र सिचाईको सुविधा भएको जग्गा छनौट गर्नुपर्दछ । जग्गा दक्षिण वा पूर्व–दक्षिण फर्केको भएमा निकै राम्रो हुन्छ । हल्का भिरालो खालको जमीन भएमा पानी जम्ने सम्भावना रहँदैन ।  सबैभन्दा पहिला सम्म जग्गामा वर्गाकार रेखाङ्कन गरेर जग्गा व्यवस्थापन गर्नुपर्दछ । जग्गा गरा–कान्ला भएको छ भने सोहीअनुसार रेखाङ्कन गर्नुपर्दछ ।

रेखाङ्कन गरेपछि अङ्गुर रोप्ने दूरीमा करिब एक मिटर गहिरो र त्यत्तिकै चौडाई भएको खाल्डो खनेर छोडिदिनु पर्दछ । ३ देखि ६ मिटरको फरकमा बिरुवा लगाउन सकिन्छ । उक्त खाल्डो २–३ हप्तासम्म खुल्लै छोडिदिनु पर्दछ । त्यसपछि आवश्यक मल माटोमा मिसाएर खाल्डो पुर्नु पर्दछ । खाल्डो पुर्दा माटो धसिएर जम्दा जमीनको सतहमा ठिक्क मिल्न आउने गरी पुर्नु पर्दछ ।

आवश्यक मल
रोप्ने बेलामा प्रतिखाल्डो ३० देखि ४० किलो राम्रोसँग पाकेको गोबर-कम्पोष्ट मल, १ किलो सिङ्गल सुपर सल्फेट, ५०० ग्राम पोटासियम र अल्ड्रिन धूलोको आवश्यकता पर्दछ ।  अन्य मलको हकमा प्रति वर्ष माघमा हाल्नको लागि प्रतिबोट गोबर-कम्पोष्ट मल २० देखि ३० किलो, नाइट्रोजन २५० ग्राम, फस्फोरस ३५० ग्राम, पोटास २५० ग्रामको आवश्यकता पर्दछ ।

बेर्ना तयारी
विभिन्न तरिकाबाट बेर्ना तयार गर्न सकिन्छ । विशेष गरेर यसको उत्पादन कटिङ्द्वारा तयार गरिन्छ । गुटी, ग्राफ्टिङ्, बडिङ्, टिस्यु कल्चर आदि तरिका प्रयोग गरेर पनि बिरुवा निकाल्न सकिन्छ । तर वर्णशंकर जात निकाल्नु परेमा भने बीऊ द्वारा बेर्ना उत्पादन गर्नुपर्ने हुन्छ । त्यस्तै, कलमी गरेर पनि बिरुवा उत्पादन गरिन्छ ।

बिरुवा लगाउने तरिका
तयार गरिराखेको खाल्डोको बीचको केही भाग माटो हटाएर जरा चारैतिर फिँजिनेगरी बिरुवा रोप्नुपर्दछ । रोपेपछि बिरुवालाई चारैतिरबाट हलुकासँग थिचिदिनु पर्दछ । बिरुवालाई सिधा बनाइराख्न टेको दिनु पर्दछ । रोपेपछि सिचाई गर्न भुल्नु हुँदैन ।

जात
ब्युटी सिडलेस– यसमा चिनीको मात्रा बढी पाइने, रसिलो, बास्नादार तथा रङ्गीन किसिमका भएको हुँदा मदिरा बनाउन उपयुक्त हुन्छ । यसको फल निकै झर्ने गर्दछ ।

डिलाइट– ताजा फल खानको लागि यो निकै उपयोगी हुन्छ । चाँडै पाक्दछ ।
पर्लेट– यो बीऊरहित वर्णशंकर जात हो । केही चाँडो पाक्दछ । फलको गुदी नरम र बास्नादार हुन्छ । झुप्पामा फल पाकिसक्दा पनि केही फल भने काँचै रहन्छन् ।
थमसन सिडलेस– ताजा फल खान उपयुक्त हुन्छ । फल पाक्दा सुनौलो पहेँलो रङ्गको हुन्छ । फल बीऊरहित, स्वादिलो हुन्छ । भण्डारण क्षमता बढी हुन्छ ।
हिमरड सिडलेस– बीऊरहित उच्च कोटीको फल लाग्दछ । उत्पादन बढी हुन्छ । रोग तथा कीरालाई सहन सक्दछ । फल पाक्दा हरियो पहेँलो रङ्गको, बोक्रा अलि कडा किसिमको छालाजस्तो हुन्छ ।
क्योहो– राम्रोसँग फल लाग्दछ । बोट पनि ठूलो हुन्छ । फलको तौल १० ग्रामसम्म हुन्छ । फल पाक्ने समयमा बढी पानी परेमा फल फुट्न सक्छ । साउनको तेस्रो हप्तासम्ममा पाकी सक्दछ ।
ओलम्पिया– यो हाइब्रिड समूहमा पर्ने जात हो । फलको साइज ठूलो हुन्छ । फलको रङ्ग आकर्षक र स्वादिष्ट हुन्छ ।
(यीभन्दा बाहेक डेलाबेर, निओमस्काट आदि जातहरु प्रचलित छन् ।)

सिचाई, गोडमेल तथा काँटछाँट 
चिस्यानको अवस्था हेरेर सिचाई गर्नुपर्दछ । लामो समयसम्म सुख्खा वा लगातार पानी परेर जम्न गएमा फल फुट्ने, झुप्पाको फल कुहिने, दाना सानो हुने आदि समस्याहरु देखिन्छन् । त्यसैले यी कुराहरु ख्याल गर्नुपर्दछ । अङ्गुरको नयाँ हाँगामा मात्रै फल लाग्ने भएकोले प्रत्येक वर्ष अङ्गुरलाई काटछाँट गर्नुपर्दछ । पहिलो वर्ष जमीनबाट माथि ५० से.मि. मूल हाँगा काटिदिनु पर्दछ । दोस्रो वर्ष आएको हाँगालाई आधा काट्नु पर्दछ । त्यसपछि आएको हाँगालाई ४–६ आँख्ला राखी प्रत्येक वर्ष काट्नुपर्दछ ।

काँटछाँट बोटको पात झरेपछि तर पालुवा नपलाउँदै पुस–माघ महिनामा गर्नुपर्दछ । काँटछाँट गरी मल हालेर विषादी स्प्रे गरिदिएमा ५०–६० वर्षसम्म पनि आम्दानी लिन सकिन्छ ।  अङ्गुरको बोट सुषुप्तावस्थामा रहेको बेलामा खनजोत गरेर सुख्खा याममा बोटको फेद वरिपरि घाँसपात वा परालको छापो दिनु उपयुक्त हुन्छ । वर्षा याममा गोडेपछि त्यसैबाट निस्कने झारलाई नै छापोको रुपमा प्रयोग गर्न सकिन्छ ।

बोटको तालिम
बोटलाई निश्चित आकार दिनको लागि फलाम, बाँस, काठ आदिको थाङग्रो दिएर लहरालाई डो¥याउनु पर्दछ । यसैलाई तालिम दिएको भनिन्छ । काँटछाँटपछि लहरालाई सहारा दिई डोरी वा तारमा फैलाई बाँध्नुपर्दछ । कुन तरिकाले बोटलाई तालिम दिने हो सोहीअनुसार गर्नुपर्दछ ।

रोग
सेतो धूले रोग– यो अङ्गुरमा बढी लाग्ने रोग हो । शुरुमा कमला डाँठ, पात, फूल तथा फलमा खरानी रङ्गको धूलो देखा पर्दछ । रोगी भाग सुक्दछ । पात तथा फल झर्दछ । बोटमा भएको फल पनि राम्रोसँग पाक्दैन र कडा हुन्छ । फलको बोक्रा फुट्दछ ।

रोकथाम
– गन्धकको धूलो बोटमा छर्ने ।
– केराथेन (०.१%) विषादी हप्ता दश दिनको फरकमा ३–४ पटक छर्ने ।
– माघ या वैशाखमा २ पटक क्यालिसिन २ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने ।
शीते ढुसी रोग– पातमा सेतो फोकाजस्तो दाग देखिन्छ । पात सुक्दछ । मुनासमेत मर्दछ ।
– बोर्डोमिक्स्चर या पोलिराम ४ ग्राम प्रतिलिटर पानीमा राखी स्पे्र गर्ने ।
– रोगग्रस्त पात तथा फल जम्मा पारी नष्ट गर्ने ।
खैरो थोप्ले रोग– पात, डाँठ तथा फलमा खैरा दाग देखिन्छन् । फल कमसल हुन्छ । वर्षा भइरहेको अवस्थामा यो रोग बढी फैलन्छ । वर्षा कम हुँदा रोगको आक्रमण पनि कम हुन्छ ।
– रोग लाग्नुभन्दा पहिला चैत्र–वैशाखमा बोर्डोमिक्स्चर छर्ने ।
– बेभिष्टिन २ ग्राम प्रतिलिटर पानीमा मिसाई छर्ने ।
– डाइथेन एम–४५ विषादी २ देखि ३ ग्राम प्रतिलिटर पानीमा मिसाई छर्ने ।
फलको टुप्पा कुहिने रोग– फलको टुप्पोतिर पानी सुकेजस्तो दागको विकास हुन्छ । यो रोग क्याल्सियमको कमीको कारण लाग्दछ । पछि फल बिग्रन्छ ।
– क्याल्सियन नाइट्रेट १ प्रतिशत छर्ने ।
(यीभन्दा बाहेक कोपिला मर्ने, पात पहेँलिने, आदि रोग लाग्न सक्दछन् । यदि कुनै रोग लागेको देखिएमा सोहीअनुसारको विषादी प्रयोग गर्नुपर्दछ ।)

कीरा
फट्के कीरा– यो सानो खालको खपटे कीरा हो । यसले नयाँ पालुवा तथा मुनामा प्वाल बनाएर क्षति पु¥याउँछ ।

रोकथाम
– मालाथायन २ मि.लि. प्रतिलिटर पानीमा मिसाई छर्ने ।
थ्रिप्स– पातको तल्लो सतहबाट रस चुसेर खान्छ । जसको कारण पात पहेँलिन्छ र झर्दछ ।
– मालाथायन २ मि.लि. प्रतिलिटर पानीमा मिसाई १० दिनको फरकमा २–३ पटकसम्म छर्ने ।
– रोगर १.५ मि.लि. वा सेभिन २.५ ग्राम प्रतिलिटर पानीमा मिसाई १० दिनको फरकमा २–३ पटक छर्ने ।
पात छिया पार्ने खपटे– यस्ता कीराले बिरुवाका पात खान्छन् । पातलाई खानुभन्दा बढी काटेर नोक्सान पु¥याउँदछन् । यसका लाभ्रेले माटोभित्रका स–साना जराहरु खाइदिन्छन् ।
– बत्तीको पासोमा आकर्षित गरेर मार्न सकिन्छ ।
– मालाथायन र बोटमा मेटोसिडको प्रयोग गर्ने ।
– कीरालाई हातले टिपेर मार्ने ।
पात बेरुवा– यी कीराले पातको हरियो भाग खान्छन् । पातभित्र बेरिएर बस्दछन् ।
– कीरा लागेको पातलाई नष्ट गरिदिने ।
– थायोडिन २ मि.लि. प्रतिलिटर पानीमा मिसाई छर्ने ।
कत्ले– बोक्रामा सुँड गाडेर रस चुस्छ । बोट कमजोर हुन्छ ।
– कीरा लागेको भागहरु हटाइदिने ।
– रोगर १.५ मि.लि. प्रतिलिटर पानीमा मिसाई छर्ने ।

फल तयार हुन लाग्ने समय
सामान्यतया, अङ्गुर रोपेको ३ वर्षपछि फल्न शुरु हुन्छ । एक पटक लगाएको अङ्गुरले २०–२५ वर्षसम्म राम्रो फल दिन्छ । फल लागेपछि पाक्ने समय यसको जात र लगाईएको ठाउँको हावापानीअनुसार ३ देखि ५ महिना लाग्दछ ।
राम्रो मौसम भएको दिन शीत ओभाएपछि बिहान ११ बजेसम्म फल टिप्न सकिन्छ । फललाई राम्रोसँग बोटमै पाक्न दिनुपर्दछ ।

उत्पादन
अङ्गुर लगाएको क्षेत्रको माटो, हावापनी, बगैँचा व्यवस्थापन, आदि सबै कुरा मिलाएमा प्रतिरोपनी ४०० देखि ६०० किलोसम्म अंगुर उत्पादन गर्न सकिन्छ ।

भण्डारण
सापेक्षिक आद्रता ८५ देखि ९० प्रतिशत र तापक्रम ० देखि २० डि.से. भएको, राम्रो हावाको सञ्चालन हुने ठाउँमा भण्डारण गरेर अङ्गुरलाई ६ देखि ८ हप्तासम्म सुरक्षित राख्न सकिन्छ ।

स्रोत : सफल फलफूल खेती
पाँचपोखरी प्रकाशन गृह