कसरी गर्ने व्यवसायिक कुखुरादेखि हाँसपालनसम्म ? यस्तो छ, कुखुरा पालनसम्बन्धी सम्पूर्ण विधि

यो समाचार 22302 पटक पढिएको

लोकल कुखुरा, गिरीराज, न्यु हेम्पशायर, अष्ट्रालोप तथा हाँस

• भरतराज गौतम

लोकल शब्द अंग्रेजीबाट आएको भएपनि यसले नेपाली भाषाको शब्दकोशमा स्थान ओगटिसकेको छ । खासगरी खानेकुराको सवालमा लोकल भन्नासाथै उपभोक्ताहरु हुरुक्कै हुने गेको पाइन्छ । लोकल जातका कृषिजन्य उपजहरु मन पराइनुमा तिनको विशिष्ट स्वाद र सुस्वास्थ्यसँग सम्बन्ध हुनु हो । जसमा विभिन्न उत्पादनहरुले भूमिका खेलेका हुन्छन् । जस्तै लोकल तरकारी, फलफूल, अन्न वा अन्य बालीनालीहरु । लोकल पशुपक्षी र माछाका जातहरु । तिनको मासु, अण्डा, दूध आदि उत्पादनहरु । कुखुराको हकमा पनि लोकल कुखुरा भन्नासाथ धेरैले पुर्खाका पालादेखि पालिँदै आएका तथा नेपालमा भित्रिएर यहाँको स्थानीय वातावरण र कमसल व्यवस्थापनमा पनि हुर्कनेगरी क्षमता विकास गरिसकेका फरक खालका कुखुरा भनेर बुझ्ने गर्दछन् ।

यो बिशेष लेखमार्फत यहाँका रैथाने जातहरु जस्तै : प्वाँख उल्टे, साकिनी र घाँटीखुइलेका बारेमा उल्लेख गरिएको छ । यसका अतिरिक्त करिब ६० बर्ष अघिदेखि भित्रिएर लोकलसरह नै यहाँको हावापानीमा भिजिसकेका न्यु हेम्पशायर तथा अष्ट्रालोपजस्ता कुखुराको बारेमा बताइएको छ । तिनका वर्णशंकरको व्यवसायिक फार्म सञ्चालन गर्ने तौरतरिकाहरुको बारेमा पनि उल्लेख गरिएको छ । गिरिराज(भारतमा विकास भई नेपालमा भित्रिएको) तथा हाँसको व्यवसायिक फार्म सञ्चालन गर्ने तरिकाको बारेमा पनि आवश्यक परियोजनासहित संक्षेपमा उल्लेख गर्ने प्रयास गरिएको छ । अत : पुस्तक अध्ययनका क्रममा प्रसंगअनुसार लोकल तथा ग्रामीण कुखुराहरु भन्नाले विशुद्ध लोकल कुखुराका अतिरिक्त उल्लेखित अन्य कुखुरालाई समेत जनाउन खोजिएको छ भनेर बुझियो भने यो विशेष लेख सहज हुनेछ ।

नेपालका रैथाने र अन्य ग्रामीण जातका कुखुराहरुः

) साकिनी

) घाँटीखुइले

) प्वाँखउल्टे (दुम्सीजस्तो)

) लुइँचे (जङ्गली कुखुरा)

माथिका कुखुरामध्ये सबैजसोको उत्पादन तथ्याङ्क उपलब्ध भए पनि लुइँचेको भने त्यत्ति अध्ययन गरिएको पाइँदैन । औसत उत्पादनको कुरा गर्नुपर्दा साकिनी, प्वाँखउल्टे र घाँटीखुइले कुखुराहरुले वार्षिक ६० देखि ७० ओटाको हाराहारीमा अण्डा उत्पादन गर्ने गर्दछन् । यी सबै जातिमा ओथारो बस्ने र चल्ला कोरल्ने स्वभाव रहेको हुन्छ ।

यिनीहरुमध्ये पनि साकिनी र घाँटीखुइलेको तुलनामा प्वाँखउल्टे अझै सानो हुन्छ । सङ्ख्यात्मक हिसाबले यीमध्ये साकिनी कुखुरा सबैभन्दा बढी सङ्ख्यामा देशैभरि पाइने कुखुराको जात हो । साकिनी कुखुराले पाँच–छ महिनापछि वयस्क भएर अण्डा दिन सुरू गर्दछ । अवस्था हेरी सामान्यतया एक वर्षमा तीनदेखि चार पटक चल्ला काढ्ने गर्दछ । वयस्क अवस्थामा यसको भालेको तौल दुईदेखि साढे दुई किलोसम्म हुने गर्दछ भने पोथीको तौल साढे एक किलो हुन्छ । छाडा छाडेर पाल्दा आठ हप्ताको उमेरसम्म पनि यसको तौल औसतमा आधा किलोमात्रै हुन्छ । प्वाँखउल्टेको भने वयस्क अवस्थामा पनि भालेको तौल नै दुई किलोभन्दा बढी हुँदैन ।

सबै स्थानीय जातका कुखुराको रोगसँग लड्ने क्षमता अत्याधिक हुन्छ । यिनलाई छाडा छाडेर पाल्न सकिन्छ । त्यसैले मासु तथा अण्डा दुवैको लागि पाल्न सकिन्छ । यीमध्ये घाँटीखुइले र साकिनी सबैतिर पाइने भए पनि घाँटीखुइलेको सङ्ख्या पनि क्रमशः घट्दै गइरहेको छ । प्वाँखउल्टे कुखुरा तराईका कतिपय जिल्लामा बढी मात्रामा पाइन्छ । यसको सङ्ख्या अझै उच्चदरमा घटिरहेको छ । शारीरिक रङ्ग र आकार–प्रकारमा भिन्नता भए पनि प्वाँखउल्टे र घाँटीखुइलेजस्तै कुखुराहरु अन्य देशमा पनि पाइन्छन् । सामान्यतः ती कुखुराको तौल हाम्रो देशका कुखुराको भन्दा केही बढी नै हुने गरेको छ ।

मासु उत्पादनमात्र नभई स्थानीय कुखुराहरुको अण्डाको आकार र तौल पनि अन्यको तुलनामा केही सानो हुने गर्दछ । जस्तै– साकिनी, घाँटीखुइले र प्वाँखउल्टेको अण्डाको साइज ४० देखि ४५ ग्राममात्रै हुन्छ । जबकि अन्य लेयर्स कुखुराको अण्डाको तौल ५० देखि ६० ग्राम हुने गर्दछ । यद्यपि लोकल कुखुराहरुको अण्डा स्वादिलो हुने गर्दछ । यदि यी कुखुराले ओथारो बस्दा लिएका सबै अण्डा भाले लागेका र राम्रो गुणस्तरका रहेछन् भने तिनबाट ८० देखि ८५ प्रतिशतसम्मको दरले चल्ला कोरलिने (ह्याचाविलिटी) गर्दछन् ।

लोकल कुखुराहरु २५ हप्तापछिमात्रै वयस्क हुने गर्दछन् । एक पटकमा (क्लच साइज) १५–२० ओटा अण्डा पारेपछि ओथारो बस्ने र चल्ला हुर्काउने अनि फेरि दुई–तीन महिनापछि पुनः अण्डा पार्ने र ओथारो बस्ने क्रम हुने भएकाले नै यी कुखुराको औसत अण्डा उत्पादन ६०–७० ओटाभन्दा हुँदैन भनिएको हो । यद्यपि ‘नेपाल कृषि अनुसन्धान परिषद’मा जारी एक अनुसन्धानका क्रममा सघन प्रणालीमा पालिएका साकिनी कुखुराले वार्षिक एक सय वटाभन्दा बढी अण्डा उत्पादन गरिरहेको कुरा संलग्न वैज्ञानिकहरुले अनौपचारिक कुराकानीका क्रममा बताएका छन् । यसको अर्थ हुन्छ– यदि छनौट, उचित पोषण र अन्य व्यवस्थापन मिलाउन सकिएको खण्डमा पक्कै पनि यी कुखुराको औसत उत्पादकत्वमा वृद्धि ल्याउन सकिन्छ । राम्ररी ओथारो व्यवस्थापन मिलाइएको स्थानीय साकिनी जातका कुखुराले १६–१७ गोटा चल्ला काढेर हुर्काएको पनि हाम्रै गाउँघरमा देख्न सकिन्छ ।

हाम्रो देशमा उल्लेखित स्थानीय कुखुराहरुमा एक–आपसमा जथाभावी प्रजनन भइरहेकाले यिनीहरु विशुद्ध अवस्थामा छन् भन्ने कुराको यकिन भने गर्न सकिँदैन । उदाहरणको लागि, कहिलेकाँही ओथारो बसेको साकिनी कुखुरीले चल्ला काढ्दा त्यसमा फाट्टफुट्ट घाँटीखुइले जातका चल्ला पनि देखिएका छन् । यस्तै अवस्था घाँटीखुइले कुखुराको चल्लाको बथानमा पनि देख्न सकिन्छ । यसो हुनुको कारण भनेको या त ती पोथीमै चरनमा जाने क्रममा घाँटीखुइले या साकिनी जातको भाले लागेको थियो या तिनीहरुको माउ वा बाउको कुनै पुस्तामा ती जातको अंश रहेको थियो, जुन पछिल्ला पुस्तामा आएर प्रकट भयो । सामान्यतः एक–अर्कामा प्रजनन भएका स्थानीय कुखुरामा प्रजननसम्बन्धी समस्या नदेखिएको पाइएता पनि सकभर यी जातलाई विशुद्धरुपमै पाल्नु फाइदा हुन्छ । यी तीन जातलाई एक–आपसमा प्रजनन गराउँदा उत्पादन र उत्पादकत्वमा कुनै तात्विक अन्तर आएको पाइदैँन । यससम्बन्धी अध्ययन अनुसन्धानहरुको अभाव हुनुले पनि यिनीहरुको एक–आपसमा हुने प्रजननको सम्बन्धमा किटेर केही भन्न सकिने अवस्था छैन ।

अन्य ग्रामीण कुखुरा तथा तिनका साझा विशेषताहरुः

यस पुस्तकमा अन्य ग्रामीण कुखुरा भन्नाले लेयर्स र ब्रोइलरजस्ता विभिन्न स्टेजका क्रसिङ्बाट तयार नभइ आ–आफ्ना देशका स्थानीय र छनौट प्रक्रियाबाट आएका तथा नेपालमा भित्रिएका शुद्ध जातहरु जस्तै– न्यु हेम्पशायर, रोड आइल्याण्ड रेड, अष्ट्रालोप, अरपिङ्ग्टन, मिनोर्का, ह्वाइट कर्निस आदिलाई सम्झनुपर्दछ । उत्पादकत्वको हिसाबले यी जात ब्रोइलर र लेयर्सको तुलनामा कमजोर भएता पनि यिनको स्वाद मीठो हुन्छ । यिनमा रोगसँग लड्न सक्ने र कमजोर व्यवस्थापनमा पनि हुर्कन सक्ने क्षमता हुन्छ । उत्पादन दिन सक्ने क्षमता, चरन क्षमता, उत्पादन लागत तथा भौगोलिकता र व्यवस्थापन सहजताको हिसाबले पनि यी जात निकै प्रतिस्पर्धी रहेका छन् ।

यसैकारण ग्रामीण कुखुराकै रुपमा यिनलाई पाल्न सकिन्छ । अर्थात्, यी कुखुरालाई पनि अर्धसघन या सघनरुपमा पाल्न सकिन्छ । यी सबै जातका कुखुराको मासु तथा अण्डाको मूल्य र माग अत्याधिक रहेको छ । यसको बजार पनि निकै सुरक्षित छ । उल्लेखित सबै जातको उत्पादकत्व हाम्रा स्थानीय साकिनी, प्वाँखउल्टे र घाँटीखुइले जातहरुको भन्दा उल्लेख्यरुपमा बढी छ ।

उल्लेखित कुखुराहरुमध्ये न्यु हेम्पशायर तथा अष्ट्रालोप जातका कुखुराको सङ्ख्या अन्य कुखुराहरुको तुलनामा नेपालमा उल्लेख्य रहेको छ । त्यसैले यी कुखुरालाई पनि नश्लसुधार नगरी वा हाम्रा लोकल जातका कुखुरासंँग क्रस गराई व्यवसायिकरुपले पाल्न सकिने कुरा नेपालकै कतिपय भूभागहरुमा व्यवहारिकरुपमै प्रमाणित भैसकेको छ ।

यहाँनिर उल्लेखनीय कुरा भनेको न्यु हेम्पशायर तथा अष्ट्रालोप जातका शुद्ध कुखुरामा चल्ला कोरल्ने स्वभाव कम भएता पनि स्थानीय जातका कुखुरामा क्रस गराएपछि जन्मेका क्रस पोथीले भने चल्ला कोरल्ने गरेका छन् । हुन त ‘पशु विकास फार्म’ र पोखराको ‘न्यु हेम्पशायर तथा अष्ट्रोलोप कुखुरा फार्म’मा बीसौं वर्षसम्म काम गरिसकेका कर्मचारीको अनुभवमा यी दुवैथरी कुखुरामा पनि करिब दस प्रतिशत कुखुराले ओथारो बस्ने प्रवृत्ति देखाउने र अण्डा पारेपछि त्यसैमाथि ओथारो बस्ने गरेको देखिएको छ ।

आमरुपमा भने शुद्ध नश्लका यी कुखुरालाई ओथारो नबस्ने कुखुरा भनेर नै चिनिन्छ । अन्यथा ओथारो बस्ने प्रवृत्ति भएको कुखुराले एक वर्षमा औसतमा एक सय ८० देखि एक सय ९० वटा अण्डा उत्पादन गर्न सम्भव पनि हुँदैन । नेपालमा खासगरी ‘लुम्ले कृषि अनुसन्धान केन्द्र’ले साकिनी जातका कुखुरामा न्यु हेम्पशायर जातका भाले लगाई नश्लसुधारको कार्यक्रम अगाडि बढाएको थियो । हालको सरकारी प्रयास भने स्थानीय जातहरुको संरक्षणमै केन्द्रित रहँदै आएको देखिन्छ ।

नेपालको सन्दर्भमा ग्रामीण कुखुरा विकासका लागि उपयुक्त जातहरुः

हाम्रो देशमा सबैभन्दा पहिले भित्रिएका शुद्ध जातका विदेशी कुखुरामध्ये ब्ल्याक मिनोर्का (अण्डा दिने), रोड आइल्याण्ड रेड (मासु तथा अण्डा दुवैको लागि पालिने) तथा ह्वाइट लेगहर्न (अण्डाको लागि विश्व प्रसिद्ध जात) नामक जातहरु हुन् । विक्रम सम्वत् २०१४ सालमा यी कुखुरा नेपाल भित्रिएका थिए । यद्यपि यी जात अझै पनि आम कृषकसमक्ष विस्तार हुन सकेका छैनन् । सरकारी फार्म र अनुसन्धानमै सिमित छन् । त्यसपछि विक्रम सम्वत् २०१७ सालमा बाराको परवानीपुरमा अमेरिकी सरकारको सहयोगमा ‘सेन्ट्रल ह्याचरी’ स्थापना गरियो । यसमा १७ सय थान न्यु हेम्पशायर जातका अण्डा तथा मासु दुवैको लागि पालिने अमेरिकी कुखुरा भिœयाइएको थियो । यस ह्याचरीबाट उत्पादन भएका कुखुरा काठमाडौं उपत्यकामा बिक्री वितरणका लागि पठाउन सुरू गरियो ।

विक्रम सम्वत २०२७ देखि २०३७ सालको बीचमा पोखरा र नेपालगञ्जमा पनि सरकारी तवरमा फार्म र ह्याचरीहरु सञ्चालन गरियो र न्यु हेम्पशायर तथा मासु तथा अण्डाकै उद्देश्यले पालिने अष्ट्रालोप जातका कुखुराको स्टक राखी अण्डा तथा एकदिने चल्लाहरु वितरण गरियो । यसरी वितरित कुखुराहरुको भालेद्वारा नेपालका ग्रामीण भेगमा पालिने लोकल पोथी कुखुराहरुमा क्रस गराई जन्मेका वणशङ्कर कुखुराहरु कालान्तरमा छ्यासमिस हुन पुगे । हाल हामीले लोकल भनेर चिनिने थुप्रै कुखुरामा केही न केही मात्रामा यी कुखुराको वंशाणु रहेको हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।

खासगरी न्यु हेम्पशायर र ब्ल्याक अष्ट्रालोप जातका कुखुरा नेपाल भित्रिएको ५०–६० वर्ष भैसकेकाले यी कुखुरा नेपालको हावापानीमा राम्ररी भिजिसकेका छन् । हाल पोखरा तथा बाँकेको खजुराका सरकारी फार्मलगायत खुमलटारको नार्कअन्तर्गतका फार्मबाट यी कुखुराको एकदिने चल्ला तथा भाले लागेको अण्डा उत्पादन गरी सहुलियत दरमा कृषकलाई वितरण गर्ने गरिन्छ । यसका लागि चल्लाको वर्तमान मूल्य ४० रुपैयाँ प्रतिगोटा तथा अण्डाको मूल्य दस रुपैयाँ प्रतिगोटा तोकिएको छ ।

) न्यु हेम्पशायर (रातो कुखुरा)

तल तस्बिरमा देखाइएको जस्तै यो कुखुरा रातो रङ्गको हुन्छ । रङ्गकै कारण पनि खासगरी यसको भाले स्थानीय साकिनीको जस्तै देखिने भएकाले कृषकमाझ यो अत्याधिक लोकप्रिय रहेको छ । रातो रङ्गकै भएको कारणले यसको पोथीलाई भने कमर्सियल लेयर्स भनेर उपभोक्ताहरु झुक्किने गरेका छन् । यो कुखुरा अमेरिकी सरकारले धेरै वर्ष अगाडि रोड आइल्याण्ड रेडबाट छनौट गरी विकास गरेको हो । यस क्रममा कुनै पनि प्रकारको वर्णशङ्कर उत्पादन नभएकाले यो विशुद्ध जात हो । यसका अन्य विशेषताहरु देहायबमोजिम छन्ः

विशेषताहरुः

  • २०–२५ वर्ष अगाडिसम्म सरकारी फार्महरुमा वयस्क भालेको औसत तौल तीनदेखि साढे तीन किलो तथा वयस्क पोथीको तौल औसतमा साढे दुई किलोसम्म हुने गरेको थियो । हाल आएर अत्याधिक नातेदार प्रजनन वा अन्य कारणले भालेको औसत तौल करिब साढे दुई किलो तथा पोथीको तौल दुई किलोमा सिमित भएको छ ।
  • सरकारी फार्महरुको अण्डा उत्पादन रेकर्ड हेर्दा दुई सयदेखि दुई सय २० प्रतिपोथी प्रतिवर्ष उत्पादन हुने गरेको छ । हाल आएर अण्डा उत्पादनमा पनि केही कमी आएको छ ।
  • यो कुखुरा उच्चपहाडदेखि तराईक्षेत्रसम्म पाल्न उपयुक्त हुन्छ । स्थानीय जातका कुखुरासँग क्रस गराई ग्रामीण क्षेत्रमा खुलारुपमा अण्डा तथा मासु दुवै उद्देश्यको लागि पाल्न सकिन्छ ।
  • यसको मासुको स्वाद तथा बजार निकै आकर्षक रहेको छ ।
  • व्यवसायिक लेयर्स, ब्रोइलर्स तथा गिरीराज कुखुराभन्दा यसको रोग प्रतिरोधात्मक क्षमता बढी रहेको छ ।
  • शुद्ध कुखुरामा लगभग दस प्रतिशत तथा स्थानीय जातसँग क्रस भएका वर्णशङ्कर कुखुरामा लगभग शतप्रतिशत (कृषकका अनुसार) ओथारो बस्ने प्रवृत्ति देखिएको छ । यद्यपि वर्णशङ्कर कुखुराको ओथारो बस्ने प्रवृत्तिमाथि पर्याप्त अनुसन्धान हुनु जरुरी छ ।
  • यसलाई स्थानीय जातसँग क्रस नगराइकन पनि अर्धसघन एवम् सघनरुपमा पालन गर्न सकिन्छ ।
  • गिरीराज कुखुरालाई जस्तो यसलाई गम्बोरो रोगले सताउँदैन । यसको मासु पनि गिरीराजभन्दा कम बोसो भएको र स्वादिलो हुन्छ ।

) ब्ल्याक अष्ट्रालोप (कालो)

तल तस्बिरमा देखाइएको जस्तै यो कुखुरा निक्खर चम्किलो कालो रङ्गको हुन्छ । यो पनि कृषकमाझ अत्याधिक लोकप्रिय रहेको छ । यो कुखुरा भने अष्ट्रेलियन सरकारले ब्ल्याक अरपिङ्गटन जातको कुखुराबाट छनौट गरी विकास गरेको हो । अहिलेसम्म कुनै प्रकारको वर्णशङ्कर उत्पादन नभएकाले यो पनि शुद्ध जात हो । यसका भाले तथा पोथी कालो रङ्गको हुने भएकाले उपभोक्ताहरु यिनलाई लेयर्स वा गिरीराज कुखुरा भनेर झुक्किँदैनन् । यसका अन्य विशेषताहरु देहायबमोजिम छन्ः

विशेषताहरुः

  • २०–२५ वर्ष अगाडिसम्म सरकारी फार्महरुमा वयस्क भालेको तौल साढे तीनदेखि चार किलो तथा वयस्क पोथीको तौल औसतमा २.८ किलोसम्म हुने गरेको थियो । हाल आएर अत्याधिक नातेदार प्रजनन वा अन्य कारणले यसको पनि भालेको औसत तौल करिब २.७ तथा पोथीको औसत तौल २.१ किलोमा सिमित भएको छ ।
  • सरकारी फार्महरुको अण्डा उत्पादन रेकर्ड हेर्दा एक सय ८० देखि एक सय ९० प्रतिपोथी प्रतिवर्ष हुने गरेको छ । हाल आएर अण्डा उत्पादनमा पनि केही कमी आएको छ ।
  • यो कुखुरा उच्चपहाडदेखि तराईक्षेत्रसम्म पाल्न उपयुक्त हुन्छ ।
  • स्थानीय जातका कुखुरासँग क्रस गराई ग्रामीण क्षेत्रमा खुलारुपमा अण्डा तथा मासु दुवै उद्देश्यको लागि पाल्न सकिन्छ ।
  • यसको मासुको स्वाद तथा बजार निकै आकर्षक रहेको छ ।
  • व्यावसायिक लेयर्स र ब्रोइलर्स जातहरु तथा गिरीराज कुखुराभन्दा यसको रोग प्रतिरोधात्मक क्षमता बढी रहेको छ ।
  • शुद्ध कुखुरामा लगभग दस प्रतिशत तथा स्थानीय जातसँग क्रस भएका वर्णशङ्कर कुखुरामा लगभग शतप्रतिशत (कृषकका अनुसार) नै ओथारो बस्ने प्रवृत्ति देखिएको छ । यद्यपि वर्णशङ्कर कुखुराको ओथारो बस्ने प्रवृत्तिमाथि पर्याप्त अनुसन्धान हुनु जरुरी छ ।
  • स्थानीय जातसँग क्रस नगराइकन पनि अर्धसघन एवम् सघनरुपमा पालन गर्न सकिन्छ ।
  • यसलाई गिरीराज कुखुरालाई जस्तो गम्बोरो रोगले सताउँदैन । यसको मासु पनि गिरीराजभन्दा कम बोसो भएको र स्वादिलो हुन्छ ।

) गिरिराजा (गिरीराज) :

भारत तथा नेपालमा लोकप्रिय हुँदै गएको यो कुखुरालाई भारतको बैङ्गलोरमा विकास गरिएको हो । जन्मँदै ४० देखि ४५ ग्राम औसत तौलको हुने यो बहुरङ्गी कुखुरा औसत व्यवस्थापनमा पनि आठ हप्ताको उमेरमै करिब साढे एक किलोजति हुने गर्दछ । कृषकको फार्ममा यो कुखुराको आठ हप्ताको तौल करिब एक र १२ हप्ताको साढे एक किलो सहजै हुन्छ । एक वर्षमा कृषककै व्यवस्थापनमा पनि भालेको तौल साढे तीनदेखि साढे चार किलोसम्म हुने गर्दछ भने पोथीको तौल पनि साढे तीनदेखि चार किलोसम्म हुने गर्दछ ।

अन्य स्थानीय कुखुराहरुको तुलनामा छिटोछिटो बढ्न सक्ने यस कुखुराले २४ हप्ताको उमेरदेखि अण्डा दिन सुरू गर्दछ । यसले वार्षिक एक सय ५० देखि एक सय ८० ओटा खैरो रङ्गको र औसत तौल ५५ ग्राम भएको अण्डा दिन्छ । यसलाई अण्डा र मासु दुवैको लागि पाल्ने गरिए पनि मुख्य उद्देश्य मासु उत्पादन नै रहेको छ । खासगरी यसलाई छाडा र अर्धछाडा छाडी पाल्ने गरिएको छ । कतैकतै सघनरुपमा पूरै थुनेर पनि पाल्ने गरिन्छ । यो अरुभन्दा रोगविरुद्ध लड्न सक्ने तथा गाँउघरमा पाइने घाँस, सागपात र अन्य खेर गएको दाना खाएर पनि अण्डा र मासु राम्ररी दिन सक्नेखाले कुखुरा हो ।

यो कुखुराको रोग प्रतिरोधात्मक क्षमता निकै राम्रो हुन्छ । स्थानीय हावापानीमा समेत राम्रोसँग फस्टाउन सक्ने भएकाले ग्रामीण कुखुरापालनमा यो निकै नै लोकप्रिय हुँदै गइरहेको छ । यसको रानीखेतविरुद्ध लड्ने क्षमता भने त्यति धेरै नरहेको पाइएको छ । यसलाई न्यु हेम्पशायर वा अष्ट्रालोपको तुलनामा गम्बोरो रोगले पनि बढी सताउन सक्ने सम्भावना रहन्छ । यसका अतिरिक्त मासुमा बोसोको मात्रा बढी हुने भएकाले उपभोक्ताले यसको मासुलाई लोकल, न्यु हेम्पशायर र अष्ट्रालोप कुखुराको जस्तो स्वादिलो नमान्न सक्छन् ।

यो कुखुरालाई अण्डा दिइसकेपछि पनि मासुका लागि बिक्री गर्न सकिन्छ । यो प्रायः खैरो, खरानी र छिर्केमिर्के रङ्गको हुन्छ । यसमा ओथारो बस्ने स्वभाव भने हुँदैन । कृषकले पटकैपिच्छे चल्ला किनेर हुर्काउनुपर्ने हुन्छ । हाल चितवन, काठमाडौं तथा पोखराका केही ह्याचरीले अन्य जातका कुखुराका साथै यसका चल्लाको पनि उत्पादन एवम् बिक्री वितरण गर्दै आइरहेका छन् ।

) क्रोइलर या कुरोइलर (हाइब्रिड) :

यो कुखुरा पनि गिरीराजजस्तै हो । भारत सरकारले आफ्ना विभिन्न राज्यमा गरिबी निवारण तथा आयआर्जनको स्रोतको रुपमा छाडा छाडेर पनि पाल्न सकिने कुखुराका चल्ला वितरण गर्ने योजनाअनुरुप सन् १९९१ तिर विकास गरेर क्रोइलर कुखुराहरु वितरण गरेको थियो । यो कुनै विशुद्ध जात नभई लेगहर्न, रोड आइल्याण्ड रेड तथा ब्रोइलरकै माउ चल्लाहरुबाट क्रस गरी तयार गरिएको हो । छिर्केमिर्के रङ्गको यो कुखुरालाई छाडा छाडेर पनि पाल्न सकिन्छ । यो कमसल आहार वा व्यवस्थापनमा पनि हुर्काउन सहज हुने र वार्षिक एक सय ५० ओटाजति अण्डा दिने स्वभावको हुन्छ ।

ब्रोइलरभन्दा ढिलो र स्थानीय कुखुराभन्दा छिटो बढ्ने खालको हुन्छ । नेपालमा पनि यदाकदा यसको चल्ला भिœयाएर पाल्ने गरिएको पाइन्छ । यसको भालेको तौल साढे तीन किलो र पोथीको तौल साढे दुई किलोजति हुन्छ । भारतको विभिन्न राज्यका गरिब समुदायहरुमा यो निकै लोकप्रिय रहेको छ । यसलाई तुलनात्मकरुपमा निकै कम रोग लाग्ने पाइएको छ । छाडा छाडेर पाल्दा पनि तीन महिनामै यो दुई किलोभन्दा बढी तौलको भएर बिक्रीयोग्य हुन्छ ।

) ब्यान्टम Bantom) :

यदि कुनै पनि जातका कुखुरामा म्युटेसन वा वंशाणुगत परिवर्तन भई जति दाना खाएपनि कम बढ्ने भयो र सानो जातको कुखुरा जन्मियो भने तिनैलाई एक–आपसमा प्रजनन गराई त्यस्तै खालका साना कुखुरा उत्पादन गर्ने गरिन्छ । यी कुखुराको गुण वंशाणुगतरुपमा सर्ने भएकाले नै यिनलाई अलग जातजस्तै गरी हुर्काउन र पाल्न सम्भव भएको हो । वास्तवमा साना जातका कुखुरा नै ब्यान्टम कुखुरा हुन् । यिनको तौल जुन कुखुराबाट यी विकास भएका हुन् तिनको दाँजोमा २५ प्रतिशतजतिमात्रै हुन्छ । यस्ता कुखुरा पेट वर्ड वा सोखको लागि पालिने कुखुराहरुमा पनि पर्दछन् । हामीसँगै भएका सामान्य बथानहरुमा पनि कुनै–कुनै कुखुराहरु यसप्रकारका हुने गर्दछन् । तिनैलाई लगातार छनौट गर्दै स–साना र एकनासका कुखुराको बथान सिर्जना गर्न सकिन्छ । यसप्रकारका साना कुखुरा हाम्रो बथानमा एक–दुईमात्रै हुने भएकाले असाध्यै दुर्लभ हुन्छन् ।

स्थानीय तथा ग्रामीण कुखुराका जातहरुः

नेपालको सन्दर्भमा लोकल तथा ग्रामीण कुखुरापालन गर्ने विधिहरुः

) छाडा छाडेर पाल्ने विधिः
हाम्रो गाउँघरमा सदियौंदेखि छाडा छाडेर कुखुरा पाल्ने चलन रहिआएको छ । बारबन्देज नगरी यस विधिबाट कुखुरा पाल्दा निर्वाहमुखी वा आफ्नो घरको उपभोगको लागि उपयुक्त भए पनि व्यावसायिक हुन निकै कठिन पर्दछ । यस विधिबाट धेरै कुखुरा पाल्न सकिँदैन । अतः यस विधिलाई कुनै पनि प्रकारको व्यावसायिक कुखुरापालनका लागि सिफारिस गर्न सकिँदैन । बारबन्देज नगरी पाल्दा कुखुरा न्याउरीमुसा, स्याल, बाज, चिल, कुकुर र बिरालोजस्ता प्राकृतिक शत्रुहरुको शिकार भई मृत्युदर बढी हुने हुन्छ । चरनमा जाँदा कुखुराको इनर्जि खर्च हुन्छ ।

माउलाई चल्ला हुर्काउन कठिन हुन्छ । अर्काको सम्पत्तिमा गई चर्ने, नोक्सान गर्ने र फोहोर गरिदिने समस्या हुन्छ । रानीखेत रोगको जोखिम पनि केही बढी हुन्छ । त्यस्तै विविध प्रकारका अन्य रोगको शिकार हुने सम्भावना हुन्छ । सुलीलाई सङ्कलन गरी मलको रुपमा बिक्री गर्न वा चरनमा उपयोग गर्न नसकिने हुन्छ । शारीरिक वृद्धिदर तथा अण्डा उत्पादन निकै कम हुने हुन्छ । अण्डा सङ्कलन गर्न पनि निकै कठिन हुन्छ । अण्डा हिनामिना हुने एवम् कुखुरा चोरी हुने वा धेरै टाढा गई हराउनेजस्ता विविध समस्यासमेत हुने गर्दछन् ।

आजभोलि घरको छत–छतमा (रेलिङ्ग भएको छत) कुखुरा पाल्ने प्रवृत्ति पनि देखिएको छ । यसरी छतमा पाल्दा कुखुरा भाग्न वा अर्काको घरमा जान नपाएपनि त्यहाँ कुखुराले नगण्य मात्रामा मात्रै आहार पाउन सक्दछ । छतको चरनबाट प्राप्त गर्ने आहारको योगदान मासु तथा अण्डा उत्पादनमा शून्यको बराबर हुन्छ । यसकारण छतमा पाल्ने हो भने व्यावसायिकस्तरमा नभई घरेलु उपभोगका लागि सानो खोर राखेर थुनेर पाल्नुपर्दछ । ताकि यसले बाहिर फोहोर गर्न नपाओस् ।

कुनै पनि तरिकाले खुला छाडेर कुखुरापालन गर्दा सन्तुलित दानाको पूरै मात्रा विरलैै दिइन्छ । यसरी पाल्दा माथि उल्लेखित कारणले गर्दा हुने नोक्सानी बढी हुन्छ । सिमित सङ्ख्यामा पालिने कुखुराले व्यावसायिकरुपमा कुखुरा उत्पादन गर्न असम्भवप्रायः नै हुने गर्दछ ।

) अर्धसघन प्रणालीमा पाल्ने विधिः
यस विधिअन्तर्गत कुखुरा पाल्दा अनिवार्यरुपमा बारबन्देजको व्यवस्था गर्नुपर्दछ । यसरी पाल्ने हो भने छाडा छाडेर पाल्दा हुने नोक्सानीहरुबाट धेरै हदसम्म बच्न सकिन्छ । यस विधिमा कुखुरालाई केही मात्रामा दाना दिइन्छ । केही मात्रामा उन्नत र पौष्टिक घाँसमा चराउने वा त्यसलाई मसिनोगरी काटेर दिने गरिन्छ । किचन वेष्ट तथा उभ्रेको खानाहरु पनि खुवाउने गरिन्छ । यसबाट लागत निकै हदसम्म कम गर्न सकिन्छ ।

विदेशतिर यस प्रणालीअन्तर्गत कुखुरा पाल्दा फोल्डिङ्ग युनिट (सार्न मिल्ने स–साना खोरहरु) बनाउने, पुराना गाडीका टायर आदि प्रयोग गरी गुड्ने खालको खोर (चिकेन ट्रयाक्टर) बनाउने र घुम्ती प्रणालीअनुसार चरनमा चराउने गरिन्छ । थोरैमात्र दाना खपत हुने र चरन तथा घाँसको उपयोग बढी गरिने भएकाले यो विधिबाट उत्पादित कुखुराको मासु तथा अण्डाको उत्पादन लागत कम हुने गर्दछ । यसरी कुखुरापालन गर्दा अर्गानिक मासु तथा अण्डा उत्पादन गर्न सबैभन्दा सहज हुन्छ । त्यसैले यस विधिअन्तर्गत व्यावसायिकरुपमा कुखुरा पाल्ने हो भने निम्नलिखित कुराहरुमा ध्यान दिनुपर्दछः

  • जमिनको अवस्थिति र आवश्यकताअनुसार डिपिसी गरी वा नगरिकन जाली लगाएर स्याल, न्याउरीमुसा आदि नछिर्नेगरी बारबन्देज गरिएको स्थान हुनुपर्दछ ।
  • बारबन्देज गरिएको स्थानमा यसै पुस्तकमा उल्लेख भएबमोजिम विविध खालका क्लोभर तथा अन्य पोषिला र नरम घाँस लगाई चरनको व्यवस्था गरिएको हुनुपर्दछ ।
  • चरनभित्रै राति र खराब मौसममा बस्ने खोरको व्यवस्था भएको हुनुपर्दछ ।
  • खोरभित्र तथा सम्भव भएसम्म बाहिरसमेत दानापानीको लागि फिडर तथा वाटररहरुको व्यवस्था भएको हुनुपर्दछ ।
  • खोरभित्र र बाहिर जमिनभन्दा केही माथिको उचाईमा काठ वा बाँसका स–साना भाटा वा लौरा तेर्साई (रुस्ट) कुखुरा बस्ने व्यवस्था गरिएको हुनुपर्दछ ।
  • चरनलाई कुखुराको सङ्ख्याअनुसार विभिन्न भागमा विभाजित गरिएको एवम् घुम्ती चरन प्रणालीअन्तर्गत केही दिन एउटा चरनमा चराई त्यसपछि अर्को भागमा चराउन सकिने व्यवस्था भएको हुनुपर्दछ ।
  • दाना, घाँस तथा स्वच्छ पिउने पानीको उचित व्यवस्था भएको हुनुपर्दछ ।
  • खोप, उपचार, औषधि, जैविक सुरक्षा आदिको व्यवस्था भएको हुनुपर्दछ ।
  • खोरभित्र उपयुक्त सोत्तरको व्यवस्था भएको हुनुपर्दछ ।
    खासगरी खोरभित्र र बाहिरको चरनमा कुखुरा तथा अन्य पक्षीहरुको लागि देहायबमोजिमको क्षेत्रफल छुट्याइदिनु आवश्यक हुन्छ ।
क्र..      पक्षीको प्रकार  कुखुराको उमेर खोरभित्रको क्षेत्रफल खोरबाहिरको तारजाली लगाएको चरनको क्षेत्रफल        कैफियत
लोकल तथा ग्रामीण कुखुराहरु छ हप्ताभन्दा माथि दुईदेखि साढे दुई वर्गफिट कम्तीमा दस वर्गफिट एक वर्गमिटरमा लगभग दस वर्गफिट हुन्छ ।
हाँस चार हप्ताभन्दा माथि तीन वर्गफिट (प्रतिवर्गमिटर एउटा कुखुरामात्र)
टर्की वयस्क छ वर्गफिट कम्तीमा दस वर्गफिट

) सघन प्रणालीमा पाल्ने विधिः
सघन प्रणालीमा लोकल कुखुराको व्यावसायिक पालन गर्दा ब्रोइलर तथा लेयर्स कुखुराको जस्तै पूर्णरुपमा व्यवस्थित खोर बनाइन्छ । खोरभित्रै दानापानीको व्यवस्था गरिन्छ । सघन प्रणालीमै पालिएपनि ग्रामीण कुखुरापालन गर्दा चाफकटरले काटेर मसिनो बनाइएको पौष्टिक र नरम खालको कोसेप्रजातिका घाँस तथा दानाको अनुपात मिलाएर दिन सकेमा मासु तथा अण्डाको उत्पादन लागत उल्लेख्यरुपमा कम गर्न सकिन्छ । तर मसिनो पात भएका इपिलइपिलजस्ता घाँसलाई भने चाफकटरले नकाटिकनै मुठामुठा बनाएर खोरको जालीमा वा धागोले बाँधेर झुण्ड्याइदिन सकिन्छ । कुखुराको सङ्ख्याअनुसार निश्चित क्षेत्रफलमा घाँसखेती पनि गर्नुपर्दछ । घाँसखेतीका साथसाथै स्थानीयस्तरमै तयार गरिएको दाना पनि खुवाएर कुखुरापालन गर्न सकेमा शतप्रतिशत अर्गानिक पोल्ट्री मीट उत्पादन गर्न सकिन्छ ।

कतिपय व्यावसायिक कुखुरापालन गरिरहेका कृषकले ग्रामीण कुखुरापालन गरिरहेपनि तिनलाई ब्रोइलर वा लेयर्स कुखुराकै बजारीया दाना ल्याएर खुवाउने, घाँस खेती नगर्ने र जथाभावी तथा आफूखुशी एन्टिवायोटिक औषधिहरु ल्याएर खुवाइरहेको पाइन्छ । यस्तो गर्दा घाँस तथा स्थानीय दाना खुवाएर उत्पादन गरिएको कुखुरापालनजस्तो नाफामूलक बनाउन सकिँदैन । यसरी उत्पादित कुखुराको मासु तथा अण्डा अर्गानिक पनि रहँदैन । ब्रोइलर कुखुराको जस्तो भुत्ला नहुने भएकाले झट्ट हेर्दा लोकल कुखुराजस्तै देखिए पनि यस्ता कुखुरा ब्रोइलर वा लेयर्ससरह नै हुन्छन् ।

स्थानीय कुखुराका पारखी उपभोक्ताले पनि यसप्रकारका कुखुरालाई रुचाउँदैनन् । अतः अर्धसघन वा सघनप्रणाली जसरी कुखुरापालन गर्दा पनि अर्गानिक मासु तथा अण्डा उत्पादन गर्ने हो भने तिनले खाने आहारमा पनि विशेष विचार पु¥याउनैपर्दछ । हाम्रो उद्देश्य खोलमात्रै ग्रामीण कुखुराको भएको तर खोलभित्रचाहिँ ब्रोइलर र लेयर्स नै उत्पादन गर्ने हुनुहुँदैन । यसो गर्दा उपभोक्तालाई झुक्याएर तत्कालका लागि मुनाफा लिन सकिए पनि दीर्घकालीनरुपमा यसले कृषक, मासु व्यवसायी तथा उपभोक्ता कसैको पनि हित गर्दैन । हाम्रा उत्पादन भित्रैदेखि अर्गानिक प्रकृतिको हुनुपर्दछ । अनिमात्रै हामीले सचेत उपभोक्ता र स्वादका पारखीहरुको ध्यानाकर्षण गर्न सक्दछौं । सोहीअनुरुप हाम्रो बजार पनि बिस्तार हुँदै जान्छ ।

यसरी सघनरुपमा कुखुरापालन गर्दा खोरको निर्माण, सोत्तर व्यवस्थापन, दानापानी दिने भाँडाकुँडाहरु आदि भने व्यावसायिक ब्रोइलर तथा लेयर्सपालनको जस्तै हुन्छ । सघन प्रणालीमा पाल्दा कुखुरालाई केज सिस्टममा पाल्न सकिएपनि हाम्रो सन्दर्भमा थोरैमात्र कुखुरा पालिने भएकाले सुरूवाती लगानी पनि उच्च हुन सक्दछ । त्यसैले यसप्रकारका कुखुरालाई सोत्तर ओछ्याएर (डीप लिटर सिस्टम) पाल्नु नै उपयुक्त हुन्छ ।

लोकल तथा ग्रामीण कुखुरापालनका पाँच मोडलहरुः
हाम्रो देशमा रहेका विभिन्न जातका कुखुराको आपूर्तिकर्ता वा उपलब्धता, बजारको प्रकृति, कृषकहरुको स्रोत–साधनको अवस्था, उपयुक्त जातका कोसेघाँसको खेती, बीउ एवम् चरनको उपलब्धता र कृषकहरुसँग रहेका चरनको लागि आवश्यक जमिनको स्वामित्व एवम् भाडामा उपलब्ध जमिनको अवस्था आदिलाई दृष्टिगत गर्दा निम्नानुसारका मोडलहरुमा कुखुरापालन गर्न सकिने देखिन्छ । यी मोडल देशभित्र र बाहिरका ग्रामीण कुखुरापालन गरिरहेका कृषकहरुको अध्ययन तथा आफ्नै अनुभवबाट सिकेर लेखक स्वयम्को मेहनतद्वारा तयार पारिएका हुन् । आगामी दिनमा कृषक, प्राविधिक तथा थप अनुसन्धानबाट प्राप्त हुने पृष्ठपोषणहरुलाई मध्यनजर गर्दै प्राप्त नतिजाहरुलाई समयसापेक्ष परिमार्जन गर्दै लगिनेछ ।

मोडल नं. १ः लोकल पोथीलाई अन्य ग्रामीण कुखुरा (न्यु हेम्पशायर, गिरीराज, अष्ट्रालोप आदि)को अण्डा कोरल्न दिने ।
मोडल नं २ः लोकल पोथीलाई अन्य ग्रामीण कुखुरा आदिको भाले लगाउने र पहिलो पुस्ताका कुखुरा हुर्काउने ।
मोडल नं ३ः विशुद्ध लोकल भाले र पोथीहरुको अनुपात राखेर चल्ला हुर्काउने ।
मोडल नं ४ः हरेक पटक ह्याचरीबाट लोकल या न्यु हेम्पशायर, गिरीराज, अष्ट्रालोप आदिको एकदिने चल्ला ल्याउने र हुर्काउने ।
मोडल नं ५ः एउटा परिवारको उपभोगका लागि उपयुक्त हुने करेसाबारी मोडल (ब्याकयार्ड पोल्ट्री मोडल) ।

मोडल नं १ः लोकल पोथीहरुलाई अन्य ग्रामीण कुखुराको अण्डा कोरल्न दिने 

यो तरिकाबाट ग्रामीण कुखुरापालन गर्दा अन्य ठूला प्रजातिका (न्यु हेम्पशायर वा अष्ट्रालोप आदि) कुखुराका एकदिने चल्लाहरु खरिद गर्नुको साटो तिनका भाले लागेको अण्डा ल्याएर कोरल्न दिइन्छ । यसको लागि अनुपात मिलाएर एक भाले बराबर सात वटाजति सम्बन्धित कुखुराको फुल पार्ने पोथी पाल्ने र भाले लागेका अण्डा सङ्कलन गरी लोकल पोथी (साकीनी वा घाँटीखुइले) लाई कोरल्न दिने गरिन्छ । यसका लागि जति सङ्ख्यामा ओथारो बस्ने पोथी राखिएको हुन्छ त्यसको ४० प्रतिशतको सङ्ख्यामा मात्रै अण्डा दिने ठूला प्रजातिका ग्रामीण कुखुरा राख्नु व्यवहारिक हुन्छ । यस्ता कुखुराले वार्षिक एक सय ८० वटाजति अण्डा दिन्छन् । लोकल कुखुराले वार्षिक ४५ वटाजतिमात्रै अण्डा कोरल्ने गर्दछन् । एक वर्षजति यसरी कुखुरा पालिसकेपछि वा एक पटक अण्डा पार्ने कुखुरा र कोरल्ने पोथीहरुको चक्र स्थापित भैसकेपछि सो परिपाटी मिलाउन र यिनको सङ्ख्यात्मक व्यवस्थापन गर्न सहज हुन्छ ।

उदाहरणका लागि, यदि हामीले एक वर्षमा मासुको लागि एक हजार वटा कुखुरा बिक्री गर्ने उद्देश्य राखेर ग्रामीण कुखुरापालन गर्न चाहन्छौं भने सबै उमेरमा पाँच प्रतिशतको मृत्युदर कटाउँदा हामीलाई एक हजार ५० वटा चल्लाहरुको आवश्यकता पर्दछ । यसको लागि एउटा पोथीले वर्षमा औसत तीन पटक ओथारो बसी एक पटकमा दस वटा चल्ला हुर्काउने हो भने वार्षिकरुपमा ३० वटा चल्लामात्रै उपलब्ध हुने देखिन्छ । यसअनुसार वार्षिक एक हजार ५० वटा चल्लाका लागि हामीलाई ३५ वटा लोकल पोथी (साकीनी)को आवश्यकता पर्दछ । यद्यपि सबै कुखुरी उत्तिकै क्षमतावान् नहुन सक्छन् । केहीको मृत्यु पनि हुन सक्छ । त्यसैले थप पाँच वटा पोथी ब्याकअपको रुपमा राख्नु बुद्धिमानी हुन्छ । अतः यस मोडलअनुसार कुखुरापालन गर्दा ४० वटा साकिनी जातका कुखुरी आवश्यक पर्ने देखिन्छ ।

अब हामी उल्लेखित ४० वटा पोथीको लागि कोरल्न दिने अण्डा उत्पादन गर्न कति वटा ग्रामीण कुखुराको आवश्यकता पर्दछ भन्ने कुराको पनि हिसाब निकालौं । कुनै पनि लोकल कुखुराको ह्याचाविलीटी शत प्रतिशत नहुने भएकाले औसत ८५ प्रतिशत हिसाब गर्दा एक कुखुरीबाट ३० थान चल्ला काढिनको लागि हामीले वार्षिक ३६ वटा अण्डा दिनुपर्ने हुन्छ । अर्थात् ८५ प्रतिशत चल्ला कोरलिने दर हुँदा यदि एक पटक ओथारो बस्दा १२ वटा अण्डा दिइयो भने त्यसबाट मात्रै दस थान चल्ला निस्कन्छ । यस हिसाबले यदि ३५ वटा पोथी प्रयोग गरी वर्षमा एक हजार ५० वटा चल्लाहरु काढ्ने हो भने एक व्याचमा वार्षिक चार सय २० वटा अण्डाको आवश्यकता पर्दछ । वार्षिकरुपमा तीन पटक ओथारो दिँदा बाह्र सय ६० वटा अण्डाको जरुरत पर्दछ ।

कुखुराले पारेका सबै अण्डा भाले लागेका र ओथारो दिन योग्य पनि हुँदैनन् । कतिपय अण्डा साना साइजका हुन्छन् । कतिपय चर्केका, फोहोर लत्पतिएका र पुराना भई काम नलाग्ने वा बढी उमेर भैसकेका पनि हुन्छन् । यसको लागि हामीले यस सङ्ख्यामा २० प्रतिशत अण्डा थप गरी त्यसैलाई आवश्यक अण्डा ठान्नु व्यवहारिक हुन्छ । यसप्रकार हिसाब गर्दा थप दुई सय ५२ वटा अण्डा गरी कुल पन्ध्र सय १२ वटा अण्डा आवश्यक पर्ने देखिन्छ । अतः न्यु हेम्पशायर वा अष्ट्रालोप कुखुराको अण्डा कोरल्न दिने हो भने कृषकको व्यवस्थापनमा यी कुखुराले वर्षमा प्रतिपोथी एक सय ५० वटा अण्डाको दरमा औसत उत्पादन दिन्छ भनी अनुमान गर्न सकिन्छ । यसरी हेर्दा हामीलाई आवश्यक पन्ध्र सय १२ वटा अण्डाको लागि यस्ता पोथी दस वटा र दुई वटा भाले राखे पर्याप्त हुने देखिन्छ ।

यसरी उत्पादन भएका कुखुरालाई चार महिना नाघेपछि मासु तथा अण्डाको लागि बिक्री गर्न सकिन्छ । वार्षिक तीन पटक ओथारो बस्ने चक्र स्थापित भैसकेपछि दोस्रोे वर्षदेखिमात्रै वार्षिक एक हजार वटा कुखुरा बजारमा पठाउन सकिन्छ । यसलाई तलको टेबुलबाट स्पष्टसँग बुझ्न सकिन्छ ।

मोडल नं अन्तर्गत वार्षिक एक हजार वटा ग्रामीण कुखुरा उत्पादन गर्दा आवश्यक पर्ने कुखुराहरुको सङ्ख्याः

विवरण आवश्यक बीउ कुखुरा सङ्ख्या बिक्रीयोग्य ग्रामीण कुखुरा उत्पादन

(वार्षिक)     

कैफियत
लोकल पोथी (साकिनी वा घाँटीखुइलेका पोथी) ३५ देखि ४०  

एक हजार

लोकल कुखुराका पोथी एवम् अण्डा उत्पादनका लागि राखिएका भालेपोथीको चल्ला खरिद गर्दा र आगामी दिनका लागि बथान कायम गर्दा नाता नपर्नेगरी व्यवस्थापन गर्नु आवश्यक हुन्छ ।
न्यु हेम्पशायर, अष्ट्रालोप वा गिरीराजको पोथी दस
न्यु हेम्पशायर वा अष्ट्रालोप वा गिरीराजको भाले दुई

यसबाट वार्षिक एक हजार वटामात्रै बिक्री गर्ने उद्देश्यले कुखुरा पाल्दा उल्लेखित सङ्ख्यामा कुखुरा खरिद गर्न आवश्यक हुन्छ भन्ने स्पष्ट देखिन्छ । स्वरोजगार वा गरिबी निवारणको लागि यो एउटा सानो परियोजनाको नमुना हुन सक्दछ । यद्यपि यसभन्दा बढी सङ्ख्यामा कुखुरा उत्पादन गरी बिक्री गर्ने हो भने पनि लोकल र अन्य कुखुराका भाले–पोथीको अनुपात यहीअनुरुपको हुनुपर्ने रहेछ भनेर बुझ्न सकिन्छ । जस्तै– कसैले वार्षिक दुई हजार वटा कुखुराको उत्पादन गरी बजारमा पठाउन चाहन्छ भने उल्लेखित सङ्ख्यालाई दोब्बर गर्न सकिन्छ । त्यसका लागि लोकल पोथीको सङ्ख्या ७० वटा, न्यु हेम्पशायर वा अष्ट्रालोप वा गिरीराजका पोथी २० वटा र न्यु हेम्पशायर वा अष्ट्रालोप वा गिरीराजका भाले चार वटा आवश्यक पर्न जान्छ ।

यस मोडलअन्तर्गत विचारणीय कुरा भनेको हामीले उत्पादन गरेका कुखुरालाई करिब तीन–तीन महिनाको अन्तरमा तीन चरणमा उत्पादन गरिने र कम्तीमा चार महिना पालिने भएकाले यदि एक हजार वटा कुखुराको मोडल हो भने खोरको निर्माण गर्दा माउ कुखुराहरुसमेत गरी एक हजार ५० वटा वयस्क कुखुराहरु अट्नेगरी भित्री क्षेत्रफल २५ सय वर्गफिट भएको विविध पार्टीसनयुक्त खोर निर्माण गर्न आवश्यक हुन्छ । यदि अलग–अलग खोर निर्माण गर्ने हो भने पनि कुल क्षेत्रफल सोहीबमोजिम हुनुपर्दछ ।

अर्थात्, एउटा वयस्क कुखुरावापत औसतमा साढे दुई वर्गफिटको क्षेत्रफल छुट्याइदिनुपर्दछ । जसले गर्दा ओथारो बस्ने कुखुरीहरुको लागि आवश्यक पर्ने थप क्षेत्रफल पनि त्यसैअन्तर्गत समायोजन गर्न सकिन्छ । यसैगरी दुई हजार वा थप कुखुरापालन गर्ने हो भने त्यहीअनुरुप खोरको क्षेत्रफल बढाउँदै जानुपर्दछ । भरसक ओथारो बस्ने कुखुरीलाई एउटा अलग खोरको व्यवस्था गरी छुट्टाछुट्टै भाग बनाइदिनुपर्दछ ।

यस मोडलका सकारात्मक पक्षहरुः

  • बीउ कुखुराबाहेक एकदिने चल्ला खरिद गर्नु नपर्ने भएकाले सस्तोमा कुखुरा उत्पादन हुने ।
  • चल्ला खरिद गर्दा टाढाको ह्याचरी तथा ह्याचरीको आपूर्ति सप्लाइमा भर पर्नु नपर्ने ।
  • सबै कुखुरा तथा अण्डा एकै पटक उत्पादन नहुने भएकाले बजार व्यवस्थापन सहज हुने ।
  • प्रायः वर्षभरि नै मासुजन्य कुखुरा तथा अण्डा उत्पादन हुने भएकाले नियमित ग्राहकलाई रित्तोहात फर्काउनु नपर्ने ।
  • प्रायः वर्षभरि नै एकनासले घाँस तथा दानाको खपत हुने भएकाले एकै पटक धेरै परिमाणमा घाँस उत्पादन गर्नु नपर्ने ।
  • शुद्ध ठूला जातका कुखुरा हुर्कने भएकाले धेरै परिमाणमा मासु तथा अण्डा उत्पादन हुने ।

यस मोडलका नकारात्मक पक्षहरुः

  • ओथारो बस्ने पोथीहरुलाई पालो मिलाएर ओथारो बसाल्न कठिनाई पर्ने (कहिले एकै पटक धेरै र कहिले कम कुखुरा ओथारो बस्ने हुँदा खोरमा रोटेसन मिलाएर राख्न कठिन हुने) ।
  • ओथारो बसेका कुखुराको गुँड साटिएमा कुनै कुखुरा लामो समयसम्म ओथारो बस्नुपर्ने भएकाले गुँड नसाटिने गरी व्यवस्थापन मिलाउनुपर्ने ।
  • मासु तथा अण्डाको एकै पटक धेरै परिमाणमा बजार माग भएमा आपूर्ति गर्न नसकिने ।
  • उत्पादित कुखुराहरुको ओथारो बस्ने क्षमतामा नगण्यमात्रै सुधार हुने केही कृषकको अनुभव रहेकाले बीउ कुखुराको रुपमा प्रयोग गर्न नसकिने ।
  • उत्पादित कुखुराको मासु तथा अण्डाको स्वाद स्वादिष्ट भए पनि लोकल कुखुरासरह नहुन पनि सक्दछ ।
  • यस मोडलअन्तर्गत पालिएका कुखुरामा विशुद्ध लोकल वा यसको वर्णशङ्कर नहुने भएकाले मासुको मूल्य विशुद्ध लोकलको तुलनामा केही कम हुन सक्दछ ।

मोडल नं २ः लोकल पोथीलाई अन्य ग्रामीण कुखुरा आदिको भाले लगाउने पहिलो पुस्ताका कुखुरा हुर्काउने
ग्रामीण कुखुरापालनको मोडल नं १ भन्दा यो केही सजिलोे छ । यसअन्तर्गत लोकल पोथीहरुलाई ठूला जातका भाले लगाइन्छ र वर्णशङ्कर कुखुरा हुर्काइन्छ । यसरी जन्मेका चल्ला शुद्ध लोकल कुखुराको भन्दा छिटो बढ्दछन् । यिनले पनि खुला चरनबाट आफ्नो पेट पाल्न सिक्दछन् । यसप्रकार जन्मेका कुखुरालाई केही मात्रामा सन्तुलित दाना र पौष्टिक हरिया घाँस खुवाएर छिटो–छिटो शारीरिक वृद्धि हासिल गराउन सकिन्छ । यसबाट उत्पादन लागत पनि कटौती गर्न सकिन्छ । यी कुखुराले साकिनी कुखुराको भन्दा बढी अण्डा उत्पादन गर्न सक्दछन् । यसका वयस्क भालेको औसत तौल कम्तीमा साढे दुई किलो तथा वयस्क पोथीको औसत तौल दुई किलो हुने गर्दछ ।

विगतमा सर्वप्रथम लुम्ले कृषि अनुसन्धान केन्द्रले लोकल कुखुरामा नश्ल सुधार गर्नका लागि न्यु हेम्पशायरका भाले वितरण गरेको थियो । त्यसपछि हालसम्म नेपाल सरकारअन्तर्गतका विभिन्न निकाय तथा कतिपय गैरसरकारी संस्थाले पनि सोही प्रयोजनका लागि न्यु हेम्पशायर तथा अष्ट्रालोप जातका चल्ला वितरण गर्ने गरेको पाइन्छ । लोकल कुखुराहरुको आफ्नै अण्डाबाट निस्केका चल्लाभन्दा यी चल्ला चाँडै बढ्दछन् । कम समयमै बढी तौल हासिल गर्दछन् । कृषकहरुको अनुभवअनुसार यसरी जन्मेका कुखुरामा ओथारो बस्ने र चल्ला कोरल्ने क्षमता लगभग लोकल कुखुरासरह नै हुने गर्दछ । प्रतिकुल अवस्था सहन सक्ने र रोग प्रतिरोधात्मक क्षमता पनि सोहीसरह नै हुने पाइएको छ ।

यसका साथै यसबाट नरम कोसेघाँसहरुको पनि सही सदुपयोग गर्न सकिन्छ । यस मोडलअन्तर्गत कुखुरापालन गर्दा खुला, सघन र अर्धसघन तीनवटै विधि अपनाउन सकिन्छ । यस विधिबाट कुखुरापालन गर्दा पनि सामान्यतः मोडल नं १ मा उल्लेखित सङ्ख्यामै लोकल कुखुराका पोथी आवश्यक पर्ने भए पनि ओथारो बस्ने पोथीहरुले मात्रै पारेका अण्डा केही नपुग पनि हुन सक्दछ । सकभर भाले लागेका ताजा अण्डा कोरल्न दिनु राम्रो हुने र पहिले पारेका अण्डा पुराना हुँदै जाने भएकाले माथिको भन्दा दस प्रतिशत बढी सङ्ख्यामा पोथीहरु राख्नु राम्रो हुन्छ ।

मोडल नं अन्तर्गत वार्षिक एक हजार वटा ग्रामीण कुखुरा उत्पादन गर्दा आवश्यक पर्ने कुखुराहरुको सङ्ख्याः

विवरण आवश्यक बीउ कुखुरा सङ्ख्या बिक्रीयोग्य ग्रामीण कुखुरा उत्पादन

(वार्षिक)

कैफियत
लोकल पोथी (साकिनी वा घाँटीखुइलेको पोथी) ३५ देखि ४५  

एक हजार

लोकल कुखुराका पोथीहरु एवम् नश्लसुधार (क्रसब्रिडिङ्ग) का लागि राखिएका भालेका चल्ला खरिद गर्दा र आगामी दिनका लागि बथान कायम गर्दा नाता नपर्ने गरी व्यवस्थापन गर्नु आवश्यक हुन्छ ।
न्यु हेम्पशायर वा अष्ट्रालोप वा गिरीराजको पोथी
न्यु हेम्पशायर वा अष्ट्रालोप वा गिरीराजका भाले पाँच

 

यस मोडलका सकारात्मक पक्षहरुः

  • यस विधिमा पनि बीउ कुखुराबाहेक अन्य एकदिने चल्ला खरिद गर्नुपर्दैन । यसले गर्दा उत्पादन लागत कम पर्दछ ।
  • न्यु हेम्पशायर वा अष्ट्रालोपजस्ता ठूला कुखुराका केही भालेमात्र राखे हुन्छ । पोथीहरु पालिराख्नु पर्दैन ।
  • मोडल नं १ अन्तर्गतका कुखुराभन्दा यसबाट उत्पादन हुने कुखुरामा रोग प्रतिरोधात्मक क्षमता वा प्रतिकुल वातावरण सहन सक्ने क्षमता बढी हुन्छ ।
  • चल्ला खरिद गर्दा टाढाको ह्याचरी तथा ह्याचरीको आपूर्ति सप्लाइमा भर पर्नुपर्दैन ।
  • यसअन्तर्गत पनि सबै कुखुरा तथा अण्डाहरु एकै पटक उत्पादन नहुने भएकाले बजार व्यवस्थापन सहज हुन्छ ।
  • प्रायः वर्षभरि नै मासुजन्य कुखुरा तथा अण्डा उत्पादन हुने भएकाले नियमित ग्राहकलाई रित्तोहात फर्काउनुपर्दैन ।
  • प्रायः वर्षभरि नै एकनासले घाँस तथा दानाको खपत हुने भएकाले एकै पटक धेरै परिमाणमा घाँस उत्पादन गर्नुपर्दैन ।
  • शुद्ध जातका लोकलभन्दा यसप्रकारका कुखुराको मासु तथा अण्डा उत्पादन क्षमता बढी हुन्छ ।
  • यसरी उत्पादित कुखुराको पनि चल्ला काढ्ने क्षमता सामान्यतयाः नष्ट हुँदैन । स्वाद पनि लोकलबराबरकै हुन्छ ।

यस मोडलका नकारात्मक पक्षहरु :

  • ओथारो बस्ने पोथीहरुलाई पुग्नेगरी अण्डाको व्यवस्थापन गर्न कठिन हुन्छ । किनकि पहिले पारेका अण्डा पुराना हुँदै जान्छन् ।
  • मोडल नं १ मा जस्तै कहिले एकै पटक धेरै र कहिले कम कुखुरा ओथारे बस्ने हुँदा गुँडमा रोटेसन मिलाएर राख्न कठिन हुने ।
  • ओथारो बसेका कुखुराको गुँड साटिएमा कुनै कुखुरा लामो समयसम्म ओथारो बस्नुपर्ने भएकाले गुँड नसाटिने गरी व्यवस्थापन मिलाउनुपर्ने ।
  • मासु तथा अण्डाको एकै पटक धेरै परिमाणमा बजार माग भएमा आपूर्ति गर्न नसकिने ।
  • वर्णशङ्कर कुखुराहरुको तौल र अण्डा उत्पादन शुद्ध जातका न्यु हेम्पशायर तथा अष्ट्रालोपको भन्दा कम हुने ।
  • पहिलो पुस्ताका कुखुरा क्रस गराई दोस्रो पुस्ताका चल्ला हुर्काउन सकिएपनि उत्पादन सन्तोषजनक नहुने ।

मोडल नं ३ः विशुद्ध लोकल भाले पोथीहरुको अनुपात राखेर चल्ला हुर्काउने
संसारभरि नै यस मोडलअन्तर्गत शताब्दीयौँदेखि कुखुरापालन गरिँदै आइएको छ । यसअन्तर्गत उत्पादन भएका कुखुरा निकै स्वादिला र विशुद्ध जातका लोकल हुने भएकाले यिनको बजार माग असाध्यै बढी छ । बथानलाई छनौट गरी राम्रा–राम्रा र नाता नपर्ने खालका भालेपोथीलाई मात्र प्रजनन कार्यमा नलगाउने हो भने यसरी हुर्केका कुखुराको शारीरिक तौल तथा अण्डा उत्पादनमा सुधार ल्याउन सकिँदैन । शुद्ध जातका रैथाने कुखुरा भएकाले यिनले आफ्ना पुर्खाजस्तै ओथारो बस्न र चल्ला हुर्काउन सक्दछन् । यो मोडलअन्तर्गत कुखुरापालन गर्दा अन्य मोडलको तुलनामा थोरैमात्रै मासु र अण्डा उत्पादन गर्न सकिन्छ । दाना तथा घाँसको लागत पनि अन्य मोडलको तुलनामा कम हुन्छ । यस मोडलको सबैभन्दा ठूलो फाइदा भनेकै बीउ चल्लाहरु तथा अन्य कुनै पनि प्रकारका कुखुराको लागि बाह्य स्रोतमा निर्भर हुनुपर्दैन । नातेदार प्रजनन पर्न नदिन भने यसमा पनि प्रशस्त मेहेनत गर्दै जानुपर्ने हुन्छ ।

अघिल्ला दुईजस्तै यस मोडलअन्तर्गत पनि यदि वार्षिकरुपमा एक हजार वटा कुखुरा उत्पादन गरी बिक्री गर्ने हो भने ३५ देखि ४५ वटा लोकल पोथी कुखुरा राख्नुपर्दछ । यसरी उत्पादन भएका कुखुरालाई छ महिना नाघेपछिमात्र मासु तथा अण्डाको लागि (खासगरी मासुको लागि)बिक्री गर्न सकिन्छ । यसभन्दा एक महिना अगाडि नै बिक्री गर्न सकिएपनि यसको भाले तथा पोथी दुवैले सो उमेरसम्ममा खासै तौल हासिल गरिसकेका हुँदैनन् । यही जातका पोथीसँग नाता नपर्ने गरी पाँच वटा सोही जातका भालेबाहेक यसमा अन्य कुनै पनि जातका कुखुराको आवश्यकता पर्दैन ।

मोडल नं अन्तर्गत वार्षिक एक हजार वटा ग्रामीण कुखुरा उत्पादन गर्दा आवश्यक पर्ने कुखुराहरुको सङ्ख्याः

विवरण आवश्यक बीउ कुखुरा सङ्ख्या बिक्रीयोग्य लोकल कुखुरा उत्पादन

(वार्षिक)     

       कैफियत
लोकल पोथी (साकिनी वा घाँटीखुइलेका पोथी) ३५ देखि ४५  

एक हजार

लोकल कुखुराका भाले तथा पोथीहरु खरिद गर्दा र आगामी दिनका लागि बथान कायम गर्दा नाता नपर्नेगरी व्यवस्थापन गर्नु आवश्यक हुन्छ ।
लोकल भाले (साकिनी वा घाँटीखुइले) पाँच
अन्य कुखुराका भाले वा पोथी

यस मोडलका सकारात्मक पक्षहरुः

  • यस विधिमा गाउँघरमै उपलब्ध बीउ कुखुराबाहेक अन्य कुनै पनि कुखुरा खरिद गर्नुपर्दैन ।
  • विशुद्ध लोकल कुखुरा भएकाले यसबाट उत्पादन हुने कुखुराको रोग प्रतिरोधात्मक वा प्रतिकुल वातावरण सहन सक्ने क्षमता सबैभन्दा बढी हुन्छ ।
  • यी कुखुराका दाना, औषधि तथा व्यवस्थापन आदिमा लाग्ने खर्च अन्य कुखुराको तुलनामा उल्लेख्य मात्रामा कम हुन्छ ।
  • यसअन्तर्गत पनि सबै कुखुरा तथा अण्डा एकै पटक उत्पादन नहुने भएकाले बजार व्यवस्थापन सहज हुन्छ ।
  • प्रायः वर्षभरि नै मासुजन्य कुखुरा तथा अण्डा उत्पादन हुने भएकाले नियमित ग्राहकलाई रित्तोहात फर्काउनुपर्दैन ।
  • प्रायः वर्षभरि नै एकनासले घाँस तथा दानाको खपत हुने भएकाले एकै पटक धेरै परिमाणमा घाँस उत्पादन गर्नुपर्दैन ।
  • यसरी उत्पादित कुखुराको पनि चल्ला काढ्ने क्षमता एकनासको रहन्छ ।
  • यसरी उत्पादन हुने कुखुराको स्वाद र माग सबैभन्दा बढी छ ।

यस मोडलका नकारात्मक पक्षहरुः

  • यस मोडलअन्तर्गत मासु तथा अण्डा उत्पादन अन्य मोडलको तुलनामा उल्लेख्यरुपमा कम हुन्छ ।
  • ओथारो बस्ने पोथीहरुलाई पुग्नेगरी अण्डाको व्यवस्थापन गर्न कठिन हुन्छ । किनकि पहिले पारेका अण्डा पुराना हुँदै जान्छन् ।
  • अघिल्ला मोडलहरुमा जस्तै कहिले एकै पटक धेरै र कहिले कम कुखुरा ओथारो बस्ने हुँदा गुँडमा रोटेसन मिलाएर राख्न कठिन हुन्छ ।
  • ओथारो बसेका कुखुराको गुँड साटिएमा कुनै कुखुरा लामो समयसम्म ओथारो बस्नुपर्ने भएकाले गुँड नसाटिनेगरी व्यवस्थापन मिलाउनुपर्ने हुन्छ ।
  • मासु तथा अण्डाको एकै पटक धेरै परिमाणमा बजार माग भएमा आपूर्ति गर्न नसकिने हुन्छ ।
  • अलिक ठूलो बजार र माग भएको स्थानमा नियमित आपूर्ति गर्न ठूलो सङ्ख्यामा कुखुरा पाल्नुपर्ने हुन्छ ।
  • विशुद्ध लोकल जातका भएकाले गुणस्तरीय दानापानी तथा उचित व्यवस्थापनमा पनि कमैमात्र शारीरिक तौल वृद्धि हुने र धेरै अण्डा उत्पादन गर्न नसकिने हुन्छ ।

मोडल नं ४ः हरेक पटक ह्याचरीबाट लोकल या न्यु हेम्पशायर, गिरीराज, अष्ट्रालोप आदिको एकदिने चल्ला ल्याउने हुर्काउने
सबै प्रकारका मोडलमध्ये यसलाई सबैभन्दा सरल मान्न सकिन्छ । यसमा चल्ला कोरल्ने माउ, बीउ कुखुराहरु, ओथारो व्यवस्थापन आदि झन्झट गर्नुपर्दैन । यस मोडललाई तुलनात्मकरुपमा बढी नाफामुलक पनि मान्न सकिन्छ । यसमा घाँस तथा घरेलु दानामा आधारित भई रोटेसन मिलाएर पालेको खण्डमा एक वर्षमा पाँच लटसम्म उत्पादन लिन सकिन्छ । यसभन्दा अगाडिका तीन मोडलमा हामीले एक वर्षमा तीन वटा ब्याच चल्ला हुर्काउने र बिक्री गर्ने सोच बनाएका हुन्छौं भने यस मोडलअन्तर्गत सहज व्यवस्थापनका कारण पाँच वटा ब्याच हुर्काएर बिक्री गरिने भएकाले यसलाई बढी नाफामुलक मोडल मान्न सकिन्छ ।

यसका लागि मूलखोरका अतिरिक्त एउटा ब्रुडर वा ग्रोअर कक्ष (चल्ला हुर्काउने कोठा) पनि बनाएको खण्डमा रोटेसन मिलाई कुखुरापालन गर्न सकिन्छ र एक वर्षमा धेरै लट कुखुरा हुर्काउन सकिन्छ ।  एकदिने चल्ला ग्रोअर कक्षमा हुर्काएपछि यिनलाई मूलखोरमा सारिन्छ । फेरि एकदिने नयाँ चल्ला राखिन्छ । यसरी यी नयाँ चल्ला हुर्केर मूलखोरमा स्थानान्तरण गर्नेबेला भैसक्दा मूलखोरका ठूला कुखुरा बिक्री भैसक्नेगरी बजार व्यवस्थापन गर्नुपर्दछ । एवम् रीतले यो चक्र मेन्टेन गर्दै जानुपर्दछ । यसका लागि ब्रुडर कक्षमा एक ब्याचमा राखिने चल्लाहरु दुई महिनासम्म राख्न सकिनेगरी निर्माण गरिनुपर्दछ । यसो गर्नाले प्रत्येक दुई–दुई महिनामा नयाँ चल्लाहरु राख्न सकिन्छ र कुखुरालाई चार महिनाको उमेरमा बिक्री गर्न सकिन्छ ।

यो मोडल मासुका लागि उपयुक्त हुन्छ किनकि अण्डा उत्पादन गरी बिक्री गर्नको लागि दुई–दुई महिनामा नयाँ ब्याचका कुखुरा राख्न सम्भव हुँदैन । अतः अण्डा उत्पादन तथा बिक्री गर्नका लागि या त ब्रुडर कक्षसमेत नबनाई करिब १७–१७ महिनामा एकै ब्याचमात्र कुखुरा राखिन्छ या ब्रुडर कक्ष बनाई रोटेसनमा हरेक वर्ष नयाँ चल्ला भिœयाइन्छ । उल्लेखित प्रजाजिका कुखुराले चार महिनाको भएपछि अण्डा दिन सुरू गरी ७५ हप्तासम्म (१६–१७ महिनासम्म) अण्डा दिइरहने भएकाले पहिलो लटको चल्ला भिœयाएपछि यिनीहरु उक्त अवधिसम्म मूलखोरमै बस्दछन् । यसपछि दोस्रो ब्याचका चल्ला चार महिनाको अवधिका भएपछि यिनलाई मूलखोरमा सारिन्छ र अघिल्लो ब्याचका पुराना माउलाई मासुको लागि बिक्री गरिन्छ ।

मोडल नं अन्तर्गत वार्षिक एक हजार वटा ग्रामीण कुखुरा उत्पादन गर्दा आवश्यक पर्ने कुखुराको सङ्ख्याः

विवरण आवश्यक कुखुरा सङ्ख्या बिक्रीयोग्य ग्रामीण कुखुरा उत्पादन

(वार्षिक)     

कैफियत
लोकल वा अन्य ग्रामीण कुखुराका प्रजननयोग्य पोथी  

 

एक हजार

प्रजनन तथा ओथारो व्यवस्थापन गर्नु नपर्ने र हरेक ब्याचमा चल्ला खरिद गरी हुर्काइने र बिक्री गर्दै लगिने ।
लोकल वा अन्य ग्रामीण कुखुराका प्रजननयोग्य भाले
लोकल, न्यु हेम्पशायर, अष्ट्रालोप वा गिरीराज कुखुराका एकदिने चल्ला प्रतिब्याच दुई सय

यस मोडलका सकारात्मक पक्षहरुः

  • यस मोडलअन्तर्गत कुखुरापालन गर्दा बीउ कुखुराहरु पाल्ने र नाता नपर्नेगरी छनौट तथा प्रजनन व्यवस्थापन गर्ने झन्झट गर्नुपर्दैन ।
  • ओथारो व्यवस्थापन गर्ने झन्झट पनि गर्नुपर्दैन ।
  • एकै वर्षमा पाँच ब्याचसम्म उत्पादन लिन सकिन्छ ।
  • यसअन्तर्गत पनि सबै कुखुरा तथा अण्डा एकै पटक उत्पादन नहुने भएकाले बजार व्यवस्थापन सहज हुन्छ ।
  • प्रायः वर्षभरि नै मासुजन्य कुखुरा तथा अण्डा उत्पादन हुने भएकाले नियमित ग्राहकलाई रित्तोहात फर्काउनुपर्दैन ।
  • प्रायः वर्षभरि नै एकनासले घाँस तथा दानाको खपत हुने भएकाले एकै पटक धेरै परिमाणमा घाँस उत्पादन गर्नुपर्दैन ।
  • यसरी उत्पादन हुने कुखुराहरुको मासु तथा अण्डा उत्पादन धेरै हुन्छ ।

यस मोडलका नकारात्मक पक्षहरुः

  • यस मोडलअन्तर्गत आवश्यक लोकल तथा ग्रामीण कुखुराका एकदिने चल्लाहरु भनेको समयमा र सहुलियत दरमा उपलब्ध गराइदिने सप्लायर्सको सङ्ख्या निकै कम छ ।
  • यस मोडलअन्तर्गत पालिएका कुखुरामा विशुद्ध लोकल वा यसको वर्णशङ्कर नभएमा मासुको मूल्य विशुद्ध लोकलको तुलनामा केही कम हुन सक्दछ ।
  • मासु तथा अण्डाको एकै पटक धेरै परिमाणमा बजार माग भएमा आपूर्ति गर्न नसकिने हुन्छ ।
  • लोकलबाहेकका अन्य कुखुरा भएमा थोरैमात्रै कुखुराहरुको ओथारो बस्ने प्रवृत्ति हुने भएकाले बीउ कुखुराको रुपमा प्रयोग गर्न नसकिने र पटकैपिच्छे चल्ला खरिद गरी ल्याउनुपर्ने हुन्छ ।
  • लोकलबाहेक अन्य कुखुरा(खासगरी गिरीराज) भएमा मासु तथा अण्डाको स्वाद उपभोक्ताद्वारा लोकल कुखुरासरह स्वादिष्ट नभएको गुनासो आउन सक्दछ ।

मोडल नं ५ः एउटा परिवारको उपभोगका लागि उपयुक्त हुने करेसाबारी मोडल (ब्याकयार्ड पोल्ट्री मोडल)
माथिका मोडल व्यावसायिक प्रयोजनका लागि हुन् भने यो मोडल घरेलु प्रयोजनका लागि हो । एउटा परिवारका लागि तीन वटा पोथी र एउटा भाले राखेर घरको कम्पाउण्डभित्रै सानो चिटिक्क परेको दस वर्गमिटरजतिको तारजालीको खोर बनाएर वर्षैभरि मासु तथा अण्डा उपभोग गर्नेगरी कुखुरा पाल्न सकिन्छ । यसरी पाल्दा करेसाबारीबाट ताजा तरकारी प्राप्त भएजस्तै हरेक हप्ता दुई छाकका दरले वर्षभरिलाई लोकल कुखुराको अर्गानिक मासु खान पुग्दछ ।

यसको लागि न ह्याचरीबाट चल्ला किन्नुपर्छ न त बजारको दाना नै । जिल्ला पशु सेवा कार्यालयहरुले पनि यसखालको ब्याकयार्ड पोल्ट्री प्याकेजको कार्यक्रम (चल्ला वितरण र तालिमसमेत) राखेर घर–घरमा प्राङ्गारिक मासु तथा अण्डा उत्पादन गर्न प्रोत्साहित गर्नुपर्ने देखिन्छ । यो मोडललाई अभियानको रुपमा कुनै पनि सङ्घसंस्थाले अगाडि बढाएको खण्डमा पनि निकै लोकप्रिय हुने देखिन्छ । यसले थोरै क्षेत्रफलमा पनि गर्न सकिने, हार्मोन, एन्टिबायोटिक र अन्य सिन्थेटिक कम्पाउण्डको हानिकारक अंश भएको मासुको बदलामा स्वस्थ अर्गानिक मासु खान पाइने, करेसाबारीलाई प्राङ्गारिक मल पनि उपलब्ध हुने र फुर्सद भएका घरका सदस्यको लागि समय कटाउने र मानसिक शान्ति प्राप्त गर्ने माध्यमको रुपमा कार्य गर्नेजस्ता धेरै फाइदा हुन्छन् ।

यस मोडलअन्तर्गत कुखुरापालन गर्दा दानाको बदलामा घरमा बढी भएका खानेकुरा, किचन वेष्ट, वरिपरि उम्रेका नरम ताजा घाँस आदि दिएर पनि पाल्न सकिन्छ । केही मात्रामा गेडागुडी र ढुटो चोकर आदि मिसाई घरमै बनाएको दाना पनि अभावको समयमा दिन सकिन्छ । यसरी व्यवस्थापन गर्ने हो भने धेरै खर्च पनि लाग्दैन । यसका लागि साकिनी वा घाँटीखुइले जातका भाले र सोही जातका पोथी वा न्यु हेम्पशायर र अष्ट्रालोप जातका भाले पनि राख्न सकिन्छ । लोकल जातका भालेपोथीको साटो लोकलसँग न्यु हेम्पशायर वा अष्ट्रालोपको क्रस पोथीहरु पनि राख्न सकिन्छ । यसरी जन्मेका क्रसहरुमा पनि ओथारो बस्ने स्वभाव हुन्छ । अथवा यिनै जातका क्रस भालेपोथी पनि राख्न सकिन्छ ।

यसरी राखिने कुखुरामा गिरीराजको भाले वा पोथी प्रयोग गर्नु भने राम्रो हुँदैन । यी जात ओथारो बस्दैनन् । यसरी राखिएका कुखुराबाट उत्पादित मललाई करेसाबारीमा प्रयोग गरी ताजा अर्गानिक तरकारी पनि उत्पादन गर्न सकिन्छ । अलिक धेरै सङ्ख्यामा (जस्तै पाँच–सात ओटा पोथी) राख्ने हो भने अवकासप्राप्त कर्मचारी, गृहिणी, वृद्धवृद्धा आदिको लागि समय कटाउने माध्यमका अलावा दुई–चार पैसा आम्दानी पनि हुन्छ । सानो परिमाणमा उत्पादन हुने भएकाले बजारको पनि कुनै प्रकारको समस्या रहँदैन । यस खालका कुखुरा थोरै सङ्ख्यामा हुने भएकाले घरबाटै सजिलै बिक्री गर्न सकिन्छ । व्यवस्थापनका अन्य पक्षहरु यसै पुस्तकमा उल्लेख भएबमोजिम गर्न सकिन्छ ।

यस मोडलका सकारात्मक पक्षहरु :

  • धेरै लगानीमा खोर निर्माण र दाना, चल्ला आदि खरिद गर्नुनपर्ने भएकाले लगानीको जोखिम हुँदैन ।
  • यस विधिमा गाउँघरमै उपलब्ध बीउ कुखुराबाहेक अन्य कुनै पनि जातका कुखुरा खरिद गर्नुपर्दैन ।
  • यी कुखुराको रोग प्रतिरोधात्मक क्षमता वा प्रतिकुल वातावरण सहन सक्ने क्षमता निकै बढी हुनुका साथै थोरै सङ्ख्यामा पालिने भएकाले रोगको सङ्क्रमणको सम्भावना पनि कमै हुन्छ ।
  • यिनलाई दाना, औषधि तथा व्यवस्थापन आदिमा लाग्ने खर्च अन्य कुखुराको तुलनामा नगण्य हुन्छ ।
  • विभिन्न ब्याचमा थोरैथोरैमात्र कुखुरा उत्पादन हुने भएकाले र खोप दिनु त्यति व्यावहारिक पनि नहुने भएकाले यसअन्तर्गत पालिएका कुखुरालाई खोपको बदला थुनेर पाल्नु र उपयुक्त जैविक सुरक्षामा ध्यान दिनु राम्रो हुन्छ ।
  • वर्षभरि उपभोग गर्न पुग्ने स्वस्थ मासु उत्पादन हुने भएकाले परिवारका सबै सदस्यको स्वास्थ्यमा सकारात्मक योगदान पुग्न जान्छ ।
  • वर्षभरि निरन्तर उत्पादन हुने मलखादले करेसाबारीमा अर्गानिक प्रकृतिको तरकारी उत्पादन गर्नसमेत सहयोग पुग्दछ ।
  • वृद्धवृद्धा, गृहिणी, अवकासप्राप्त कर्मचारी आदिको लागि समय कटाउने माध्यमका साथै मन बहलाउने र मानसिक शान्ति प्राप्त गर्ने माध्यम पनि बन्न सक्दछ ।
  • मौरीको घारजस्तै घरको छतमा पनि यसको खोर राख्न सकिन्छ ।

यस मोडलका नकारात्मक पक्षहरु :

  • यस मोडलअन्तर्गत पूर्ण व्यावसायिक कुखुरापालन गर्न सकिँदैन । यो घरेलु उपभोग र फाटफुट आम्दानीको लागिमात्र उपयुक्त मोडल हो ।
  • सानो खोर हुने भएकाले भाले, ओथारो बसेको पोथी र साना चल्लासहितको माउ पोथीलाई अन्य कुखुराबाट अलग राख्न एवम् ठुँगाठुँग र लडाईं–झगडाबाट बचाउन कठिन हुन सक्दछ ।
  • यसरी पालिने कुखुराको शारीरिक वृद्धिदर अन्यको भन्दा कम हुन सक्दछ । यसमा कुखुराको आवश्यकताबमोजिम दाना र पोषिलो घाँसको प्रयोग नगरिएको पनि हुन सक्दछ ।

यसरी विविध मोडलहरुको अध्ययन गरिसकेपछि आफ्ना लागि कुन मोडल उपयुक्त हुन्छ भन्ने कुराको निक्र्यौल भने कृषक स्वयम्ले नै गर्नुपर्दछ । अथवा प्रस्तावित मोडलहरुभन्दा फरक तरिकाले कुखुरा पाल्दा आफ्ना लागि उपयुक्त हुन्छ भन्ने लाग्छ भने पनि राम्ररी विचार गरेर अझै फरक तरिकाले वा यीमध्येकै मिश्रित मोडल अपनाउन सकिनेछ । ग्रामीण भेगमा कतैकतै जङ्गलमा भेटिएका लुइचे तथा कालिजका अण्डा कोरल्न दिने गरेको पनि पाइन्छ । यसरी चल्ला काढ्दा अत्यन्त कम प्रतिशतमा चल्ला कोरलिने र कोरलिएका चल्ला कुखुरीको नियन्त्रणमा धेरै दिन नबसी जङ्गलतर्फ भाग्ने गरेको अनुभव पनि कृषकहरुको रहेको छ ।

कालिज, मुनाल, डाँफेलगायतका जङ्गली पक्षीको व्यावसायिक पालन गर्न वन्यजन्तु पालन, प्रजनन तथा अनुसन्धान कार्यनीति २०६० (तत्कालीन श्री ५ को सरकारद्वारा २०६०, भदौ ११ मा स्वीकृत) बमोजिम राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, बबरमहलबाट स्वीकृति लिन सकिने प्रावधान रहेतापनि सोको कार्यान्वयनमा केही कानुनी र व्यवहारिक जटिलता रहेकाले कृषकहरुले अझै यसप्रकारका पक्षीको व्यावसायिक फार्म सञ्चालन गर्ने अनुमति पाइरहेका छैनन् । यद्यपि हालैमात्र ऐन संशोधन गरी सर्वसाधारणले पनि वन्यजन्तु पालन गर्न पाउनेगरी नेपाल सरकारले व्यवस्था गर्न पहल गरेको बुझिएकाले भविष्यमा इच्छुक कृषकलाई यसले राहत दिन सक्ने सम्भावना देखिएको छ ।

एउटा पक्षीको अण्डा अर्को पक्षीलाई कोरल्न दिँदा ओथारो अवधि पनि विचार गर्नुपर्दछ । जस्तै, कुखुरालाई कुखुरा र हाँसको अण्डा मिसाएर कोरल्न दिनुहुँदैन । हाँसको ओथारो अवधि २८ दिनको हुन्छ । कुखुराको चल्ला निस्किसक्दा पनि हाँसको ननिस्कने र काढिएका चल्लाहरु लिएर पोथी चरनमा जाने हुँदा हाँसका अण्डा कोरलिन कठिन हुन्छ । कोरलिए पनि तिनको व्यवस्थापन गर्नु थप चुनौतीपूर्ण हुन जान्छ ।

 

पुस्तक: व्यवसायिक लोकल कुखुरापालन
प्रकाशक: पाँचपोखरी प्रकाशन गृह